भारतमा रूसी भोड्का-ह्विस्कीको उछाल, १० महिनामा ५२० टन आयात
काठमाडौं । रूसी तेलको प्रमुख खरिदकर्तामध्ये एक बनेको भारतमा अब रूसी मदिराको माग पनि तीव्र रूपमा बढ्दै गएको छ । गत वर्षको तुलनामा यस वर्षको पहिलो १० महिनामा रूसबाट भारततर्फ हुने मदिरा निर्यात करिब चार गुणाले बढेको छ । यसले भारतलाई रूसी निर्यातकर्ताहरूका लागि एक आकर्षक उदीयमान बजार बनाइरहेको छ । रूसी कृषि मन्त्रालयअन्तर्गत संघीय कृषि निर्यात विकास केन्द्रका तथ्यांकका आधारमा प्रमुख वित्तीय तथा व्यापारिक दैनिक ‘वेदोमोस्तीले भारत रूसी भोड्का र अन्य कडा मादक पेय पदार्थका निर्यातकर्ताहरूका लागि आकर्षक बजारको रूपमा रहेको जनाएको छ । यो समाचार हालै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारत भ्रमण गरेको समयसँगै आएको हो । प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा पुटिनले दुवै देशबीच व्यापार विस्तार गर्ने इच्छा व्यक्त गरेका थिए । दुवै मुलुक आपसी व्यापार बढाउन नयाँ–नयाँ क्षेत्रको खोजीमा छन् । भारतमा रूसी मदिराको माग तीव्र रूपमा बढेको छ । यस वर्षको पहिलो १० महिनामा रूसबाट भारतमा मदिरा निर्यात गत वर्षको तुलनामा चार गुणा पुगेको छ । यस अवधिमा भोड्का, जिन, ह्विस्की र लिकरजस्ता पेय पदार्थहरूको ठूलो परिमाण पठाइएको छ । सन् २०२५ को पहिलो १० महिनामा रूसी मदिरा उत्पादकहरूले भारतमा करिब ५२० टन मदिरा पठाएका छन् । यसमा भोड्का, जिन, ह्विस्की र लिकर समावेश छन्। यी ढुवानीहरूको मूल्य ९ लाख अमेरिकी डलर थियो । यो गत वर्षको सोही अवधिको तुलनामा तौलका हिसाबले तीन गुणा र मूल्यका हिसाबले चार गुणा बढी हो। एग्रोएक्सपोर्टका अनुसार भोड्का निर्यात सबैभन्दा अगाडि रहेको छ । ती १० महिनामा भोड्काको ढुवानी मूल्य करिब ७ लाख ६० हजार अमेरिकी डलर पुगेको छ । यद्यपि, जनवरीदेखि अक्टोबरसम्म रूसी मदिराका सबैभन्दा ठूला आयातकर्तामध्ये भारत १४औं स्थानमा मात्र रहेको छ । टनका आधारमा भारतको हिस्सा १.३ प्रतिशत र आम्दानीका हिसाबले १.४–१.५ प्रतिशत रहेको छ । तर, भारततर्फ निर्यात वृद्धिदर सबैभन्दा उच्च रहेको छ । रूसबाट मदिरा खरिद गर्ने अन्य प्रमुख मुलुकहरूमा काजाकिस्तान, जर्जिया, चीन, अजरबैजान, आर्मेनिया र बेलारुस रहेका छन् । रूसी मदिरा निर्यातमा देखिएको तीव्र वृद्धिलाई भारत–रूसबीच पछिल्ला वर्षहरूमा मजबुत बनेको ऊर्जा व्यापारसँग पनि जोडेर हेरिएको छ । युक्रेन युद्धपछि पश्चिमी प्रतिबन्धका बीच भारतले रूसी कच्चा तेलको आयात उल्लेख्य रूपमा बढाएको थियो । यसले दुई देशबीच विश्वास र व्यापारिक साझेदारीलाई नयाँ उचाइमा पुर्याएको विश्लेषकहरूको भनाइ छ । यही ऊर्जा सहकार्यले अन्य क्षेत्र, विशेषगरी उपभोग्य वस्तु र खाद्य–पेय पदार्थको व्यापार विस्तारका लागि आधार तय गरेको देखिन्छ । ऊर्जा व्यापारबाट सुरु भएको यो सहकार्य अब मदिरा, कृषि उत्पादन र उपभोग्य सामग्रीतर्फ विस्तार हुँदै गएको छ । रूसी निर्यातकर्ताहरूका लागि भारत सस्तो ऊर्जा मात्र होइन, दीर्घकालीन बजारको रूपमा पनि स्थापित हुँदै गएको छ । दुवै देशले आपसी व्यापार विविधीकरण गर्ने रणनीति लिँदै आएका बेला तेलपछि मदिरा निर्यातमा देखिएको यो उछाल भारत–रूस आर्थिक सम्बन्धको नयाँ संकेतका रूपमा हेरिएको छ ।
सुनको मूल्य प्रतितोला २ लाख ६९ हजार नाघ्यो
