विकासन्युज

कृषि र पर्यटन जोड्ने ‘सुन्तला–हाइकिङ’ कार्यक्रम काभ्रेपलाञ्चोकमा सुरु हुँदै

काभ्रेपलाञ्चोक । यहाँ कृषि तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुन्तला–हाइकिङ’ कार्यक्रम सञ्चालन गर्न लागिएको छ । विभिन्न निकाय तथा सङ्घ–संस्थाको आयोजनामा यसपटक परीक्षण र प्रवर्द्धनका रूपमा कार्यक्रम सञ्चालन गर्न लागिएको जनाइएको छ । होटल एसोसिएसन अफ नेपाल (हान) काभ्रेपलाञ्चोक च्याप्टरको आयोजना र धुलिखेल नगरपालिका पर्यटन परिषद्को विशेष सहयोगमा कार्यक्रम सञ्चालन गर्न लागिएको हो । यसमा जिल्लास्थित नेपाल युवा उद्यमी मञ्च र रोटरी क्लब अफ धुलिखेलले सहकार्य गर्ने जनाइएको छ । यस्तै कार्यक्रम १५ वर्षअघि पनि सञ्चालन गरिएको थियो । त्यो कार्यक्रम केही वर्षपछि सुस्ताएको थियो । हानका जिल्लाध्यक्ष प्रह्लाद प्याकुरेलले उक्त कार्यक्रमलाई पुनः सञ्चालन गर्न लागिएको बताए । उनले जिल्लाको कृषि र पर्यटनलाई जोड्ने उद्देश्यका साथ डेढ दशकपछि ‘सुन्तला–हाइकिङ’ कार्यक्रम पुनः सञ्चालनमा ल्याइने बताए । डेढ दशकअघि सन् २०१० को नोभेम्बरमा नेपाल पर्यावरण तथा पर्यटन जागरण आधारशीला (नेटिफ) ले नेपाल पर्यटन बोर्डको सहयोगमा नमोबुद्ध–बल्थली ‘सुन्तला–हाइकिङ’ कार्यक्रम आयोजना गरेको थियो । यसपटक पाँच वर्षपछि भएको हान काभ्रेपलाञ्चोक च्याप्टरको अधिवेशनसँगै कार्यक्रम ब्युँत्याइएको जनाइएको छ । जिल्लामा सुन्तलाखेतीको प्रचुर सम्भावना रहेकाले यसै सिजनमा नयाँ स्वरुपमा कार्यक्रम ब्युँत्याइने धुलिखेलस्थित होटल सारथीका प्रबन्ध निर्देशकसमेत रहेका प्याकुरेलले बताए । क्रिसमसको दिन पारेर बिहीबार औपचारिक रूपमा कार्यक्रम सञ्चालनमा ल्याइने उनले जानकारी दिए । कार्यक्रमअन्तर्गत पदयात्रा मुख्यतया जिल्लाको पर्यटकीय क्षेत्र नमोबुद्धबाट बल्थलीसम्म ‘रुट’ तय गरिएको छ । पदयात्रीले पहेँलपुर सुन्तला बगैँचाको दृश्यावलोकन गर्दै यात्रा गर्न पाउनेछन् । साथै स्थानीय बगैँचाका बोटबाटै ताजा सुन्तलासमेत खान पाउनेछन् । यात्रामा नमोबुद्धको धार्मिक वातावरण र बल्थलीको प्राकृतिक सुन्दरताको अनुभव लिँदै बल्थलीस्थित लड्केश्वर महादेवस्थान परिसरको विश्वकै