काठमाडौं । ‘नेपाल ग्यास’ नामबाट तरलीकृत पेट्रोलियम ग्यासका सिलिन्डर बजारमा आपूर्ति गर्दै आएको नेपाल ग्यास इण्डस्ट्रिजले आर्थिक वर्ष २०८१/८२ मा ३ अर्ब २३ करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । कम्पनीको उक्त आम्दानी आर्थिक वर्ष २०८०/८१ को तुलनामा १.७९ प्रतिशत अर्थात् ५ करोड ९० लाख रुपैयाँ कम हो । आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले ३ अर्ब २९ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
त्यसअघि आर्थिक वर्ष २०७९/८० मा कम्पनीको सञ्चालन आम्दानी ३ अर्ब १८ करोड ८० लाख रुपैयाँ, आव २०७८/७९ मा ३ अर्ब ९ करोड ८० लाख रुपैयाँ र आव २०७७/७८ मा २ अर्ब ३९ करोड रुपैयाँ रहेको थियो ।
सन् १९६९ देखि तरलीकृत पेट्रोलियम ग्यास भर्ने उद्योगका रूपमा सञ्चालनमा रहेको नेपाल ग्यास इण्डस्ट्रिजले नेपाल आयल निगमबाट ग्यास भर्ने उद्योगका रूपमा सञ्चालनको अनुमति प्राप्त गरेको छ । कम्पनीले बागमती प्रदेशमा ‘नेपाल ग्यास’ नामबाट ग्यासका सिलिन्डर आपूर्ति गर्दै आएको छ ।
कम्पनीको सम्पूर्ण स्वामित्व समृद्धि ग्यास इण्डस्ट्रिज प्रालिको रहेको छ । करिब ५७ वर्षदेखि ग्यास भर्ने तथा आपूर्ति गर्ने व्यवसायमा सक्रिय कम्पनीको सञ्चालक समितिको अध्यक्षमा धर्मराज बरतौला रहेका छन् ।
नेपालको तरलीकृत पेट्रोलियम ग्यास उद्योग आयात अनुमति, सिलिन्डरको मापदण्ड, भण्डारण तथा सञ्चालनसम्बन्धी नियम र वितरण सुरक्षालगायतका विषयमा कडा नियमनमा रहेको छ । नियामकीय मापदण्ड पालना गर्न नसके जरिवाना, सञ्चालनमा अवरोध, प्रतिष्ठामा असर तथा थप नियामकीय निगरानीको जोखिम रहने कम्पनीको भनाइ छ ।
कम्पनीको व्यवसाय मुख्यतः बागमती प्रदेशमा केन्द्रित छ । साथै, नेपालमा तरलीकृत पेट्रोलियम ग्यास आयात गर्ने एक मात्र अधिकृत संस्था नेपाल आयल निगम रहेकाले आयातकर्तामा उच्च निर्भरता रहेको छ । ग्यासको मूल्य तथा आपूर्ति व्यवस्थामा नेपाल आयल निगमसँग प्रत्यक्ष निर्भरता रहेकाले मूल्यमा हुने उतारचढाव, आपूर्ति सीमितता तथा सरकारी नीति वा नियमनमा हुने परिवर्तनले कम्पनीको सञ्चालनमा असर पार्न सक्ने देखिन्छ ।
नेपाल आयल निगमको निगरानीमा ग्यासको आपूर्ति तथा माग दुवै पक्ष नियमन हुने भएकाले उद्योगमा सञ्चालन नाफाको सीमा साँघुरो रहेको छ । साथै, ग्यास वितरण कम्पनीबीच मूल्यभन्दा बाहेकका पक्षमा हुने प्रतिस्पर्धा तीव्र रहेकाले नाफा वृद्धि तथा सञ्चालनमा आवश्यक लचकता सीमित भएको जनाएको छ ।
कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कुल १ अर्ब १० करोड रुपैयाँ ऋण लिएको छ । उक्त ऋणमध्ये ४७ करोड ३० लाख रुपैयाँ दीर्घकालीन र ६२ करोड ७० लाख रुपैयाँ अल्पकालीन ऋण रहेको कम्पनीले जनाएको छ ।