नागरिक लगानी कोषमा सहभागीलाई मौलाकालिका अस्पतालमा २० प्रतिशत छुट
काठमाडौं । नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीहरूलाई मौलाकालिका अस्पताल प्रालि भरतपुर, चितवनले सबै सेवामा २० प्रतिशत छुट दिने भएको छ । सो सम्बन्धी सम्झौतामा कोषका निर्देशक शोभा श्रेष्ठ सुवेदी र अस्पतालका प्रबन्ध निर्देशक डा. केशवराज भुर्तेलले हस्ताक्षर गरे । सम्झौतासँगै अब कोषका सदस्य, सहभागी, सेयरधनी र कर्मचारीले उक्त छुट पाउनेछन् । छुटको लागि कोषको परिचयपत्र वा सहभागी कार्ड पेस गर्नु पर्ने व्यवस्था गरिएको छ ।
५ महिनामा निर्जीवन बीमा कम्पनीको व्यवसाय १९ अर्ब माथि, कस्को व्यापार कति ?
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिना (मंसिर महिना) सम्ममा निर्जीवन बीमा कम्पनीहरूले १९ अर्बमाथि कुल व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले शुक्रबार (आज) सार्वजनिक गरेको तथ्यांकअनुसार १४ निर्जीवन बीमा कम्पनीहरूले ११ लाख ६२ हजार १९६ वटा बीमा पोलिसी जारी गरेर १९ अर्ब ४८ करोड ९६ लाख रुपैयाँको व्यवसाय आर्जन गरेका हुन् । बीमा कम्पनीहरुले मंसिर महिनामा मात्रै २ लाख ५९ हजार ९८ पोलिसी जारी गरेर कुल ३ अर्ब ६४ करोड १४ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । मंसिर मसान्तसमममा सबैभन्दा धेरै व्यवसाय सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले गरेको छ । कम्पनीले ५ महिनाको अवधिमा १ लाख ७ हजार ९२० बीमालेख जारी गरेर कुल २ अर्ब २१ करोड ९२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । कम्पनीले मंसिर महिनामा मात्रै ४३ करोड ५६ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । दोस्रोमा शिखर इन्स्योरेन्सले १ लाख ३० हजार १६७ बीमालेख जारी गरी २ अर्ब १५ करोड ५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । तेस्रोमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ लाख २९ हजार ६४६ पोलिसी जारी गरेर २ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ८६ करोड रुपैयाँ, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब ६६ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्स कम्पनीले १ अर्ब ५७ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, नेको इन्स्योरेन्सले १ अर्ब ४३ करोड रुपैयाँ, यूनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ३१ करोड रुपैयाँ, सानिमा जिआइसी इन्स्योरेन्सले १ अर्ब २२ करोड रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्स कम्पनीले १ अर्ब ११ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । नेपाल इन्स्योरेन्स कम्पनीले १ अर्ब १ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले ७९ करोड ८५ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्सले ६० करोड ६८ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले ४९ करोड ३० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
संयोजक दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलबीच भेटवार्ता भएको छ । सरकारी राजनीतिक संवाद समितिका सदस्यसमेत रहेका मन्त्री खरेलले शुक्रबार दाहाललाई भेटेर समसामयिक राजनीतिक विषयमा छलफल गरेको स्रोतले जनाएको छ। भेटमा आगामी प्रतिनिधि सभा निर्वाचनको तयारी, निर्वाचन वातावरण निर्माण र प्रमुख दलहरूबीच सहमति कायम गर्ने विषयमा कुराकानी भएको बताइएको छ । यसअघि मन्त्री खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरेका थिए । प्रतिनिधि सभा निर्वाचन गर्ने तयारी गरिरहेका बेला भएको भेटघाटलाई राजनीतिक दलहरूबीच सहमति खोज्ने प्रयासका रूपमा हेरिएको छ ।
ओलीको स्थानहद हटाउने मन्त्री खरेलको प्रतिबद्धता
