मेगा ड्रिमको ३९ करोडभन्दा बढी हिनामिना प्रकरणमा एक जना पक्राउ

काठमाडौं । मेगा ड्रिम बहुउद्देश्यीय संस्था लिमिटेडको करोडौं रुपैयाँ हिनामिना तथा ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बझाङको छविसपाथिभरा गाउँपालिका–४ झुटेडा घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–८ शान्ति टोल बस्ने ३६ वर्षीय महाशंकर रेग्मी रहेका छन् । 

उनलाई काठमाडौं महानगरपालिका–४ चण्डोल क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

रेग्मीलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त बालाजु पठाइएको छ ।

प्रहरीका अनुसार मेगा ड्रिम बहुउद्देश्यीय संस्था लिमिटेडको रकम हिनामिना भएको भन्दै विभिन्न व्यक्तिहरूले छुट्टाछुट्टै जाहेरी दिएका दिए । 

रामचन्द्र सिपाईसहित १६२ जनाको जाहेरीका आधारमा २१ करोड ५६ लाख ९३ हजार ६६९ रुपैयाँ हिनामिना भएको आरोपमा प्रहरी वृत्त बौद्धमार्फत अनुसन्धान भइरहेको छ ।

त्यस्तै, थप ५९ जनाको जाहेरीका आधारमा २ करोड ६२ लाख ३६ हजार १७१ रुपैयाँ हिनामिना भएको आरोपमा पनि अनुसन्धान भइरहेको छ । 

१५६ जनाको जाहेरीका आधारमा १५ करोड ४ लाख ८६ हजार ३ रुपैयाँ ६५ पैसा हिनामिना भएको आरोपमा प्रहरी वृत्त बालाजुमार्फत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यी छुट्टाछुट्टै जाहेरीमा उल्लेख भएको रकम जोड्दा ३९ करोडभन्दा बढी हुन्छ ।

प्रहरीका अनुसार अनुसन्धानकै क्रममा फरार रहेका रेग्मीलाई पक्राउ गरिएको हो । 

उक्त कसूरसम्बन्धी घटनामा प्रहरी वृत्त बालाजुमा हालसम्म थप ४६ जनाको जाहेरीसमेत प्राप्त भएको छ । ती जाहेरीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share News