विकासन्युज

महामन्त्रीलाई प्रवक्ताको चेतावनी– जिम्मेवारी बिर्सेर बाहिर नबोल्नू

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले महामन्त्री गगन थापालाई पार्टीभित्रको आफ्नो जिम्मेवारीप्रति सचेत रहन र बाहिर धेरै नबोल्न सुझाव दिएका छन् ।  पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महतले महामन्त्री थापालाई जिम्मेवारी बिर्सेर अतिरञ्जित ढंगले प्रस्तुत नहुन आग्रह गरेका हुन् । उनले पार्टीका पदाधिकारीहरूले आ-आफ्नो भूमिका र मर्यादाभित्र रहेर अभिव्यक्ति दिनु आवश्यक रहेको उल्लेख गरेका छन् ।  महामन्त्री थापाले महाधिवेशनको तालिकाबारे दिएको अभिव्यक्तिप्रति महतले पार्टी एकता र अनुशासन कायम राख्न नेतृत्व तहका नेताहरूले संयमित र जिम्मेवार व्यवहार गर्नुपर्नेमा जोड दिए । ‘पार्टीमा सबैको आ-आफ्नो भूमिका र दायित्व हुन्छ । महामन्त्रीजस्तो जिम्मेवार पदमा रहेका व्यक्तिले आफ्नो जिम्मेवारीलाई ख्याल गर्दै अभिव्यक्ति दिनुपर्छ । व्यक्तिगत धारणा प्रस्तुत गर्दा पनि पार्टीको हित र मर्यादालाई प्राथमिकतामा राख्नुपर्छ,’ महतको भनाइ थियो । हालैका दिनमा पार्टीभित्र देखिएका मतभेद र सार्वजनिक अभिव्यक्तिका विषयमा सञ्चारकमीहरूका प्रश्नको जवाफ दिँदै उनले आन्तरिक छलफल र विधिबाट समस्याको समाधान खोजिनुपर्ने धारणा राखे ।  उनले कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले विचार राख्न पाइने भए पनि त्यसले पार्टीलाई कमजोर बनाउने अवस्था आउन नदिन सबै सचेत हुनुपर्ने पनि बताए ।

जस्मिन पेन्ट्सको विजेता नेपालगञ्जकी देवी बुढाले जितिन् जापान भ्रमणको अवसर

काठमाडौं । जस्मिन पेन्ट्स लिमिटेडले 'चाडपर्वको उमंग, जापान घुमौं जस्मिन पेन्ट्ससँग' उपहार योजनाको बम्पर विजेताको घोषणा गरेको छ । कम्पनीले २०८२ भाद्र १ देखि कार्तिक मसान्तसम्म संचालन गरेको यस ग्राहक उपहार योजनामा विजेताको घोषणा ब्राण्ड एम्बेसेडर पारस खड्काको उपस्थितिमा लक्की ड्र कुपनमार्फत गरिएको थियो । पुष ७ गते भएको कार्यक्रममा नेपालगञ्ज निवासी देवी बुढाले जापान भ्रमण गर्ने सुनौलो अवसर प्राप्त गरिन् । यसबाहेक, अन्य ग्राहकहरुले पनि विभिन्न उपहार जित्न सफल भए । ७५ जनाले डिनर सेट, १०५ जनाले हिटर, १५१ जनाले आइरन र ७५० जनाले भित्ते घडी जितेर कुल १०८२ जनाले पुरस्कार प्राप्त गरे । तीन महिनासम्म सञ्चालन भएको यस योजनामा नेपालभरिका २६४७ भन्दा बढी ग्राहक सहभागी भएका थिए । ग्राहकहरुलाई ७५ हजार रुपैयाँ बराबरको जस्मिन पेन्ट्स उत्पादन खरिदमा बम्पर कुपन प्रदान गरिएको थियो । कम्पनीका कन्ट्री म्यानेजर डिल्ली राम पौडेलले ग्राहकहरूको उत्साहजनक सहभागिताले उपहार योजना सफल भएको र यसले कम्पनीको व्यावसायिक वृद्धिमा सहयोग पुगेको बताए । साथै उनले आगामी दिनमा सञ्चालन हुने नयाँ उपहार योजनामा सहभागी हुन ग्राहकहरूलाई आग्रह समेत गरे ।

