काठमाडौं । वैज्ञानिकहरूले मानव मस्तिष्कसम्बन्धी जटिल रोगको अध्ययन र उपचार विकासका लागि आधा मानव मस्तिष्क भएका मुसा तयार गरेका छन् ।
अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले प्रयोगशालामा हुर्काइएका मानव मस्तिष्क कोशिकाहरूलाई विशेष रूपमा तयार गरिएका मुसाको मस्तिष्कमा प्रत्यारोपण गरेका हुन् ।
ती मुसाहरू जन्मिँदा मस्तिष्कका महत्त्वपूर्ण भाग ‘सेरेब्रल कोर्टेक्स’ र ‘हिप्पोक्याम्पस’ बिना जन्मिने गरी आनुवंशिक रूपमा विकास गरिएका थिए ।
‘नेचर’जर्नलमा प्रकाशित अध्ययनअनुसार प्रत्यारोपण गरिएका मानव कोशिकाले मुसाको मस्तिष्कको करिब आधा भाग ओगटेका छन् ।
मानव न्युरोनहरू मुसाको स्नायु प्रणाली र रक्तनलीसँग पनि जोडिएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।
वैज्ञानिकहरूका अनुसार यो प्रविधिले स्किजोफ्रेनिया, मिर्गी, सेरेब्रल पाल्सी, बौद्धिक अपाङ्गता तथा दुर्लभ प्रकारका डिमेन्सियाजस्ता रोग कसरी विकसित हुन्छन् भन्ने बुझ्न र नयाँ औषधि परीक्षण गर्न सहयोग पुर्याउन सक्छ ।
यद्यपि मानव–जनावर मिश्रित अनुसन्धानका कारण चेतना, पशु कल्याण र नैतिकतासम्बन्धी प्रश्नहरू उठेकाले कडा निगरानी र नैतिक समीक्षा आवश्यक रहेको विज्ञहरूले बताएका छन् ।