काठमाडौं । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको छ । शुक्रबार (आज) पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ। आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६९ हजार ३०० र त्यति नै चाँदीको मोल ४ हजार ५८५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । दुवै धातुको मूल्य हालसम्मको उच्च हो । गत बुधबार छापावाल सुन प्रतितोला २ लाख ६८ हजार १०० मा र चाँदी ४ हजार ४२० मा कारोबार भएको थियो । बिहीबार दुवै धातुको मूल्यमा सामान्य गिरावट आएर प्रतितोला सुन २ लाख ६७ हजार ५०० र चाँदी ४ हजार ४०० मा कारोबार भएको थियो । अमेरिकी डलरको भाउ बढेसँगै सुनचाँदीको मूल्य पनि बढेको विश्लेषकहरूले बताएका छन् । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५०० र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
निर्वाचनको वातावरण बनाउने कसरतमा सरकार, प्रधानमन्त्री र तीन दलका शीर्ष नेताबीच भेटघाटको तयारी
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको विषयमा प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएकी छन् । प्रधानमन्त्री कार्कीका सञ्चार संयोजक राम रावलले भेटघाटको तयारीबारे छलफल भइरहेको जानकारी दिए । यद्यपि अझै मिति र समय भने तय भएको छैन । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताबीच शीतलनिवासमा भेटवार्ता भएको थियो। शीतलनिवासमा भएको उक्त भेटलाई निरन्तरता दिँदै प्रधानमन्त्री कार्कीले शनिबार (भोलि) आफ्नै पहलमा तीन दलका शीर्ष नेतासँग थप परामर्श गर्ने तयारी गरिरहेको रावलले बताए । उनका अनुसार आगामी निर्वाचनको समय, प्रक्रिया तथा राजनीतिक सहमतिका विषयमा छलफल केन्द्रित हुनेछ । देशको समग्र राजनीतिक परिस्थिति र निर्वाचनसँग जोडिएका संवेदनशील विषयमा साझा धारणा बनाउनका लागि यो छलफल महत्त्वपूर्ण मानिएको छ । शीर्ष तहमा हुने यो संवादले निर्वाचनसम्बन्धी अन्यौलता हटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको शीर्ष नेताहरूसँगको भेटघाट यही भेटघाटको तयारीका लागि भएको हो । सम्भवतः मन्त्री खरेलले सबै शीर्ष नेतासँग भेट गरेपछि प्रधानमन्त्री र शीर्ष नेताहरूबीचको भेटको मिति र समय तय हुने रावलले जानकारी दिए ।
सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता, के भयो कुराकानी ?
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल महाराजगञ्जस्थित निवास पुगेका छन् । शुक्रबार (आज) बिहान करिब १० बजेदेखि सुरु भएको भेटवार्ता अझै जारी रहेको देउवानिकट स्रोतले जनाएको छ । भेटमा समसामयिक राजनीतिक अवस्था, सरकारको कामकारबाही, आगामी निर्वाचन बारे छलफल भइरहेको बताइएको छ । यद्यपि भेटवार्ताको औपचारिक एजेन्डाबारे दुवै पक्षले सार्वजनिक रूपमा केही खुलाएका छैनन् । देउवासँगको भेटपछि मन्त्री खरेलले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग पनि छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम तय भएको सञ्चारमन्त्री खरेल निकट स्रोतले बताएको छ । सरकारले गठन गरेको उच्चस्तरीय वार्ता टोलीका सदस्यसमेत रहेका मन्त्री खरेलको तीन शीर्ष नेतासँगको भेटलाई पछिल्लो समय बढ्दो राजनीतिक संवाद र सहमतिको प्रयासका रूपमा हेरिएको छ ।
चीनको उच्चगतिको रेल नेटवर्क ५० हजार किलोमिटर नाघ्यो