राष्ट्रियसभाको अधिवेशन तत्काल आह्वान गर्न सरकारसँग कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभाको अधिवेशन तत्काल आह्वान गर्न सरकारसँग माग गरेको छ ।  बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले राष्ट्रियसभाको अधिवेशन बोलाउन सम्बन्धित निकायसमक्ष औपचारिक पहल गर्न राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाललाई आग्रह गर्ने निर्णय गरेको हो । प्रमुख सचेतक कृष्णबहादुर रोकायाले विकासन्युजसँग कुरा गर्दै भने, ‘हामी सदन सञ्चालनको माग गर्न भोलि अध्यक्षज्यूलाई भेट्दै छौं ।’  संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णयमा वर्तमान राजनीतिक परिस्थितिलाई असामान्य र संवैधानिक संकटको अवस्थाका रूपमा चित्रण गरिएको रोकायाले जानकारी दिए ।  दलको बैठकमा प्रतिनिधिसभा असंवैधानिक ढङ्गबाट विघटन गरिएको भन्दै त्यसको आलोचना गरिएको उनले बताए ।  रोकायाका अनुसार देशमा बदलिएको राजनीतिक विषम परिस्थितिमा प्रतिनिधिसभा विघटन भएपछि जनताको आवाज उठाउने सार्वभौम सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभा मात्र कायम रहेको अवस्था छ ।  यस्तो अवस्थामा राष्ट्रियसभाको बैठक बस्न अत्यावश्यक भएकाले अविलम्ब राष्ट्रियसभाको अधिवेशन आह्वान गर्न राष्ट्रिय सभाका अध्यक्षलाई ध्यानाकर्षण गर्न लागिएको रोकायाले बताए । त्यसैगरी, बैठकले नेपाली कांग्रेसका विभिन्न नेता तथा संविधानसभा सदस्यहरूको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्ने निर्णय पनि गरेको छ ।

रास्वपाको समानुपातिक सूचीमा डा. रुपक घिमिरे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको आकांक्षी सूचीमा छाला रोग तथा कपाल प्रत्यारोपण विशेषज्ञ डा. रुपक घिमिरे समावेश भएका छन् । डा. घिमिरे हाल रास्वपाको केन्द्रीय अभियान विभागका सदस्य तथा तनहुँ–काठमाडौं सम्पर्क समितिका संयोजक हुन् ।  काठमाडौं विश्वविद्यालयबाट एमबिबिएस र एमडी (डर्माटोलोजी) अध्ययन गरेका उनले भारत र दक्षिण कोरियाबाट कपाल प्रत्यारोपणसम्बन्धी विशेष तालिम लिएका छन् । नेपाल मेडिकल काउन्सिलका निवर्तमान निर्वाचित सदस्य रहेका डा. घिमिरे चिकित्सा क्षेत्रमा सुधारका पक्षधर व्यक्तित्वका रूपमा परिचित छन् ।  काउन्सिलमा रहँदा उनले मेडिकल मालप्र्याक्टिसविरुद्ध कडा अडान लिँदै सेवा प्रणालीलाई डिजिटल र पारदर्शी बनाउने पहल गरेका थिए । युवामैत्री राजनीतिका पक्षधर डा. घिमिरे ‘हामी नेपाल’ संस्थाका संस्थापक उपसभापति समेत हुन् ।  स्वास्थ्य, शिक्षा र रोजगारीलाई प्राथमिक एजेन्डा बनाउँदै आएका उनी जेनजी आन्दोलनका अगुवाका रूपमा चिनिन्छन् ।  

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बिहीबारदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु गरेको छ । पार्टीले बिहीबार र शुक्रबार ‘ब्लूप्रिन्ट संवाद’ तथा ‘शून्य समय’ कार्यक्रममार्फत आकांक्षीहरूको प्रस्तुति राख्ने व्यवस्था मिलाइएको प्रवक्ता मनिष झाले जानकारी दिए । दुई दिन पछि प्रारम्भिक निर्वाचनअन्तर्गत आन्तरिक मतदान (प्राइमरी भोटिङ) हुने जनाइएको छ । प्रवक्ता झाकाअनुसार यस प्रक्रियामा देशभरबाट निवेदन दिएका करिब चार सय आकांक्षी सहभागी छन् ।       तीमध्येबाट ११० जनाको नाम समानुपातिक बन्दसूचीमा समावेश गरी निर्वाचन आयोगमा बुझाइने छ । उम्मेद्वार छनोट तथा प्रतिस्पर्धाका सबै कार्यक्रम काठमाडौँको गोंगबुस्थित बिजी ब्याङ्क्वेटमा सञ्चालन भइरहेको छ ।       प्रवक्ता झाले यही पुस ५ गते आयोजित छलफलमा विशेष कारणवश सहभागी हुन नसकेका वा सहभागी हुन नपाएका समानुपातिक उम्मेद्वारका आकांक्षीहरूलाई पुनः छलफलमा सहभागी गराइने बताए । प्रारम्भिक निर्वाचन बाहेकका छनोट प्रक्रिया सम्पन्न गर्ने जिम्मेवारी पार्टी प्रवक्ता झा र सचिवालय सदस्य दीपक बोहोरालाई दिइएको छ । आवश्यकताअनुसार पार्टी उपसभापति डा. स्वर्णीम वाग्ले र महामन्त्री कविन्द्र बुर्लाकोटीले उक्त प्रक्रियाको अनुगमन गर्ने बताइएको छ ।      प्रवासमा रहेका उम्मेद्वारका आकांक्षीहरूको मूल्याङ्कन ‘भर्चुअल’ माध्यमबाट गरिने छ । उम्मेद्वार छनोट समितिको प्रस्ताव तथा पार्टी उपसभापति डोलप्रसाद अर्याल र वाग्लेसँगको सहमतिमा छनोट प्रक्रियामा सहजीकरण गर्न केन्द्रीय समितिका सदस्यहरूसमेत सहभागी गराइने रास्वपाले जनाएको छ ।   

