देशभर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै कामना सेवा विकास बैंक
काठमाडौं । ग्लोबल मनी वीक २०२६ को अवसरमा कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरू सम्पन्न गरेको छ । विश्व वित्तीय सप्ताह ‘ग्लोबल मनी वीक’ प्रत्येक वर्ष अर्गनाइजेसन फर इकोनोमिकको–अपरेशन एन्ड डेभलपमेन्टको संयोजनमा मार्च महिनामा मनाइने गरिन्छ। यस वर्ष उक्त सप्ताह मार्च १७ देखि २३ सम्म सञ्चालन गरिएको थियो । यस अवसरमा बैंकले विद्यालयस्तरमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै विद्यार्थीहरूमा वित्तीय ज्ञान तथा सीप विकास गर्ने उद्देश्यका साथ देशभर प्रभावकारी कक्षा सञ्चालन गर्नुका साथै सामाजिक सञ्जालमार्फत विभिन्न सचेतनामूलक सामग्रीहरू प्रसारण गरेको जनाएको छ । बैंकले सातै प्रदेशका विभिन्न विद्यालयहरूमा कार्यक्रम सञ्चालन गर्दै १ हजार भन्दा बढी विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा लाभान्वित गरेको छ । कार्यक्रममा साना बचतलाई एकीकृत गरी पुँजी निर्माण गर्ने तरिका, बचतको महत्व, व्यक्तिगत बजेट निर्माण, खर्च व्यवस्थापन तथा डिजिटल कारोबारका अवसर र चुनौतीबारे जानकारी प्रदान गरिएको थियो । साथै, बढ्दो डिजिटल ठगीका घटनालाई मध्यनजर गर्दै बैंकले सूचना प्रविधि (आईटी) सम्बन्धी सचेतना अभिवृद्धि गर्न विशेष अभियानसमेत सञ्चालन गरेको जनाएको छ । अभियानअन्तर्गत सामाजिक सञ्जालमार्फत विभिन्न भाषामा सचेतनामूलक भिडियो सामग्री प्रसारण गरिएको थियो, जसले वित्तीय सुरक्षासम्बन्धी सन्देश समुदायस्तरसम्म पुर्याउन सहयोग पुगेको बैंकले जनाएको छ । त्यसैगरी बैंकले सुरक्षित भविष्यका लागि बचत गर्ने बानी विकास, बचत तथा लगानी व्यवस्थापन, बजेट समायोजन, आकस्मिक अवस्थाका लागि कोष व्यवस्थापन, डिजिटल कारोबार गर्दा हुने गल्ती तथा अनलाइन ठगीबाट बच्ने उपायसम्बन्धी जानकारी पनि प्रदान गरेको छ । सप्ताहको अवसरमा विभिन्न स्थानमा वित्तीय साक्षरता सन्देशसहित प्रभातफेरी कार्यक्रमसमेत सञ्चालन गरिएको बैंकले जनाएको छ। कामना सेवा विकास बैंकले ग्लोबल मनी वीक २०२६ अन्तर्गत सञ्चालन गरिएका सम्पूर्ण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जनाएको छ ।
प्राधिकरणको कारबाहीमा परे ८ बीमा कम्पनी
काठमाडौं । नेपाल बीमा प्राधिकरणले ८ बीमा कम्पनीलाई कारबाही गरेको छ । बीमा प्राधिकरणले बीमा ऐनअन्तर्गत काम नगर्ने कम्पनीलाई कारबाही गरेको प्राधिकरणका प्रवक्ता पुजन ढुंगेलले जानकारी दिइन् । प्राधिकरणकाे कारवाहीमा पर्ने बीमा कम्पनीहरूमा नेपाल लाइफ इन्स्योरेन्स, एशिएन लाइफ इन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, हिमालयन रि इन्स्योरेन्स, नेको इन्स्योरेन्स, एलियन्ट इन्स्योरेन्स ब्रोकर कम्पनी, हिमालयन लाइफ र ओरियन्टल इन्स्योरेन्स रहेका छन् । प्रवक्ता ढुंगेलका अनुसार प्राधिकरणले नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र थापालाई सुधारको लागि सचेत गराउने वा निर्देशन दिने खालको कारबाही भएको छ । त्यस्तै, एलियन्ट इन्स्योरेन्सलाई तीन महिनाको लागि निलम्बन गरिएको छ । अरू बाँकी बीमा कम्पनीलाई ऐनअनुसार २ लाख जरिवाना गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार कम्पनीहरूलाई बीमा ऐन, २०७९ को दफा १३८ को उपदफा ४ अनुसार कारबाही गरेको हो । उक्त दफामा प्राधिकरणको निर्देशनविपरीत काम गरेमा दुई लाखदेखि ५० लाखसम्म जरिवाना हुने व्यवस्था छ । ‘यो ऐन वा ऐन अन्तर्गत बनेको नियम, विनियम वा आदेश पालना नगरेमा वा यस ऐन बमोजिमको रीत नपुर्याई बिमा व्यवसाय गरेमा वा झुटा विवरण तयार गरेमा प्राधिकरणले देहाय बमोजिमको जरिवाना गर्न सक्नेछ । दफा १३८ को उपदफा ४ अनुसार (क) पहिलोपटकका लागि दुई लाख रुपैयाँ, (ख) दोस्रोपटकको लागि पच्चीस लाख रुपैयाँ र (ग) तेस्रोपटक वा सोभन्दा बढीको लागि पटकैपिच्छे पचास लाख रुपैयाँ जरिवानाको व्यवस्था गरिएको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक चैत १० गते बस्ने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक चैत १० गते मंगलबार बस्ने भएको छ । बैठक दिउँसो १ बजे ललितपुरस्थित बीपी स्मृति भवनमा बस्ने जानकारी दिइएको छ । पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी सूचनाअनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूको उपस्थिति अनिवार्य गरिएको छ । बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीको आन्तरिक सुदृढीकरण तथा आगामी रणनीतिबारे छलफल हुने जनाइएको छ ।
४ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो, १५ अर्बको कारोबार
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५ अंकले बढेर २९३६ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार १०२ कम्पनीको सेयर मूल्य बढ्दा १५४ कम्पनीको सेयर मूल्य घटेको हो । ८ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । सोमबार ३४२ कम्पनीको ३ करोड कित्ता सेयर किनबेच हुँदा १५ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार कुमारी बैंकको भएको छ । कुमारी बैंकको ६७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, शिवम् सिमेन्टको ६० करोड, नेसनल हाइड्रोको ५७ करोड, एनआरएन इन्फाइस्ट्रक्चरको ५४ करोड ९८ लाख र न्यादी गुप्रको ५४ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबारको कारोबार ४ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
अष्ट्रेलिया र सिङ्गापुर ऊर्जा आपूर्ति सहज बनाउन सहमत
काठमाडौं । अष्ट्रेलिया र सिङ्गापुरले तेल, डिजेललगायतका इन्धनको सहज आपूर्ति सुनिश्चितमा सहयोग गर्न सोमबार सहमती जनाएका छन् । यी देशहरूले पछिल्लो समय मध्यपूर्व युद्धको कारण विश्वव्यापी रुपमा उर्जा सङ्कटको सामना गरिरहेका छन् । संयुक्त राज्य अमेरिका, इजरायल र इरान बीचको युद्ध होर्मुज वरपर केन्द्रित भएको कारण विश्वव्यापी तेलको मूल्य बढेको छ, जहाँबाट विश्वको तेल र ग्याँसको लगभग २० प्रतिशत ढुवानी हुन्थ्यो । संयुक्त विज्ञप्ति जारी गर्दै अस्ट्रेलिया र सिङ्गापुरले सोमबार मध्य पूर्वको अवस्था र आफ्नो क्षेत्रका लागि यसको प्रभावका विषयमा गहिरो चिन्ता दर्शाएका छन् । ऊर्जा आपूतिलाई सहज र बलियो बनाउन मिलेर काम गर्न प्रतिबद्ध रहेको उनीहरूले बताएका छन् । उनीहरू ऊर्जा सुरक्षालाई सुदृढ पार्न, पेट्रोलियम पदार्थका साथै प्राकृतिक ग्यास लगायत आवश्यक वस्तुहरूको प्रवाहलाई समर्थन गर्न सहमत भएका छन् । हाल अस्ट्रेलियामा पेट्रोलको मूल्य बढेको छ भने अधिकारीहरूले उच्च मूल्यवृद्धिका कारण बासिन्दाहरूलाई अत्यावश्यक सामान मात्र किन्न आह्वान गरेका छन् । रासस
