सेयर बजारमा ३ अर्ब ४६ करोडको कारोबार

काठमाडौं ।  बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) नेप्से ४.६६ अंकले बढेर २,५४२.७७ विन्दुमा पुगेको छ । पछिल्ला दुई कारोबार दिनदेखि बढिरहेको बजारले बिहीबार पनि वृद्धि कायम राखेको हो ।

बजारसँगै कारोबार रकम पनि बढेको छ । बुधबार २ अर्ब ९४ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ३ अर्ब ४६ करोड ५२ लाख रुपैयाँको सेयर किनबेच भयो । यस दिन ३४६ कम्पनीका १ करोड २१ लाख ६३ हजार कित्ता सेयर ४० हजार ६९२ पटक कारोबार भए ।

बिहीबार विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै ८.७६ प्रतिशत बढ्यो । चिरख्वा हाइड्रोपावर र आशा लघुवित्तको सेयर मूल्य पनि साढे ८ प्रतिशतभन्दा बढीले उकालो लाग्यो ।

यता पियोर इनर्जीको सेयर मूल्य भने सबैभन्दा धेरै १३.३३ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स पहिलो स्थानमा रह्यो । यस कम्पनीको ४० करोड ९० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो। सानिमा मिडिल तमोर हाइड्रोपावरको करिब १३ करोड ५० लाख रुपैयाँ र सोलु हाइड्रोपावरको १२ करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये ९ उपसमूह बढेका छन् भने ४ उपसमूह घटेका छन् । सबैभन्दा धेरै लगानी उपसमूह १.२६ प्रतिशतले बढ्यो । व्यापार उपसमूह पनि १ प्रतिशतभन्दा बढीले उकालो लाग्यो । वित्त, जलविद्युत, निर्जीवन बीमा र अन्य उपसमूह भने सामान्य घटेका छन् ।

Share News