लेखकले भने– आयोगमा बयान दिन जान्छु

काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले जाँचबुझ आयोगमा उपस्थित भई बयान दिने बताएका छन् ।  बिहीबार (आज) बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले आयोगले बोलाएमा आफू कानुनी प्रक्रियाअनुसार बयान दिन तयार रहेको बताएका हुन् ।  तत्कालीन केपि ओली सरकारका गृहमन्त्रीसमेत रहेका लेखकले सत्य तथ्य बाहिर ल्याउन जाँचबुझ आयोगसँग पूर्ण रूपमा सहकार्य गर्ने प्रतिबद्धता जनाए ।  उनले आफूले गरेका निर्णय र कार्यहरू विधिसम्मत रहेको दाबी गर्दै निष्पक्ष छानबिनबाट यथार्थ सार्वजनिक हुने विश्वास व्यक्त गरे । लामो समयदेखी गौरीबहादुर कार्की आयोगमा बयान दिन जान आनाकानी गरेका लेखक अन्तत: बयानका लागि उपस्थित हुने मनस्थितिमा पुगेका हुन् । कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा बोल्ने धेरै नेताहरूले बयान दिन जानुपर्ने बताएका थिए ।

निम्बसका २ कम्पनीको एकै वर्ष २० अर्ब नाघ्यो आम्दानी, ६.२९ अर्ब रुपैयाँ ऋण

काठमाडौं । निम्बस ग्रुप अन्तर्गतको प्रोबायोटेक इन्डस्ट्रिज लिमिटेड र निम्बस इन्टरनेशनल कम्पनी प्रालिले एकै वर्ष २० अर्ब रुपैयाँ बढी आम्दानी गरेका छन् । सन् २०२५ मा प्रोबायोटेक इन्डस्ट्रिजले १२ अर्ब ३८ करोड रुपैयाँ र निम्बस इन्टरनेशनलले ८ अर्ब ३ करोड रुपैयाँ गरी २० अर्ब ४१ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेका हुन् ।  यस्तै, यी दुई कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ६ अर्ब २९ करोड रुपैयाँ बराबर ऋण लिएका छन् । जसमध्ये प्रोबायोटेक इन्डस्ट्रिजले ४ अर्ब ३४ करोड रुपैयाँ र निम्बस इन्टरनेशनलले १ अर्ब ९५ करोड रुपैयाँ ऋण लिएका हुन् ।  प्रोबायोटेक इन्डस्ट्रिज  प्रोबायोटेक इन्डस्ट्रिजले सन् २०२५ मा १२ अर्ब ३८ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो वर्षको तुलनामा २४.७२ प्रतिशत अर्थात् २ अर्ब ४५ करोड ५० लाख रुपैयाँ बढी हो । कम्पनीले सन् २०२४ मा ९ अर्ब ९२ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको थियो ।  यस्तै, कम्पनीले सन् २०२३ मा ११ अर्ब ४२ करोड १० लाख रुपैयाँ, सन् २०२२ मा १४ अर्ब ९३ करोड २० लाख रुपैयाँ, सन् २०२१ मा ११ अर्ब १० करोड ९० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।  