विकासन्युज

जनकपुरधाममा ई–रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा भइरहेको समस्या समाधानका लागि पाँच सदस्यीय अध्ययन समिति गठन गरिएको छ । बिहीबार (आज) जनकपुरधाममा बसेको जिल्लास्थित यातायात व्यवस्था समितिको बैठकले मधेस प्रदेशको सवारी तथा यातायात व्यवस्था ऐनअनुसार १५ दिनभित्र उक्त विषयका सन्दर्भमा अध्ययन गरी सम्बन्धित निकायमा प्रतिवेदन पेस गर्नेगरी अध्ययन समिति गठन गरेको हो ।  धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलकोको अध्यक्षतामा आज जनकपुरधाममा बसेको बैठकले यातायात कार्यालय धनुषाका प्रमुख धनञ्जयकुमार सिंहको नेतृत्वमा पाँच सदस्यीय अध्ययन समिति गठन गरेको छ ।  समितिले बागमती प्रदेशको राजधानी हेटौंडा, कोशी प्रदेशको राजधानी विराटनगर तथा मधेस प्रदेशको राजधानी वीरगन्ज नगरक्षेत्रमा सञ्चालित ई–रिक्साको व्यवस्थापन, सञ्चालन रुट, अनुमति तथा दर्ता विषयमा विस्तृत अध्ययन गरी समस्या समाधानका लागि आवश्यक सुझावसहित प्रतिवेदन तयार गर्नेछ । सोही अधययन प्रतिवेदनका आधारमा जनकपुरधाममा ई–रिक्साको व्यवस्थापन प्रक्रिया अगाडि बढाइने यातायात कार्यालयका प्रमुख सिंहले जानकारी दिए । जनकपुरधाम उपमहानगरपालिकाका प्रतिनिधि, जिल्ला ट्राफिक कार्यालयका प्रतिनिधि, ई–रक्सा मजदुर युनियनका प्रतिनिधि र सदस्य सचिवमा यातायात व्यवस्था कार्यालय धनुषाका एक जना अधिकृत रहने गरी पाँच सदस्यीय समिति गठन भएको जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले बताए । बैठकमा नगरप्रमुख साहसहित जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, जिल्ला ट्राफिक कार्यालयका प्रहरी प्रमुख, ई–रिक्सा मञ्जदुर युनियनका प्रतिनिधिलगायत सरोकार भएका निकायका प्रतिनिधिको सहभागिता थियो ।  अत्यधिक सङ्ख्यामा चल्ने ई–रिक्साका कारण जनकपुर क्षेत्रको यातायात सञ्चालन तथा व्यस्थापनमा समस्या आउने गरेकाले उचित व्यवस्थापनका लागि अध्ययन समिति गठन गरिएको नगरप्रमुख साहले बताए । जिल्लामा दश हजारभन्दा बढी ई–रिक्सा दर्ता भई सञ्चालनमा रहेका यातायात कार्यालय जनकपुरले जनाएको छ ।

त्रिविको दीक्षान्त समारोहमा सोह्र हजार दीक्षित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोहमा बिहीबार (आज) १६ हजार ३०० भन्दा बढी विद्यार्थी दीक्षित भएका छन् । समारोहमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति सुशीला कार्कीलगायतले उनीहरूलाई दीक्षित भएको घोषणा गरे । विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहसमेत गरी  ८९ हजार १०१ विद्यार्थी उत्तीर्ण भएका छन् ।    दशरथ रङ्शालामा जारी समारोहमा विश्वविद्यालयको इतिहासमा पहिलो पटक आज नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिको रूपमा उपस्थित छिन् । कार्यक्रममा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलगायतको पनि उपस्थिति छ । विश्वविद्यालयका उपकुलपति प्रा. दीपक अर्यालले विश्वविद्यालय क्रमिक रूपमा सुधारको बाटोमा अग्रसर भएको बताउँदै दीक्षित विद्यार्थीलाई बधाई दिए ।

