विमानस्थलमा यात्रुको लगेजमा प्रहरीले निगरानी बढाउँदै

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रुहरूको लगेज हराएमा विमानस्थलको सुरक्षार्थ खटिएका प्रहरीसँग सम्पर्क गर्न अनुरोध गरेको छ । विमानस्थल सुरक्षा कार्यालयले  यात्रुको लगेज सुरक्षा सतर्कता, निगरानी र सम्बन्धित निकायसँगको समन्वयलाई थप प्रभावकारी बनाएको छ।

यात्रुका सामान चोरी हुने, हराउने तथा क्षति हुने घटना न्यूनीकरणका लागि प्रहरीले विमानस्थलमा निरन्तर निगरानी गरिरहेको जनाएको छ।  प्रहरीको सक्रियता, निगरानी तथा सम्बन्धित निकायसँगको समन्वयका कारण पछिल्लो समय यात्रुका लगेज तथा व्यक्तिगत सामान चोरी तथा हराउने घटनामा उल्लेख्य कमी आएको प्रहरीको भनाइ छ।

विमानस्थलबाट यात्रा गर्दा यात्रुले ह्याण्ड क्यारी अर्थात् आफूसँगै लैजाने झोलामा के–कस्ता सामान राख्न पाइन्छ र के–कस्ता सामान लैजान पाइँदैन भन्ने विषयमा विशेष ध्यान दिनुपर्ने प्रहरीले जनाएको छ।

ह्याण्ड क्यारीमा के–के लैजान पाइँदैन ?

ह्याण्ड क्यारीमा १०० ग्रामभन्दा बढी झोल पदार्थ, घोच्ने तथा धारिलो वस्तु, ग्यास लाइटर, सलाईलगायत बल्ने वस्तु राख्न पाइँदैन। त्यस्तै, फूलका बिरुवा, हरियो तरकारी, खुर्सानी, नरिवलको दानालगायत हवाई सुरक्षामा असर पार्न सक्ने वस्तुहरू पनि लैजान निषेध गरिएको छ।

कानूनले वर्जित गरेका हातहतियार, खरखजाना, लागूऔषधलगायत अवैध वस्तु फेला परेमा भने सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिई तत्काल कानूनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

लैजान नमिल्ने सामान फेला परे के गर्ने ?

हवाई उडानका लागि निषेध गरिएका तर कानूनले वर्जित नगरेका अचार, घ्यू लगायतका सामग्री प्रहरीले जाँचका क्रममा फेला पारेमा यात्रुको सुविधाका लागि सामान आफन्त वा चिनजानका व्यक्तिलाई जिम्मा लगाउने व्यवस्था गरिएको छ।

त्यसका लागि यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नेपाल प्रहरी सहायता कक्षमा आफन्त वा सम्बन्धित व्यक्तिलाई पठाउन सक्नेछन्। यसरी जिम्मा लगाइएका सामान लिन आउने व्यक्तिले ४८ घण्टाभित्र सम्पर्क गर्नुपर्ने प्रहरीले जनाएको छ।

सामान बुझाउन सहज होस् भन्नका लागि यात्रुले सामान लिन आउने व्यक्तिको नाम, सम्पर्क नम्बर तथा आफूलाई सम्पर्क गर्न सकिने ह्वाटसएप लगायतका सम्पर्क नम्बर उपलब्ध गराउन प्रहरीले आग्रह गरेको छ।

विदेश जाँदा लगेजको तौल बढी भए के गर्ने ?

विदेश यात्रा गर्दा लगेजको तौल तोकिएको सीमाभन्दा बढी भएमा यात्रुले अनावश्यक वा कम उपयोगी सामान तत्काल लगेजबाट निकाल्न सक्नेछन्। निकालिएका सामान आफूलाई विमानस्थलसम्म छोड्न आएका आफन्त वा साथीभाइलाई प्रहरीमार्फत जिम्मा लगाउने व्यवस्था गरिएको प्रहरीले जनाएको छ।

यसका लागि यात्रुले विमानस्थल परिसरमा रहेका जुनसुकै प्रहरी कर्मचारीसँग आवश्यक सहयोग लिन सक्नेछन्।
प्रहरीले विमानस्थलमा यात्रा गर्ने यात्रुलाई आफ्नो लगेज तथा व्यक्तिगत सामानप्रति सचेत रहन, निषेधित वस्तु नलैजान र कुनै समस्या परे तत्काल नजिकै रहेको प्रहरी सहायता कक्षमा सम्पर्क गर्न आग्रह गरेको छ।

Share News