रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओमा आवेदन दिने आज पुस ११ गते अन्तिम दिन रहेको छ । पुस ७ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुलाई ११ लाख ५५ हजार ९६० कित्ता सेयर बिक्री गगरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात् ५७ हजार ७५८ कित्ता सामूहिक लगानी कोष, १० प्रतिशत अर्थात १ लाख १५ हजार ५५६ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरेर बाँडफाँड गरिसकेको छ । ५ प्रतिशत अर्थात् ५७ हजार ७८८ कित्ता कर्मचारीहरुलाई सुरक्षित राखि बाँकी ९ लाख २४ हजार ७६८ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरिएको हो । अंकित मूल्य १ सय रुपैयाँ नै कायम रहेपनि बुक बिल्डिङ्ग विधिबाट योग्य संस्थागत लगानीकर्तालाई सेयर जारी गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो । सर्वसाधारण लगानीकर्ताहरुका लागि कट अफ मूल्यमा १० प्रतिशत छुट दिँदा हुन आउने प्रतिकित्ता ८२०.८० रुपैयाँ सेयर मूल्य तोकिएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम् ५० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताहरुले बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङले सञ्चालन गरिरहेको मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।
कोरला नाकाबाट भित्रिए ११ अर्बका सामान, ईभी मात्रै २ हजार ७४ वटा
काठमाडौं । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब १ करोड ९५ लाख रुपैयाँ बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चालनमा आएको नेपाल-चीनस्थित कोरला नाकाबाट १० पुससम्ममा निकासी तथा पैठारी गरी उक्त मूल्य बराबरको वित्तीय कारोबार भएको मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिए । कोरला नाका पूर्ण रुपमा सञ्चालनमा आएदेखि हालसम्म कोरला नाका हुँदै चीनतर्फबाट १० अर्ब ८२ करोड ९८ लाख रुपैयाँको मालवस्तु नेपाल भित्रिएको बताए । यसैगरी नेपालबाट हस्तकला लगायतका नेपाली उत्पादन १८ करोड ९७ लाख ७८ हजार रुपैयाँ बराबरको मालवस्तु भन्सार कार्यालयमा जाँचपाँस भई चीनतर्फ निकासी भएको भन्सार प्रमुख खड्काले जानकारी दिए । कोरला नाकाबाट हालसम्म २ हजार ७४ विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन् । आइतबारदेखि कोरला नाकाबाट थप चिनियाँ विद्युतीय सवारीसाधन नेपाल भित्रिने क्रममा रहेको उनले बताए । यसै महिना बीवाईडी कम्पनीले कोरला नाकाबाट ५ सय बढी विद्युतीय सवारीसाधन चीनबाट पैठारी गरिरहेको भन्सार जनाएको छ । सोही कम्पनीको ३०० बढी विद्युतीय सवारी भन्सार जाँच पास भई गन्तव्यतर्फ प्रस्थान गरिसकेको भन्सार प्रमुख खड्काले बताए । कोरला नाकाबाट मुस्ताङ भन्सार कार्यालयबाट जाँच पास भई निकासी तथा पैठारी भएका मालवस्तु तथा विद्युतीय सवारीसाधनबाट ५ अर्ब ६ करोड ६२ लाख रुपैयाँ सङ्कलन भएको भन्सार प्रमुख खड्काले जानकारी दिए । नेपाली बजारमा विद्युतीय कारको प्रयोग बढ्दै गएकाले पछिल्लो समय नेपालका विभिन्न कम्पनीले कोरला नाकाबाट चीनमा बनेका विद्युतीय सवारीसाधन आयात गर्दै आएका छन् । इन्धनको बचत तथा कार्बन उत्सर्जन घटाउन यस प्रकारका विद्युतीय सवारीसाधन उपयोगी हुने भएकाले सरकारले यस्ता सवारीसाधनलाई भन्सार सहुलियत प्रदान गरिएकाले नेपालमा विद्युतीय सवारीसाधनको माग बढेको हो । हिउँदयामको प्रतिकूल मौसममा समेत चीनबाट धमाधम कोरला नाका हुँदै विद्युतीय सवारीसाधन भित्रिएपछि कोरला नाकाको चहलपहल र भन्सार कार्यालयको कार्यसम्पादन गतिशील बनेको पाइएको छ । हिउँदयामसँगै ४ हजार ६१० मिटरको उचाइमा अवस्थित कोरला नाकाको बिहान र बेलुकीको तापक्रम माइनस २० डिग्री रहेको छ । प्रतिकूल मौसमका बाबजुत कोरला नाकाबाट विद्युतीय सवारीसाधन नेपाल भित्रिदै छन् । मुस्ताङ भन्सारमा जाँचपास सकेका विद्युतीय सवारीसाधनलाई जोमसोमसम्म र जोमसोमबाट पोखरासम्म चालकले गन्तव्यतर्फ पुर्याउन थालेका छन् । यसरी मुस्ताङबाट बाहिरिएका विद्युतीय सवारीसाधनलाई पोखराबाट अर्को चालक समूहले सम्बन्धित कम्पनीको शोरुमसम्म पुर्याउने गरेका छन् । त्यसअघि यहाँ भित्रिने विद्युतीय सवारीसाधनलाई चिनियाँ भन्सारबाट स्थानीय सीमापार पास भएका चालकले चलाएर कोरला नाकाको नेपालतर्फ बाहिर निकाल्ने काम गर्छन् । प्रतिकूल मौसमका कारण कोरला नाका बन्द हुने अनुमान गरिए पनि चीनतर्फबाट धमाधम मालवस्तु र विद्युतीय सवारीसाधन भित्रिँदा कोरला नाकाबाट दुई देशबीचको आयात/निर्यात चलायमान भएको हो । नाकाबाट धमाधम विद्युतीय सवारीसाधन भित्रिन थालेपछि बेनी–जोमसोम–कोरला सडकमा सञ्चालित विद्युतीय ‘चार्जिङ स्टेसन’हरु व्यस्त छन् । हिउँदयामको मौसममा माथिल्लो मुस्ताङका नागरिक धमाधम बेँसी झरिसकेको भए पनि कोरला नाकामा आयात/निर्यातको कारोबार घटेको छैन । भन्सार प्रमुख खड्काले विद्युतीय सवारीसाधनका अलावा हालसम्म दैनिक १०/१२ मालबाहक कन्टेनर मालवस्तु नेपाल-चीन निकासी/पैठारी भइरहेको जानकारी दिए ।
४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य
सुदीप राउत काठमाडौं । अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार शारडा उमाप्रसाद मुरारका अस्पताल आफैँ ४७ वर्षदेखि ‘रोग’ले थलिएको थियो । त्यो रोग थियो, कानुनी पहिचानको अभाव । ७० करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने जग्गामा ठडिएको यो अस्पतालको आफ्नो भन्नु केवल जीर्ण भवन र सेवामात्र थियो, जमिनको स्वामित्व भने अझै दाताकै नाममा थियो । जग्गा आफ्नो नाममा नहुँदा अस्पतालले झण्डै आधा शताब्दी ‘आइसोलेसन’मा बिताउनुपर्यो । न त यहाँ ठूला भवन बनाउन बजेट आयो, न त आधुनिक उपकरण जडान गर्न कानुनी