रवि र मेयर बाले न वान–टु–वान वार्ता, के होला सहमति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच वान–टु–वान वार्ता भइरहेको छ ।  ललितपुरको ज्वागलस्थित मेयर बालेनका सहयोगी कुमार बेनको निवासमा दुवै नेताबीच एकान्त छलफल चलिरहेको मेयर शाहका एकजना सहयोगीले जानकारी दिए । वार्ताको एजेन्डाबारे औपचारिक जानकारी सार्वजनिक भइसकेको छैन ।  यद्यपि पछिल्लो समयका समसामयिक राजनीतिक घटनाक्रम, सुशासन, स्थानीय तह र संघीय राजनीतिबीचको समन्वयलगायत विषयमा छलफल केन्द्रित भएको हुनसक्ने अनुमान गरिएको छ । दुवै जना फरक राजनीतिक पृष्ठभूमिबाट उदाएका नेता भएकाले उनीहरूबीचको यो भेटलाई चासोका साथ हेरिएको छ । 

पारामाउन्ट मोटर्सको ‘इलेक्ट्रिफाइङ न्यू इयर २०२६’ एक्सचेन्ज योजना सार्वजनिक

काठमाडौं । एमजी तथा आइएम मोटर्सका लागि नेपालका आधिकारिक आयातकर्ता तथा वितरक पारामाउन्ट मोटर्स प्रालिले नयाँ वर्ष २०२६ को अवसरमा ‘इलेक्ट्रिफाइङ न्यू इयर २०२६’ एक्सचेन्ज योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत एमजी र आइएमका इलेक्ट्रिक सवारी साधन खरिद गर्ने ग्राहकले आकर्षक सुविधा र लाभ लिन सक्नेछन् ।  सीमित अवधिको यस एक्सचेन्ज अफरमा पुरानो सवारीसाधन साट्दा ग्राहकले चार लाख रुपैयाँसम्मको फाइदा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । योजनामा उत्कृष्ट मूल्यांकन सुविधा, अतिरिक्त एक्सचेन्ज बोनस, सहज फाइनान्स सुविधा, निःशुल्क एक्सेसरी तथा तत्काल डेलिभरी जस्ता आकर्षक अफर समेटिएका छन् । यो अफर एमजी र आइएमका सबै इलेक्ट्रिक मोडलहरूमा लागू हुनेछ । ग्राहकहरूले देशभर रहेका आधिकारिक एमजी शोरूममार्फत यो एक्सचेन्ज योजना लिन सक्ने कम्पनीले जनाएको छ ।  नयाँ वर्षको अवसरमा सार्वजनिक गरिएको यस योजनामार्फत पारामाउन्ट मोटर्सले विद्युतीय सवारी साधनलाई अझ सहज, किफायती र पहुँचयोग्य बनाउने आफ्नो प्रतिबद्धता दोहोर्याएको जनाएको छ । इलेक्ट्रिक सवारी साधनप्रतिको बढ्दो रुचिलाई ध्यानमा राख्दै कम्पनीले आफ्ना लोकप्रिय मोडलहरूमा विशेष सुविधा उपलब्ध गराएको हो । यो अफर डिसेम्बर २५ देखि सुरु भइसकेको छ ।

क्रिसमस-नयाँ वर्षलक्षित दीपलको ‘फेस्टिभ ड्राइभ’ सुरु

काठमाडौं । दीपलको आधिकारिक वितरक एमएडब्लु वृद्धिले क्रिसमस तथा नयाँ वर्ष २०२६ को अवसरमा विशेष टेस्ट ड्राइभ तथा एक्सचेन्ज कार्यक्रम ‘दीपल फेस्टिभ ड्राइभ’ सुरु गरेको छ । पुस १० देखि १७ गतेसम्म सञ्चालन हुने यस अभियानअन्तर्गत ग्राहकहरूले नक्सालस्थित चांगान शोरुम मा दिपलका प्रिमियम इभी मोडेलको टेस्ट ड्राइभ लिनुका साथै आफ्ना पुराना सवारीसाधन साटेर नयाँ दिपल इभी एक्सचेन्ज गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ग्राहकलाई अत्याधुनिक ईभी प्रविधिको प्रत्यक्ष अनुभव गराउन यो अभियान सुरु गरिएको हो । ‘फेस्टिभ ड्राइभ’ अवधिमा शोरुमलाई विशेष फेस्टिभ डेकोरेसन गरिएको छ भने ग्राहकहरूले सान्टा रोबोटको अनौठो अनुभव, साथै आकर्षक गिफ्ट ह्याम्पर पनि प्राप्त गर्नेछन् ।

