काठमाडौं । घरेलु सेयर बजारमा मंगलबार (हिजो) आएको भारी गिरावटसँगै अडानी समूहका अध्यक्ष गौतम अडानीको सम्पत्तिमा ठूलो कमी आएको छ ।
उनको नेटवर्थ एकैदिन ४.४४ अर्ब अमेरिकी डलरले घटेपछि उनले एसियाका सबैभन्दा धनी व्यक्तिको स्थान गुमाएका छन् ।
ब्लुमबर्गका अनुसार चीनको प्रविधि कम्पनी बाइटडान्सका संस्थापक झाङ यिमिङ अडानीलाई पछि पार्दै एसियाका सबैभन्दा धनी व्यक्ति बनेका छन् ।
दुवैको नेटवर्थ १०५ अर्ब डलर रहे पनि दशमलवपछिको गणनामा यिमिङ अगाडि छन् ।
अडानी एसियामा दोस्रो र विश्वका धनी व्यक्तिको सूचीमा २०औं स्थानमा झरेका छन् ।
यद्यपि, यस वर्ष उनको नेटवर्थमा २०.४ अर्ब डलर वृद्धि भएको छ ।
यिमिङको नेटवर्थ भने यस वर्ष ४०.३ अर्ब डलरले बढेको छ । कृत्रिम बौद्धिकता (एआई) को तीव्र विस्तारसँगै उनको नेटवर्थमा उल्लेख्य वृद्धि भएको हो । यो महिनामात्रै उनको सम्पत्ति १२ अर्ब डलरभन्दा बढी बढेको छ ।
को हुन् यिमिङ ?
झाङ यिमिङ टिकटकका मालिक हुन् । । टिकटक विश्वभर लोकप्रिय भएपछि उनी विश्वका धनाढ्य व्यक्तिको सूचीमा तीव्र रूपमा माथि उक्लिएका हुन् ।
उनले सन् २०१२ मा बाइटडान्स स्थापना गरेका थिए । उनी सन् २०२१ मा बाइटडान्सको प्रमुख कार्यकारी अधिकृत र अध्यक्ष पदबाट अलग भएका थिए ।
पछिल्लो समय उनको नेटवर्थ तीव्र रूपमा बढ्दै गएपछि उनी एसियाका सबैभन्दा धनी व्यक्तिको शीर्ष स्थानमा समेत पुगेका हुन् ।
शीर्ष पाँचमा को–को छन् ?
विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा एलन मस्क पहिलो स्थानमा कायम छन् । उनको नेटवर्थ ८९२ अर्ब डलर रहेको छ । मंगलबार मात्रै उनको नेटवर्थमा २४.८ अर्ब डलरको गिरावट आएको छ । यद्यपि, यस वर्ष उनको नेटवर्थ २७३ अर्ब डलरले बढेको छ ।
सूचीमा ल्यारी पेज २९५ अर्ब डलरसहित दोस्रो, सर्गेई ब्रिन २७४ अर्ब डलरसहित तेस्रो, जेफ बेजोस २७४ अर्ब डलरसहित चौथो र माइकल डेल २५३ अर्ब डलरसहित पाँचौँ स्थानमा छन् ।
भारतको सबैभन्दा मूल्यवान कम्पनी रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी ८१.३ अर्ब डलरको नेटवर्थसहित विश्वका धनी व्यक्तिको सूचीमा २३औँ स्थानमा छन् ।
मंगलबार उनको सम्पत्तिमा १.७८ अर्ब डलरको कमी आएको छ । यस वर्ष भने उनले कुल २६.४ अर्ब डलर सम्पत्ति गुमाइसकेका छन् ।