काठमाडौं । विश्वकै सबैभन्दा ठूलो उच्चगतिको रेल सञ्जाल भएको चीनले नयाँ रेल लाइनको सुरुवातसँगै ५० हजार किलोमिटरको कुल सञ्चालन माइलेज पार गरेको छ । नयाँ उच्चगतिको रेल लाइनको प्रक्षेपणसँगै चीनको कुल सञ्चालन माइलेज ५० हजार किलोमिटरभन्दा माथि पुगेको हो । यससँगै चीनले विश्वको सबैभन्दा ठूलो उच्चगतिको रेल सञ्जालको रूपमा आफ्नो स्थान अझ सुदृढ बनाएको छ । शुक्रवार बिहान उत्तरपश्चिमी चीनको शान्सी प्रान्तको एक पवित्र क्रान्तिकारी केन्द्र यानआनबाट प्रान्तीय राजधानी सियानका लागि फक्सिङ बुलेट ट्रेन प्रस्थान गर्यो । यस प्रस्थानले नयाँ मार्गको उद्घाटन मात्र गरेन बरु राष्ट्रिय यातायात पूर्वाधारको विकासमा एक महत्त्वपूर्ण कोसेढुङ्गा पनि थपेको छ । फक्सिङ बुलेट ट्रेन चीनको स्वदेशी प्रविधिमा आधारित छ र यसले तीव्र गतिको साथसाथै यात्रुहरूलाई आरामदायी यात्रा प्रदान गर्दछ । ५० हजार किलोमिटरको यो उपलब्धिले चीनका विभिन्न शहरहरू बीचको दूरी घटाउन र आर्थिक गतिविधिहरूलाई गति दिन मद्दत पुर्याउने अपेक्षा गरिएको छ ।
प्रसारण लाइन मुनिको जग्गा कित्ताकाट गर्न पाइने, घर बनाउन नपाइने
काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको क्षेत्रको कित्ताकाट गर्न पाउने व्यवस्था गरेको छ । भू-उपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फत प्रसारण लाइनको मार्गाधिकार राइट अफ वेमा पर्ने जग्गाको क्षेत्रको स्वामित्व सम्बन्धित जग्गाधनीकै नाममा रहने गरी कित्ताकाट गर्न सकिने नयाँ व्यवस्था गरिएको हाे । प्रसारण लाइन निर्माणमा देखिएको समस्या समाधान गर्न गरिएको उक्त व्यवस्था गत २७ कात्तिकको राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आइसकेको छ । नयाँ व्यवस्था अनुसार प्रसारण लाइन मुनिको जग्गा कित्ताकाट गर्न पाइने भएता पनि सुरक्षाका मापदण्ड भने यथावत् रहने छन् । प्रसारण लाइनको राइट अफ वेमा पर्ने जग्गाको क्षेत्रभित्र घरलगायतका संरचना निर्माण, अग्ला रुख रोप्न वा जोखिमयुक्त गतिविधि गर्न भने पाइँदैन । प्रसारण लाइन निर्माण तथा सञ्चालनका क्रममा लाइनको सुरक्षित सञ्चालन, मर्मत सम्भार र सार्वजनिक सुरक्षालाई ध्यानमा राखी लाइनको केन्द्रबाट दायाँ र बायाँ दुवैतर्फ निश्चित दूरीसम्मको क्षेत्रलाई राइट अफ वे तोकिएको हुन्छ । राइटअफ वेको चौडाइ प्रसारण लाइनको भोल्टेज स्तर, टावरको उचाइ, तारको झुन्डिने अवस्था स्याग तथा प्राविधिक मापदण्डका आधारमा निर्धारण गरिन्छ । ६६ तथा १३२ केभी प्रसारण लाइनका लागि तारेको केन्द्रबाट दायाँबायाँ ९/९ मिटर गरी १८ मिटर, २२० केभी प्रसारण लाइनको १५/१५ गरी ३० मिटर र ४०० केभीको २३/२३ गरी ४६ मिटर राइट अफ वे रहने व्यवस्था छ । प्रसारण लाइन निर्माण गर्दा टावर प्याड रहने ठाउँको जग्गा मुआब्जा रकम दिएर अधिग्रहण गरिन्छ । अर्थात् जग्गाको स्वामित्व आयोजनाको नाममा रहन्छ । तर, राइट अफ वेमा भने जग्गाको स्वामित्व सम्बन्धित जग्गाधनीकै नाममा रहने गरी निश्चित प्रतिशत क्षतिपूर्ति दिइन्छ । हाल राइट अफ वेमा पर्ने जग्गाको मूल्याङ्कन गरिएको रकमको १०-२५ प्रतिशतसम्म क्षतिपूर्ति सम्बन्धित जग्गाधनीलाई दिँदै आएको छ । सम्बन्धित आयोजनाबाट जग्गा प्राप्तिको निर्णय र क्षतिपूर्ति प्रदान गरिएको प्रमाणसहित लेखी आएमा जग्गाको स्वामित्व सम्बन्धित जग्गाधनीकै नाममा कायम रहने गरी कित्ताकाट गर्न सकिने व्यवस्था गरिएको हो । ‘सम्बन्धित जग्गाधनीलाई क्षतिपूर्ति दिई त्यस्तो जग्गामा परेको विद्युतीय प्रसारण लाइनको राइट अफ वे क्षेत्रको कित्ताकाट गरिदिन प्रचलित कानून बमोजिम सम्बन्धित आयोजनाबाट जग्गा प्राप्तिको निर्णय र क्षतिपूर्ति प्रदान गरिएको प्रमाणसहित लेखी आएमा जग्गाको स्वामित्व