काठमाडौं । सामाजिक सञ्जालमार्फत विदेशी महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१ का २३ वर्षीय प्रशान्त जयसवाल रहेका छन् ।
प्रहरीका अनुसार जयसवाल सामाजिक सञ्जालमार्फत एक विदेशी महिलासँग चिनजान भई साथी तथा प्रेम सम्बन्धमा थिए । सो क्रममा खिचिएका तस्बिरहरू महिलाका आफन्त तथा परिवारका सदस्यको सामाजिक सञ्जालमा पठाएर उनको चरित्र हत्या गरेको आरोप छ ।
नेपाल प्रहरीको साइबर ब्युरोले प्राविधिक विश्लेषण तथा अनुसन्धानका क्रममा घटनामा जयसवाल संलग्न रहेको खुलेपछि जिल्ला प्रहरी कार्यालय बाँकेको सहयोगमा भदौ ३० गते उनलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका जयसवालविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको साइबर ब्युरोले जनाएको छ ।