यात्रुलाई अभद्र व्यवहार गर्ने १० जना पक्राउ

काठमाडौं । सार्वजनिक यातायातका यात्रुलाई दुःख दिने र अभद्र व्यवहार गर्ने १० जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यकाबाट सार्वजनिक सवारीसाधनमार्फत उपत्यकाबाहिर जाने यात्रुलाई बल्खु, स्यूचाटार र कलंकी क्षेत्रमा काउन्टर सञ्चालन गर्ने कर्मचारी, सवारी चालक तथा सहचालकले अनावश्यक दुःख हैरानी दिने गरेको जनगुनासो आएपछि प्रहरीले चेकजाँच गरेको थियो।

मंगलबार प्रहरी प्रभाग बल्खु र कलंकीबाट खटिएको संयुक्त टोलीले सम्बन्धित क्षेत्रमा चेकजाँच गरेको हो। उनीहरूले चेकजाँचका क्रममा यात्रुलाई जबर्जस्ती आफूले भनेको गाडीतर्फ तान्ने, यात्रुको सामान तानेर हैरानी दिने गरेका थिए ।

सस्तो टिकटको प्रलोभन देखाउने तथा आफूले भनेकै सवारीसाधनमा यात्रा गर्न दबाब दिने गतिविधिमा संलग्न रहेको आशंकामा ३२ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

अनुसन्धानको क्रममा १० जनाको संलग्नता देखिएपछि उनीहरूविरुद्ध अभद्र व्यवहार गर्न नहुनेसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। उनीहरूलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित गराई तीन दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Share News