बिहीबार भारत भ्रमणमा जाँदै अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने भारत भ्रमणमा जाने भएका छन्। 

उनी बिहीवार (भोलि) ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्न लागेका हुन् । 

बुधवार (आज) बसेको मन्त्रिपरिषद् बैठकले उनको भारत भ्रमण स्वीकृत गरेको हो । 

भ्रमण टोलीमा अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरू सहभागी हुने अर्थ मन्त्रालयको सचिवालयले जनाएको छ ।

विपद्पछिको पुनःनिर्माणलगायत दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य  हुने जनाइएको छ । 

बिहीवार साँझ ५ बजे वाग्लेले आफ्ना भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ ।

यस्तै, शुक्रवार अर्थमन्त्री डा. वाग्लेले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गर्ने कार्यतालिका छ । सोही दिन भारतका पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा उनी प्रमुख अतिथिका रूपमा सहभागी हुने जनाइएको छ । 

शुक्रवार नै अर्थमन्त्री डा. वाग्ले भारत व्यापार संवर्धन सङ्गठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्नुहुने  बृहत भेटघाट कार्यक्रममा सहभागी हुनेछन् ।

त्यस्तै, शनिवार बिहान भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाहरूसँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा अर्थमन्त्री सहभागी हुने जनाइएको छ ।

शनिवार दिउँसो नै अर्थमन्त्री वाग्लेले दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने  विकास अर्थनीतिबारे प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी हुने मन्त्रालयले जनाएको छ ।

उनी शनिबार साँझ नेपाल फर्कने कार्यक्रम रहेको छ ।

Share News