रामेछापमा रास्वपा कृष्णहरि बुढाथोकी विजयी
काठमाडौं । रामेछापमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कृष्णहरि बुढाथोकी विजयी भएका छन् । उनी २४ हजार ८०८ मतका साथ विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी एमालेका माधवप्रसाद ढुंगेलले १७ हजार ६०९ मत ल्याएर दोस्रो भए । तेस्रोमा नेपाली कांग्रेसका रामचन्द्र खड्काले १६ हजार ३०७ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का श्यामकुमार श्रेष्ठले १३ हजार ३५४ मत ल्याएर चौथोमा सीमित भए ।
१५५ क्षेत्रको मतपरिणाम सार्वजनिक, हालसम्म कसले कति जिते ?
काठमाडौं । २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । निर्वाचनअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ११९ सिट जितिसकेको छ । अझै ६ क्षेत्रमा रास्वापाको अग्रता छ । १६५ मा रास्वपाले १२५ क्षेत्र जित्ने देखिएको छ । तर अघिल्लो निर्वाचनको चौथो शक्ति यसपटक जारी मतगणनामा ११९ मा विजयी हुँदा अघिल्लोपटकको ८९ सिट जितेको ठूलो दल कांग्रेस १७ सिटमा सीमित भएको छ । कांग्रेसले अग्रता लिएका सिटको मतगणना भइसकेको छ । अघिल्लोपटक ७९ सिट जितेको एमालेले यसपटक ७ सिट जितेको छ । तीन स्थानमा एमालेको अग्रता छ ।
हालसम्म ११ जिल्लाका ४६ निर्वाचन क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशका विभिन्न क्षेत्रमा अभूतपूर्व सफलता हासिल गर्दै १० जिल्लामा ‘क्लिन स्वीप’ गरेको छ । राजधानी उपत्यकादेखि मधेस र तराईसम्म रास्वपाले ११ जिल्लाका सबै निर्वाचन क्षेत्रमा विजय हासिल गर्दै नयाँ राजनीतिक लहर सिर्जना गरेको हो । सबैभन्दा ठूलो सफलता काठमाडौं उपत्यकामा देखिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका सबै १५ निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका छन् । काठमाडौंका १०, ललितपुरका ३ र भक्तपुरका २ सिटमा रास्वपाले विजय हासिल गर्दै उपत्यकामा पूर्ण वर्चस्व स्थापित गरेको हो । काठमाडौं–१ देखि १० सम्म क्रमशः रञ्जु दर्शना (न्यौपाने), सुनिल केसी, राजुनाथ पाण्डे, पुकार बम, सस्मित पोखरेल, शिशिर खनाल, गणेश पराजुली, विराजभक्त श्रेष्ठ, डोलप्रसाद अर्याल र प्रताप विष्ट निर्वाचित भएका छन् । भक्तपुर–१ मा रुकेश रन्जित र भक्तपुर–२ मा राजीव खत्री विजयी भएका छन् भने ललितपुर–१ मा बुद्धरत्न महर्जन, ललितपुर–२ मा जगदिश खरेल र ललितपुर–३ मा डा. तोसिमा कार्की विजयी भएका छन् । चितवनका तीनै निर्वाचन क्षेत्रमा पनि रास्वपाले विजय हासिल गर्दै क्लिन स्वीप गरेको छ । चितवन–१ मा हरि ढकाल, चितवन–२ मा पार्टी सभापति रवि लामिछाने र चितवन–३ मा सोविता गौतम विजयी भएका छन् । गौतमले भरतपुर महानगरकी मेयर रेनु दाहाललाई फराकिलो मतान्तरले पराजित गर्दै ऐतिहासिक जित हासिल गरेकी छन्। गण्डकी प्रदेशको कास्कीमा पनि रास्वपाले तीनै क्षेत्र जितेको छ । कास्की–१ मा खडकराज पौडेल, कास्की–२ मा उत्तमप्रसाद पौडेल र कास्की–३ मा विना गुरुङ विजयी भएका छन् । लुम्बिनी प्रदेशको रुपन्देहीमा पाँचै निर्वाचन क्षेत्रमा रास्वपाले जित दर्ता गर्दै पुराना दलका गढ भत्काएको छ । रुपन्देही–१ मा सुनिल लम्साल, रुपन्देही–२ मा सुलभ खरेल, रुपन्देही–३ मा लेखजंग थापा, रुपन्देही–४ मा कन्हैया बनियाँ र रुपन्देही–५ मा तौफिक अहमद