बाटो खुल्यो । पुस्ता फेरिए तर अस्पतालको ‘लालपुर्जा’ हात लाग्न सकेन । व्याप्त निराशालाई चिर्दै जेनजी आन्दोलनपछिको नयाँ राजनीतिक नेतृत्वले ४७ वर्षको यो जीर्ण रोगलाई मात्र ४७ दिनमा ‘अप्रेसन’ गरेर निको पारिदिएको छ । राजमार्गको मुटुमा रहेको एक बिघा १५ कट्ठा १० धुर जग्गामा ट्रमा सेन्टर बनाउने योजना कयौँ पटक कागजमै आए र त्यही हराए । सङ्घीय सरकारले जग्गा आफ्नो नाममा नभएसम्म बजेट विनियोजन गर्न नमिल्ने सर्त राखिरह्यो । उता, १ करोड ३४ लाख ९५ हजार रुपैयाँ लाभकर कसले तिर्ने भन्ने विवादले सिरहा, सप्तरी र उदयपुरका झण्डै १५ लाख नागरिकको स्वास्थ्यमाथिको भविष्यलाई बन्धक बनाइराख्यो । दाताले २०३५ सालमै दान दिएको जग्गालाई सरकारी स्वामित्वमा ल्याउन कुनै ठूलो राजनीतिक क्रान्ति चाहिँदैनथ्यो, मात्र एउटा इमानदार ‘इच्छाशक्ति’को खाँचो थियो । वि.सं २०६१ मा सुरु भएको फाइल २०८२ सालसम्म आइपुग्दा पनि सरकारी टेबलमै थन्कियो । जसले यहाँको नेतृत्वलाई नराम्ररी गिज्याइरहेको थियो । दाताको उदारता र ४७ वर्षको ‘लफडा’ विसं २०३५ मा लहानका प्रख्यात मनकारी दाताद्वय रामकुमार शारडा र उमाप्रसाद मुरारकाको परिवारले मुठ्ठी फुकाएर अस्पताल निर्माणका लागि उक्त जग्गा दान दिएका थिए । सोही समयमा स्वास्थ्य विभागसँग सम्झौता भयो, भवन बन्यो र तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहबाट भव्य उद्घाटन पनि भयो । तर, विडम्बना, त्यो जग्गा अस्पतालको नाममा नामसारी हुन सकेन । जग्गा सरकारी स्वामित्वमा नआउनुको पछाडि कुनै ठूलो विवाद थिएन, मात्र एउटा प्राविधिक कारण थियो ‘लाभकर’ । दाताले जग्गादान गरिसकेका थिए, त्यसैले उनीहरूले कर तिर्ने कुरै भएन । सरकारले रजिष्ट्रेसनका लागि लाग्ने लाभकर मिनाहा गर्ने निर्णय न गरिदिँदा समस्या ज्यूँका त्यूँ रह्यो । फाइल अघि बढेन । विसं २०६१ मा करिब २६ लाख रुपैयाँ कर छुटका लागि प्रयास भए पनि त्यो राजनीतिक ‘तिकडमबाजी’को सिकार बन्यो । समय बित्दै जाँदा राजमार्ग नजिकै रहेको उक्त जग्गाको मूल्य आकासिएर अहिले करिब ७० करोड रुपैयाँ पुगेको छ । र, लाग्ने लाभकर पनि बढेर १ करोड ३४ लाख ९५ हजार रुपैयाँ पुग्यो । यही करको मारमा परेर अस्पतालले दशकौँसम्म जग्गाको स्वामित्व पाउन सकेन, जसका कारण अस्पताललाई स्तरोन्नति गर्न र ट्रमा सेन्टर बनाउने बजेटहरू पटकपटक फिर्ता भइरहे । जेनजी मन्त्री गुप्ताको ‘एक्सन’ ४७ वर्षदेखि थाँती रहेको काम कसरी ४७ दिनमा सम्भव भयो त ? यसको श्रेय जान्छ, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई । जेनजी आन्दोलनपछि लहानकै कर्मठ युवा बब्लु गुप्ता सङ्घीय सरकारको युवा तथा खेलकुदमन्त्री बनेपछि गत कात्तिक ११ गते गृहजिल्ला आउँदा यहाँका जेनजी युवाहरूले मन्त्री गुप्तालाई मारवाडी सेवा सदनमा एउटा ध्यानाकर्षण पत्र