गौतम बुद्ध मुटु अस्पताल आर्थिक सङ्कटमा, भुक्तानी रोकिँदा उपचार सेवा बन्द गर्दै
काठमाडौं । बुटवलमा सामुदायिकस्तरमा सञ्चालित गौतम बुद्ध सामुदायिक मुटु अस्पताल आर्थिक सङ्कटमा पर्दै गएपछि विपन्न नागरिक औषधि उपचार कार्यक्रम रोक्नुपर्ने अवस्था आएको जनाएको छ । सरकारबाट नियमित रूपमा प्रदान गर्नुपर्ने विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गतको रकम रोकिँदा अस्पतालमा औषधि र उपकरणको आयात रोकिएको, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको तलब भुक्तानीमा समस्या थपिएको जनाउँदै विपन्न नागरिक औषधि उपचार सेवा रोक्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको जनाएको छ । अस्पतालले बुटवलमा पत्रकार सम्मेलन गरी सरकारबाट पाउनुपर्ने रकम पुस मसान्तसम्म प्राप्त नभएमा माघ १ गतेदेखि मुटु उपचारका लागि प्रदान गर्दै आएको १ लाख रुपैयाँसम्मको उपचार सेवा र मिर्गौलाका बिरामीको निःशुल्क डायलाइसिस सेवा बन्द गर्न बाध्य हुने जनाएको छ । ‘स्वस्थ मुटु हाम्रो अभियान’ भन्ने मूल नाराका साथ वि.सं २०७० देखि सामुदायिक स्तरबाट सञ्चालनमा आएको गौतम बुद्ध सामुदायिक मुटु अस्पताल चालु आर्थिक वर्षमा आइपुग्दा अस्पतालले मुटु र मिर्गौलाका बिरामीको उपचार गरे बापत सरकारबाट १७ करोड ८१ लाख ९ हजार ३७९ रुपैयाँ भुक्तानी नपाउँदा अस्पताल आर्थिक सङ्कटमा गरी अन्य उपचार सेवासमेत प्रभावित हुने अवस्था सिर्जना भएको जनाइएको छ । चालु आर्थिक वर्षसम्ममा मुटु तथा मिर्गौलाका बिरामीको उपचारबापत नेपाल सरकारले प्रदान गर्ने रकम २० करोड ३९ लाख ३१ हजार ८७९ रुपैयाँ रहेको हालै २ करोड ५८ लाख २२ हजार ५०० रुपैयाँ मात्र प्राप्त गरेपछि अस्पतालले बिरामीको उपचार गरिरहेको तर सरकारबाट थप भुक्तानीमा चासो नदिएकाले सेवा प्रभावित हुने अवस्था आएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी गराए । सरकारले सञ्चालन गरेको विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गत मुटु रोगीका लागि क्याथ ल्याबबाट सेवा लिँदा १ लाख रुपैयाँ तथा मिर्गौलाका बिरामीको डायलाइसिस निःशुल्क गर्दै आएको अध्यक्ष आलमले बताए । सरकारको विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा मात्रै १ हजार ३८४ जना मुटुका बिरामीलाई ४ करोड ६४ लाख ८९ हजार १४ रुपैयाँ बराबरको उपचार सेवा यस अस्पतालमार्फत प्रदान गरिएको छ । त्यसैगरी, मिर्गौला बिरामीको डायलाइसिसका लागि सरकारबाट प्रतिसेसन २ हजार ५०० रुपैयाँ प्राप्त हुँदै आएकोमा यस वर्ष १३ करोड ९४ लाख ६५ हजार रुपैयाँ बराबरको ५५१ जनाको निःशुल्क डायलाइसिस गरिएको छ । मुटु र मिर्गौलाका बिरामीको गरी चालु वर्षमा मात्रै १८ करोड ५९ लाख ५४ हजार १४ रुपैयाँ बराबरको उपचार सेवा प्रदान गरिएको अध्यक्ष आलमले बताए । मुटुको सामान्य उपचारबाट सुरु गरिएको यस अस्पतालमा २०७३ सालमा सञ्चालन गरिएको क्याथ ल्याबबाट मात्रै एन्जियोग्राफी, एन्जियोप्लाष्ट, अस्थायी पेसमेकर, स्थायी पेसमेकर, पेरिकार्डियो सेन्टिसिस, राइट हार्ट क्याथेटराजेसन र पिटिएसी गरी ६ हजार ५६९ जनाले सेवा