विकासन्युज

नेशनल लघुवित्तद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाले भोटेकोसी बाढीपीडितको उद्धार तथा राहतका लागि ७० लाख रुपैयाँ सहयोग गरेको छ । संस्थाले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो । बिहीबार संस्थाका सञ्चालकद्वय प्रदीपकुमार रेग्मी र नरेन्द्रप्रसाद छद्कुली तथा प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादव र नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्र बस्नेतले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ७० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । प्रमुख कार्यकारी अधिकृत यादवले कोषमा सहयोग गर्नुसँगै बाढीबाट प्रभावित आफ्ना ग्राहक सदस्यका लागि संस्थाले छुट्टै आर्थिक सहयोगसमेत उपलब्ध गराउने जानकारी दिए ।

एनभिडियाका सीईओ जेन्सन ह्वाङद्वारा १ करोड डलर सहयोग, १० अर्ब नाघ्यो कोष

काठमाडौं । एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन ह्वाङले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड अमेरिकी डलर (करिब १ अर्ब ५० करोड रुपैयाँ) सहयोग गरेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ह्वाङले गरेको सहयोगप्रति हार्दिक आभार व्यक्त गरेका छन् । उनका अनुसार उक्त सहयोग प्राप्त भएसँगै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा संकलित रकम १० अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । अर्थमन्त्री वाग्लेले यसलाई अभूतपूर्व सहयोग भन्दै ह्वाङप्रति धन्यवाद व्यक्त गरेका छन् ।

आज श्रीकृष्ण जन्माष्टमी, देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरिँदै

काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले आज श्रीकृष्ण जन्माष्टमी पर्व भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन् । द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक विश्वासअनुसार आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्रि भनिन्छ । यस अवसरमा देशभरका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना, प्रवचन, भजनकीर्तनलगायत कार्यक्रम आयोजना गरिन्छ। भक्तजनले व्रत बसी रातभर जाग्राम बस्ने परम्परा पनि छ । धार्मिक मान्यताअनुसार अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानव समुदायको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा श्रीकृष्णको जन्म भएको हो । श्रीकृष्णले जीवनभर सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको धार्मिक ग्रन्थमा उल्लेख छ । कुरुक्षेत्रको युद्धमा कौरवविरुद्ध लडिरहेका पाण्डवमध्येका अर्जुनलाई श्रीकृष्णले दिएको उपदेशलाई श्रीमद्भगवद्गीता भनिन्छ । हिन्दु धर्मावलम्बीका लागि पवित्र ग्रन्थ मानिने गीतालाई छोटकरीमा गीता पनि भनिन्छ। यो विश्वका धेरै भाषामा अनुवाद भएको धार्मिक ग्रन्थका रूपमा परिचित छ । पौराणिक ग्रन्थमा श्रीकृष्णले बाल्यकालदेखि नै विभिन्न लीला देखाएको र पुतना, कंस, जरासन्ध तथा शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको उल्लेख छ । श्रीकृष्ण जन्माष्टमीका अवसरमा पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा विशेष मेला लाग्ने गर्छ । त्यस्तै, काठमाडौंको उत्तरपूर्वी क्षेत्रमा पर्ने कागेश्वरी मनोहरा नगरपालिकास्थित नवतनधाममा पनि भक्तजनको ठूलो भीड लाग्ने गर्दछ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका ठूला तथा साना कृष्ण मन्दिरमा समेत भक्तजनको भीड लाग्ने गरेको छ । पर्वका अवसरमा विभिन्न धार्मिक संघसंस्थाले श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रासमेत निकाल्ने गरेका छन् । श्रीकृष्ण जन्माष्टमीका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

बाढीपीडितको सहयोगमा यामाहा ब्लू स्ट्रीक्स, रसुवा र नुवाकोटमा राहत वितरण

काठमाडौं । यामाहा ब्लू स्ट्रीक्स मोटरसाइकल कम्युनिटीले रसुवा र नुवाकोटका बाढीपीडित परिवारका लागि राहत सामग्री वितरण गरेको छ । गत भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारलाई तत्काल सहयोग पुर्‍याउने उद्देश्यले कम्युनिटीका सदस्यहरूले आफ्नै तर्फबाट रकम संकलन गरी राहत अभियान सञ्चालन गरेका हुन् । अभियानमार्फत ९३ हजार रुपैयाँ संकलन गरिएको थियो । संकलित रकमबाट चामल, दाल, मिनरल वाटर, स्यानिटरी प्याडलगायत अत्यावश्यक सामग्री खरिद गरी राहत प्याकेज तयार पारिएको थियो । भारी वर्षाका बीच पनि ब्लू स्ट्रीक्सका सदस्यहरूले राहत सामग्री तयार गरी मोटरसाइकलको समूहसहित प्रभावित क्षेत्रतर्फ लगेका थिए ।  थप राहत सामग्री एउटा सवारीसाधनमार्फत पनि प्रभावित क्षेत्रमा पुर्‍याइएको थियो । राहत सामग्री नुवाकोटको श्री सुन्दरी केउरिनी माध्यमिक विद्यालयमा स्थापना गरिएको अस्थायी होल्डिङ सेन्टरमा वितरण गरिएको थियो ।  त्यहाँ कम्युनिटीका सदस्यहरूले बाढीपीडित परिवार, विशेषगरी ज्येष्ठ नागरिक तथा बालबालिकासँग प्रत्यक्ष भेट गरी राहत सामग्री उपलब्ध गराउनुका साथै उनीहरूलाई हौसला र साथ दिएका थिए । एमएडब्लू राइड्स प्रालिका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवालले ब्लू स्ट्रीक्सका सदस्यहरू राइडिङसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय रहेको बताए । ‘हाम्रा राइडरहरू राइड मात्र सँगै गर्दैनन्, समाजलाई सहयोग पनि सँगसँगै मिलेर गर्छन्,’ अग्रवालले भने, ‘नेपालभर भइरहेका हाम्रा सामाजिक उत्तरदायित्वका गतिविधि हुन् वा यस्ता कठिन परिस्थिति, हाम्रो मूल मन्त्र सधैं ‘राइड टू प्राइड’ रहँदै आएको छ । ब्लू स्ट्रीक्स आवश्यक परेको समयमा आम नागरिकको साथमा निरन्तर उभिइरहनेछ ।’ बाढीबाट प्रभावित क्षेत्रमा पुनःस्थापना तथा पुनर्निर्माणको काम जारी रहेका बेला ब्लू स्ट्रीक्सको पहलले सामुदायिक सहकार्य र सामाजिक उत्तरदायित्वलाई मानवीय सहयोगमा रूपान्तरण गर्ने उदाहरण प्रस्तुत गरेको कम्पनीले जनाएको छ ।

गरिमा विकास बैंकद्वारा शेयरधनीहरूलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफामार्फत आफ्ना शेयरधनीहरूलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । (भाद्र १८ गते) बिहीबार बसेको सञ्चालक समितिको ३५१औं बैठकले हाल कायम चुक्ता पुँजी  ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३ सय ६७ रुपैयाँ २२ पैसाको १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (करसहित) गरी कुल २० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।  प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई विकास बैंकको आगामी २०औं वार्षिक साधारण–सभाबाट पारित भएपश्चात् शेयरधनीहरूमा वितरण गरिने बैंकले जनाएको छ । प्रस्तावित १० प्रतिशत बोनस शेयर जारी भएपश्चात् बैंकको चुक्ता पुँजी वृद्धि भई ६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार २ सय ३ रुपैयाँ ९४ पैसा पुग्नेछ ।  काठमाडौंको बालुवाटारमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले हाल देशभर रहेका १२६ शाखा कार्यालय र ५१ वटा एटीएममार्फत आफ्ना ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

एफवानसफ्ट ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाख सहयोग

काठमाडौं । एफवानसफ्ट ग्रुपले बाढीबाट प्रभावित व्यक्ति, परिवार तथा समुदायको राहत र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कुल १ करोड ३५ लाख सहयोग प्रदान गरेको छ ।  ग्रुप अन्तर्गतका इसेवा, फोनपे, एफवानसफ्ट इन्टरनेशनल, ईसेवा मनि ट्रान्स्फर र कम्पनीका कर्मचारीहरूको संयुक्त पहलमा उक्त रकम कोषमा जम्मा गरिएको हो । संकटको यस कठिन घडीमा बाढीप्रभावितहरूसँगै उभिने र राहत कार्यमा थप मद्दत पुर्‍याउने उद्देश्यले यो योगदान गरिएको कम्पनीले जनाएको छ । यसका साथै, एफवानसफ्ट ग्रुपले आफ्ना डिजिटल प्लेटफर्महरू फोनपे र इसेवामार्फत व्यक्तिगत रूपमा राहत कोषमा योगदान पुर्‍याउने सम्पूर्ण प्रयोगकर्ताहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ । हालसम्म इसेवाका १ लाख २९ हजार १३ जना प्रयोगकर्ताले ९ करोड ७० लाख र फोनपेका ८ लाख ६२ हजार ४४५ जना प्रयोगकर्ताले २ अर्ब १९ करोड रुपैयाँ सहयोग गरिसकेका छन् ।  फोनपेमार्फत प्राप्त सहयोगमा अन्तर्राष्ट्रिय योगदानसमेत समावेश छ । जसअन्तर्गत भारतबाट एनपीसीआई–इन्टिग्रेटेड पेमेन्टमार्फत १९ हजार ८५८ प्रयोगकर्ताले ४ करोड २२ लाख र चीन तथा दक्षिणपूर्वी एसियाबाट अलिपेमार्फत २ हजार ९६५ प्रयोगकर्ताले १ करोड ६३ लाख रकम सहयोग गरेका हुन् । संस्थाले बाढीबाट प्रभावित सम्पूर्ण परिवार तथा समुदायप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै यस कठिन समयबाट अघि बढ्न सबैमा साहस, धैर्य र हौसला मिलोस् भन्ने कामना गरेको छ । साथै, प्रभावित क्षेत्रहरूमा निरन्तर खटिएर उद्धार, राहत तथा सहयोगमा जुटिरहेका सरकारी निकाय, स्वयंसेवक, विभिन्न संघसंस्था तथा व्यक्तिहरूप्रति एफवानसफ्ट ग्रुपले उच्च सम्मानका साथ आभार प्रकट गरेको छ ।

