विकासन्युज

भरतपुर नगर प्रमुख दाहाललाई चितवन–३ बाट प्रत्यक्ष उम्मेदवार बनाउन नेकपाको सिफारिस

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाललाई चितवन निर्वाचन क्षेत्र नं ३ बाट आगामी निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गरेको छ । पार्टीको चितवन क्षेत्र नं ३ क्षेत्रीय कमिटीको जगतपुरमा बसेको बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।  बैठकमा सहभागी नेताहरूले दाहालको कार्यकालमा भरतपुर महानगरपालिकामा भएका विकास निर्माणका काम, सेवा प्रवाहमा आएको सुधार तथा पार्टी संगठन सुदृढीकरणमा खेलेको भूमिकाको सकारात्मक मूल्याङ्कन गर्दै उनलाई उम्मेदवारका रूपमा अघि सारेको बताएका छन्। पार्टी स्रोतका अनुसार क्षेत्रीय समितिबाट सिफारिस गरिएको नाम केन्द्रमा पठाइनेछ । उम्मेदवारीसम्बन्धी अन्तिम निर्णय भने नेकपाको केन्द्रीय कमिटीले गर्नेछ ।

एनआईसी एशिया बैंकका नवनियुक्त अध्यक्ष अग्रवालले लिए सपथ

काठमाडौं । एनआईसी एशिया बैंकका नवनियुक्त अध्यक्ष अशोककुमार अग्रवालले शपथ लिएका छन् ।बिहीबार अध्यक्ष अग्रवालले नेपाल राष्ट्र बैंकका गर्भनर प्रा. डा. विश्वनाथ पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव संगालेका अग्रवाल एनआईसी एशिया बैंकको अध्यक्ष पदमा नियुक्त भएका हुन् । पुस ९ गते बसेको बैंकको सञ्चालक समितिको ७४४औँ बैठकले आजकै मितिदेखि लागू हुने गरी उनलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । बैंकको अध्यक्षजस्तो गरिमामय पदमा नियुक्त अग्रवालले नेपालको बैंक तथा वित्तीय क्षेत्र, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो समयदेखि कार्यअनुभव हासिल गर्दै सफल नेतृत्व प्रदान गर्दै आएका छन् । उनले मुलुकको आर्थिक विकासमा समेत महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन् । उच्च नेतृत्वदायी क्षमता, दूरदृष्टि र स्पष्ट रणनीतिका साथ दीर्घकालीन योजनामा विश्वास राख्ने अग्रवालको कार्यकालमा बैंकले महत्वपूर्ण उपलब्धिहरू हासिल गर्ने तथा संस्थालाई सफलताको थप उचाइमा पुर्‍याउँदै प्रतिष्ठाको नयाँ शिखरमा लैजाने विश्वास बैंकले व्यक्त गरेको छ ।

सर्वसम्मत भएनन् चन्द्र भण्डारी, गुल्मी– १ बाट सातजना सिफारिस

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी फागुन २१ मा हुने निर्वाचनका लागि प्रत्यक्षतर्फ सर्वसम्मत सिफारिस हुन सकेनन् । गुल्मी क्षेत्र नम्बर १ का सचिव मार्कण्ड भण्डारीका अनुसार नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्देशनअनुसार भएको क्षेत्रीय कार्यसमितिको बैठकमा आकाङ्क्षीहरू स्वयं आफै र वारेसमार्फत उपस्थित भएका थिए ।  उमेदवार हुनका लागि आकाङ्क्षा राखेकाहरूको नाम सङ्कलन गरिएको छ । प्रत्यक्षतर्फ डा. चन्द्रकान्त भण्डारी, श्रीप्रसाद भलामी, भरत बस्नेत, अमृत ज्ञवाली, रवि ज्ञवाली, राधिका न्यौपाने र धनकुमारी रानाले इच्छा देखाउएको भण्डारीले जानकारी दिए ।  त्यसैगरी, समानुपातिकतर्फ उम्मेदवार बन्नका लागि झकबहादुर पुन, भानुभक्त सुवेदी, मीना भण्डारी, गङ्गा पाण्डे, निर्मला सुवेदी र भगवती काफ्ले भण्डारीले इच्छा देखाएको भण्डारीले जानकारी दिए ।