अग्लो त्रिशूललगायतका धार्मिक तथा पर्यटकीय विकासबारे अवलोकन गर्न सकिने जनाइएको छ । क्रिसमसको बिदाको दिन भएकाले पैदल यात्रामा पर्यटन व्यवसायी, उद्योगी, जनप्रतनिधि, सञ्चारकर्मी, कन्टेन्ट क्रियटर, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, ट्राभल एजेन्सीलगायत कृषिसम्बद्ध पदाधिकारी गरी १०० भन्दा बढीको सहभागिता रहने आयोजकले जनाएको छ । यसपटकको प्रवर्द्धनात्मक ‘सुन्तला हाइकिङ’ को अनुभवले आगामी वर्षदेखि सुन्तलाको सिजन (नोभेम्बर र डिसेम्बर) मा एक महिनाकै ट्राभल प्याकेज बनाउने लक्ष्य लिएको हानले जनाएको छ । यसमा होटल–रिसोर्टका ट्यारिफमा विशेष छुट्का साथै अन्य आकर्षण थप्ने योजना बनाएको छ । आगामी वर्षदेखि सुन्तला सिजनमा कम्तीमा एक हजार जना पर्यटक काभ्रेपलाञ्चोक आउने र ‘सुन्तला हाइकिङ’ मा रमाउने गरी व्यवस्थापन गर्ने तयारी हुने हानले जनाएको छ । यसबाट स्थानीय होटल, रिसोर्ट, होमस्टे र कृषि क्षेत्रलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ । करिब डेढ सयमध्ये हाल जिल्लामा ३२ वटा स्तरीय होटल तथा रिर्सोट हानमा आबद्ध छन् । यसैबीच जिल्ला कृषि विकास कार्यालयले यसवर्ष काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन १० देखि १५ प्रतिशतसम्म बढ्नसक्ने प्रक्षेपण गरेको छ । गतवर्ष भने बाढीपहिरोका कारण जिल्लाको सुन्तला उत्पादनमा करिब सात प्रतिशतले गिरावट भएको थियो । हाल सुन्तला पकेट क्षेत्रमा उत्पादनको लगत लिने काम भइरहेको कार्यालय प्रमुख कुलप्रसाद दवाडीले जानकारी दिए । उनका अनुसार प्रारम्भिक लगतका हिसाबले गत वर्षकाभन्दा १० देखि १५ प्रतिशतसम्म सुन्तला उत्पादन बढ्नसक्ने प्रक्षेपण गरिएको हो । कार्यालयका अनुसार जिल्लामा विसं २०८१ मा सात हजार ५०० मेट्रिकटन सुन्तला उत्पादन हुने प्रक्षेपण गरिए पनि बाढीपहिरोका कारण बगैँचामा क्षति पुर्याउँदा ५०० मेट्रिकटन गिरावट भएको थियो । जिल्लाको कुल क्षेत्रफलमध्ये करिब एक हजार ३०० हेक्टर अर्थात् करिब ३० हजार रोपनी क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ । यस वर्ष भने करिब आठ हजार मेट्रिकटन सुन्तला उत्पादन हुने जनाइएको हो । रासस