हुन्डाई नेपालको ‘विन्टर डिलाइट’ अभियान सुरु, ५ लाखसम्म छुट

काठमाडौं । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई विन्टर डिलाइट’ अभियान सार्वजनिक गरेको छ ।  बिहीबार (आज) देखि लागू हुने यस सीमित अवधिको अभियानमार्फत ग्राहकलाई आकर्षक छुट, नयाँ वर्ष बोनस तथा थप विशेष सुविधाहरू प्रदान गरिने कम्पनीले जनाएको छ । अभियानअन्तर्गत हुन्डाईका छानिएका मोडलहरूमा ग्राहकले ५ लाख रुपैयाँसम्मको नगद छुट तथा १ लाख रुपैयाँसम्मको नयाँ वर्ष बोनस प्राप्त गर्न सक्नेछन् ।  साथै १ वर्षको निस्शुल्क बीमा सेवा र निस्शुल्क सडक कर सुविधा पनि समावेश गरिएको छ, जसले नयाँ वर्षको अवसरमा गाडी खरिदलाई अझ लाभदायक बनाएको छ । हुन्डाई गाडीहरूमा उपलब्ध ३ वर्षको वारेन्टी, हाई–भोल्टेज ब्याट्रीमा ८ वर्षको वारेन्टी तथा ६ वर्षको निस्शुल्क सर्भिसिङ सुविधाले हुन्डाईको गुणस्तर, विश्वसनीयता र ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धता झल्काउँछ । देशभर रहेका हुन्डाई शोरूमहरूमा लागू हुने यस ‘विन्टर डिलाइट’ अभियानका अफरहरू सीमित अवधिका लागि मात्र उपलब्ध रहने लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ । 

मोटरसाइकल चोरी गरी अवैध रूपमा खरिद-बिक्री गर्दै आएको संगठित गिरोह पक्राउ

काठमाडौं । धनुषा जिल्लाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी अवैध रूपमा खरिद-बिक्री गर्दै आएको एक संगठित गिरोहलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।  चोरी तथा विक्री कार्यमा संलग्न सिकिन्द्र यादवसहित १२ जनालाई नियन्त्रणमा लिई उनीहरूको कब्जाबाट ११ थान चोरीका मोटरसाइकल बरामद गरिएको हो ।   जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमले पछिल्लो समय मोटरसाइकल चोरीका घटना बढेपछि विशेष निगरानी र अनुसन्धान अभियान सञ्चालन गरिएको बताए ।  अनुसन्धानका क्रममा समूहले सार्वजनिक, बजार, अस्पताल तथा आवासीय क्षेत्रबाट मोटरसाइकल चोरी गरी नम्बर प्लेट परिवर्तन गरेर कम मूल्यमा बेच्ने गरेको खुलेको छ ।  पक्राउ परेकामाथि चोरी तथा संगठित अपराधसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।   

एनपीएल सकिएको १२ दिन बित्दा पनि उठेन फोहोर

काठमाडौं । नेपालको सर्वाधिक ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) सकिएको १२ दिन पूरा भइसक्दा पनि त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान वरपरको फोहोर अझै उठेको छैन ।  अत्यन्तै उत्साहका साथ सम्पन्न भएको प्रतियोगितापछि फोहोर व्यवस्थापनमा लापरबाही भएको भन्दै सरोकारवालाहरूले आलोचना सुरु गरेका छन् । मैदान आसपासको फोहोर उठाउने विषयमा न त नेपाल क्रिकेट संघ (क्यान)ले चासो देखाएको छ, न त कीर्तिपुर नगरपालिका नै सक्रिय देखिएको छ । यसले आयोजक र स्थानीय सरकारबीचको समन्वय नभएको देखाउँछ । क्यानका प्रवक्ता छुम्बी लामाले फोहोर उठाउने जिम्मेवारी संघकै भएको स्वीकार गर्दै फोहोर उठाउन ढिलाइ भएको बताए । उनले भने, ‘हामी एनपीएल सकिएपछि अन्य काममा व्यस्त भयौं, अब एक–दुई दिनभित्र विश्वविद्यालय परिसरबाट फोहोर उठाइनेछ ।’