विकासन्युज

मोरङमा चिनियाँ राष्ट्रपतिको किताब जलाएको घटनामा अध्ययन गर्न छानबिन समिति गठन

काठमाडौं । मोरङमा चिनियाँ राष्ट्रपति सी जिनपिङको किताब जलाएको घटनाबारे अध्ययन गर्न छानबिन समिति बनेको छ ।  मोरङ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाको नेतृत्त्वमा ५ जनाको संलग्नमा छानबिन समिति बनेको हो । जिल्ला प्रहरी कार्यालयका मोरङका प्रमुख कबित कटुवालले मनमोहन कलेजमा चिनियाँ राष्ट्रपतिको किताब जलाएको विषयमा छानबिन गर्न समिति बनाएको जानकारी दिए । उनका अनुसार समितिले घटनामा संलग्न हुनेसँग बयान लिने लिइरहेको छ । समितिलाई एक सातादेखि दश दिनसम्म अध्ययन सकेर प्रतिवेदन बुझाउने समय दिएको कटुवालले जानकारी दिए । गत शनिबार दिउँसो १२ बजे ती पुस्तकहरू मनमोहन प्राविधिक कलेजमा जलाइएको थियो । पुस्तक राखेको कोठा खाली गर्नुपर्ने भएकाले कोठामा राखिएको पुस्तक जलाउनुपर्ने बाध्यता आएको कलेज प्रशासनले जानकारी दिएको थियो । कलेजका सूचना अधिकारी सुजन भुर्तेलले कवाडी, धमिरा र मक्किएका पुस्तक जलाएको जानकारी दिएका थिए । कलेजको ल्याबमा चिनियाँ राष्ट्रपतिको पुस्तकमा धमिरा लागेकाले सफा गर्न जलाइएको उनले विकासन्युजलाई बताएका थिए । चिनियाँ राष्ट्रपतिको पुस्तक जलाएको घटना सम्बन्धमा छानविन गरी कारवाही गर्न गृह मन्त्रालयको निर्देशन सी जिनपिङको पुस्तक जलाइएकोबारे चिनियाँ दूतावासको चासो, घटना के हो ?  

महिलाको शरीर आफैँमा ‘वारदात स्थल’ हो : सपना प्रधान मल्ल

काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले यौनजन्य हिंसामा परेका महिलाहरूको न्यायका लागि अदालतले विश्वमै उदाहरणीय र नयाँ नजिरहरू स्थापित गरेको बताएकी छन् । शुक्रबार भक्तपुरमा आयोजित कानून व्यवसायी महिलाहरूको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।  उनले बलात्कारका मुद्दामा ‘लोकेशन’ वा घटनास्थल भन्न नसकेकै आधारमा पीडितले मुद्दा हार्ने अवस्थाको अन्त्य गर्दै अदालतले ‘महिलाको शरीर आफैँमा हिंसाको स्थल वा वारदात स्थल हो’ भन्ने सिद्धान्त स्थापित गरेको उनले जानकारी दिइन् । अनुसन्धान प्रणालीमा रहेको कमजोरीप्रति पनि चासो व्यक्त गरिन् । मुखमा बलात्कार भएको पीडितको बयान हुँदाहुँदै योनि परीक्षण गर्न पठाउने जस्ता त्रुटिपूर्ण अनुसन्धानले न्यायमा बाधा पुर्याएको उनको भनाइ थियो । पीडितले विरोधाभाषपूर्ण बयान दिएमा त्यसलाई ‘रेप ट्रमा सिन्ड्रोम’ का रूपमा बुझ्नुपर्ने नजिर समेत सर्वोच्चले कायम गरेको उनले उल्लेख गरिन् ।  सम्मेलनमा बोल्दै न्यायाधीश मल्लले भनिन्, ‘अनि अचम्म लाग्छ के कानूनहरु बदलिन्छ, यो हिंसाको कुरा गर्दाखेरि एउटा बालिका बलात्कृत भई । र त्यो बालिका बलात्कृत भएपछि शुरुदेखि नै मुद्दामा के आयो भन्दाखेरि उसको मुखमा बलात्कार गरियो मुखमा बलात्कार गरियो भन्यो । तर इन्भेस्टिगेसन गर्दाखेरि र मेडिकल रिपोर्ट माग्दाखेरिस्वास्थ्य परीक्षण गर्न पठाउँदाखेरि योनि परीक्षण गर्न पठाइयो । मुखमा बलात्कार भयो भनेको छ योनि परीक्षण गर्न पठाएको छ ।’ कुनैपनि हालतमा हिंसामा परेका महिला र बालिकाहरूको न्यायका लागि कसर बाँकी नराख्ने प्रतिवद्धता उनले व्यक्त गरिन् ।   