सन् २००१ मार्चमा स्थापना भएको प्रोबायोटेक इन्डस्ट्रिज लिमिटेडले सन् २००४ देखि व्यावसायिक उत्पादन थालनी गरेको हो । सन् २०२१ जुलाई १५ मा भने पब्लिक कम्पनीमा रूपान्तरण भएको हो । वीरगञ्ज–२१ मा उत्पादन प्लान्ट रहेको प्रोबायोटेकले पशुको आहार, खाद्य तेल, दाल तथा गेडागुडी उत्पादन तथा प्रशोधन गर्दै आएको छ । साथै, देशभरका डिलरमार्फत व्यञ्जन, शक्ति, शक्ति हाइजीन, सोयम्याक्स, सुनौलो किरण, प्रोविट र प्रोमिन ब्रान्डमा आफ्ना उत्पादन बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीको कुल उत्पादन क्षमता वार्षिक १ लाख मेट्रिक टनभन्दा बढी रहेको छ । जसमा साढे ६९ हजार मेट्रिक टन भटमास, ४९ हजार मेट्रिक टन खाद्य तेल, २३ हजार मेट्रिक टन पीठो र ३० हजार मेट्रिक टन दाल उत्पादन गर्दै आएको छ । कम्पनीका अनुसार करिब ६२ प्रतिशत आम्दानी फिड सेग्मेन्टबाट हुने गरेको छ भने बाँकी आम्दानी खाद्य (फुड) सेग्मेन्टबाट प्राप्त भएको छ । यसले कम्पनीलाई एउटै व्यवसायमा निर्भर रहनु नपर्ने अवस्था सिर्जना गरेको जनाएको छ । प्रोबायोटेक निम्बस ग्रुप अन्तर्गतको कम्पनी हो । निम्बसको उत्पादन, व्यापारलगायत विभिन्न व्यवसाय क्षेत्रमा लगानी रहेको छ ।  उद्योगले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ४ अर्ब ३४ करोड १० लाख रुपैयाँ ऋण लिएको छ । जसमा ४३ करोड १० लाख रुपैयाँ दीर्घकालीन र ३ अर्ब ९० करोड १० लाख रुपैयाँ अल्पकालीन रहेको कम्पनीले जनाएको छ । निम्बस इन्टरनेशनल यस कम्पनीले सन् २०२५ मा ८ अर्ब ३ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो वर्षको तुलनामा ७.४९ प्रतिशत अर्थात् ५६ करोड रुपैयाँ बढी हो । सन् २०२४ मा कम्पनीले ७ अर्ब ४७ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यस्तै, कम्पनीले सन् २०२१ मा ७ अर्ब २२ करोड ३० लाख रुपैयाँ, सन् २०२२ मा ८ अर्ब ६२ करोड ७० लाख रुपैयाँ र सन् २०२३ मा ७ अर्ब ४ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेका थिए ।  सन् २००० मा स्थापना भएको निम्बु इन्टरनेशनल कम्पनी कृषि उत्पादन तथा पशु आहारको आयात र व्यापारमा संलग्न छ । कम्पनीले विभिन्न देशहरूका साथै स्वदेशी किसानहरूबाट खाद्यान्न तथा पशु आहारसम्बन्धी सामग्री खरिद गर्दै आएको छ । निम्बसले खरिद गरिएका वस्तुहरू नेपालभर रहेका आफ्ना डिलर तथा खुद्रा बिक्रेतामार्फत प्रत्यक्ष बिक्री गर्ने गर्दछ । साथै केही वस्तुहरू भने आउटसोर्स्ड कन्ट्र्याक्ट म्यानुफ्याक्चर मार्फत प्रशोधन गरी आफ्नै ब्रान्डमा बजारमा बिक्री गर्छ ।  कम्पनीको कर्पोरेट कार्यालय सिनामंगल, काठमाडौंमा अवस्थित छ । यस कम्पनीको सम्पूर्ण सेयर स्वामित्व निम्बस होल्डिङ प्रालिको रहेको छ । उक्त होल्डिङ कम्पनीमा आनन्द कुमार अग्रवाल (बगरिया) र जगदीश प्रसाद अग्रवालको समान स्वामित्व रहेको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ९५ करोड २० लाख रुपैयाँ ऋण लिएको छ । 

‘जे गर्छु नेपालमै गर्छु’ नारासहित राष्ट्रिय घर निर्माण फेस्ट हुँदै, १५० भन्दा बढी स्टलको प्रदर्शनी