बुझाएका थिए । जसमा पहिलो बुँदा नै अस्पतालको जग्गा नामसारी र स्तरोन्नति राखिएको थियो । ‘मन्त्रीज्यूले यो कुरालाई निकै गम्भीरतापूर्वक लिनुभयो । उहाँले त्यही दिन अस्पताल पुगेर प्रशासनसँग गम्भीरता पूर्वक वस्तुस्थिति बुझ्नुभयो,’ स्थानीय युवा सुदीप कुशवाहाले भने, ‘काठमाडौं फर्केपछि उनले निरन्तर ताकेता गर्नुभयो र हामीलाई पनि स्थानीयस्तरमा समन्वय गर्न अह्राउनुभयो ।’ अर्का युवा फिरोज शेखसहितको टोलीले मालपोत, नापी र नगरपालिकाबीच समन्वय गराउन रातदिन मेहनत गर्यो । ‘कहिले मालपोत प्रमुख डमरु निरौलासँग चर्का चर्की हुन्थ्यो, कहिले सीडीओको कार्यकक्षमा घण्टौँ बैठक बस्थ्यो,’ शेख भन्छन्, ‘नगरपालिकाको सिफारिस, कार्यपालिकाको निर्णय र प्रदेश सरकारको समन्वय नमिल्दा ४७ वर्षदेखि काम ठप्प थियो । तर यसपटक सबैलाई एउटै लक्ष्यमा बाँधियो ।’ ४७ दिनको दौडधुप र ऐतिहासिक निर्णय मङ्सिर २ गते मालपोतमा कागजात अपुग देखिएपछि जेनजी टोलीले नगरपालिका र प्रशासनसँग समन्वय गरी जग्गा र भवनको मूल्याङ्कन गरायो । नगर प्रमुख महेश प्रसाद चौधरी र नगरपालिका अधिकृतले सकारात्मक हुँदै करिब ४० हजार रुपैयाँ दस्तुर मिनाहा गर्ने निर्णय गरेको अर्का सक्रिय युवा सुवास चौधरीले जानकारी दिए । त्यसपछि मालपोत प्रमुख डमरु निरौलाले सक्रियता देखाउँदै भूमि व्यवस्था मन्त्रालयमा फाइल पठाउनुभएको उनले बताए । मङ्सिर १६ गते भूमि मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्र पठायो । केही समय प्रदेश सरकारको निर्णय कुरेर बसेको फाइल मन्त्री गुप्ताको व्यक्तिगत पहल र ताकेतापछि मङ्सिर २९ गतेको सङ्घीय मन्त्रिपरिषद् बैठकमा पुग्यो । सोही बैठकले १ करोड ३४ लाख ९५ हजार रुपैयाँ लाभकर मिनाहा गर्ने ऐतिहासिक निर्णय गर्यो । अब खुल्नेछ समृद्धिको बाटो बिहीबार लहानमा आयोजित विशेष समारोहमा जब दाता परिवारका मुरारीलाल मुरारका र पवनकुमार शारडाले अर्थमन्त्री रामेश्वर खनालमार्फत रातो लालपूर्जा सरकारलाई हस्तान्तरण गरे, तब उपस्थित सबैले ताली बजाएर स्वागत गरे । दाता पवन शारडाले भने, ‘हामीले त पहिल्यै जग्गा दिएका थियौँ, आज अस्पतालले आफ्नै हातमा स्वामित्व पाउँदा खुसी लागेको छ । सिरहावासीको स्वास्थ्य सेवामा यो कोसे ढुङ्गा बनोस् ।’ सो अवसरमा अर्थमन्त्री खनालले ४७ वर्षसम्म फाइल अड्किनुलाई सामान्य प्रशासनिक ढिलासुस्ती मात्र मान्न तयार भएनन् । उनले यसलाई व्यवस्था र नेतृत्वको असफलताको रूपमा चित्रण गरे । ‘भदौ २४ पछिको परिवर्तनले जेनजी सरकार बनायो र त्यही सरकारले ४७ वर्षदेखि अल्झिएको काम ४७ दिनमै पूरा गरिदियो,’ मन्त्री खनालले भने, ‘४७ वर्षसम्म किन अस्पतालको जग्गाको अड्को फुकाउन सकिएन रु यसको गम्भीर कारण खोजिनुपर्छ । अबको चुनावमा यो एउटा मुख्य राजनीतिक एजेन्डा बन्नुपर्छ ।’ उनले अगाडि थपे, ‘यस अवधिमा देशमा कयौँ राजनीतिक व्यवस्था फेरिए, थुप्रै सरकारहरू आए । तर, यदि अहिलेको सरकार र यसका युवा मन्त्रीले यो विषयलाई सङ्घीय सरकारको कानसम्म पुर्याएर जोड नदिएको भए, यो जग्गाको नामसारी अझै कति दशक कुर्नुपर्थ्यो, कसैलाई थाहा छैन ।’ सगरमाथा चौधरी आँखा अस्पतालका अध्यक्ष रवीन्द्रलाल चौधरीले प्रादेशिक अस्पताल र आँखा अस्पताल झन्डै ५ वर्षपछि स्थापना भएका उल्लेख गर्दै दुई अस्पतालको वर्तमान अवस्था आकाश-जमिनको फरक भएको बताए । उनले गम्भीर हुँदै भने, ‘पाँच वर्षपछि आँखा अस्पताल आज ४५० शय्यासहित सुविधासम्पन्न भवन र अन्तर्राष्ट्रियस्तरको सेवामा विस्तार भइसक्यो । तर, अर्कातिर सरकारी अस्पतालले ४७ वर्षसम्म जग्गाको नामसारीसमेत गराउन नसक्नु लाजमर्दो विषय हो ।’ यो सफलता केवल राजनीतिक प्रक्रिया वा कानूनी निर्णयमात्र नभएर स्थानीय समुदाय, दाता परिवार र युवा नेतृत्वको एकजुट प्रयासको फल हो । मन्त्री गुप्ताका अनुसार यो केवल एउटा जग्गाको कागजमात्र नभएर झण्डै १५ लाख नागरिकका लागि गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकारको सुनिश्चितता हो । हुन पनि ४७ वर्ष अड्किएको सपना ४७ दिनमा पूरा भएको छ । जग्गा अस्पतालको स्वामित्वमा आएपछि अब नयाँ भवन निर्माण, सिटिस्क्यान, एमआरआई र विशिष्टिकृत ट्रमा सेन्टर स्थापना गर्ने बाटो पनि खुलेको छ । दाता परिवार, स्थानीय प्रशासन, युवा नेतृत्व र सरकारको पहलबाट निराशा चिर्दै नयाँ आशा जन्माएको छ । रासस
बिहीबार रातभर पशुपतिनाथमा धनुर्मास
काठमाडौं । सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा बिहीबार रातभर धनुर्मास पूजा आराधना गरिएको छ । पुस महिनाभर सूर्य धनु राशिमा हुन्छन् । प्रत्येक वर्ष पुस महिनामा साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा आराधना गर्ने परम्परा छ । धनुर्मास पूजा गर्नुअघि बिहीबार बिहान पशुपतिनाथलाई चिसोबाट बचाउन तातोपानीले स्नान गराइएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीले राससलाई जानकारी दिए । बाला चतुर्दशीदेखि नै चिसो लाग्ने भएकाले पशुपतिनाथलाई तातोपानीले स्नान गराउने परम्परा छ । पानीमा बस्ने माछासमेत चिसोबाट बच्न पानीको सतहमुनि बस्ने मीनपचासको समयमा पशुपतिनाथलाई पनि चिसोबाट बचाउन धनुर्मास पूजासहित खिचडी खुवाउने वैदिक सनातनी परम्परा छ । धनुर्मास पूजापछि गेडागुडीबाट बनेको खिचडी पशुपतिनाथलाई खुवाइन्छ । बिहीबार रातभर धनुर्मास पूजा गरेपछि शुक्रबार आज पशुपतिनाथलाई उपवास राख्ने गरिन्छ । उपवासका दिन बिहानै महादेव शिवपुरी डाँडामा गएर तोरीको तेल लगाएर घाममा शयन गर्ने धार्मिक विश्वास समेत रहेको छ । यसै विश्वासमा आज बिहानै पशुपतिनाथलाई तोरीको तेल लगाइन्छ । बेलुकी भने शिवपुरी डाँडाबाट घाम तापेर फर्किने विश्वासमा आरती गरिन्छ । शनिबार बिहानदेखि भने नियमित पूजा आराधना गरिन्छ ।