खान विजयी भएका छन् । सुदूरपश्चिमको कैलालीमा पनि रास्वपाले पाँचै निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ । कैलाली–१ मा कोमल ज्ञवाली, कैलाली–२ मा केपी खनाल, कैलाली–३ मा जगतप्रसाद जोशी, कैलाली–४ मा खेमराज कोइराला र कैलाली–५ मा आनन्दबहादुर चन्द विजयी भएका छन् । कञ्चनपुर–१ मा रास्वपाका जनकसिंह धामी, कञ्चनपुर–२ मा दीपक बोहरा र कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्रसिंह महता विजयी भएका छन् । पूर्वी नेपालमा झापाका पाँचै निर्वाचन क्षेत्रमा पनि रास्वपाले क्लिन स्वीप गरेको छ । झापा–१ मा निशा डाँगी, झापा–२ मा इन्दिरा राना मगर, झापा–३ मा प्रकाश पाठक, झापा–४ मा शम्भुप्रसाद ढकाल र झापा–५ मा बालेन शाह विजयी भएका छन् । मधेस प्रदेशका सप्तरी र पर्सामा पनि रास्वपाको प्रभाव देखिएको छ । सप्तरीका चारै क्षेत्रमा क्रमशः पुष्पाकुमारी चौधरी, रामजी यादव, अमरकान्त चौधरी र सीताराम साह विजयी भएका छन् । पर्साका चारै क्षेत्रमा बुद्धिप्रसाद पन्त, सुशीलकुमार कानु, रामाकान्त चौरसिया र टेकबहादुर शाक्य निर्वाचित भएका छन् । त्यसैगरी, उदयपुरका दुवै निर्वाचन क्षेत्रमा पारशमणि गेलाल र सूर्यबहादुर तामाङ विजयी भएका छन् भने सिन्धुलीका दुईवटै क्षेत्रमा धनेन्द्र कार्की र आशिष गजुरेल निर्वाचित भएका छन् ।
धनुषा १ को मत परिणाम सार्वजनिक नगर्नूः निर्वाचन आयोग
काठमाडौं । निर्वाचन आयोगले धनुषा निर्वाचन क्षेत्र नम्बर १ को मत परिणाम सार्वजनिक नगर्न निर्देशन दिएको छ। आयोगले आइतबार निर्वाचन अधिकृतको कार्यालयलाई उक्त निर्देशन दिएको हो । रास्वपाका उमेदवार किशोरी साहको उमेदवारी खारेजको रिटमा पेसी तोकिएको छ । आयोगले गत १८ गते मा बसेको बैठकले ‘उम्मेदवारी खारेज गर्ने’ निर्णयका सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा (रिट नं.०८२-WO-०९७२) विचाराधीन रहेको छ । अदालतबाट आदेश नहुँदासम्म निर्वाचन परिणाम सार्वजनिक नगर्न आयोगले निर्देशन दिएको हो । आयोगले यस सम्बन्धमा अदालतबाट आदेश नहुँदासम्म त्यस निर्वाचन क्षेत्रको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको मत परिणाम घोषणा नगर्नु नगराउनु हुन अनुरोध गरेको छ ।
अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर
काठमाडौं । नेपालको संसदीय इतिहासमै बिरलै पाइने जनादेश राष्ट्रिय स्वतन्त्र पार्टीले पाएसँगै निजी क्षेत्रसमेत उत्साहित देखिएको छ । पछिल्ला वर्षहरूमा कुनै पनि दलले चुनावमा एकल बहुमत नपाउँदा गठबन्धनका सरकार बन्ने र अनेकौँ स्वार्थका कारण ती सरकार छोटो समयमै भंग हुँदा राजनीतिक अस्थिरताको मारमा निजी क्षेत्र पर्दै आएको थियो । हालै सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले गराएको चुनावमा दुई वर्षअघि खुलेको राष्ट्रिय स्वतन्त्र पार्टीले दुई तिहाइ नजिकको बहुमत प्राप्त गर्ने निश्चित भएसँगै अब पाँच वर्षसम्म स्थिर सरकार बन्ने भएपछि निजी क्षेत्र निकै उत्साहित देखिएको छ । छिटो मतगणना सकेर पूर्ण कार्यकालको सरकार बनाउन लागिहाल्नुपर्ने र अब बन्ने दुई तिहाइ नजिकको रास्वपा सरकारसँग मिलेर अघि बढ्न तयार रहेको निजी क्षेत्रका अगुवाहरूले बताएका छन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले अहिलेको अवस्थामा असम्भवजस्तै