विकासन्युज

करदाता प्रोत्साहन उपहार : ३१ जनाले पाए १ लाख ३३ हजार, २ जनालाई १० लाख

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ देखि सञ्चालनमा ल्याएको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भदौ महिनाका ३३ जना विजेताको नतिजा सार्वजनिक भएको छ । आन्तरिक राजस्व विभाग, लाजिम्पाटमा आयोजित कार्यक्रममा भदौ महिनामा घोषणा हुन बाँकी सबै विजेताको नतिजा एकैपटक सार्वजनिक गरिएको हो । विभागका अनुसार ३१ जना नियमित विजेताले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै, २ जना बम्पर विजेताले जनही १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । भदौ १ देखि १५ गतेसम्मको कारोबारका आधारमा १५ जना नियमित र एक जना बम्पर विजेता छनोट भएका छन् । यस्तै, भदौ १६ देखि ३१ गतेसम्मको कारोबारका आधारमा थप १६ जना नियमित र एक जना बम्पर विजेता छनोट गरिएको विभागले जनाएको छ । यसअघि रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण भदौ १६ गतेका लागि तय गरिएको उपहार विजेता छनोट तथा घोषणा कार्यक्रम स्थगित भएको थियो । सोही कारण भदौ महिनाका बाँकी सबै विजेताको नतिजा असोज १ गते सार्वजनिक गरिएको हो । विजेताले आफ्नो कुपन नम्बरका आधारमा नतिजा जाँच गर्न सक्नेछन् । आफ्नो मोबाइल बैंकिङ वा डिजिटल वालेटमा प्राप्त कुपन नम्बर हेरेर विभागले उपलब्ध गराएको सम्बन्धित माध्यममार्फत नतिजा जाँच गर्न सकिनेछ । आन्तरिक राजस्व विभागले करदातालाई करसम्बन्धी दायित्व नियमित रूपमा पूरा गर्न प्रोत्साहित गर्ने उद्देश्यले चालु आर्थिक वर्षदेखि यो कार्यक्रम सञ्चालनमा ल्याएको हो । कार्यक्रमअन्तर्गत प्रत्येक महिनाको १ गते र १६ गते उपहार विजेता छनोट तथा घोषणा गर्ने व्यवस्था छ । तर विपद्का कारण भदौ १६ गतेको कार्यक्रम स्थगित भएपछि त्यस दिन घोषणा हुनुपर्ने नतिजासमेत असोज १ गतेको कार्यक्रममा समेटिएको विभागले जनाएको छ ।

समायोजनपछि सानेपा फर्किँदै कांग्रेसका पुराना केन्द्रीय सदस्य

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट बाहिर रहेका १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी हुने भएका छन् । विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपछि पार्टीको संरचनामा समायोजन गर्ने निर्णयसँगै देउवा पक्षसहित तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का निकट नेताहरू सानेपा जाने तयारीमा रहेको नेताहरूले बताएका छन् । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूलाई पार्टीको सांगठनिक संरचनामा समायोजन हुन आह्वान गरेको थियो । त्यसपछि १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूले नयाँ कार्यसमितिको बैठकमा सहभागी हुने तयारी गरेका हुन् । केन्द्रीय सदस्य नैनसिंह महर पार्टीमा समायोजनको निर्णय भएपछि आफूहरू बैठकमा सहभागी हुन तयार रहेको बताए । उनका अनुसार आफूहरूमध्ये केही नेताहरू सानेपा जाने विषयमा छलफल भइरहेको छ । महरसहित डिना उपाध्याय, श्याम घिमिरे, सुरेन्द्र पाण्डे, मीनबहादुर विश्वकर्मा, रामहरि खतिवडा, जीवनबहादुर शाही र गोविन्द भट्टराईलगायत नेता बैठकमा सहभागी हुने तयारीमा रहेका छन् । विशेष महाधिवेशनबाट बाहिर रहेका ४० भन्दा बढी केन्द्रीय सदस्य आजको बैठकमा सहभागी हुने कांग्रेस नेताहरूको दाबी छ । नेता मनोजमणि आचार्यका अनुसार आजको केन्द्रीय समिति बैठक पूर्ण एकताको सन्देश दिने बैठक हुनेछ ।

बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा

काठमाडौं ।  काठमाडौं उपत्यकाभित्र बिग्रिएका संघीय सडकको मर्मतलाई प्रभावकारी बनाउन ‘सडक सुझाव एप’ औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ । पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सडक डिभिजन काठमाडौंले सफल परीक्षणपछि एपलाई औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो । अब काठमाडौं उपत्यकाभित्रका नागरिकले संघीय सडकअन्तर्गतका बिग्रिएका सडकको मर्मतसम्बन्धी गुनासो तथा सुझाव एपमार्फत दर्ता गर्न सक्नेछन् । एपमार्फत दर्ता गरिएको गुनासोको समाधान प्रक्रिया र अवस्था समेत नागरिकले प्रत्यक्ष रूपमा हेर्न सक्ने व्यवस्था गरिएको छ । गुनासो सम्बोधन भएपछि त्यसको जानकारीसमेत एपमार्फत प्राप्त हुने सडक डिभिजन काठमाडौंले जनाएको छ । हाल ‘सडक सुझाव एप’मार्फत काठमाडौं उपत्यकाभित्र संघीय सडकअन्तर्गत रहेका करिब ४ सय ७२ किलोमिटर सडक सम्बन्धी गुनासो तथा सुझाव दर्ता गर्न सकिनेछ । संघीय सडकअन्तर्गत नपर्ने सडकका सम्बन्धमा भने उक्त सडक कुन निकायको जिम्मेवारीमा पर्छ भन्ने जानकारीसमेत नागरिकलाई उपलब्ध गराइने सडक डिभिजन काठमाडौंले जनाएको छ । सडक मर्मतसम्बन्धी गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै  एपलाई देशव्यापी रूपमा विस्तार गर्ने तयारीसमेत अघि बढाइएको छ । आगामी दुई हप्ताभित्र ललितपुर र भक्तपुरलाई एपमा समावेश गरी सेवा विस्तार गर्ने र क्रमशः देशभर सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।

प्रतिवेदन टुंग्याउने दिन ओली निवासमा पौडेल, पोखरेल र थापा

काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलको प्रतिवेदनमा सहमति जुट्न नसक्दा पार्टीका आगामी बैठक अन्यौलमा परेका छन् । प्रतिवेदन टुंग्याउनुपर्ने दिन नै अध्यक्ष केपी शर्मा ओलीले कार्यदल संयोजक रामबहादुर थापा, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई भक्तपुरको गुण्डुस्थित निवासमा बोलाएका छन् ।  यससँगै बिहीबार बस्ने भनिएको कार्यदल बैठकसमेत अनिश्चित बनेको छ ।  अहिले नेताहरू गुण्डु पुगेको पार्टीका प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए । उनले भने, ‘प्रतिवेदनमा सहमति जुटाउने उद्धेश्यले नेताहरूको बैठक वोलाइएको हो ।’ कार्यदलले तयार गरेको पहिलो प्रतिवेदनमा नेतृत्व परिवर्तनसम्बन्धी विषय समेटिएपछि ओली असन्तुष्ट बनेका थिए । त्यसपछि ओलीनिकट नेताहरूको पहलमा अर्को प्रतिवेदन तयार पारिएको थियो ।  दुई प्रतिवेदनलाई एउटै बनाउने प्रयासमा थापा, पौडेल र पोखरेलबीच सहमति जुट्न सकेको छैन। कार्यदलले प्रतिवेदन पारित नगरेसम्म त्यसलाई सचिवालय र केन्द्रीय कमिटीमा लैजान सकिँदैन । तर, असोज ५ देखि ७ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाइएको छ, जसको मुख्य एजेण्डा नै यही प्रतिवेदन हो । पुनर्गठन पक्षधर नेताहरूले गुण्डु छलफलबाट पनि सहमति नजुटे कार्यदलको बहुमतबाट प्रतिवेदन पारित गरेर अघि बढ्ने तयारी गरेका छन् ।  ओली पक्षले भने अध्यक्षलाई हटाउने विषय समेटिएको प्रतिवेदन स्वीकार नगर्ने संकेत दिएको छ ।

मिर्गी र डिमेन्सियाको उपचार खोज्न मानव कोशिका भएका मुसा तयार

काठमाडौं । वैज्ञानिकहरूले मानव मस्तिष्कसम्बन्धी जटिल रोगको अध्ययन र उपचार विकासका लागि आधा मानव मस्तिष्क भएका मुसा तयार गरेका छन् । अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले प्रयोगशालामा हुर्काइएका मानव मस्तिष्क कोशिकाहरूलाई विशेष रूपमा तयार गरिएका मुसाको मस्तिष्कमा प्रत्यारोपण गरेका हुन् ।  ती मुसाहरू जन्मिँदा मस्तिष्कका महत्त्वपूर्ण भाग ‘सेरेब्रल कोर्टेक्स’ र ‘हिप्पोक्याम्पस’ बिना जन्मिने गरी आनुवंशिक रूपमा विकास गरिएका थिए । ‘नेचर’जर्नलमा प्रकाशित अध्ययनअनुसार प्रत्यारोपण गरिएका मानव कोशिकाले मुसाको मस्तिष्कको करिब आधा भाग ओगटेका छन् ।  मानव न्युरोनहरू मुसाको स्नायु प्रणाली र रक्तनलीसँग पनि जोडिएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।  वैज्ञानिकहरूका अनुसार यो प्रविधिले स्किजोफ्रेनिया, मिर्गी, सेरेब्रल पाल्सी, बौद्धिक अपाङ्गता तथा दुर्लभ प्रकारका डिमेन्सियाजस्ता रोग कसरी विकसित हुन्छन् भन्ने बुझ्न र नयाँ औषधि परीक्षण गर्न सहयोग पु‍र्याउन सक्छ । यद्यपि मानव–जनावर मिश्रित अनुसन्धानका कारण चेतना, पशु कल्याण र नैतिकतासम्बन्धी प्रश्नहरू उठेकाले कडा निगरानी र नैतिक समीक्षा आवश्यक रहेको विज्ञहरूले बताएका छन् ।