१० करोडको सुन्ताला कारोबार, मुग्लिनमा आजदेखि महोत्सव
काठमाडौं । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुँदैछ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छाकामना एकाइको संयुक्त आयोजनामा मुग्लिन बजारमा सुन्तला महोत्सव हुन लागेको हो । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न टेवा पुग्ने विश्वासका साथ महोत्सवको आयोजना गरिएको चितवन उद्योग सङ्घ इच्छाकामना समितिका अध्यक्ष रामहरि कँडेलले बताए । प्रदर्शनीमा ५० भन्दा बढी कक्ष रहने उनले जानकारी दिए । महोत्सवमा इच्छाकामनाका १०० सुन्तला उत्पादन गर्ने किसानले आफ्नो उत्पादनको प्रत्यक्ष लाभ लिने छन् । यसबाट स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा संवर्द्धन हुने आयोजकको विश्वास छ । महोत्सवमा सुन्तला विज्ञ किसान र जनप्रतिनिधिहरूबीच अन्तरक्रिया, सुन्तला खाने प्रतियोगितालगायत सुन्तला खेती गर्ने किसान लक्षित विभिन्न कार्यक्रम हुने आयोजकले जनाएको छ । मुग्लिन बजार क्षेत्रमा हुने महोत्सवले स्थानीय उत्पादनलाई प्रबर्द्धन गर्न सहयोग पुग्ने विश्वास लिएको अध्यक्ष कँडेलले बताए । इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले सुन्तला उत्पादनबाट यस क्षेत्रका जनताले वार्षिक ९ करोड रुपैयाँदेखि १० करोड रुपैयाँको कारोबार गर्ने गरेको बताए । यहाँको सुन्तला स्वादिष्ठ हुने भएकाले बिक्री गर्न बजारको कुनै समस्या नरहेको उनको भनाइ छ । सुन्तलाका बगैँचा जोगाउन र नयाँ क्षेत्र विस्तार गर्न गाउँपालिकाले प्रत्येक वर्ष बिरुवा वितरण गर्दै आएको छ । सुन्तला महोत्सव तथा फुड फेस्टिबलले यहाँको पर्यटकीय क्षेत्रहरूको समेत प्रचारप्रसार गराउन सहयोग मिल्ने अध्यक्ष गुरुङको भनाइ छ । पुस १५ गतेसम्म चल्ने महोत्सवको गाउँपालिका संरक्षक रहेको छ ।
महामन्त्री विश्वप्रकाश यसपटक चुनाव नलड्ने, देशभर कांग्रेस उम्मेदवारका पक्षमा खटिने
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यसपटकको निर्वाचनमा आफू उम्मेदवार नबन्ने स्पष्ट गर्दै देशव्यापी रूपमा पार्टीका उम्मेदवारहरूको पक्षमा सक्रिय रहने बताएका छन् । बिहीबार (आज) बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा आफ्नो धारणा राख्दै शर्माले आगामी निर्वाचन नलड्ने घोषणा गरेका हुन् । उनले आफू पद, क्षेत्र वा व्यक्तिगत स्वार्थका लागि राजनीति नगरेको स्पष्ट पार्दै पार्टी र लोकतान्त्रिक मूल्य सुदृढ गर्न सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिए । महामन्त्री शर्माले राजनीतिमा देखिँदै आएको बाँचुन्जेल क्षेत्र कब्जा गर्ने र सास रहेसम्म मन्त्री बन्ने सोचप्रति कडा टिप्पणी गरे । यस्तो प्रवृत्तिले राजनीति प्रति जनविश्वास कमजोर बनाएको उल्लेख