सम्बन्धित जग्गाधनीकै नाममा कायम रहने गरी कित्ताकाट गर्न सकिनेछ,’ भू-उपयोग नियमावलीमा उल्लेख छ । प्रसारण लाइनको राइट अफ वेमा पर्ने निश्चित क्षेत्र पर्ने तर पुरै क्षेत्रको कित्ताकाट नहुँदा जग्गाधनीलाई कित्ताकाट, नामसारी तथा बैंक तथा वित्तीय संस्थामा धितो राख्न नपाउँदा आर्थिक तथा सामाजिक समस्या पर्दै आएको थियो । अब राइट अफ वेमा पर्ने जग्गाको क्षेत्रलाई कित्ताकाट गर्न सकिने हुँदा जग्गाको कारोबार सहज हुने र जग्गाधनीले आफ्नो सम्पत्तिको कानुनी उपयोग गर्न पाउने देखिएको छ ।
एनइए इन्जिनियरिङले २१.०५ प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौं । एनइए इन्जिनियरिङ कम्पनी लिमिटेडले लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको पुस ४ गते बसेको बैठकले २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद गरी २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । लाभांश प्रस्ताव पारित गर्न पुस २८ गते बिहान ९ बजे एनइए इन्जिनियरिङको कार्यालय ललितपुर महानगरपालिका-१०, चाकुपाटमा नवौँ वार्षिक साधारण सभा बोलाएको छ । सभाले सञ्चालक समितिको गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ । यस्तै, सभाले आव २०८१/८२ को लेखापरीक्षकमा महालेखा परीक्षकको कार्यालयको विसं २०८१ पुस २८ गतेको पत्रअनुसार लेखापरीक्षक चार्टड एकाउन्टेन्ट सुशील घिमिरेलाई नियुक्त गरेको र चालु आव २०८२/८३ को लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्नेछ । यस्तै, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।
पेटभित्रबाट निकालियो लागुऔषध, ३ विदेशी पक्राउ
काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित ३ जना विदेशीलाई पक्राउ गरेको छ । एक जनाको भने पेटभित्रबाट लागुऔषध निकालिएको ब्यूरोका सहायक प्रवक्ता प्रहरी नायब उपरीक्षक जीवन निरौलाले जानकारी दिए । हवाईमार्ग हुँदै नेपाल आएका विदेशी नागरिकलाई निगरानी गर्ने क्रममा लागुऔषध कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका ३ जना विदेशी नागरिकलाई लागुऔषध कोकिनसहित पक्राउ गरिएको उनले बताए । लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी थाई नागरिक ४० वर्षीया रुसानी कामालाई विशेष स्रोतबाट प्राप्त सूचनाका आधारमा सिनामङ्गलस्थित एक होटलमा फेला पारी खानतलासी गर्दा १२ वटा प्लाष्टिक कोटेट क्याप्सुलभित्र लागुऔषध कोकिन बरामद गरिएको थियो । सहायक प्रवक्ता निरौलाले भने, ‘थप अनुसन्धानका सिलसिलामा उनले मुखबाट निलेर पेटभित्र लुकाइ ल्याएको अन्य २९ वटा क्याप्सुलसमेत निकालियो, अस्पतालमा स्वास्थ्यकर्मीको सहयोगबाट उक्त क्याप्सुल निकाएिको छ, उनीसँग रहेको ४१ प्लाष्टिक कोटेट क्याप्सुल लागुऔषधको तौल ५५० ग्राम रहेको छ ।’ उनले यस्तै लाओसबाट सिङ्गापुर हुँदै काठमाडौं आएका भारतीय नागरिक ५५ वर्षीय जेभिएरलाई निगरानी गर्दै जाने क्रममा काठमाडौंको सिनामङ्गलस्थित सडकबाट पक्राउ गरिएको जानकारी दिए । उनको साथमा रहेको सुटकेस रिसिभ गर्न आएका अर्का भारतीय नागरिक २१ वर्षीय मुर्सलिन हुसेनलाई समेत पक्राउ गरिएको छ । उनीहरूमाथि खानतलासी गर्दा उक्त सुटकेसभित्र रहेको कफीको प्याकेटमा लुकाइराखेको अवस्थामा लागुऔषध कोकिन ३ किलो ७५० ग्राम रहेको पनि सहायक प्रवक्ता निरौलाले बताए । ब्यूरोले उनीहरूलाई बिहीबार अदालतमा पेस गरिएकामा अदालतबाट म्याद थप भई अनुसन्धान जारी रहेको जानकारी दिएको छ ।