बिलाउनीको झाडी फाडेर सुन्तला बगैँचा, सुन्तलाखेतीले रोक्यो विदेशिने बाध्यता

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर सुन्तला बगान बनाएका छन् । बीस वर्षअघि बिलाउनीको झाडीले भरिएको भिरालो पाखो सुन्तला र केराको बगैँचामा परिणत गरेका हुन् । दोवाटाका मित्रलाल गौतमले कुनै समय स्याल लुक्ने झाडी अहिले हराभरा बगैँचामा परिणत भएको बताएका छन् । ‘कोदो, मकैखेती हुन छाडेपछि पाखोबारी बाँझिएर बिलाउनीको झाडीले भरेको थियो’, उनले भने, ‘केरा र सुन्तलाखेती गरेपछि आम्दानी हुन थाल्यो । घर व्यवहार चलाउने र छोराछोरीको पढाइखर्च जुटाउन खाडीमुलुक जानुपरेको छैन ।’ यस वर्ष करिब पाँच लाख मूल्य बराबरको सुन्तला बेचेका मित्रलालले केराबाट थप रु एक लाख आम्दानी हुने बताए । उनले तीन वर्ष खाडीमुलुक साउदीमा भेडा चराएर विसं २०५७ मा घर फर्किएपछि सुन्तला र केरा खेती सुरु गरेका थिए । गौतमको १६ रोपनी पाखोबारीमा सुन्तला र केराको बगैँचा छ । भित्रलालसँगै उहाँका छिमेकी चन्द्रमा पाइजा र चनदेवी पुनले पनि पाखोबारीमा सुन्तलाखेती गरेका छन् । छिमेकी टोल नरालेका समलाल जुग्जालीले २०५० को दशकमा सुन्तलाखेती भित्र्याएका थिए । हाल मालिका गाउँपालिका–७ मा पर्ने साविक बिम गाविसबाट वार्षिक एक करोडभन्दा बढी मूल्यको सुन्तला बिक्री हुने अगुवा किसान भूपेन्द्र शर्माले बताए । पोखरा र चितवनका ब्यापारीले बगैचाबाटै प्रतिकिलो ७० का दरले सुन्तला खरिद गरेर लगेका छन् । नयाँ बिरुवा थपिने र क्षेत्रफल विस्तार हुने क्रम जारी छ । अर्कला, नराले, ओखलढुङ्गा, टुनिबोट, दुुले, बनसार, नौमाने, भारवाङ, लुरवाङ, खारा र ढुनोट टोलमा ब्यवसायिक सुन्तलाखेती भएको छ । सुन्तला बेचेर एक जना कृषकले रु ६० हजारदेखि रु पाँच लाखसम्म आम्दानी गरेका छन् । साठीभन्दा बढी घरपरिवारले व्यावसायिक सुन्तलाखेती गरेका अगुवा किसान भविराज पुनले बताए । ‘सडक यातायातको सुविधा, भूगोल र हावापानी अनुकुल भएकाले सुन्तलाखेती फस्टाएको छ’, उनले भने, ‘कोदो, मकै, गहुँलगायत खाद्यान्नको विकल्पमा सुन्तलाखेती गर्ने क्रम बढेको छ ।’ पर्याप्त जमिन र आम्दानीको अन्य स्रोत नभएका कारण १५ वर्ष साउदी र कतारमा पसिना बगाएका चन्दबहादुर श्रीपालीले पछिल्लो १३ वर्षयता सुन्तलाखेतीलाई आम्दानीको माध्यम बनाएका छन् । ‘चार वर्ष साउदीमा भेडा चराउँदा पाएको दुःख सम्झिएर २०५९ सालमा छुट्टीमा आउँदा बाँझो बारीमा सुन्तलाको बगैँचा बगाएको थिए’, उनले भने, ‘त्यति बेला लगाएको सुन्तला फल्न थालेपछि विदेशको तुलनामा यही आम्दानी हुन थाल्यो । विदेश जानुपरेको छैन् । सुन्तलाखेती पेन्सनजस्तो भएको छ ।’ उनले वार्षिक रु चार लाखको सुन्तला बिक्री गर्छन् । व्यवस्थित सिँचाइ सुविधा र सुन्तला ढुवानी गर्दा राखिने क्रेट आवश्यक रहेको बिमका कृषकले बताएका छन् । रासस

