काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले अर्थशास्त्री तथा विकास रणनीतिकार डा. गोपालप्रसाद तिवारीलाई महानिर्देशक नियुक्त गरेको छ ।
उनले भोलि (बिहीबार) देखि कार्यभार सम्हाल्ने एफएनसीसीआईले जनाएको छ ।
एफएनसीसीआईका अध्यक्ष अञ्जन श्रेष्ठले डा. तिवारीको नियुक्तिले महासंघको संस्थागत क्षमता र नीतिगत पैरवीलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन् ।
उनका अनुसार डा. तिवारीसँग नेपालको आर्थिक प्रणालीबारे गहिरो ज्ञान, अन्तर्राष्ट्रिय अनुभव तथा निजी क्षेत्रको पैरवीमा लामो अनुभव रहेकाले अहिलेको महत्त्वपूर्ण समयमा उनको नेतृत्व उपयोगी हुनेछ ।
श्रेष्ठले भने, ‘नेपालको आर्थिक ढाँचामाथिको गहिरो ज्ञान, विश्वव्यापी अनुभव र सरोकारवालाको विश्वासले डा. तिवारीको नेतृत्वमा एफएनसीसीआईको संस्थागत हैसियत थप उचाइमा पुग्नेछ । उहाँको नेतृत्वले नीतिगत पैरवीलाई धारिलो बनाउन, प्रभावकारी सुधारका एजेन्डा कार्यान्वयन गर्न र नेपाली उद्यमलाई थप गतिशील तथा विश्व प्रतिस्पर्धी बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।’
डा. तिवारी यसअघि पनि एफएनसीसीआईसँग जोडिएका थिए । उनले सन् २०१८ देखि २०१९ सम्म महासंघको सचिवालयमा कार्यवाहक महानिर्देशकका रूपमा नेतृत्व गरेका थिए ।
करिब २५ वर्षको व्यावसायिक अनुभव भएका तिवारीले समष्टिगत आर्थिक नीति, लगानी सुधार तथा सार्वजनिक–निजी क्षेत्र सहकार्यका क्षेत्रमा काम गरेका छन् ।
उनले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) तथा विश्व बैंक समूह, एसियाली विकास बैंक (एडीबी), संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी), अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) लगायतका बहुपक्षीय संस्था तथा विकास साझेदार संस्थामा कार्यकारी तथा परामर्शदाताका रूपमा जिम्मेवारी सम्हालेका छन् ।
पछिल्लो समय उनी यूएसएआईडीको ‘टायर नेपाल’ परियोजनामा निजी क्षेत्र एकीकरण निर्देशकका रूपमा कार्यरत थिए ।
डा. तिवारीले नेपालको वित्तीय तथा व्यावसायिक क्षेत्रमा समेत विभिन्न महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका छन् ।
उनी बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफिन) का महानिर्देशक, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वरिष्ठ प्राविधिक विज्ञ तथा नेपाल–जर्मन उद्योग वाणिज्य संघका रणनीतिक सल्लाहकारका रूपमा काम गरिसकेका छन् ।
त्यसैगरी, उनी नेपाल आर्थिक संघका मानार्थ महासचिव, नर्वेको फिल डा. जान–उ. सान्डाल इन्स्टिच्युटका वरिष्ठ अनुसन्धान फेलो तथा त्रिभुवन विश्वविद्यालयको सार्वजनिक नीति, सुशासन तथा भ्रष्टाचारविरोधी अध्ययन विभागका प्राध्यापकसमेत हुन् ।
पत्रकारिताबाट व्यावसायिक यात्रा सुरु गरेका तिवारीले कान्तिपुर मिडिया ग्रुप, द हिमालयन टाइम्स र स्पेस टाइम टुडेजस्ता राष्ट्रिय सञ्चारमाध्यममा वरिष्ठ आर्थिक पत्रकारका रूपमा समेत काम गरेका थिए ।
नेपालमा संरचित सार्वजनिक–निजी संवादको अभ्यास विकास गर्न पनि तिवारीको महत्वपूर्ण भूमिका रहेको एफएनसीसीआईले जनाएको छ ।
उनले आईएफसीअन्तर्गतको उच्चस्तरीय नेपाल बिजनेस फोरम व्यवस्थापन गरेका थिए । साथै, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन (फिट्टा) र औद्योगिक व्यवसाय ऐनलगायत महत्त्वपूर्ण आर्थिक कानुन निर्माणमा समेत उनले योगदान गरेका छन् ।
निजी क्षेत्रको प्रतिस्पर्धात्मकतामा केन्द्रित अर्थशास्त्रमा विद्यावारिधि गरेका तिवारीले व्यापार कूटनीति र औद्योगिक विकाससम्बन्धी विभिन्न अध्ययन तथा कृति प्रकाशित गरेका छन् ।