काठमाडौंमा प्रतिसिलिन्डर २ हजार १६५ रुपैयाँ ३८ पैसामा ग्यास बिक्री गरिने

काठमाडौं । त्रिशूली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर क्षेत्रमा सडक कटान भएर यातायात अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति प्रभावित भएको छ ।  सडक अवरुद्ध हुँदा ग्यास बिक्री-वितरणमा समस्या देखिएपछि नेपाल एलपी ग्यास उद्योग संघले वैकल्पिक मार्ग प्रयोग गरी आपूर्ति व्यवस्था मिलाउन आग्रह गरेको छ । संघका अनुसार बाढीका कारण काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा एलपी ग्यास सिलिन्डर बिक्री-वितरण चुनौतीपूर्ण बनेको छ ।  समस्या समाधानका लागि नेपाल आयल निगम र संघबीच भएको बैठकले मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धादिङमा रहेका ग्यास उद्योगबाट सिलिन्डर रिफिल गरी ट्रकमार्फत वैकल्पिक मार्गबाट काठमाडौं उपत्यकामा ल्याउने निर्णय गरेको छ । निर्णयअनुसार काठमाडौं उपत्यकामा रहेका ग्यास उद्योगहरूले समेत सोही क्षेत्रमा रहेका उद्योगबाट रिफिल गरी सिलिन्डर ल्याउनुपर्नेछ । यसका लागि हेटौंडाबाट काठमाडौंसम्म वैकल्पिक मार्ग प्रयोग गर्दा दूरी १३१ किलोमिटर हुने र थप ढुवानी खर्च लाग्ने संघले जनाएको छ । नेपाल आयल निगमको यसअघि भएको निर्णयअनुसार हेटौंडाको सहारा ग्यास उद्योगबाट काठमाडौंसम्म वैकल्पिक मार्ग प्रयोग गरी ग्यास ल्याउँदा थप हुने ढुवानी भाडा प्रतिसिलिन्डर ९३ रुपैयाँ २६ पैसा तथा नियमानुसार लाग्ने करसहित १०५ रुपैयाँ ३८ पैसा कायम गरिएको संघले जनाएको छ । संघले भदौ १८ गते सम्पन्न आफ्नो ३१औं वार्षिक साधारणसभाको निर्णयअनुसार काठमाडौं उपत्यकामा एलपी ग्यास बजारीकरण गर्ने सबै उद्योगलाई निगमले तोकेको प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमा वैकल्पिक ढुवानीबापतको थप १०५ रुपैयाँ ३८ पैसा जोडेर हुन आउने २ हजार १६५ रुपैयाँ ३८ पैसाभन्दा बढी नहुने गरी ग्यास बिक्री-वितरण गर्न आग्रह गरेको छ । साथै, विपद्का कारण उत्पन्न असहज परिस्थितिमा ग्यास उद्योगी तथा बिक्रेताहरूलाई नयाँ सिलिन्डरको बजारीकरण नगरी आपूर्ति व्यवस्थालाई सहज बनाउन सहयोग गर्न संघले आग्रह गरेको छ । नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष विद्यान बहादुर चन्दले असहज परिस्थितिमा उपभोक्तालाई ग्यासको अभाव हुन नदिन उद्योगी तथा बिक्रेतालाई वैकल्पिक व्यवस्थामार्फत आपूर्ति निरन्तर राख्न अनुरोध गरेका छन् । 

महालक्ष्मी विकास बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकले गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनस्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यका साथ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग प्रदान गरेको छ ।  उक्त भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लाका रसुवागढी, टिमुरे, स्याफ्रुबेसी, बेत्रावती, त्रिशूली, देवीघाट लगायतका स्थानहरूमा अकल्पनीय र अत्याधिक मात्रामा जनधनको क्षति पुर्‍याएको छ ।  यस विषम परिस्थितिको सामना गर्नका लागि बैंकको तर्फबाट र बैंकमा कार्यरत कर्मचारीहरूको तर्फबाट एक दिन बराबरको पारिश्रमिक समेत जोडेर सो रकम सहयोग गरिएको बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । विपत्तिको यस कठिन घडीमा जीवन गुमाएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति बैंकले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । साथै, बाढीका कारण घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ । महालक्ष्मी विकास बैंकले प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता व्यक्त गर्दै राहत, उद्धार तथा पुनस्थापनाको लागि सम्बन्धित निकाय तथा सरोकारवालाहरूबाट भइरहेका प्रयासहरूमा आफ्नो सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेको छ ।