प्रभु बैंक कमलादी शाखाद्वारा ‘स्मार्ट मनी टक्स’ कार्यक्रम आयोजना

काठमाडौं । प्रभु बैंक लिमिटेडको कमलादी शाखाले ‘स्मार्ट मनी टक्स’ नारासहित वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । ‘ग्लोबल मनी वीक–२०२६’ अन्तर्गत चैत ६ गते आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा सहित उच्च पदाधिकारी तथा कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो । प्रभातफेरी कमलादी शाखाबाट सुरु भई दरबारमार्ग र कमलपोखरी क्षेत्र परिक्रमा गर्दै पुनः शाखा परिसरमै पुगेर समापन गरिएको थियो । कार्यक्रमका क्रममा ‘स्मार्ट मनी टक्स’ मूल नारासहित वित्तीय साक्षरतासम्बन्धी सन्देशमूलक प्लेकार्ड तथा ब्यानर प्रदर्शन गरिएको थियो । बैंकले वित्तीय सचेतना विस्तार गर्दै जिम्मेवार वित्तीय व्यवहार प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ । प्रभु बैंकले देशभर ३१२ शाखा कार्यालय, ३१० एटीएम तथा ७१ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ तथा वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ । आधुनिक प्रविधिको प्रयोगमार्फत गुणस्तरीय सेवा विस्तार गर्दै प्रतिस्पर्धात्मक रूपमा अघि बढिरहेको बैंकले उल्लेख गरेको छ । 

प्रधानमन्त्री कार्कीका दुई सल्लाहकारले दिए राजीनामा

काठमाडौं प्रधानमन्त्री सुशीला कार्कीले पदबाट राजीनामा नदिँदै उनका दुई सल्लाहकारले भने पदबाट राजीनामा दिएका छन् । अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिनाले राजीनामा दिएका हुन्। गत फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गराएसँगै दुवैले राजीनामा दिएका हुन् । दुवैले फरकफरक मितिमा राजीनामा दिएका हुन् । खनाल पत्रकार हुन् भने तिमिल्सिना विवेकशील नेपाल पार्टीका संस्थापक उज्ज्वल थापाको सम्झनामा खोलिएको संस्था ‘थापा फाउन्डेसन’का अध्यक्ष हुन् ।  जनसम्पर्क सल्लाहकार तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री कार्कीप्रति आभार प्रकटसमेत गरेका छन् । उनले लेखेका छन्, ‘अभूतपूर्व कठिन परिस्थितिमा पनि समस्त नेपालीको आशापुञ्ज बनेर हामीलाई विश्वाश र नेतृत्व गर्नु हुने सम्माननीय प्रधानमन्त्री कार्कीप्रति कृतज्ञता व्यक्त गर्दछु । यहाँले मलाई सिक्ने ठूलो अवसर दिनु भो, म एक सफल महिला प्रधानमन्त्रीको विद्यार्थी बन्न पाएँ, अत्यन्तै खुसी छु, किनकी त्यो विरलै अनुभव थियो ।’ 

हिमालय एयरलाइन्सको दुबई उडान पुनः सुचारु

काठमाडौं । मध्यपूर्वका देशहरूमा पछिल्लो समय विकसित तनावका कारण प्रभावित बनेका दुबई उडान पुनः सुचारु हुने भएका छन् । हिमालय एयरलाइन्सले आफ्नो निर्धारित दुबई सेक्टरको उडान सेवा पुनः सञ्चालनमा आएको जानकारी दिएको छ । एयरलाइन्सका अनुसार यात्रुहरूले टिकट पुनः प्रमाणीकरण गर्न वा नयाँ टिकट बुकिङका लागि सम्बन्धित ट्राभल एजेन्सी वा बुकिङ कार्यालयसँग सम्पर्क गर्न अनुरोध गरिएको छ ।   

उपसभापति शर्माको अध्यक्षतामा कांग्रेस केन्द्रीय समिति बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । राजीनामा दिएका सभापति गगन थापाको कुर्सी भने बैठक हलमा खाली राखिएको छ । आम निर्वाचन २०८२ को परिणाम सार्वजनिक भएपछि कांग्रेसको केन्द्रीय समिति बैठक बसेको हो । बैठकमा निर्वाचन समीक्षा, आगामी १५औँ महाधिवेशनको तयारी तथा सभापति गगन थापाको राजीनामासम्बन्धी विषयमा छलफल हुने केन्द्रीय सदस्य प्रतिमा गौतमले जानकारी दिइन् । बैठकमा पार्टी पदाधिकारी, केन्द्रीय सदस्य तथा प्रदेश सभापतिहरूको सहभागिता रहेको जनाइएको छ ।  