प्राप्त गरेको अस्पतालले तथ्याङ्क सार्वजनिक गरेको छ । यस्तै, विसं २०७२ देखि सुरु गरिएको मिर्गौलाको उपचार सेवाबाट पनि बिरामीले हालसम्म ३ लाख ३३ हजार ७२१ सेसन निःशुल्क डायलाइसिस सेवा प्राप्त गरेको अस्पतालको तथ्याङ्क छ । मिर्गौलाका बिरामीहरूको चाप अत्यधिक बढ्दै जान थालेपछि सेवा विस्तार गर्दै अस्पतालले बुटवलसँगै दाङ जिल्लाको लमही, पाल्पा जिल्लाको तानसेन, स्याङ्जा जिल्लाको वालिङ र कपिलवस्तुको वाणगङ्गामा डायलाइसिस सेन्टर स्थापना गरी सेवा प्रदान गर्दै आएको भने केही समयमै नवलपरासीको सुनवलमा पनि डायलाइसिस सेन्टर शीघ्र सञ्चालनको तयारीमा रहेको छ । अस्पतालले सञ्चालन गरेका डायलाइसिस सेन्टरमध्ये बुटवलबाट ३११ जना, लमहीबाट ५७ जना, पाल्पाबाट ५९ जना, वालिङबाट ६७ र कपिलवस्तुबाट ५७ गरी ५५१ जना मिर्गौलाका बिरामीले नियमित रूपमा निःशुल्क डायलाइसिस गराउँदै सेवा लिँदै आएको अध्यक्ष आलमले बताए । रूपन्देही उद्योग सङ्घको संरक्षकत्वमा सञ्चालित यस अस्पतालमा यस क्षेत्रका उद्योगी व्यवसायी, विभिन्न रोटरी र रोट्याक्ट क्लबहरू, समाजसेवी लगायतको आर्थिक, भौतिक तथा नैतिक सहयोग रहेको छ । लुम्बिनी प्रदेशका मात्र नभई गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका करिब ४२ जिल्लाका नागरिकलाई यस अस्पतालले प्रत्यक्ष स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । स्थापनाको १२ वर्षसम्म आइपुग्दा अस्पतालबाट मुटु, मिर्गौला तथा जनरल फिजिसियनका गरी पाँच लाखभन्दा बढी बिरामीलाई उपचार सेवा प्रदान गरिएको छ । अस्पतालमा हाल ३३० जनाले प्रत्यक्ष रोजगारी पाएको र मासिक १ करोड ५० लाख रुपैयाँभन्दा बढी तलब सुविधामा मात्र खर्च हुने गरेको छ । गैर नाफामुखी स्वास्थ्य संस्थाका रूपमा स्थापना भएको यो अस्पतालको जग्गा प्राप्तिको ढिलाइले आफ्नै भवनसमेत नहुँदा भाडाको भवनमा सेवा सञ्चालन गर्नुपरेको थप आर्थिक व्ययभारसँगै बिरामीको चापसमेत खेप्नुपरेको अध्यक्ष आलमले बताए । मुटु र मिर्गौलाको उपचार पद्धति आफैँमा महँगो र जटिल समेत हुने भएकाले पनि सरकारको यस्ता बिरामीलाई सुविधा दिने घोषणा कार्यान्वयनमा प्रभावकारी हुनसके सहुलियत हुने अध्यक्ष आलम बताउँछन् ।
निजी क्षेत्र कुनै व्यक्तिको होइन, अर्थतन्त्रकै इन्जिन हो भनेर बुझाउनु जरुरी छ: अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा विगतदेखि गत भदौको जेनजी आन्दोलनमा समेत पहिलो तारो निजी क्षेत्र नै बनेको बताएका छन् । कोहलपुरमा आयोजित महोत्सवको उद्घाटन गर्दै अध्यक्ष ढकालले भने, ‘चाहे त्यो २०६२/६३ को जनआन्दोलन होस् या गत चैतको, अथवा गत भदौको जेनजी आन्दोलन, सधैँ निजी क्षेत्र नै आक्रमणको तारो बनेको छ । यसबाट निजी क्षेत्र र समग्र अर्थतन्त्रमा नराम्रो असर परेको छ।’ अध्यक्ष ढकालले निजी क्षेत्र कुनै व्यक्ति या कम्पनी विशेषको नभएर मुलुकको अर्थतन्त्रकै इन्जिन तथा नेपालको समृद्धिको आधार हो भन्ने तथ्य अब राज्यले नै सबैलाई बुझाउनु जरुरी रहेको र त्यसो भयो भनेमात्र आगामी दिनमा निजी क्षेत्रले यस्तो अवस्था भोग्नु नपर्ने स्पष्ट गरे । कहिले भूकम्प, कहिले कोभिड महामारी तथा कहिले अन्य कारणले संकटमा परिरहेको मुलुकको अर्थतन्त्र र समग्र निजी क्षेत्र नै अहिले आगजनीबाट ध्वस्त हुन पुगेको उनले बताए । तर, खरानीबाट उठ्नुपर्ने बाहेकको अर्को विकल्प नरहेकोले अब सबैले मनोबल उकासेर अघि बढ्नुपर्ने उनको भनाइ छ । मुलुकको समग्र निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले निजी क्षेत्रको मनोबल उकास्न सरकारसँग संवाद गर्दै आएको र निजी क्षेत्रको संरक्षणका लागि सरकार समक्ष प्रस्तुत गरेको ‘प्राइभेट सेक्टर प्रोटेक्सन प्लान’ लाई मन्त्रिपरिषद बाटै पास गर्ने आश्वासन दिएको पनि सुनाए । मुलुकको अर्थतन्त्रमा कम्तीमा ८१ प्रतिशत योगदान गरेको निजी क्षेत्र यतिखेर मनोबल खस्किएर निराश अवस्थामा रहेको चर्चा गर्दै अध्यक्ष ढकालले स्थानीय स्तरमा आयोजना हुने यस्ता मेला महोत्सवबाट पनि आर्थिक गतिविधिहरू चलायमान बनाउन सहयोग पुग्ने धारणा राखे । अध्यक्ष ढकालले यस प्रकारका मेला महोत्सवहरुमा स्थानीय उत्पादनलाई प्रश्रय दिन र मौलिक उपज, संस्कृति र परम्पराको जगेर्ना गरी स्थानीय प्रतिभाहरूलाई प्रेरणा प्रदान गर्ने काम गर्न आयोजकहरूलाई आग्रह पनि गरे ।
२.१० करोड बैंकिङ कसुरका फरार व्यक्ति पक्राउ, खेतानले दिएका थिए जाहेरी
काठमाडौं । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले २ करोड १० लाख बैंकिङ कसुरका फरार आरोपीलाई पक्राउ गरेको छ । कार्यालयले सुमितकुमार खेतानको जाहेरीका आधारमा बैंकिङ कसुरका आरोपी एसएन सप्लायर्सका प्रोपाइटर धनुषा घर भई काठमाडौं बस्ने सन्तोषकुमार साहलाई पक्राउ गरेको हो । उनलाई काठमाडौं महानगरपालिका-४ चन्डोलबाट पक्राउ गरिएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । उनी बैंकिङ कसुर मुद्दामा झापा जिल्ला अदालतबा पक्राउ पुर्जी जारी भई फरार रहेका व्यक्ति हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइको पनि आचार्यले बताए । उनीमाथि महोत्तरीमा १ करोड ७२ लाख रुपैयाँ र धनुषामा ८ लाख रुपैयाँ र झापामा ३० लाख रुपैयाँ बिगो बराबरको बैंकिङ कसुर गरेको अभियोग रहेको छ ।
वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात, भटमासको तेल मात्रै २०.७६ अर्ब रुपैयाँ
काठमाडौं । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको ५ महिनामा ३९ अर्ब ९७ करोड रुपैयाँ मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै ८९ प्रतिशत अर्थात् १८ अर्ब ७९ करोड रुपैयाँ बढीको निर्यात भएको हो । जबकी गत आवको ५ महिनामा भने २१ अर्ब १८ करोड रुपैयाँका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदय सिंह विष्टले चालु आवको ५ महिनामा यो नाका हुँदै हुने निर्यातमा उल्लेखनीय वृद्धि भएको बताए । चालु आवको ५ महिनामा २० अर्ब ७६ करोड रुपैयाँ पर्ने भटमासको तेल प्रशोधित निर्यात भएको छ । त्यस्तै ३ अर्ब ७ करोड रुपैयाँ पर्ने फलफूलको जुस, २ अर्ब ८७ करोड रुपैयाँ पर्ने सूर्यमुखीको प्रशोधित तेल, १ अर्ब ९७ करोड रुपैयाँ पर्ने प्रशोधित पाम तेल निर्यात भएको छ । त्यस्तै १ अर्ब ५० करोड रुपैयाँ पर्ने विभिन्न किसिमका कपडाहरु पनि निर्यात भएको कार्यालयले जनाएको छ ।
विद्यालय नर्स आफैँ समस्यामा, ५४ करोड रुपैयाँ खर्च
काठमाडौं । विद्यालय तहमा विद्यार्थीको स्वास्थ्य हेरचाह गर्ने जिम्मेवारीमा रहेका विद्यालय नर्स आफैँ समस्यामा रहेको सरोकार भएकाहरूको भनाइ छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले बुधबार आयोजना गरेको ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ समीक्षा कार्यक्रममा स्वयं विद्यालय नर्सहरूले नै आफूहरूले विभिन्न समस्या भोग्नुपरेको बताएका छन् । दरबन्दी बिना करारमा काम गर्नुपरेको, पर्याप्त तलब सुविधा नरहेको, उचित वातावरणमा कम गर्न नपाएको, एकै जना नर्सले एक हजारभन्दा बढी विद्यार्थीलाई सेवा दिनुपर्ने बाध्यता रहेको, विद्यालय प्रशासनबाट असहयोग हुने गरेको लगायत समस्या कार्यक्रममा व्यक्त गरिएका थिए । ललितपुर महानगरपालिका-२५ भैँसेपाटीस्थित आदर्शशौल माध्यमिक विद्यालयका नर्स सरस्वती शाक्यले काम गर्ने सकारात्मक वातावरण नहुँदा किशोर किशोरीको स्वास्थ्य समस्या समाधानमा कठिनाइ रहेको बताइन् । उनले शिक्षा र स्वास्थ्यमा समन्वयको अभाव रहेको भन्दै विद्यालय प्रशासन, शिक्षक र अभिभावकलाई अभिमुखीकरण गर्नुपर्ने बताइन् । बालकुमारी माध्यमिक विद्यालय सुनाकोठीमा नर्स अनु तिमल्सिनाले आर्थिक वर्ष २०७७/७८ देखि सुरु भएको कार्यक्रममा आफू सहभागी भएर काम गर्दा विविध समस्या भोग्नुपरेको सुनाइन् । ‘काम गर्ने दौरानमा विभिन्न व्यवधान ब्यहोर्नु परेको छ । विद्यालयमा उचित कार्यस्थल, विद्यार्थीलाई प्राथमिक उपचार गर्ने व्यवस्थित कक्ष र बालमैत्री शौचालय छैन । यस्तै, हरेक ६/६ महिनामा करारको नवीकरण गर्दा समस्या भइरहेको छ,’ उनले भनिन् । बागमती गाउँपालिका-७ गिम्दीको कटुवास्थित जनक माविका नर्स धना विष्टले अभिभावकहरूलाई आफ्ना बालबालिकाबारे थप सचेत र जागरुक बनाउने विषयमा ध्यान दिनुपर्नेमा जोड दिइन् । यस्तै, विद्यार्थीलाई दिइने खाजा खर्च हरेक ३/३ महिनामा उपलब्ध गराइँदा विद्यार्थीहरूको स्वास्थ्य र विद्यालयप्रतिको आकर्षणमा अझै सकारात्मक प्रभाव पर्न नसकेको उनको भनाइ छ । बागमती गाउँपालिका-५ इकुडोलस्थित शारदा शिक्षा सदन माझखण्डमा कार्यरत नर्स यशोदा कुशवाह, महेन्द्र भृकुटी माध्यमिक विद्यालयका सजना महर्जन, ललितपुरको नखिपोटस्थित महालक्ष्मी माध्यमिक विद्यालयका विद्यालय नर्स मनकामना खरेल लगायतले विद्यालयमा विद्यार्थीको अनुकूल हुने गरी ‘सेक्सन’ छुट्याउन, पर्याप्त खेल मैदानको व्यवस्थाका साथै विद्यार्थीको सङ्ख्याअनुसार नर्सको व्यवस्था नहुँदा समस्या रहेको बताइन् । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा. खगेश्वर गेलालले निर्णय गर्ने ठाउँमा विषयविज्ञ र सम्बन्धित क्षेत्रको ज्ञान भएको व्यक्ति नहुँदा समस्या भइरहेको बताए । उनले विद्यालय नर्सको सेवा सुविधाका लागि सहजीकरण गर्ने प्रतिबद्धता जनाए । ‘बागमती प्रदेश सरकारले एक विद्यालय एक नर्स कार्यक्रममा यस वर्ष ५४ करोड रुपैयाँ खर्च गर्ने भनेको छ । १३ जिल्लाका ८४८ वटा विद्यालयमा कार्यक्रम लागू भएको छ,’ डा गेलालले भने, ‘विद्यालय नर्सका कारण धेरैको ज्यान बचेको छ, विद्यार्थीको अध्ययनमा सहज भएको छ, तर उहाँहरू आफैँ समस्यामा रहेको सुन्यौँ । अब कार्यविधि र निर्देशिकामा भएका कमजोरीलाई सुधार गर्दै नर्सका समस्या समाधान गर्न ध्यान दिन लाग्नुपर्छ ।’ जनस्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत दीपा पाण्डेले ललितपुरका ५४ विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम लागू भएको र हाल ४५ जना नर्स कार्यरत रहेको जानकारी गराए । महालक्ष्मी नगरपालिकाका शिक्षा निर्देशक चिरञ्जीवी पौडेलले बालबालिकाको स्वास्थ्यका लागि विद्यालय नर्सले गरेको काम अत्यन्तै सकारात्मक रहेको बताए । महाकाल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भरतबहादुर खड्काले विद्यालय नर्सको कार्यविधिमा रहेका समस्या समाधान गर्दै विद्यालय नर्सले अरु स्थायी र अस्थायी कर्मचारी सरह सेवा पाउने व्यवस्था गरिनुपर्नेमा जोड दिए । बागमती गाउँपालिका शिक्षा शाखा प्रमुख प्रेमकुमार पुरीले विद्यालय नर्सका समस्या समाधान गर्न विद्यालय व्यवस्था समिति, प्रधानाध्यापक र विद्यालय प्रशासनसँग सहकार्य र समन्वय गर्ने प्रतिबद्धता जनाए । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ मा २० वटा विद्यालयबाट ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम सुरु गरेको थियो । यो कार्यक्रम प्रभावकारी भएका निष्कर्षसहित आव २०८१/८२ मा प्रदेशका ८४८ वटा सामुदायिक विद्यालयमा कार्यक्रम विस्तार गरिएको जनाइएको छ ।
आज ‘क्रिसमस डे’ मनाइँदै, नेपालमा ३० लाख क्रिश्चियन र १३ हजार बढी चर्च
काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज सो धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाउँदैछन् । आजभन्दा २ हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मेको भनिएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएका नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले जानकारी दिए । मुक्ति, प्रेम र शान्ति दिएकाे विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेका उनले बताए । मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको अध्यक्ष गहतराजको भनाइ छ । विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महासङ्घले महोत्सवका रूपमा मनाउन थालेको उनले सुनाए । महासङ्घ मूल समारोह समितिको आयोजनामा आज दिउँसो क्रिसमस महोत्सव २०८२ आयोजना गरिएको जनाइएको छ । कार्यक्रममा सरकारका प्रतिनिधि, सरोकार भएका निकायका अधिकारी, मानव अधिकारवादी लगायतको उपस्थिति रहने अध्यक्ष गहतराजले बताए । दिवसका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । विसं २०७५ देखि २०७७ सम्म क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । विसं २०७८ देखि फेरि सबैलाई सार्वजनिक बिदा दिइएको छ । पछिल्लो समय मुख्य शहरका प्रमुखस्थल क्रिसमस ‘ट्रि’ ले सजाउने गरिएको छ । विशेषगरी पर्यटक बढी आउने पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत सहरमा क्रिसमसको रमझम बढी हुने गरेको छ । महासङ्घको दाबीअनुसार हाल नेपालमा ३० लाख क्रिश्चियन धर्मावलम्बी र १३ हजारभन्दा बढी चर्च छन् ।
