काठमाडौं । कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पर्व मनाउँदैछन् । प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजाआराधना गरिन्छ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको तस्बिरमा विधिपूर्वक पूजाआराधना गरी यो दिवस मनाउने गरिन्छ ।
कलकारखानालाई विशेष रूपमा सजाएर श्रमिकले यो दिवस भव्यताका साथ मनाउँछन् । बालुवा तथा अन्य सामग्रीबाट बनाइएको विश्वकर्माको मूर्ति बागमतीको मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध स्थलमा लगेर विसर्जन गर्ने गरिन्छ ।
आजका दिन कालिगढले प्रयोगमा ल्याउने औजारको पूजाआराधना गरेमा ती लामो समयसम्म टिक्ने, कामका क्रममा नबिग्रने र राम्रो काम गर्न सकिने गुण प्राप्त हुने धार्मिक विश्वास छ ।
द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ निर्माण गरी उनलाई लुकाएको धार्मिक विश्वास छ। एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मान्दै त्यसै समयदेखि पूजा गर्ने परम्परा बसेको हाे ।
प्राचीन भारतवर्षका चार दिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रूपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ ।
विश्वकर्मालाई वास्तुविद्याका विशिष्ट ज्ञाताका रूपमा समेत मानिन्छ । ‘विश्वकर्मा प्रकाश’ नामक वास्तुशास्त्रको ग्रन्थ उनले नै रचना गरेको विश्वास छ । यही सम्झनामा नेपालका कालिगढले भव्य रूपमा विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्छन् ।
पूजाआराधना गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गरिन्छ । सोही विश्वासमा आज इन्जिन जडान भएका यन्त्र तथा सवारीसाधनमा समेत पूजाआराधना गरिन्छ । वास्तुशास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रूपमा मनाउने गर्छन् ।
पछिल्लो समय नेपालमा पनि वास्तुविद्याको पुनर्जागरण सुरु भएको छ । चार उपवेदमध्ये एक स्थापत्यवेदमा वास्तुशास्त्रकै विषय उल्लेख छ । लुप्तप्रायः अवस्थामा रहेको स्थापत्यवेदमा आधारित सहर एवं आवास निर्माण गर्नेको सङ्ख्या पनि बढ्न थालेको छ । यसले गर्दा पछिल्लो समय वास्तुविद्याको महत्व बढ्दै गएको छ ।