अर्थविद् केशव आचार्यको निधन
काठमाडौं । अर्थविद् केशव आचार्यको ७२ वर्षको उमेरमा निधन भएको छ । अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा आज बिहान ९:५५ बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । मस्तिष्कघात भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उनको पार्थिव शरीरको अन्त्येष्टि भोलि मंगलबार गरिने जनाइएको छ । आचार्यका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशकसमेत रहेका आचार्यले पछिल्लो समय मुलुकको वित्तीय अवस्था र आर्थिक सुशासनका विषयमा सक्रिय बहस तथा पैरवी गर्दै आएका थिए । उनले लामो समयसम्म राष्ट्र बैंकमा विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालेका थिए । उनी अर्थतन्त्रका समसामयिक मुद्दा, आर्थिक नीति तथा विकास योजनाबारे विश्लेषण र टिप्पणी गर्ने विज्ञका रूपमा चिनिन्थे । नेपालका आर्थिक चुनौती, सम्भावना र सुधारका उपायबारे उनले आफ्ना धारणा तथा लेखमार्फत निरन्तर योगदान दिँदै आएका थिए ।
बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प
काठमाडौं । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बझाङको रायाल आसपास केन्द्रविन्दु भएर सोमबार दिउँसो १ बजेर १४ मिनेट जाँदा ४.१ ‘रेक्टरस्केल’को भूकम्प गएको हो । यसअघि गत चैत ३ गते दार्चुलाको सितौला आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो । नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा सानाठूला भूकम्प जाने गरेको छ ।
युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै सिद्धार्थ क्यापिटल
काठमाडौं । 'स्मार्ट मनी टक्स' भन्ने मूल नाराका साथ मार्च १६ देखि सुरु भएको ग्लोबल मनी वीक २०२६ विश्वभर मनाइएको अवसरमा सिद्धार्थ क्यापिटल लिमिटेडले नेपालका विभिन्न सहरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रमअन्तर्गत कक्षा १२ तथा स्नातक तहमा अध्ययनरत युवा विद्यार्थीहरूलाई लक्षित गर्दै वित्तीय साक्षरता सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ । सिद्धार्थ क्यापिटलले काठमाडौं, नेपालगञ्ज, विराटनगर, बुटवल, नारायणगढ र पोखरालगायत स्थानमा कार्यक्रम सञ्चालन गरेको हो । काठमाडौंस्थित मृगसिरा वर्ल्ड स्कूल, विराटनगर इन्टरनेशनल कलेज, नारायणगढको वीरेन्द्र बहुमुखी क्याम्पस तथा नेपालगञ्ज बहुमुखी क्याम्पसमा सिद्धार्थ क्यापिटलको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको थियो । त्यस्तै बुटवलको मणिमुकुन्द कलेज र पोखराको प्रतिभा माध्यमिक विद्यालयमा सिद्धार्थ बैंक लिमिटेडको सहकार्यमा विद्यार्थीहरूलाई वित्तीय साक्षरता सम्बन्धी जानकारी प्रदान गरिएको जनाइएको छ । वित्तीय पहुँच विस्तार तथा दिगो आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले सञ्चालन गरिएका यस्ता कार्यक्रमले युवा पुस्तालाई जिम्मेवार वित्तीय निर्णय लिन प्रेरित गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ । ग्लोबल मनी वीक २०२६ मार्च २२ मा सम्पन्न भएको थियो ।