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
काठमाडौं । बागमतीको मुहान स्थल वाग्द्वारको शुद्ध जल पशुपतिनाथमा ल्याएर स्नान गराउन सम्भाव्यता अध्ययन गरिने भएको छ । गोकर्णेश्वर नगरपालिका प्रमुख दीपक रिसालको संयोजकत्वमा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की, पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीसहितको बैठकले यस्तो निर्णय गरेको हो । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज स्थित गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सीमामा रहेको वाग्द्वारबाट शुद्ध जल ल्याएर पशुपतिनाथलाई स्नान गराउन लागिएको हो । जानकारहरूका अनुसार विसं २०४० सम्म पशुपतिनाथलाई बागमती नदीको जलले स्नान गराइन्थ्यो । बागमती प्रदूषित हुँदै गएपछि पशुपति क्षेत्रमा इनार खनेर स्नान गराउने गरिएको छ । डेढ दशक अघिदेखि नै वाग्द्वारको जल ल्याएर पशुपतिनाथलाई स्नान गराउन पहल गरिए पनि सफल हुन सकेको छैन । पूर्वप्रधानन्यायधीश रामप्रसाद श्रेष्ठ यो अभियानमा लागेका थिए । वाग्द्वारको शुद्ध जल विभिन्न धार्मिक स्थल हुँदै आराध्यदेव पशुपतिनाथलाई स्नान गराउन ल्याउने विषयमा प्रथम चरणको कार्य सुरु गरिएको कोषका कार्यकारी निर्देशक जोशीले जानकारी दिए ।
त्रिविको ५१औँ दीक्षान्त समारोह आज, प्रमुख अतिथि नोबेल पुरस्कार विजेता काजिता
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह आज हुँदैछ । विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथि बनाएर दीक्षान्त आयोजना गर्ने लागिएको विश्वविद्यालयका उपकुलपति प्रा डा. दीपक अर्यालले जानकारी दिए । समारोहमा नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुने छन् । टोकियो विश्वविद्यालयमा आबद्ध उनले सन् २०१५ को भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार पाएका थिए । उपकुलपति प्रा.डा. अर्यालले दीक्षान्तका लागि सम्पूर्ण तयारी गरिएको बताए । मण्डप निर्माण, दीक्षित विद्यार्थी र अभिभावक बस्ने कुर्सीको व्यवस्थापनलगायत सबै काम सम्पन्न भएको उनले जानकारी दिए । यसपटक त्रिविका १६ हजार ३०० भन्दा बढी विद्यार्थी दीक्षित हुने जनाइएको छ । दीक्षान्त समारोहमा विद्यार्थी र अभिभावकसहित ४१ हजार व्यक्ति सहभागी हुने जनाइएको छ । विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहसमेत गरी ८९ हजार १९१ विद्यार्थी उत्तीर्ण भएका छन् । यसमध्ये १६ हजार ३८० जना विद्यार्थीले दीक्षान्त समारोहमा सहभागिताका लागि निवेदन दिएका उपकुलपति प्रा डा अर्यालले बताए । कार्यक्रममा विभिन्न सङ्काय तथा तहको परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने ११ जना छात्रा तथा १४ जना छात्रले पदकसमेत पाउने छन् । त्रिविबाट यसपटक मानविकीका १४ हजार ८५१, व्यवस्थापनबाट ४३ हजार ६१०, कानुनका २ हजार ३३५ र शिक्षातर्फ १६ हजार ४६७ जना उत्तीर्ण भएका छन् ।