काठमाडौं । नेपाल सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सरकारले सबै प्रकारका उल्झन हटाउने बताएका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई लगाइएको स्थानहद हटाउन सकिनेतर्फ संकेत गर्दै खरेलले निर्वाचनका सवै उल्झन हटाउने प्रतिबद्धता व्यक्त गरेको ओली निकट स्रोतले बताएको छ । उनले नेकपा एमालेका अध्यक्ष ओलीसँग भक्तपुरको गुण्डुस्थित निवासमा करिब दुई घण्टा चलेको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै निर्वाचनको वातावरण शान्तिपूर्ण र निष्पक्ष बनाउन सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे । छलफलको क्रममा समसामयिक राजनीतिक अवस्था, निर्वाचन तयारी, मतदाता सुरक्षा बारे गहन छलफल भएको बताइएको छ । यसअघि मन्त्री खरेलले आज बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए ।
कास्कीमा १७ हजार बढी नयाँ मतदाता थप
काठमाडौं । आसन्न निर्वाचनका लागि कास्की जिल्लामा १७ हजारभन्दा बढी मतदाता थप भएका छन् ।यसअघिको निर्वाचनमा यहाँ दुई लाख ९४ हजार १५१ मतदाता रहेकामा आसन्न निर्वाचनका लागि थप १७ हजार ८४२ जनाले नयाँ मतदाता नामावलीका लागि आवेदन दिएका हुन् । जिल्ला निर्वाचन कार्यालयले नयाँ मतदाताका लागि गत असोज १० गतेदेखि मङ्सिर ५ गतेसम्म आवेदन माग गरेकामा उक्त सङ्ख्याका मतदाताले आवेदन दिएको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । नयाँ मतदाता नामावलीका सम्बन्धमा कार्यालयले थप अध्ययन गरिरहेको उल्लेख गर्दै उनले शीघ्र अन्तिम नामावली प्रकाशन गरिने बताए । जिल्लामा निर्वाचनका लागि १५३ मतदानस्थल तय भइसकेका जानकारी दिँदै सूचना अधिकारी न्यौपानेले यसअघिको निर्वाचनमा १५० निर्वाचनस्थल रहेका बताए । उनका अनुसार अन्तिम मतदाता नामावली तय भएपछि मात्रै मतदान केन्द्रहरूबारे टुङ्गो लाग्नेछ ।
काठमाडौं महानगरको आम्दानी ४ अर्ब २१ करोड , खर्च ४ अर्ब ६४ करोड
काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को पुस ९ गतेसम्ममा कुल ४ अर्ब २१ करोड १३ लाख ६७ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । जुन कुल आम्दानी लक्ष्यको २७.८६ प्रतिशत हो । महानगरले चालु आवको लागि राजश्व आम्दानीतर्फ १५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ राजश्व लक्ष निर्धारण गरिएको थियो । जसमा आन्तरिकतर्फ १० अर्ब १२ करोड ६४ लाख रुपैयाँ रहेको छ भने नेपाल सरकार र प्रदेश सरकारबाट सशर्त, समानीकरण र राजश्व बाँडफाँटबाट प्राप्त हुने लक्ष्य ४ अर्ब ४ करोड ३४ लाख रुपैया अनुमान गरेको थियो । पुस ९ गतेसम्म महानगरले आन्तरिक आयतर्फ कुल २ अर्ब ६७ कराृेड ७३ लाख ८८ हजार रुपैयाँ राजश्व संकलन गरेको छ भने राजश्व बाँडफाँटबाट ७७ करोड ९९ लाख ८० हजार रपैयाँ संकलन गरेको छ । महानगरको आन्तरिकतर्फ कुल लक्ष्यको २६.४४ प्रतिशत प्रगति भएको देखिन्छ । त्यस्तै, महानगरले राजश्व बाडफाँटबाट ७७ करोड ९९ लाख ८० हजार रुपैयाँ र संघ र प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदान ७५ करोड ३९ लाख ९८ हजार रुपैयाँ संकलन गरेको छ । ४ अर्ब ६४ करोड खर्च महानगरले चालु आवको पुस ९ गतेसम्ममा ४ अर्ब ६४ करोड ३४ लाख ७१ हजार रुपैयाँ खर्च गरेको छ । जुन कुल विनियोजनको १८.४८ प्रतिशत हो । समग्रलाई खर्च प्रतिशतमा हेर्ने हो भने चालू खर्च २८.४४ प्रतिशत र पूँजीगत खर्च १२.३९ प्रतिशत भएको छ । महानगरले चालु आवको लागि २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ सञ्चितकोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुनेगरी कुल २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँ बजेट छुट्याएको थियो । त्यस्तै, पुस ९ गतेसम्ममा महानगरले कार्यालय सञ्चालन तथा प्रशासन क्षेत्रमा सबैभन्दा बढी ४५.९९ प्रतिशत खर्च भएको छ । पूर्वाधार विकासमा १४.०१ प्रतिशत, आर्थिक विकासमा १५.१५ प्रतिशत, सामाजिक विकासमा १६.२२ प्रतिशत खर्च भएको छ । त्यस्तै, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १२.०६ प्रतिशत खर्च भएको छ। विभागअनुसार विनियोजित बजेटमा खर्चको विश्लेषण गर्दा प्रशासन विभागले कुल विनियोजित बजेटको ४६.५९ प्रतिशत खर्च गरेको छ । जसमा चालुतर्फ ४९.१८ प्रतिशत र पुँजीगततर्फ १०.२३ प्रतिशत विनियोजित बजेटमा खर्च भएको महानगरले जनाएको छ । त्यसैगरी, आन्तरिक लेखा परीक्षण एकाईको खर्च प्रतिशत ३८.