सुन्तला किलोको ८० रुपैयाँ, यस्तो छ तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । बजारमा गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ९० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ११० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ८५ रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ८० रुपैयाँ, आलु रातो प्रतिकिलो ३२ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २६ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै, गाजर (लोकल) प्रतिकिलो ६० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो ६० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ३० रुपैयाँ, बन्दा (तराई) प्रतिकिलो ३० रुपैया, बन्दा (नरिवल) प्रतिकिलो २५ रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ४० रुपैयाँ, काउली तराई प्रतिकिलो ३५ रुपैयाँ, रातो मूला प्रतिकिलो ३० रुपैयाँ, सेतो मूला (लोकल) प्रतिकिलो १५ रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ६० रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ७० रुपैयाँ, मकै बोडी प्रतिकिलो ६० रुपैयाँ कायम भएको छ । त्यसैगरी, मटरकोसा प्रतिकिलो ८५ रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो ५५ रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ४५ रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो १४० रुपैयाँ, टाटे सिमि प्रतिकिलो ६० रुपैयाँ, तितो करेला प्रतिकिलो ८० रुपैयाँ, लौका प्रतिकिलो ६० रुपैयाँ, परवर(लोकल) प्रतिकिलो ८०, घिरौला प्रतिकिलो ८०, फर्सी पाकेको प्रतिकिलो २५ रुपैयाँ, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ४० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ३५ रुपैयाँ, सलगम प्रतिकिलो ८० रुपैयाँ, भिन्डी प्रतिकिलो १२० रुपैयाँ, सखरखण्ड प्रतिकिलो ५० रुपैयाँ, पिँडालु प्रतिकिलो ८० रुपैयाँ र स्कुस प्रतिकिलो २५ रुपैयाँ कायम गरिएको छ । यस्तै, समितिले रायोसाग प्रतिकिलो २० रुपैयाँ, पालुङ्गो साग प्रतिकेजी १०० रुपैयाँ, चमसुर प्रतिकिलो १०० रुपैयाँ, तोरीको साग प्रतिकिलो ४० रुपैयाँ, मेथीको साग प्रतिकिलो १०० रुपैयाँ, हरियो प्याज प्रतिकिलो ५० रुपैयाँ निर्धारण गरिएको छ । बकूला प्रतिकिलो १०० रुपैयाँ, तरुल प्रतिकिलो ६० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १०० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ३०० रुपैयाँ, कुरीलो प्रतिकिलो १००० रुपैयाँ, ब्रोकाउली प्रतिकिलो ७० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ८० रुपैयाँ, रातो बन्दा प्रतिकिलो १८० रुपैयाँ, जिरीको साग प्रतिकिलो २०० रुपैयाँ, सेलरी प्रतिकिलो २८० रुपैयाँ, पार्सले प्रतिकिलो ६०० रुपैयाँ, सौफको साग प्रतिकिलो १३० रुपैयाँ, पुदिना प्रतिकिलो ४०० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो ३५० रुपैयाँ तोकिएको छ । यस्तै, समितिले स्याउ (झोले) प्रतिकिलो २०० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो २८० रुपैयाँ, केरा (दर्जन) १८० रुपैयाँ, कागती प्रतिकिलो ८० रुपैयाँ, सुन्तला (नेपाली) प्रतिकिलो ८० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ९० रुपैयाँ, मौसम प्रतिकिलो ८० रुपैयाँ, जुनार प्रतिकिलो १०० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १४५ रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ७० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो ३० रुपैयाँ, निबुवा प्रतिकिलो ५० रुपैयाँ, नास्पाती (चाइनिज) प्रतिकिलो २०० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ६० रुपैयाँ, स्ट्रबेरी भुइँऐसुलु प्रतिकिलो ४५० रुपैयाँ, आभोकाडो प्रतिकिलो २५० रुपैयाँ र अमला प्रतिकिलो ७० रुपैयाँ निर्धारण गरिएको छ ।

क्लव चौलानीले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा गरिमा क्यापिटल

काठमाडौं । सुदूरपश्चिम प्रदेशकै नमूना पाँचतारे होटलको रूपमा स्थापित हुने लक्ष्य लिएको क्लव चौलानी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि गरिमा क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । यस सम्बन्धमा क्लव चौलानी लिमिटेड र गरिमा क्यापिटल लिमिटेडबीच साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता सम्पन्न भएको छ । पौष ०८ गते मंगलबार बुढानिलकण्ठ, काठमाडौंस्थित होलिडे इन रिसोर्टमा आयोजित कार्यक्रममा उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो । सम्झौतापत्रमा क्लव चौलानी लिमिटेडका अध्यक्ष राजेन्द्र के.सी. तथा गरिमा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईले हस्ताक्षर गरेका छन् । क्लव चौलानी लिमिटेड २०६५ साल वैशाख २५ गते प्राइभेट लिमिटेड कम्पनीका रूपमा स्थापना भई २०८१ साल पौष २२ गते पब्लिक लिमिटेडमा रूपान्तरण भएको हो । कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत बराबरको सेयर सर्वसाधारणका लागि आईपीओमार्फत निष्कासन गर्ने तयारी गरेको छ । आईपीओ निष्कासन पश्चात् कम्पनीको पूँजी संरचना थप सबल भई होटल पूर्वाधार निर्माण, सेवा विस्तार तथा दीर्घकालीन व्यावसायिक वृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

