काठमाडौं । होटल संघ नेपालले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आर्थिक तथा भौतिक सहयोग जुटाएको छ ।
संघले बाढीमा परी ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिक र पर्यटकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पर्कविहीन भएका नागरिक तथा पर्यटकको उद्धार छिट्टै सम्पन्न हुने आशासमेत संघले व्यक्त गरेको छ ।
विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले संघले आफ्ना सदस्य होटललाई आवश्यकताअनुसार आर्थिक तथा भौतिक सहयोग गर्न आग्रह गरेको थियो । संघका अनुसार उक्त आह्वानमा अधिकांश सदस्य होटलले सकारात्मक प्रतिक्रिया जनाएका छन् ।
हालसम्म प्राप्त विवरणअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा होटल किङ्सबेरीले १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ । त्यस्तै, चन्द्रागिरी हिल्सले ५२ लाख ५१ हजार, होटल मेची क्राउनले २६ लाख र एभरेष्ट होटलले २० लाख रुपैयाँ सहयोग गरेका छन् ।
त्यसैगरी रामडा इन्क्योर ठमेलले ११ लाख ११ हजार १११ रुपैयाँ, अर्किड ग्लोरी लिमिटेडअन्तर्गतका होटल क्राउन इम्पेरियल र माउन्ट ग्लोरी फरेस्ट रिसोर्ट एन्ड स्पाले ५ लाख ११ हजार १११ रुपैयाँ तथा ड्रिम ग्रुप बुटवलले ५ लाख ३ हजार रुपैयाँ सहयोग गरेका छन् ।
होटल सारथीले १ लाख ६५ हजार, होटल एम्बासडरले १ लाख, क्लब हिमालयले १ लाख र होटल संघ नेपाल सिन्धुलीले १ लाख ४ हजार २८५ रुपैयाँ सहयोग गरेका छन् । धुलिखेल माउन्टेन रिसोर्ट, होटल नान्स, होटल मेलुङत्येलगायतबाट पनि राहत कोषमा रकम जम्मा भएको संघले जनाएको छ ।
चन्द्रागिरी हिल्स, क्राउन इम्पेरियल र माउन्ट ग्लोरी रिसोर्ट एन्ड स्पालगायत होटलमा कार्यरत कर्मचारीले पनि व्यक्तिगत रूपमा राहत कोषमा रकम जम्मा गरेका छन् ।
होटल संघ नेपालले सञ्चालन गरेको राहत कोषमा एयरपोर्ट होटल, ग्रान्ड होटल, होटल स्वागतम, होटल रेनफरेस्टलगायतबाट प्राप्त रकमसमेत संकलन भइरहेको संघले जनाएको छ । उक्त रकम राहत कोषमार्फत प्रभावित क्षेत्रमा सहयोग गरिने छ।
कतिपय सदस्य होटलले भने खाद्यान्न, लत्ताकपडा, औषधि तथा अन्य अत्यावश्यक सामग्री प्रत्यक्ष रूपमा प्रभावित क्षेत्र तथा सम्बन्धित निकायमार्फत उपलब्ध गराइरहेका छन् ।
यसैबीच, भोटेकोशी बाढीपछि बेपत्ता भएका नागरिकको खोजी तथा अवस्थाबारे जानकारी लिन नेपाल आएका आफन्त तथा विदेशी पर्यटकलाई होटल संघ नेपालले आवश्यक सहयोग गरिरहेको छ ।
संघले सम्बन्धित प्रदेश तथा जिल्ला होटल संघसँग समन्वय गरी प्रभावितका आफन्त तथा खोजीका लागि आएका विदेशी पर्यटकका लागि निःशुल्क बसोबास तथा खानपानको व्यवस्था मिलाएको जनाएको छ ।
नेपाल पर्यटन बोर्डमा स्थापना गरिएको बेपत्ता पर्यटकका परिवार तथा आफन्तको सहयोग र व्यवस्थापनमा पनि संघले काम गरिरहेको छ । बाढीका कारण परिवार तथा आफन्तसँग सम्पर्कविहीन भएका स्वदेशी तथा विदेशी नागरिकलाई आवश्यक सूचना, समन्वय र मानवीय सहयोग उपलब्ध गराउन संघ सक्रिय रहेको जनाएको छ ।
होटल संघ नेपालले भोटेकोशी बाढीमा ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिक तथा पर्यटकको आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली सभा आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति ऐक्यबद्धता प्रकट गरिने संघले जनाएको छ ।