देखिने एउटै पार्टीले दुई तिहाइ नजिक बहुमत हासिल गर्नु सामान्य कुरा नभएको बताए । उनका अनुसार निजी क्षेत्रले बारम्बार उठाउँदै आएको स्थायी सरकारको माग पूरा हुन लागेको छ । अग्रवालका अनुसार अब बन्ने सरकारका अर्थनीतिहरूको स्थायित्व हुन जरुरी छ । संविधान जारी भएयता अर्थनीति ढुलमुल भएको उनले बताए । जसका कारण निजी क्षेत्रले ठूलो क्षति बेहोर्नुपर्‍यो र विदेशी लगानीकर्ता पनि अलमलमा परे । अब त्यस्तो हुनु हुँदैन । अध्यक्ष अग्रवालले भने, 'अहिलेको अवस्थामा असम्भवजस्तै देखिने एउटै पार्टीले दुई तिहाइ हासिल गर्नु ठूलो उपलब्धि हो । निजी क्षेत्रले बारम्बार भन्दै आएको कुरा भनेको हाम्रो आर्थिक समृद्धि नहुनुको एक प्रमुख कारण राजनीतिक अवरोध हो । त्यो समस्या करिब हल हुने देखिएको छ । निजी क्षेत्रलाई चाहिने भनेको सुरक्षाको प्रत्याभूति पनि हो । जेनजी आन्दोलनका बेला निजी क्षेत्रको झन्डै ८० अर्ब सम्पत्ति क्षति भयो ।' उनले अब आउने सरकारले करका नीतिहरू लगानी प्रवर्द्धन गर्ने खालका हुनुपर्ने बताए । होटल एसोसिएसन नेपाल (हान) का अध्यक्ष विनायक शाहले अब बन्न लागेको दुई तिहाइको सरकारसँग सहकार्य गर्न आफूहरू आतुर रहेको बताए । उनका अनुसार अब बन्न लागेको दुई तिहाइ नजिकको सरकारले आगामी दिनमा सुशासन कायम गर्दै भ्रष्टाचार निर्मूल पार्नुपर्छ । जेनजीहरूको मागलाई पूर्ण रूपमा सम्बोधन गर्नुपर्छ । दुई तिहाइ बहुमत नजिक प्राप्त गरेको रास्वपाले आफ्नो घोषणापत्रमै पर्यटन र होटल क्षेत्रमा धेरै विषय समेटेकाले ती कुराहरू अक्षरशः लागू गर्न लाग्नुपर्ने उनको भनाइ छ । शाहका अनुसार अर्बौँ लगानीमा बनाइएका पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याएर धेरै पर्यटक भित्र्याउन सरकार चुकिरहेको छ । अब बन्ने सरकारले त्यसलाई पूर्ण रूपमा सञ्चालन गर्न मास्टर प्लान बनाउनुपर्छ । अध्यक्ष शाहले भने, 'आजको दिनमा पोखरा र भैरहवा विमानस्थल चलाउन मूलभूत प्रयास के भएको छ त ? सरकारी स्तरबाटै खासै प्रयास भएको छैन । प्रयास हुनुपर्छ । यसमा भूराजनीतिक प्रभाव होला, अन्तर्राष्ट्रिय वा राष्ट्रिय कारण होला, ती समस्या समाधान गर्दै जानुपर्छ ।' बहुमत प्राप्त सरकारले पुराना कानुनहरूमा व्यापक सुधार (रिफर्म) गरेर मुलुकलाई अघि बढाउन जरुरी रहेको उनको भनाइ छ । शाहका अनुसार अहिलेभन्दा दोब्बर पर्यटक भित्र्याउन सकिने सम्भावना रहेकाले सरकारले सोहीअनुसारको वातावरण बनाउन लाग्नुपर्छ ।
सिन्धुपाल्चोक– २ नेकपाका युवराज दुलाल विजयी
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक– २ बाट नेकपाका युवराज दुलाल विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बंशलाल तामाङलाई २ हजार ५५३ मतान्तरले पराजित गर्दै जित हासिल गरेका हुन् । नेकपाका दुलालले २१ हजार ६९९ मत प्राप्त गर्दै विजयी भएका छन् । तामाङ १९ हजार १४६ मत सहित दोस्रो भए । तेस्रोमा नेकपा एमालेका शेरबहादुर तामाङले १५ हजार ९२६ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका झलक कुमार श्रेष्ठले १४ हजार १९ मत सहित चौथो स्थानमा सीमित भएका छन् ।
पालिका त्यागे, संघीय चुनाव हारे
काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा एक दर्जनभन्दा बढी स्थानीय तहका जनप्रतिनिधिले पदबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिए । पाँच वर्षका लागि निर्वाचित भए पनि कार्यकाल पूरा नहुँदै संघीय संसद्मा प्रवेश गर्ने लक्ष्यसहित पालिकाको जिम्मेवारी त्यागेर उम्मेदवारी दिएका ती जनप्रतिनिधिमध्ये अधिकांशले पराजय बेहोरेका छन् । पालिकाको प्रमुख पदबाट राजीनामा दिएका उम्मेदवारमध्ये काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख बालेन्द्र शाह (बालेन) र धरान उपमहानगरपालिकाका तत्कालीन प्रमुख हर्क साम्पाङ मात्र विजयी भएका छन् । भावी प्रधानमन्त्रीका रूपमा चर्चा गरिएका शाहले झापा क्षेत्र नम्बर ५, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनावमा होमिएका थिए । उनले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई झण्डै ५० हजार मतान्तरले पछि पार्दै जीत हासिल गरे । शाहले ६८ हजार ३६८ मत प्राप्त गरी विजयी हुँदा ओलीले १८ हजार ७२४ मत मात्र प्राप्त गरेका छन् । धरान उपमहानगरपालिकाका तत्कालीन प्रमुख हर्क साम्पाङले आफ्नै दल गठन गरी संघीय राजनीतिमा प्रवेश गरेका थिए । श्रम संस्कृति पार्टीबाट सुनसरी–१ मा उम्मेदवार बनेका हर्क विजयी भइसकेका छन् । साम्पाङले ३५ हजार ७४१ मत प्राप्त गरी जीत हासिल गर्दा उनका निकटतम प्रतिद्वन्द्वी शरिन तामाङले २७ हजार २४९ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहे । रेणुको अनपेक्षित पराजय झन्डै ३० वर्षे राजनीतिक जीवन बिताइसकेकी र चितवन महानगरमा ९ वर्ष विकास, समृद्धि र सुशासनका लागि समर्पित रेणु दाहालले प्रमुख पदबाट राजीनामा दिएर प्रतिनिधिसभा चुनावमा उम्मेदवारी दिइन् । दुई कार्यकालसम्म मेयरमा विजयी भएकी दाहाल यसपटक पनि जनताको समर्थन पाउने आशामा थिइन् । तर चितवनबासीले नयाँ पुस्तालाई रोजे । चितवन क्षेत्र नं. ३ बाट उम्मेदवार बनेकी दाहाल २० हजार ६१५ मतसहित दोस्रो भएकी छन् । उनका प्रतिस्पर्धी रास्वपाकी सोविता गौतमले ५९ हजार २७७ मत प्राप्त गरी विजयी भएकी छन् । हारपछि दाहालले सामाजिक सञ्जालमा गौतमलाई बधाई दिँदै लेखेकी छन्, ‘मैले कामद्वारा तपाईंहरूको मन त जितें तर मत जित्न सकिनँ । मत जित्ने सोविता गौतमलाई धेरै धेरै बधाई भन्न चाहान्छु ।’ उनले जनताको साथमा निरन्तर रहने वचन दिँदै भनिन्, ‘चितवनबासीको हक, हित, विकास र समृद्धिका लागि म निरन्तर साथमा हुनेछु ।’ अन्य उम्मेदवारहरू पनि पराजित पालिकाको जिम्मेवारी त्यागेर प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दिएका रेणु दाहाल मात्र नभई अन्य जनप्रतिनिधिहरू पनि हार बेहोर्न बाध्य भएका छन् । दुई पटक स्याङ्जाको कालीगण्डकी गाउँपालिका अध्यक्ष बनेका खिमबहादुर थापाले पदबाट राजीनामा दिएर निर्वाचनमा उम्मेदवारी दिए । उनी एमालेबाट स्याङ्जा–२ क्षेत्रबाट चुनाव लडेका थिए । ०७४ र ०७९ को स्थानीय तह निर्वाचनमा विजयी भएका थापा यसपटक तेस्रो स्थानमा सीमित भए । उक्त क्षेत्रमा रास्वपाका झविलाल डुम्रे २५ हजार २५४ मत ल्याएर विजयी भए भने थापाले १४ हजार १०८ मत प्राप्त गरेका छन् । बाँकेको नेपालगन्ज उपमहानगरका उपप्रमुख कमरुद्दिन राईले पदबाट राजीनामा दिएर उपेन्द्र यादवको जनता समाजवादी पार्टी, नेपालबाट बाँके–२ मा उम्मेदवारी दिएका थिए । तर उनले जीत हासिल गर्न सकेनन् । उक्त निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवार मोहम्मत इश्तियाक राई विजयी भए । उनले २४ हजार ६२८ मत ल्याएर विजयी भएका छन् । कमरुद्दिनले ९०८ मत ल्याएर छैटौंमा सीमित भए। कैलालीको टीकापुर नगरपालिका नगर प्रमुख रामलाल डगौरा थारू पदबाट राजीनामा दिएर नेकपाबाट कैलाली–१ को उम्मेदवार बनेका थिए । ०७९ मा नागरिक उन्मुक्ति पार्टीबाट नगर प्रमुख निर्वाचित डगौराले यस पटक दल फेर्दै प्रतिनिधिसभा रोजेका हुन् । उनले पनि जीत हासिल गर्न सकेनन् । उक्त निर्वाचन क्षेत्रमा रास्वपाका कोमल ज्ञवालीले १७ हजार ८२६ मत ल्याएर विजयी भए । डगौरा ८ हजार ३९२ मत ल्याएर तेस्रोमा सीमित भए । मोरङको रंगेली नगरपालिका प्रमुख दिलीपकुमार अग्रवालले नेकपा एमालेले मोरङ–२ बाट उम्मेदवार बनाएको थियो । दुई कार्यकाल नगर प्रमुख भइसकेका अग्रवाल एमाले केन्द्रीय सदस्यसमेत हुन् । उनले पनि जीत हासिल गर्न सकेनन् । उनले १५ हजार ६२४ मत ल्याएर दोस्रोमा सीमित भए । उक्त निर्वाचन क्षेत्रमा कृष्ण कुमार कार्कीले ४० हजार ९२४ मत ल्याएर विजयी भएका छन् । इलामको सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट इलाम क्षेत्र नम्बर १ बाट चुनाव लडेका थिए । २०७९ को निर्वाचनमा उनले नेपाली कांग्रेस र माओवादीसँगको गठबन्धनबाट पुनः मेयर पदमा जित हासिल गरेका थिए । यो चुनावमा उनले पनि जीत हासिल गर्न सकेनन् । २२ सय ९८ मत ल्याएर उनी पाँचौं स्थानमा सीमित छन् । उक्त निर्वाचन क्षेत्रमा नेकपा एमालेका काजी मान कागतेले ७ हजार ३१ मत ल्याएर विजयी भएका छन् । लिखु गाउँपालिका उपाध्यक्ष पदबाट राजीनामा दिएकी एमाले केन्द्रीय सदस्य अस्मिता थापाले ओखलढुंगाबाट चुनावमा उठे पनि चौंथो स्थानमा सीमित भइन् । उक्त निर्वाचन क्षेत्रमा रास्वपाका विश्वराज पोखरेलले १३ हजार ९५३ मत ल्याएर विजयी भएका छन् । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाका प्रमुख असिम राईले पनि पदबाट राजीनामा दिँदै नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट सोलुखुम्बुको प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार दिएका थिए । उनले पनि जीतको खाता खोल्न सकेनन् । उक्त क्षेत्रमा नेपाली कांग्रेसका प्रकाश सिंह कार्कीले १३ हजार १६६ मत ल्याएर जीत हासिल गरेका छन् । राईले भने ९ हजार ४१४ मत ल्याएर दोस्रोमा सीमित भए ।
कैलालीमा रास्वपाको क्लिनस्विप, २६ वर्षीय केपीको पनि जित
काठमाडौं । कैलाली-२ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का युवा उम्मेदवार केपी खनाल विजयी भएका छन् । २६ वर्षीय खनालले १९ हजार ५७ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टीका पतिराम चौधरीले ११ हजार ९४९ मत प्राप्त गरे। खनालले चौधरीलाई ७ हजार १०८ मतान्तरले पराजित गरेका हुन् । यसैगरी नेकपा (एमाले) का सूर्यबहादुर थापाले ७ हजार ८८६ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार विजयबहादुर स्वाँरले ७ हजार २१३ मत प्राप्त गरेका छन् । कैलालीमा यसपटक रास्वपाले उल्लेखनीय सफलता हासिल गरेको छ । यसअघि कैलाली-१ बाट कोमल ज्ञवाली, कैलाली-३ बाट जगतप्रसाद जोशी, कैलाली-४ बाट खेमराज कोइराला र कैलाली-५ बाट आनन्दबहादुर चन्द विजयी भइसकेका छन् । यससँगै कैलालीका ५ वटै निर्वाचन क्षेत्रमा रास्वपाले विजय हासिल गर्दै ‘क्लिन स्वीप’ गरेको छ ।