काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको औरही गाउँपालिकामा माछा पकेट कार्यक्रमको रकममा अनियमितता गरेको आरोपमा चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारका अनुसार आर्थिक वर्ष २०७८/७९ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत माछाको साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकासका लागि औरही गाउँपालिका र प्रगतिशील कृषक समूहबीच १५ लाख रुपैयाँको सम्झौता भएको थियो ।
सम्झौताअनुसार किसानलाई माछाका भुरा, दाना, चुना र अन्य सामग्री वितरण गर्नुपर्ने थियो। तर किसानलाई कम सामग्री दिएर सबै सामग्री वितरण गरेको देखाउने झुट्टा बिल र भरपाई बनाइ ८ लाख २ हजार ८७८ रुपैयाँ बढी भुक्तानी गरिएको अख्तियारको आरोप छ ।
यस घटनामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, तत्कालीन पशु शाखा प्रमुख रमेश नारायण शर्मा, तत्कालीन लेखापाल आशिष कुमार कामती र प्रगतिशील कृषक समूहका अध्यक्ष रामभजन यादवलाई प्रतिवादी बनाइएको छ ।
अख्तियारले चारै जनाबाट ८ लाख २ हजार ८७८ रुपैयाँ बिगो असुल गर्न, जरिवाना र कैद सजाय गर्न माग गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ ।