संसदमा ‘डिजिटल पार्लियामेन्ट’ प्लेटफर्म सञ्चालनमा

काठमाडौं । संघीय संसद सचिवालयले संसद्का सूचना र गतिविधिलाई व्यवस्थित तथा सहज बनाउन ‘डिजिटल पार्लियामेन्ट’ प्लेटफर्म सञ्चालनमा ल्याएको छ ।

हाल परीक्षणका रूपमा सञ्चालनमा रहेको प्लेटफर्मको प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले शुभारम्भ गरेका हुन् ।

प्लेटफर्ममा संसद्का सूचना, विधेयकको अवस्था, संसदीय क्यालेन्डर, सांसदको उपस्थिति तथा समिति र उपसमितिका विवरण एकै ठाउँमा राखिएको छ ।

शुभारम्भ कार्यक्रममा सभामुख अर्यालले नेपालको संसदीय इतिहाससँग सम्बन्धित पुराना ढड्डा र दस्तावेजलाई डिजिटल रूपमा सुरक्षित राख्न पनि प्लेटफर्मले सहयोग गर्ने बताए । यसबाट पुराना दस्तावेज अध्ययन तथा अनुसन्धान गर्न सहज हुने उनको भनाइ छ ।

उनले संसद् मात्र नभई कार्यपालिका, न्यायपालिका तथा तीनै तहका सरकारलाई पारदर्शी र नागरिकमैत्री बनाउन प्रविधिको प्रयोग आवश्यक रहेको बताए ।

राष्ट्रिय सभा अध्यक्ष दाहालले संसद्, संसदीय समिति र सचिवालयका कामलाई कागजी प्रणालीबाट डिजिटल प्रणालीमा लैजाँदा काम छिटो, पारदर्शी र प्रभावकारी हुने बताए ।

उनले सांसद तथा कर्मचारीलाई डिजिटल प्रणाली प्रयोग गर्न सहज हुने गरी व्यावहारिक अभिमुखीकरण आवश्यक रहेको पनि बताए ।

अध्यक्ष दाहालले नेपालको डिजिटल प्रणाली अझै प्रारम्भिक चरणमा रहे पनि देशको आवश्यकता र अवस्थाअनुसार यसलाई चरणबद्ध रूपमा अघि बढाउनुपर्नेमा जोड दिए ।

Share News