गुणस्तर मापदण्ड पूरा नगरेको भन्दै क्युरेक्स फर्मास्युटिकल्सको औषधि फिर्ता गर्न निर्देशन

काठमाडौं । औषधि व्यवस्था विभागले गुणस्तर मापदण्ड पूरा नगरेको भन्दै प्यान्टोलक–डीएसआर औषधि बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ ।

विभागले बजार अनुगमनका क्रममा संकलन गरेको नमुना राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा उक्त औषधिमा डोम्पेरिडोनको घुलन परीक्षणसम्बन्धी विधि नेपाल औषधि संहिता २०२६ अनुसार नभएको पाइएको जनाएको छ ।

क्युरेक्स फर्मास्युटिकल्स प्रालि, बनेपा, नेपालले उत्पादन गरेको उक्त औषधिको ब्याच नम्बर सीपीडी–०५७ रहेको छ। औषधि सेप्टेम्बर २०२५ मा उत्पादन भएको र अगस्ट २०२७ सम्म प्रयोग गर्न सकिने विवरणमा उल्लेख छ ।

प्यान्टोलक–डीएसआरमा प्यान्टोप्राजोल ४० मिलिग्राम र डोम्पेरिडोन ३० मिलिग्राम रहेको जनाइएको छ। यो पेटमा बन्ने अम्ल तथा त्यससँग सम्बन्धित समस्यामा प्रयोग हुने औषधि हो ।

विभागले उक्त ब्याचको औषधि बिक्री–वितरण नगर्न तथा बजारबाट फिर्ता गर्न सम्बन्धित सबैलाई निर्देशन दिएको छ । साथै, औषधिको सिफारिस, बिक्री–वितरण तथा प्रयोग नगर्न समेत आग्रह गरेको छ ।

Share News