गर्दै उनले अब त्यस्ता अभ्यासहरू तोड्नुपर्ने आवश्यकता औँल्याए । नेतृत्व हस्तान्तरण, नयाँ पुस्तालाई अवसर र जिम्मेवारी दिनु नै स्वस्थ लोकतन्त्रको आधार भएको उनको भनाइ थियो । उनले कांग्रेसलाई संगठनात्मक रूपमा बलियो बनाउन आफू देशका विभिन्न स्थानमा पुगेर उम्मेदवारहरूका पक्षमा चुनावी अभियानमा सहभागी हुने बताए । ‘व्यक्तिगत उम्मेदवारीभन्दा पार्टीको जित र लोकतान्त्रिक प्रणालीको मजबुती महत्त्वपूर्ण छ,’ शर्माले भने ।
आगामी चुनावको रणनीति बुन्दै बालेन : रवि लामिछानेसँग वान–टु–वान, बहुपक्षीय संवाद तीव्र
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पछिल्ला दिनहरूमा राजनीतिक भेटघाट र छलफलमार्फत आफ्नो सक्रियता बढाएका छन् । बिहीबार (आज) ललितपुरको ज्वागलस्थित एकजना समर्थकको घरमा उनले विभिन्न राजनीतिक तथा सामाजिक नेतासँग भेटवार्ता गरेका छन् । यस क्रममा उनले आगामी निर्वाचन र हुनसक्ने आगामी गठबन्धनका बारेमा संवाद गरेको स्रोतहरूले बताएका छन् । आजको भेटघाटको क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष रवि लामिछानेसँग वान–टु–वान वार्ता भएको थियो । दुबै नेताले आगामी निर्वाचनका सन्दर्भमा रणनीतिक सहकार्यका सम्भावनाहरूमा छलफल गरेको स्रोतहरूले बताएका छन् । आगामी प्रतिनिधिसभा चुनावको रणनीति, राजनीतिक सहकार्य र वैकल्पिक शक्ति निर्माणको सम्भावना विषयमा छलफल भएको हो । त्यस्तै, शाहले ऊर्जामन्त्री तथा उज्यालो पार्टीका अवधारणाकार कुलमान घिसिङसँग पनि भेट गरेका छन् । भेटमा आगामी निर्वाचन र सहकार्यका सम्भावनाहरूबारे कुराकानी भएको छ । बालेनले नेपाली कांग्रेसका नेता सुनील शर्मा र अभियन्ता सुदन गुरुङसँगसमेत संवाद गरेका छन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्रबहादुर शाही र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग पनि भेट भएको बालेनका एक सहयोगीले जानकारी दिए । बालेनले रविसँग वान–टु–वान र अरूसँग सामूहिक भेटघाट गरेको वताइएको छ । भेटघाटमा दुवै पक्षले समसामयिक राजनीतिक विषय र निर्वाचनको तयारीबारे विचार विमर्श गरेका छन् । भेटघाटमा सहभागी नेताहरूले पारस्परिक समझदारी र सहकार्य कायम राख्ने संकेत दिएको राजनीतिक वृत्तमा सुनिन थालेको छ । राजनीतिक विश्लेषकहरूले आजका भेटघाटलाई शाहको वैकल्पिक मोर्चा निर्माणको पहिलो चरणको रूपमा मूल्याङ्कन गरेका छन् । यस्तै, बालेनले आफ्ना विश्वासपात्र राजनीतिक सहयोगी र विभिन्न सामाजिक संस्थाका प्रतिनिधिसँग पनि भेट गरेका छन् । उनले आजको भेटघाटवाट समान लक्ष्य र साझा सोंच भएका नेतासँगको संवादले देशको शक्ति सन्तुलनमा सकारात्मक योगदान पुर्याउने सम्भावना रहेको उनका एक सहयोगीले जानकारी दिए । आफ्ना अत्यन्तै नजिकका सहयोगीहरूसँग बालेनले राजनीतिक सहकार्य र विचार विमर्शको