छोराको क्यूआर कोडमा ४५ हजार हाल्न लगाएको आरोप, उपाध्यक्षविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिकाका उपाध्यक्ष अन्जु नाछिरिङ राईसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले बुधबार विशेष अदालत, काठमाडौंमा राई र उनका छोरा सुनिल नाछिरिङ राईविरुद्ध घुस/रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा आरोपपत्र दायर गरेको हो ।

आयोगका अनुसार सोताङ गाउँपालिकामा आर्थिक वर्ष २०८०/८१ मा ९० कार्यदिनको ढाका सिलाइ–बुनाइ तालिम सञ्चालन भएको थियो । तालिम सम्पन्न भएपछि प्रशिक्षकका रूपमा काम दिलाएबापत उपाध्यक्ष राईले ४५ हजार रुपैयाँ माग गरेको उजुरी परेको थियो ।

अनुसन्धानका क्रममा उपाध्यक्ष राईले तालिमको प्रशिक्षकको रूपमा काम दिलाए तथा तालिममा सहजीकरण गरेबापत ४५ हजार रुपैयाँ घुस माग गरी छोरा सुनिल नाछिरिङ राईको बैंक खातामा रहेको क्यूआर कोडमार्फत रकम जम्मा गर्न लगाएको आयोगले जनाएको छ ।

आयोगले उपाध्यक्ष अन्जु नाछिरिङ राईले आफ्नो पदीय जिम्मेवारी बहन गर्ने क्रममा छोरा सुनिलसँगको मिलेमतोमा आफ्नो निमित्त घुस/रिसवत लिएको ठहर गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कारबाहीको माग गरेको छ ।

उनीविरुद्ध ४५ हजार रुपैयाँ बिगो कायम गरी कैद तथा बिगो बराबर जरिवाना सजायको मागदाबी गरिएको आयोगले जनाएको छ ।

त्यस्तै, सुनिल नाछिरिङ राईले उपाध्यक्ष अन्जु नाछिरिङ राईसँगको मिलेमतोमा सेवाग्राहीबाट ४५ हजार रुपैयाँ घुसबापतको रकम लिई उपाध्यक्षका लागि उपलब्ध गराएको र प्रयोगमा ल्याएको आरोप आयोगको छ ।

सुनिलविरुद्ध पनि ४५ हजार रुपैयाँ बिगो कायम गरी कैद तथा बिगो बराबर जरिवाना सजायको मागदाबी गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।

Share News