प्रोटोन ईमास–७ को तीन दिने ‘सेल्स एन्ड एक्सचेन्ज फर एक्सेलेन्स’ योजना सार्वजनिक

काठमाडौं । जगदम्बा मोटर्स प्रा.लि. अन्तर्गत सञ्चालन हुँदै आएको विद्युतीय सवारी साधन (इभी) ब्रान्ड प्रोटोन ईमासले तीन दिने ‘सेल्स एन्ड एक्सचेन्ज’ योजना सार्वजनिक गरेको छ । काठमाडौंको बौद्धस्थित होटल तिब्बतमा तीन दिन (चैत ६, ७ र ८ गते)सम्म ‘सेल्स एन्ड एक्सचेन्ज फर एक्सेलेन्स’ योजना सार्वजनिक गरेको हो ।  ‘ट्रेड अप टुडे, ड्राइभ एक्सेलेन्स टुमोरो’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको कार्यक्रममा ग्राहकहरूलाई जुनसुकै ब्रान्डका पुराना गाडी साट्दा बजारमा प्रचलित दरभन्दा उच्च मूल्यांकन प्रदान गर्ने कम्पनीले जनाएको छ ।  जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने– 'यस कार्यक्रमले नेपालमा विद्युतीय गाडीको भविष्यलाई थप सुनिश्चित बनाउन नयाँ आयाम थप्ने विश्वास लिएका छौँ, यसका साथै प्रविधिमैत्री तथा स्वच्छ वातावरणका लागि हामी सधैँ प्रतिबद्ध छौँ ।' कम्पनीका अनुसार प्रोटोन ईमास–७ ले १६० किलोवाट क्षमताको मोटर, १८० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स तथा ४९२ देखि ५८५ किलोमिटरको एनईडीसी रेन्ज रहेको छ । आधुनिक सुरक्षा प्रविधि र आकर्षक प्रिमियम डिजाइन सुविधासहितको यो गाडीको लम्बाइ ४६१५ एमएम रहेको छ ।  कार्यक्रममा गाडी खरिद गर्ने ग्राहकहरूले नगद लाभ, फाइनान्समा सहजता, एक वर्षको निःशुल्क सडक दस्तुर र एक वर्षको बीमा जस्ता सुविधाहरू पाउन सक्नेछन् । कार्यक्रममा सहभागी हुने र गाडी बुकिङ गर्ने ग्राहकहरूका लागि विशेष उपहारको व्यवस्थासमेत कम्पनीले गरेको छ ।    

हिमाली गाउँपालिकामा स्वास्थ्य शिविरमा एक हजारभन्दा बढीको उपचार

बाजुरा । जिल्लाको हिमाली गाउँपालिकामा पाठेघर खस्ने र पाठेघरको मुखको क्यान्सर विरुद्धको पाँचदिने स्वास्थ्य घुम्ती शिविर सञ्चालन गरिएको छ ।  यही चैत १ गतेदेखि बिहीबारसम्म सञ्चालित शिविरमा गाउँपालिकाका सात वटै वडाका एक हजारभन्दा बढीको उपचार गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राजबहादुर भण्डारीले जानकारी दिए ।  उनका अनुसार गाउँपालिका वडा नं ४, ६ र ७ को धुलाचौरमा, वडा नं ५ को कुवाडीमा र वडा नं १, २ ३ को विच्छ्याँमा शिविर आयोजना गरिएका थिए । शिविरमा विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मीहरूले प्रजनन स्वास्थ्यसम्बन्धी पाठेघरको आङ खस्ने, सेतोपानी बग्ने, क्यान्सर, रक्तअल्पताको उपचार गरिएको स्वास्थ्य शाखा प्रमुख भण्डारीले बताए ।  उपचारका क्रममा पाँच सयभन्दा बढीमा पाठेघर समस्या, १४८ जनामा  दम, मुटुरोग, मिर्गौला परीक्षण, मधुमहको उपचारलगायत नसर्ने रोगको ‘स्क्रिनिङ’ गरिएको छ । यस्तैगरी ६२ जनाको भिआई ए तथा पाठेघरको क्यान्सर जाँच, १४ जनालाई प्रयोगशाला क्षयरोग परीक्षणलगायत सेवा प्रदान गरिएको उनले जानकारी दिए ।  घुम्ती शिविरमा ५० प्रतिशतभन्दा बढी महिलाको पाठेघर खस्ने समस्या देखिएको उपचारमा सङ्लग्न चिकित्सक डा. रञ्जित शाहले बताएका छन् । महिनावारी र सुत्केरी भएका  बेलामा गह्रुङ्गो भारी बोक्ने तथा घरायसी कामका कारण पाठेघर खस्ने समस्या आएको हुनसक्ने उनको भनाइ छ ।  स्वास्थ्य शाखा प्रमुख भण्डारीले कामको बोझ, पोषिलो खानेकुराको कमी र बालविवाहका कारण पाठेघर खस्ने समस्याबाट बढी हुने गरेको पाइएको बताए । यस्तै, विच्छ्याँको माथिल्लो उच्च हिमाली भागमा नशा रोगसम्बन्धी समस्या बढी देखिएको छ ।  यहाँ हिमाली गाउँपालिकामा स्थापित आधारभूत स्वास्थ्य इकाई सेवा केन्द्रबाट प्राथमिक उपचार मात्र हुन्छ । ठूलो समस्या देखिए उपचारका लागि कोल्टी र जिल्ला अस्पताल मार्तडी पुग्न पर्ने बाध्यता छ । गाउँपालिकाले विगतदेखि नै नागरिक उपचार सहायता कोष स्थापना गरी ग्रामीण भेगमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै समस्या पहिचान तथा सेवा प्रदान गर्दै आएको गाउँपालिका अध्यक्ष गोविन्दवहादुर मल्लले बताए । रासस