वस्तेलीले गरे रूपन्देहीमा रक्तदान

काठमाडौं । गुल्मी धुर्कोट वस्तु रूपन्देही सम्पर्क समाजको आयोजनामा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । समाजले सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनालाई आत्मसात् गर्दै आयोजना गरेको उक्त कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो । रक्तदान कार्यक्रममा वस्तुबाट रूपन्देहीमा बस्नेहरूको बाक्लो उपस्थितिमा रक्तदान गरिएको समाजका सचिव भानुभक्त पाण्डेले जानकारी दिए । रक्तदान कार्यक्रमलाई सहज र व्यवस्थित बनाउन चिया–नास्ता तथा खाना व्यवस्थापन गर्ने स्वयंसेवकहरू, टेन्ट, कुर्सी तथा साउन्ड सिस्टमको व्यवस्थापनमा सहयोग गर्ने सबै सहयोगीहरूप्रति समाजले उच्च सम्मान र आभार व्यक्त गरेको सदस्य जीवलाल भण्डारीले बताए । समाजका कार्यक्रम सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा योगदान गर्ने सम्पूर्णको भूमिकाको समाजले खुलेर प्रशंसा गरेको छ। उक्त कार्यक्रममा जम्मा ५३ जना रक्तदाताहरूले रक्तदान गरी मानवीय सेवामा महत्वपूर्ण योगदान पुर्‍याएका छन् । जीवन बचाउने यस पवित्र कार्यमा सहभागी सबै रक्तदाताहरूलाई समाजले विशेष सम्मान गर्दै धन्यवाद ज्ञापन गरेको छ । रक्तदानजस्तो पुण्य कार्यले आपत्कालीन अवस्थामा रहेका बिरामीहरूको जीवन रक्षा गर्न ठूलो सहयोग पुग्ने विश्वास समाजले व्यक्त गरेको छ ।

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं । शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत गरियो ।      विसं २०६५ असार १ गते तत्कालीन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले विधिवत रुपमा नारायणहिटी दरबार सङ्ग्रहालयको रुपमा समुद्घाटन गरे पनि फागुन १५ देखि सर्वसाधारणका लागि खुला गरिएको थियो । स्थापनाको १७ वर्षमा सो सङ्ग्रहालय ४७ लाख ७७ हजार ७०० स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन गरेका छन् ।      स्थापनादेखि गत मङ्सिर मसान्तसम्म उक्त सङ्ख्याका पर्यटकले सङ्ग्रहालय अवलोकन गरेका हुन् । आर्थिक वर्ष २०८१/८२ मा दुई लाख ६० हजारले नारायणहिटी दरबार सङ्ग्रहालयको अवलोकन गरेकोमा चालू आवको साउनदेखि मङ्सिर मसान्तसम्म ४६ हजार ७०० र अवलोकन गरेको नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका सूचना अधिकारी पुरुषोत्तम थापाले जानकारी दिए । सरकारले नारायणहिटी सङ्ग्रहालय प्रवेशका लागि विद्यार्थीलाई ५० रुपैयाँ, नेपालीलाई २०० रुपैयाँ, सार्क राष्ट्रका नागरिकलाई ५०० रुपैयाँ र विदेशी नागरिकलाई एक हजार रुपैयाँ शुल्क लिँदै आएको छ ।     उक्त सङ्ग्रहालय प्रत्येक हप्ताको मङ्गलबार, बुधबार बन्द रहँदै आएको छभने शनिबार र अन्य बिदाको दिनमा भने खुल्ला रहन्छ । रासस

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु भएको छ । समितिको बैठक बिहीवार (आज) एक बजेका लागि तोकिएको थियो ।  तोकिएको समयभन्दा डेढ घण्टा ढिलो बैठक सुरु भएको हो । बैठकमा १५ औं महाधिवेशनको कार्यतालीका संशोधन र समानुपातिक तर्फको उमेदवार सिफारिससम्बन्धमा छलफल हुने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।  बैठक बुधबारबाट सुरु भएको हो । १५औं महाधिवेशन फेरि बहसमा, शेखर-गगन प्रस्तावमा कांग्रेस बैठक केन्द्रित