पुष ११ गते बागमती प्रदेश लघुवित्त सदस्य सम्मेलन हुँदै

काठमाडौं । पुष ११ गते शुक्रबार बागमती प्रदेश लघुवित्त सदस्य सम्मेलन हुने भएको छ । बुधबार कार्की ब्यांक्वेट बबरमहलमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले उक्त जानकारी दिएको हो । मानुषी लघुवित्त, स्वावलम्बन लघुवित्त, छिमेक लघुवित्त, सूर्योदय वोमी लघुवित्त र महिला सहयोगी बचत तथा ऋण सहकारीको संयुक्त आयोजनामा हुने सम्मेलनको उद्घाटन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.प्रकाश कुमार श्रेष्ठले गर्ने आयोजकले बताएको छ । 'स्वस्थ लघुवित्त, समृद्ध सदस्य' भन्ने मुल नाराका साथ आयोजना हुने सम्मेलनमा बागमती प्रदेशमा केन्द्रीय कार्यालय रहेका लघुवित्त कार्यक्रम सञ्चालन गर्ने संस्थाहरुको सहभागिता रहने जानकारी आयोजनाको संयोजक समेत रहेकी मानुषी लघुवित्तकी प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले दिइन् । विगतमा यस्तो सम्मेलन राष्ट्रिय स्तरमा आयोजना हुने गरेको भए पनि प्रदेश स्तरमा पहिलो पटक हुन लागेको आयोजकले बताएको छ । लघुवित्त कार्यक्रमलाई अझ सदस्यमुखी तथा प्रभावकारी बनाउने अभिप्रायले आयोजना हुने उक्त सम्मेलनको मुख्य उद्देश्य लघुवित्तको मूल मर्म र भावना अनुरुप विपन्न वर्गको जीवनस्तरमा सुधार ल्याउने रहेको छ भने ग्रामीण अर्थतन्त्रको मेरुदण्डको रुपमा लघुवित्त कार्यक्रमलाई अझै प्रभावकारी बनाउने वातावरण सिर्जना गर्ने तथा युवा सदस्यहरुलाई उद्यमशीलताको विकासतर्फ प्रोत्साहित गर्नुका साथै सवै सरोकारवालाहरुलाई जिम्मेवार र उत्तरदायी बनाउँदै दिगो लघुवित्त अभ्यासको प्रवद्र्धन गराउने लक्ष्य आयोजकले लिएको छ । सम्मेलनले लघुवित्त सदस्यहरु बीचमा अनुभव आदान प्रदान भई आपसी समझदारी र सहकार्य बढ्ने तथा ज्ञान तथा सिकाइ अभिबृद्धि हुनुका साथै लघुवित्त क्षेत्रको दिगो विकास, उद्यमशीलता प्रवद्र्धन तथा समावेशी आर्थिक वृद्धिका लागि महत्वपूर्ण योगदान दिने आयोजकले अपेक्षा लिएको छ । सम्मेलनले पछिल्लो समय विद्यमान लघुवित्तप्रतिको नकारात्मक सोचलाई परिवर्तन गर्न पनि भुमिका खेल्ने विश्वास आयोजकले व्यक्त गरेको छ ।

सिद्धार्थ बैंकको वार्षिकोत्सवमा बैंकका ग्राहकलाई लाइफटाइम फ्री क्रेडिट कार्ड अफर

काठमाडौं । सिद्धार्थ बैंकले २३औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरूका लागि विशेष लाइफटाइम फ्री क्रेडिट कार्ड अफर सार्वजनिक गरेको छ । यो अफर डिसेम्बर २५, २०२५ देखि जनवरी २३, २०२६ सम्म ३० दिन सञ्चालन हुने बैंकले जनाएको छ । बैंकको अफरअनुसार स्ट्यान्डर्ड क्रेडिट कार्डमा लाग्ने आवेदन शुल्क र पहिलो वर्षको वार्षिक शुल्क पूर्ण रूपमा छुट दिइने व्यवस्था गरिएको छ । सुविधा प्राप्त गर्नका लागि ग्राहकहरूले दोस्रो वर्षदेखि वार्षिक शुल्क छुट पाउन अघिल्लो वर्ष कम्तीमा तीन पटक क्रेडिट कार्डमार्फत कारोबार गर्नु पर्ने छ । उदाहरणका लागि, डिसेम्बर २०२५ मा जारी गरिएको कार्डका लागि जनवरी २०२६ देखि डिसेम्बर २०२६ भित्र कम्तीमा ३ वटा कारोबार गर्नु पर्नेछ । बैंकका अनुसार यस अफरको मुख्य उद्देश्य ग्राहकलाई थप सुविधा प्रदान गर्नुका साथै डिजिटल कारोबारको प्रवर्धन गर्नु हो ।