काठमाडौं । युवा उद्यमीहरूको समूह र स्कील सेवाको सक्रियतामा आगामी पुस १२ देखि १५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘राष्ट्रिय घर निर्माण फेस्ट २०८२’ आयोजना हुने भएको छ । ‘जे गर्छु नेपालमै गर्छु, जे गरे पनि यही माटोमा गर्छु’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यो मेला केवल प्रदर्शनी मात्र नभएर सुरक्षित र गुणस्तरीय घर निर्माणको एउटा महाअभियान भएको आयोजकले जनाएको छ । बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै घर निर्माण फाउन्डेसनका अध्यक्ष उपेन्द्र तिमल्सिना, निर्देशकहरू सफल प्रधान र शक्ताक्षी मिश्रले मेलाको तयारी र यसका उद्देश्यबारे जानकारी दिए ।  आयोजकका अनुसार मेलामा १५० भन्दा बढी स्टलहरू रहनेछन् । जसमा घर निर्माणका लागि आवश्यक जगदेखि छतसम्मका सामग्रीहरू (सिमेन्ट, डन्डी, पाइप, पेन्ट्स, फर्निचर, इन्टेरियर) एउटै छानामुनि उपलब्ध हुनेछन् । उपभोक्ताले विभिन्न ब्रान्डहरूबीच तुलना गरी सही निर्णय लिन सक्नेछन् ।  मेलामा विश्वकै सबैभन्दा ठूलो पुस्तक प्रदर्शन गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गर्ने प्रयाससमेत गरिनेछ ।  देशका ५० भन्दा बढी इन्जिनियरिङ कलेजका विद्यार्थीहरूले तयार पारेका ६० भन्दा बढी घरका मोडेलहरू प्रतिस्पर्धामा रहनेछन् । उत्कृष्ट तीन मोडेलले क्रमशः १ लाख, ६० हजार र ४० हजार नगद पुरस्कार पाउनेछन् ।  मेलामा निर्माण क्षेत्रका विज्ञहरूसँग घर निर्माणका चुनौती, प्रविधि र अवसरबारे दैनिक रूपमा छलफल हुनेछ ।  अध्यक्ष तिमल्सिनाले कमाउने घरको अवधारणा प्रस्तुत गरे । उनका अनुसार  १ करोडको लगानीमा बनाइने यस्ता लग्जरी घरबाट दैनिक १५ देखि २० हजारसम्म आम्दानी गर्न सकिन्छ । आधुनिक प्रणालीबाट घरका कोठा वा फ्ल्याट भाडामा दिएर दैनिक आम्दानी गर्ने सकिने मोडल ह्वाइट रुम्स रहेको छ । यस्तै, डोम हाउस जुन ७ देखि १० लाखको लगानीमा बन्ने भूकम्प प्रतिरोधी र इको-फ्रेन्डली घरहरू, जसले महिनामा २ देखि ३ लाखसम्म आम्दानी दिन सक्छन् ।  आयोजकले यी आम्दानीका आधारहरू वर्तमान बजारको हस्पिटालिटी र डिजिटल प्लेटफर्मको मागलाई हेरेर तय गरिएको बताए । साथै, पुरानो घरलाई पनि नयाँ मोडालिटीमा लैजान सकिने र त्यसका लागि आवश्यक रेनोभेसन र इन्टेरियर सेवाबारे पनि मेलामा विज्ञहरूले परामर्श दिने जानकारी दिइएको छ ।  निर्देशक सफल प्रधानले देशमा आर्थिक मन्दीको चर्चा भइरहँदा युवाहरूले सामूहिक रूपमा काम गरेर देखाउन यो मेला आयोजना गरेको बताए । मेलामा मुख्य प्रायोजक प्लम्बर पाइप्स र सगुन प्लाइलगायतका स्वदेशी ब्रान्डहरूको बलियो उपस्थिति रहनेछ । सगुन प्लाइका बुद्धिप्रसाद पौडेल र प्लम्बर पाइप्सका सन्जीव धिमालले नेपाली उत्पादनहरू अन्तर्राष्ट्रिय गुणस्तरका रहेको र उपभोक्ताले यस मेलाबाट सही सामग्री छनोट गर्न सक्ने विश्वास व्यक्त गरे ।  प्रवेश निःशुल्क रहेको यो मेलाले घर बनाउन चाहने साधारण नागरिक, इन्जिनियरिङका विद्यार्थी र लगानीकर्ताहरूका लागि एउटा सुनौलो अवसर प्रदान गर्ने आयोजकको दाबी छ । आयोजकले २ सय करोडको आर्थिक कारोबार हुने अपेक्षा गरेको छ । शिवम् सिमेन्ट पावरर्ड वाई रहेको यस मेलामा प्लम्बर पाइपले मुख्य सहकार्य गरेको छ  । यस्तै, सेनेटरी पार्टनरका रुपमा नेपोभिट, युपीभीसी, पञ्चाकन्या मीम्याक्स, प्रोपटी, पार्टनरका रुपमा सारा सेवास्वाती इन्टरप्राइजेज, सोफाहबलगायत रहेका छन् ।