नापी कार्यालयका सर्वेक्षक एक लाख घुससहित पक्राउ

काठमाडौं । महोत्तरीको बर्दिवासस्थित नापी कार्यालयमा कार्यरत सर्वेक्षक शिवकुमार साह घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।

अख्तियारका अनुसार बर्दिवास नगरपालिका–१ स्थित नापी कार्यालयमा कार्यरत साहले जग्गाको अंशबण्डाअनुसार नक्सा ट्रायल चेक गरी संशोधन गरिदिने काममा सेवाग्राहीलाई दुःख–हैरानी दिँदै घुस मागेको भन्ने सूचना र उजुरीका आधारमा टोली खटिएको थियो ।

टोलीले भदौ ३० गते सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नापी कार्यालय अगाडि रहेको एक खाजाघरबाट साहलाई रकमसहित नियन्त्रणमा लिएको हो ।

आयोगले भदौ ३१ गते विशेष अदालतबाट घुस तथा भ्रष्टाचारसम्बन्धी मुद्दामा म्याद थप गरी साहमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।

Share News