काठमाडौं । सेयर बजारमा लगानी गर्नेहरूलाई राहत पुग्ने गरी सरकारले धितोपत्र कारोबारबाट हुने नाफामा लाग्ने पूँजीगत लाभकर घटाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले अल्पकालीन र दीर्घकालीन दुवै प्रकारका सेयर कारोबारमा लाग्ने करको दर घटाएको हो ।
निर्णयअनुसार प्राकृतिक व्यक्तिले ३६५ दिन वा सोभन्दा कम समय स्वामित्वमा राखेर बिक्री गरेको धितोपत्रबाट भएको नाफामा ५ प्रतिशत र ३६५ दिनभन्दा बढी समय होल्ड गरी बिक्री गरेको धितोपत्रबाट भएको नाफामा ३.५ प्रतिशत अग्रिम पूँजीगत लाभकर तिर्नुपर्नेछ ।
मन्त्रिपरिषद्को निर्णयमा नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएका निकायको हितको निसर्गबाट प्राप्त लाभ तथा विनियम बजारको कारोबार गर्ने निकायमार्फत प्राकृतिक व्यक्तिले गरेको धितोपत्र कारोबारमा नयाँ करदर लागू हुने उल्लेख छ ।
यसअघि प्राकृतिक व्यक्तिले ३६५ दिनभन्दा बढी अवधि धितोपत्र होल्ड गरेर बिक्री गर्दा नाफामा १० प्रतिशत र ३६५ दिन वा सोभन्दा कम अवधि होल्ड गरेर बिक्री गर्दा ७.५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका थिए ।
नयाँ करदर नेपाल राजपत्रमा सूचना प्रकाशित भएको दिनदेखि कार्यान्वयनमा आउनेछ ।
यससँगै दीर्घकालीन लगानीकर्ताका लागि पूँजीगत लाभकर १० प्रतिशतबाट ३.५ प्रतिशतमा झर्नेछ भने अल्पकालीन कारोबारमा कर ७.५ प्रतिशतबाट ५ प्रतिशतमा सीमित हुनेछ । निर्णयले सेयर बजारका लगानीकर्ताको कारोबार लागत घटाउने अपेक्षा गरिएको छ ।