आन्द्राको स्वास्थ्य बिग्रिँदा बढ्न सक्छ प्रि-डायबिटिजको जोखिम

काठमाडौं । प्रि-डायबिटिज अब उमेर ढल्किएका मानिसमा मात्रै देखिने समस्या रहेन । कम उमेरमै बढ्दो तौल, शारीरिक गतिविधिको कमी, अस्वस्थ खानपान, पर्याप्त निद्रा नहुनु र निरन्तर तनावका कारण रगतमा चिनीको मात्रा तथा इन्सुलिनको संवेदनशीलतामा असर पर्न सक्छ ।

यससँगै आन्द्राको स्वास्थ्य अर्थात् ‘गट हेल्थ’ र शरीरको मेटाबोलिक स्वास्थ्यबीच पनि सम्बन्ध रहेको विभिन्न अनुसन्धानहरूले देखाएका छन् । हाम्रो आन्द्रामा रहेका अर्बौं सूक्ष्म जीवाणुले पाचन प्रणालीसँगै शरीरको मेटाबोलिज्म र प्रतिरक्षा प्रणालीमा समेत भूमिका खेल्छन् ।

अनुसन्धानले आन्द्रामा रहेका सूक्ष्म जीवाणुमा हुने परिवर्तनलाई मोटोपन, टाइप-२ डायबिटिज तथा अन्य मेटाबोलिक समस्यासँग सम्बन्धित देखाएको छ । यद्यपि, आन्द्राको स्वास्थ्यलाई प्रि-डायबिटिजको एकमात्र कारण भने मान्न नहुने विज्ञहरूको भनाइ छ ।

प्रि-डायबिटिजको जोखिम कम गर्न खानपान र जीवनशैलीमा यी परिवर्तन गर्न सकिन्छ ।

१. फाइबरयुक्त खानेकुरा खाने

दाल, चना, राजमा, सिमी, ओट्स, हरियो सागसब्जी, फलफूल, बदाम तथा विभिन्न बीउमा पर्याप्त फाइबर पाइन्छ। फाइबर आन्द्रामा रहेका उपयोगी जीवाणुका लागि महत्वपूर्ण खाद्य स्रोत हो। खानामा फाइबरको मात्रा भने विस्तारै बढाउन उपयुक्त हुन्छ।

२. सम्पूर्ण अन्न र गेडागुडीलाई प्राथमिकता दिने

सेतो पाउरोटी, मैदा तथा अत्यधिक प्रशोधित अन्नको सट्टा सम्पूर्ण अन्न (बाहिरी बोक्रा, भित्री तह र भ्रूणसहितको सम्पूर्ण दाना) र गेडागुडी खानु आन्द्रा तथा मेटाबोलिक स्वास्थ्यका लागि उपयोगी हुन सक्छ। ओट्स, कोदो, चना, राजमा लगायतका खानेकुरा खान सकिन्छ।

३. फलफूल र तरकारी पर्याप्त खाने

फलफूल तथा तरकारीमा फाइबर, भिटामिन, खनिज तथा विभिन्न वनस्पतिजन्य तत्त्व पाइन्छन्। दैनिक खानामा विभिन्न रंगका तरकारी र सम्पूर्ण फलफूल समावेश गर्न सकिन्छ। पालुङ्गो, गाजर, लौका, भिन्डी, गोलभेँडा, भेडे खुर्सानी, अम्बा, स्याउ, सुन्तला र मेवा उपयोगी विकल्प हुन सक्छन् ।

४. अत्यधिक प्रशोधित खानेकुरा कम गर्ने

प्याकेटका खाजा, गुलियो पेय पदार्थ, प्रशोधित मासु, तत्काल पकाइने खाना, मैदाबाट बनेका बेकरी उत्पादन तथा अत्यधिक प्रशोधित खानेकुरालाई दैनिक खानाको ठूलो हिस्सा बनाउनबाट बच्नुपर्छ।

अमेरिकन डायबिटिज एसोसिएसनसँग सम्बन्धित अनुसन्धानमा अत्यधिक प्रशोधित खानेकुराको सेवन र टाइप–२ डायबिटिजको जोखिमबीच सम्बन्ध देखाइएको छ।

५. पर्याप्त निद्रा र तनाव व्यवस्थापनमा ध्यान दिने

स्वस्थ खानपानसँगै पर्याप्त निद्रा र तनाव व्यवस्थापन पनि मेटाबोलिक स्वास्थ्यका लागि महत्त्वपूर्ण हुन्छ। निद्राको कमीले इन्सुलिनप्रतिको शरीरको संवेदनशीलतामा असर पार्न सक्ने अनुसन्धानले देखाएको छ।

त्यसैले प्रि-डायबिटिजको जोखिम कम गर्न नियमित शारीरिक गतिविधि, सन्तुलित खानपान, पर्याप्त निद्रा र तनाव व्यवस्थापनमा ध्यान दिन आवश्यक हुन्छ।

तर यी उपायलाई प्रि-डायबिटिज वा डायबिटिजको उपचारका रूपमा लिनु हुँदैन । रगतमा चिनीको मात्रा बढेको शंका भएमा वा डायबिटिजका लक्षण देखिएमा चिकित्सकसँग परामर्श गरी आवश्यक परीक्षण गराउनुपर्छ ।

Share News