माध्यमबाट मात्र जनताको अपेक्षा पूरा गर्न सकिने बताएका छन् । स्रोतका अनुसार बालेन मोर्चा निर्माणमा सक्रिय भएपनि निष्कर्षमा भने पुगेका छैनन् । केही नयाँजस्ता देखिएका तर पुरानो संस्कार भएकाहरूसँग सचेत हुनुपर्ने बालेनको तर्क रहेको ती सहयोगीले बताए । राजनीतिक विश्लेषकहरूका अनुसार बालेनको यस्तो सक्रियताले आगामी निर्वाचनमा उनलाई रणनीतिक रूपमा बलियो स्थिति बनाउन सहयोग पुर्याउन सक्छ । विशेष गरी बालेनले विभिन्न दलका नेतासँगको भेटघाटमा केही नवीन छलफल गरेको बताइएको छ । तर उक्त नवीन छलफल के हो भनेर खुलाउन स्रोत तयार भएन । उनका समर्थकहरूले यस भेटघाटलाई सकारात्मक रूपमा लिएका छन् । संघीय निर्वाचनको तयारीको दृष्टिले बालेनको राजनीतिक सक्रियता निकै महत्त्वपूर्ण मानिएको छ । यो भेटघाटले उनले आफू महानगरमा मात्र सीमित नरही राष्ट्रव्यापी राजनीतिक संवादमा पनि आफूलाई स्थापित गर्दै गरेको पूर्वसंकेत दिए। यसबीच, भेटघाटमा सहभागी नेताहरूले बालेनसँग सहकार्यका सम्भावनाहरूमा उत्साहसमेत देखाएका छन् । राजनीतिक सहकार्य, साझा सोंच र रणनीतिक योजना निर्माणका लागि उनीहरूको यस किसिमको सक्रियताले आगामी चुनावमा निर्णायक भूमिका खेल्न सक्ने अनुमान गर्न सकिन्छ । राजनीतिक विशेषज्ञहरूका अनुसार बालेनको यस्तो भेटघाटको श्रृंखलाले केवल काठमाडौं मात्र नभई राष्ट्रिय राजनीतिमा पनि उनको प्रभाव बढाउने देखिएको छ । यस भेटघाटले उनी आगामी निर्वाचनका दृष्टिले गठबन्धन र रणनीतिक सहकार्यको दृष्टिले तयार छन् भन्ने सन्देश यस भेटघाटबाट दिन खोजेको छ । आजको राजनीतिक भेटघाटले राजनीतिक संवादमा नयाँ उत्साह थपेको भेटघाट पछि रास्वपाका सभापति लामिछानेले दिएको प्रतिक्रियाले आगामी दिनमा बालेनले अझ व्यापक राजनीतिक बैठक र छलफलका माध्यमबाट आफ्नो सक्रियतालाई निरन्तरता दिने तयारीमा रहेको अनुमान लगाउन सकिन्छ ।
नयाँ वर्षमा आक्रमण गर्ने षड्यन्त्रको आरोपमा टर्कीएमा आईएसका ११५ संदिग्ध पक्राउ
काठमाडौं । टर्कीएका अधिकारीहरूले क्रिसमस र नयाँ वर्षका कार्यक्रमहरूलाई लक्षित गरी गरिने आक्रमणको षड्यन्त्र विफल पारेको बताएका छन् । यस क्रममा तथाकथित इस्लामिक स्टेट (आईएस) समूहसँग सम्बन्धित १०० भन्दा बढी संदिग्धहरूलाई पक्राउ गरिएको छ । इस्तानबुलका प्रमुख सरकारी अभियोजकका अनुसार सहरभर १२४ स्थानमा ठूलो मात्रामा छापेमारी गरिएको थियो । छापामारका क्रममा हतियार, गोलीबारुद तथा संगठनसँग सम्बन्धित कागजातहरू बरामद गरिएको छ । अधिकारीहरूका अनुसार आईएस समर्थकहरूले यसै हप्ता टर्कीएमा आक्रमण गर्ने सक्रिय योजना बनाइरहेका थिए, जसको मुख्य निशाना विशेषगरी गैर-मुस्लिम व्यक्ति तथा कार्यक्रमहरू थिए । एक आधिकारिक विज्ञप्तिमा प्रहरीले ११५ जनालाई हिरासतमा लिएको र थप २२ जनाको खोजी जारी रहेको उल्लेख गरिएको छ ।