विकास हाइड्रोपावरले १० प्रतिशत बोनस सेयर दिने

काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । कम्पनीको भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको हाल कायम चुक्ता पुँजी ९० करोड ९१ लाख १ हजार ३०० रुपैयाँ छ । सोको १० प्रतिशत बराबर ९ करोड ९ लाख १० हजार १३० रुपैयाँको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरिएको छ । यस्तै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत अर्थात् ४७ लाख ८४ हजार ६०० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि गरिएको कम्पनीले जनाएको छ । प्रस्तावित बोनस सेयर वितरणका लागि विद्युत् नियमन आयोगबाट पूर्वस्वीकृति प्राप्त भएको कम्पनीले जनाएको छ । लाभांश वितरणका लागि आवश्यक प्रक्रिया पूरा गरी आगामी साधारणसभाबाट अनुमोदन गरिनेछ ।

अमेरिकामाथि आक्रमण गर्न इरानले अमेरिकी एआई नै प्रयोग गरेको रिपोर्ट

काठमाडौं । अमेरिकाविरुद्धको युद्धमा इरानसँग सम्बन्धित एउटा समूहले अमेरिकी नौसेनालाई निशाना बनाउने प्रयासमा कृत्रिम बौद्धिकता (एआई) प्रयोग गरेको पाइएको छ । बीबीसी न्युजको अमेरिकी साझेदार सीबीएस न्युजले प्रकाशित गरेको विशेष रिपोर्टले यस्तो जानकारी दिएको हो । रिपोर्टअनुसार उक्त समूहले यसका लागि अमेरिकामै विकास गरिएको एआई प्रविधिको प्रयोग गरेको थियो । यो विवरण एआई कम्पनी एन्थ्रोपिकले गत साता सार्वजनिक गरेको रिपोर्टमा आधारित छ ।  एन्थ्रोपिकले उक्त समूहको पहिचान खुलाएको छैन । कम्पनीले भने त्यसलाई ‘खतरा उत्पन्न गर्ने संगठन’का रूपमा उल्लेख गरेको छ । एन्थ्रोपिकका अनुसार उक्त समूहले इन्टरनेटमा सार्वजनिक रूपमा उपलब्ध जानकारी संकलन गर्न, अमेरिकी नौसेनाको अवस्थिति पत्ता लगाउन तथा सम्भावित लक्ष्य पहिचान गर्न सुझाव लिन क्लाउडमा आधारित एआईको प्रयोग गरेको थियो। कम्पनीले यस गतिविधिमा संलग्न एआई खाता बन्द गरिसकेको जनाएको छ । साथै सम्भावित खतरा रोक्न अमेरिकी सरकारलाई यससम्बन्धी जानकारी उपलब्ध गराइएको पनि एन्थ्रोपिकले बताएको छ । विशेषज्ञहरूले भने यस्ता घटना आगामी दिनमा अझ सामान्य हुन सक्ने बताएका छन् । उनीहरूका अनुसार अमेरिकाका विरोधीहरूले सैन्य अभियानलाई सहयोग पु‍र्याउन एआई प्रविधिको प्रयोगतर्फ ध्यान बढाइरहेका छन् । विशेषज्ञहरूका अनुसार एन्थ्रोपिकको निष्कर्षले इरानले आफ्नो रणनीतिक उद्देश्य पूरा गर्न प्रविधिको प्रयोग गर्दै आएको प्रवृत्तिसँग मेल खान्छ । यसमा अमेरिका र इजरायलसँगको इरानको संघर्ष पनि समावेश छ ।

भगवती कम्पोजिट इण्डष्ट्रिजले सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । भगवती कम्पोजिट इण्डष्ट्रिज लिमिटेडले सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट हाल कायम चुक्ता पुँजी ४२ करोड रुपैयाँको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज २६ गते दोस्रो वार्षिक साधारण सभा बोलाएको छ । सभा बिहान ११ः३० बजे भरतपुर महानगरपालिका–७, कृष्णपुरस्थित होटल पौवामा बस्नेछ । सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ । त्यस्तै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । सञ्चालक समितिका सदस्यहरूको नियुक्ति अनुमोदन गर्ने प्रस्तावसमेत सभामा पेश हुनेछ । विशेष प्रस्तावतर्फ कम्पनीको जारी पुँजी ४२ करोड रुपैयाँबाट वृद्धि गरी ७५ करोड रुपैयाँ कायम गर्ने गरी प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव रहेको छ । साथै, १० प्रतिशत बोनस शेयर वितरण गरेपछि कायम हुने चुक्ता पुँजीको २० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । यसैगरी, कम्पनीको प्रबन्धपत्र वा नियमावलीमा आवश्यक संशोधन तथा थप गर्न नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त निर्देशनअनुसार संशोधन तथा परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा छलफल गरी पारित गरिनेछ ।