प्रोटोन ईमासको ‘एक्सचेन्ज फर एक्सेलेन्स’ योजना बुटवलमा सुरु हुँदै

काठमाडौं । जगदम्बा मोटर्स प्रा.लि. अन्तर्गत सञ्चालन हुँदै आएको विद्युतीय सवारी साधन (ईभी) ब्रान्ड प्रोटोन ईमासले बुटवलमा ‘एक्सचेन्ज फर एक्सेलेन्स’ योजना सार्वजनिक गरेको छ । तीनदिने एक्सचेन्ज कार्यक्रम पुस १२ देखि १४ गतेसम्म बुटवलको कालिकानगरस्थित प्रोटोन ईमासको शोरुममा आयोजना हुने जनाइएको छ । कार्यक्रम अवधिभर ग्राहकहरूले आफ्ना पुराना सवारी साधन साट्न सक्नेछन् भने प्रोटोन ईमासका विद्युतीय सवारी साधनका विशेषता, सेवा, सुविधा र फाइदाबारे विस्तृत जानकारी प्राप्त गर्न सक्नेछन् । एक्सचेन्ज कार्यक्रमअन्तर्गत प्रोटोन ईमास ७ को सुरुआती मूल्य ४६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । कम्पनीका अनुसार प्रोटोन ईमास ७ मा १६० किलोवाट क्षमताको मोटर, १८० एमएम ग्राउन्ड क्लियरेन्स तथा ४९२ किलोमिटरदेखि ५८५ किलोमिटरसम्मको एनईडीसी रेन्ज रहेको छ । यसका साथै सवारी साधनमा आधुनिक सुरक्षा प्रविधि, आकर्षक प्रिमियम डिजाइन र ४,६१५ एमएम लम्बाइ रहेको कम्पनीले जनाएको छ । यस विशेष एक्सचेन्ज अफरमार्फत बुटवलका ग्राहकहरूलाई आधुनिक, प्रविधिमैत्री तथा वातावरणमैत्री विद्युतीय सवारी साधनमा स्तरोन्नति गर्ने उत्कृष्ट अवसर प्रदान गर्ने लक्ष्य प्रोटोन ईमासले लिएको जनाएको छ ।

देशमा चर्चित भनिएकाहरू नै नसामा भेटिन्छन्, एमालेमा आवद्ध युवाहरू त्यस्ता छैनन् : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई लक्षित गर्दै देशमा चर्चित भनिएका मान्छेहरू नशामा लट्ठिएको अवस्थामा भेटिने गरेको टिप्पणी गरेका छन् । पार्टीको ११ औं महाधिवेशनका स्वयंसेवकहरूलाई धन्यवाद ज्ञापन गर्न बिहीवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । जसलाई बेस्सरी चर्चामा ल्याउन खोजिएको छ त्यस्ता मान्छेहरूसमेत नसामा भेटिने गरेको उनको भनाइ छ ।  अध्यक्ष ओलीले युवाहरूले ठिक ढंगले कुरा नबुझ्नु, ठिक आचरण गर्न नसक्नु र ठिक ढंगले आफूलाई प्रस्तुत गर्न नसक्नु मुलुककै लागि समस्या विषय भएको बताए ।  उनले एमालेमा आवद्ध युवाहरू यस्तो दुर्व्यसनीमा नरहेको समेत जिकिर गरे। ओलीले पार्टीको ११ औं महाधिवेशनमा स्वयंमसेवकको कार्यमा खटिएका युवाहरूको कार्यसम्पादनको प्रशंसा गर्दै धन्यवादसमेत ज्ञापन गरे ।  उनले मुलुकको स्वाधीनताको रक्षाका लागि एकतावद्ध भएर अगाडि बढ्न पार्टी कार्यकर्ताहरूलाई आग्रहसमेत गरे ।