७२ प्रतिशत, हनुमान ढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमको २७.७३ प्रतिशत र अन्तर्राष्ट्रियसम्बद्ध सचिवालयको २४.७९ प्रतिशत खर्च भएको छ । काठमाडौं महानगरको वडा कार्यालयहरूमा निकासा हुने रकमका आधारमा खर्चलाई विश्लेषण गर्दा पुस ९ गतेसम्ममा कुल निकासा भएको रकममध्ये काठमाडौं महानगरपालिका वडा नं. ७ ले सबैभन्दा बढी खर्च गरेको देखिन्छ । सो वडाले चालू खर्च शीर्षकमा २४.९२ प्रतिशत र पुँजीगत खर्चमा ३२.३३ प्रतिशत खर्च गरी समग्र कुल ३१.५३ प्रतिशत खर्च गरेको छ । त्यसैगरी, वडा नं. १६ ले कुल समग्र खर्च २६.१४ प्रतिशत खर्च गरेको छ भने वडा नं. २३ ले २३.३१ प्रतिशत खर्च गरेको देखिएको छ । वडा नं. १४ र वडा नं. १९ ले कमश: २१.९२ प्रतिशत र १९.६५ प्रतिशत खर्च गरेको छ ।
गुण्डु पुगे सञ्चारमन्त्री खरेल, ओलीसँग भेटवार्ता सुरु
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुण्डु पुगेका छन् । भक्तपुरको गुण्डुस्थित ओली निवासमा पुगेका मन्त्री खरेलले समसामयिक राजनीतिक अवस्था र आगामी फागुन २१ गते तोकिएको निर्वाचनका विषयमा ओलीसँग छलफल गर्ने जनाइएको छ । भेटका क्रममा निर्वाचनको तयारी अनि प्रधानमन्त्रीको दलका शीर्ष नेताहरूसँग हुने बैठकबारे छलफल हुने बताइएको छ । सो अवसरमा मन्त्री खरेलले शनिबार तय भएको तीन दलका शीर्ष नेता र प्रधानमन्त्रीबीच हुने वार्तामा सहभागी हुन ओलीलाई औपचारिक निम्तोसमेत दिने बताइएको छ । यसअघि मन्त्री खरेलले आज बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए । ओलीसँगको भेटपछि उनले नेकपाका संयोजक पुष्पकमल दाहालसँग पनि भेट गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।
महिला सशक्तिकरणदेखि गरिबी निवारणसम्म लघुवित्तको भूमिका अतुलनीय : उपाध्यक्ष श्रेष्ठ
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.प्रकाशकुमार श्रेष्ठले बिना धितो ऋण दिने लुघवित्त संस्थाबाहेक अरू कुनै नरहेको बताएका छन् । शुक्रवार राजधानीमा आयोजित बागमती प्रदेश लघुवित्त सदस्य सम्मेलनलाई सम्बोधन गर्दै उनी लघुवित्तले बिना धितोमा कर्जा प्रवाह गरेर गरिबी हटाउन महत्त्वपूर्ण भूमिका खेलेको बताउनु भयो। उनका अनुसार ३० दशकमा लघुवित्तले मुलुकको गरिबीलाई घटाउन ठूलो भूमिका खेलेको छ । लघुवित्तमार्फत महिलालाई वित्तीय स्रोत दिएर उनीहरूलाई सक्षम बनाएको समेत श्रेष्ठले बताए । उनले भने, ‘लघुवित्तले गरिबी हटाउन राम्रो भूमिका खेलेको छ । हामी दक्षिण एसियामा गरिबीको सुधार गर्ने देशमा पर्छौं । हाम्रो मानव विकास सूचांकमा पनि सुधार भएको छ । लघुवित्तमार्फत महिलालाई वित्तीय स्रोत बढेको छ । वित्तीय पहुँच बढेको छ । बिना धितो ऋण दिने कुनै संस्था छ भने लुघवित्त संस्था हो । अरू संस्थाले कमै दिन्छन् ।’ उपाध्यक्ष श्रेष्ठले राजनीति स्वार्थ पुरा गर्न लघुवित्तलाई बदनाम गरिएको समेत बताए । उनले हरेक क्षेत्रमा समस्या रहेकाले सम्बोधन गर्ने काम राज्यको भएकाले समाधान गर्दै जानेसमेत प्रतिवद्धतासमेत व्यक्त गरे । कार्यक्रममा नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवले लघुवित्तले वित्तीय पहुँचदेखि वित्तीय समावेशीकरणमा महत्त्वपूर्ण भूमिका खेलेको बताए । उनका अनुसार महिला सशक्तिकरण, वित्तीय साक्षरता, रोजगारी सिर्जनामा पनि लघुवित्तले योगदान दिइरहेको छ । ग्रामीण क्षेत्रको अर्थतन्त्र चलायमान बनाउन, ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गराउन लघुवित्तले ठूलो भूमिका खेलेको बताउँदै उनले लघुवित्तमा रहेका समस्याहरू हल गर्दै जानुपर्नेमा जोड दिए । यादवले भने, यादवले भने, ‘लघुवित्तले वित्तीय पहुँचदेखि वित्तीय समावेशीकरणमा महत्त्वपूर्ण भुमिका खेलेको छ । महिला सशक्तिकरण, वित्तीय साक्षरता, रोजगारी सिर्जनामा पनि लघुवित्तले योगदान दिइरहेको छ । ग्रामीण क्षेत्रको अर्थतन्त्र चलायमान बनाउन, ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गराउन लघुवित्तले ठूलो भूमिका खेलेको छ।’