बजार पहुँच नहुँदा किसानले उत्पादन गरेको दूध घरमै

भोजपुर । भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको छ । बजार व्यवस्थापनको अभावमा दूध घरायसी प्रयोजनमै खपत गर्न बाध्य हुनुपरेको किसानको गुनासो छ । सदरमुकाम आसपास र राजमार्ग क्षेत्रका किसानले उत्पादन गरेको दूध बिक्री–वितरण गर्न सहज भए पनि गाउँघरमा उत्पादन हुने दूध भने बजारसम्म पुर्‍याउन कठिनाइ रहेको किसानको गुनासो छ । भोजपुर बजार क्षेत्रमा रहेका तीन वटा डेरी उद्योगले सदरमुकाम आसपासका क्षेत्रबाट मात्र दूध सङ्कलन तथा बिक्री गर्दै आएका छन् । बजारको क्षमता सीमित भएकाले गाउँघरका किसानसँग भएको दूध ल्याउन नसकिएको डेरी व्यवसायीको भनाइ छ । टेम्केमैयुङ गाउँपालिका–५ का स्थानीय कृषक अडिबहादुर विष्टका अनुसार गाउँघरमा उत्पादन हुने दूध बिक्रीको वातावरण नहुँदा मही पारेर खानुपर्ने अवस्था छ । 'विगत लामो समयदेखि पशुपालन गर्दै आएको छु । मेरोमा दैनिक आठदेखि १० लिटर दूध उत्पादन हुन्छ, तर बजार नहुँदा मही पारेर नै खपत गर्नुपरेको छ', उनले भने, 'यहाँ उत्पादन भएको दूधलाई बाह्य बजारसम्म लैजाने व्यवस्था भएमा मजस्ता स्थानीय किसानको आम्दानीमा उल्लेख्य वृद्धि हुनेछ ।' केही किसानहरूले व्यावसायिक उद्देश्यका साथ पशुपालन गर्दै आए पनि लगानी र मेहनतअनुसारको आम्दानी लिन नसकेको गुनासो पनि छ । सदरमुकाम आसपासका बोखिम, दावा, पोखरे, खुरीला, ढुङ्गे, श्यामशिलालगायत क्षेत्रका स्थानीय बासिन्दाले मात्र दूध बिक्री गर्दै आएका छन् । रासस

बिहीबार कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १९३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९४ रुपैयाँ ५५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८२ रुपैयाँ २२ पैसा र बिक्रीदर १८२ रुपैयाँ ९८ पैसा कायम गरिएको छ । यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ २५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिदर १०४ रुपैयाँ ८५ पैसा र बिक्रीदर १०५ रुपैयाँ २८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ६९ पैसा र बिक्रीदर ११२ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिदर नौ रुपैयाँ २० पैसा र बिक्रीदर नौ रुपैयाँ २३ पैसा, चिनियाँ युआन एकको खरिदर २० रुपैयाँ ४४ पैसा र बिक्रीदर २० रुपैयाँ ५२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ २२ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३८ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४९ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६२ पैसा र बिक्रीदर चार रुपैयाँ ६४ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३९ रुपैयाँ २० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५९ पैसा रहेको छ । साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ८९ पैसा र बिक्रीदर नौ रुपैयाँ ९३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६५ पैसा र बिक्रीदर १५ रुपैयाँ ७१ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ६४ पैसा र बिक्रीदर २२ रुपैयाँ ७३ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १८ रुपैयाँ ४४ पैसा र बिक्रीदर १८ रुपैयाँ ५१ पैसा, कुवेती दिनार एकको खरिददर ४६६ रुपैयाँ ६४ पैसा र बिक्रीदर ४६८ रुपैयाँ ५९ पैसा, बहराइन दिनार एकको खरिददर ३८० रुपैयाँ ०६ पैसा र बिक्रीदर ३८१ रुपैयाँ ६५ पैसा, ओमनी रियाल एकको खरिददर ३७२ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ९२ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।