कांग्रेसको प्रारम्भिक समीक्षा : पराजयको जिम्मा सामूहिक, सभापति थापाको राजीनामा अस्वीकृत
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन ०८२ मा दोस्रो दलमा खुम्चिएको नेपाली कांग्रेसले पराजयको प्रारम्भिक समीक्षा सार्वजनिक गर्दै हारको जिम्मेवारी समग्र पार्टीले लिनुपर्ने निष्कर्ष निकालेको छ । उपसभापति विश्वप्रकाश शर्माले सार्वजनिक गरेको प्रतिवेदनले परिणामलाई ‘उच्च लोकतान्त्रिक संस्कृतिअनुरूप आत्मसात’ गर्ने उल्लेख गर्दै सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको जनाएको छ । प्रतिवेदनमा फागुन २१ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विजयभन्दा बढी कांग्रेसको पराजय प्रमुख तथ्य भएको उल्लेख गर्दै पार्टी समयमै रूपान्तरण गर्न असफल भएको स्वीकार गरिएको छ । ‘हामीले आफूलाई समयमै सम्हाल्न, बदल्न र मतदातामा सन्देश पुर्याउन सकेनौं,’ प्रतिवेदनमा भनिएको छ । कांग्रेसले विगतका निर्वाचन परिणामहरूको प्रवृत्ति औंल्याउँदै ०४६ पछिका आठ आमनिर्वाचनमा लगातार पहिलो र दोस्रो स्थानमा आलोपालो हुँदै आएको उल्लेख गरेको छ । यसलाई संयोग नभई गहिरो संरचनात्मक समस्या भएको ठहर गर्दै विस्तृत समीक्षा आवश्यक रहेको निष्कर्ष निकालिएको छ । यसैगरी, प्रतिवेदनले देशमा दीर्घकालीन राजनीतिक अस्थिरता, नेतृत्वमा दोहोरिने अनुहार र नीति–थितिको कमजोर कार्यान्वयनलाई पराजयका प्रमुख कारण मानेको छ । पछिल्लो ३४ वर्षमा २५ सरकार परिवर्तन भएको तथ्य प्रस्तुत गर्दै मतदातामा ‘स्थिर सरकारको खोजी’ बढेको उल्लेख गरिएको छ । सरकार फेरिए पनि प्रधानमन्त्रीमा उही अनुहार दोहोरिनु, गठबन्धन राजनीतिले सिर्जना गरेको वितृष्णा र प्रतिपक्षी भूमिका कमजोर बनाउनु कांग्रेसका रणनीतिक त्रुटिका रूपमा औंल्याइएको छ । विशेषगरी सत्ता–प्रतिपक्षबीचको अस्थिर भूमिकाले संसद बाहिर असन्तुष्टि बढ्न पुगेको प्रतिवेदनको निष्कर्ष छ । प्रतिवेदनमा निर्वाचन परिणामलाई ‘लोकप्रियतावादको लहर’सँग जोड्दै मतदातामा असन्तुष्टि, निराशा र आवेगलाई आधार बनाएर मत उत्पादन भएको विश्लेषण गरिएको छ । सामाजिक सञ्जाल र ‘एल्गोरिदम’ को प्रभावले मतदाताको निर्णय प्रक्रियामा गहिरो असर पारेको उल्लेख गर्दै त्यसलाई समयमै सम्बोधन गर्न नसक्नु कमजोरी ठहर गरिएको छ । कांग्रेसले भ्रष्टाचार नियन्त्रणमा अपेक्षित सफलता हासिल गर्न नसक्नु, सार्वजनिक सेवामा ढिलासुस्ती र ुकर्म गर्ने तर प्रचार गर्न नसक्नेु पुरानो छवि परिवर्तन गर्न असफल हुनु पनि पराजयका कारणका रूपमा स्वीकार गरेको छ। त्यसैगरी, अत्यधिक राजनीतिकरण, गुटबन्दी, र ‘मेरिटोक्रेसी’ कमजोर हुनुका कारण नागरिकमा वितृष्णा बढेको निष्कर्ष निकालिएको छ । प्रतिवेदनले पुरानो संगठनात्मक संरचनाले नयाँ चुनौती सामना गर्न नसकेको उल्लेख गर्दै पार्टी पुनर्संरचना आवश्यक भएको जनाएको छ । उम्मेदवार चयनपछि केही नेताबाट भएको ‘साइलेन्स किलिङ’ र ‘स्याबोटेज’ ले पनि परिणाममा असर पारेको आरोप लगाइएको छ । त्यस्तै, प्रतिवेदनले ०७९ को स्थानीय निर्वाचन, संघीय निर्वाचन र तथाकथित ‘जेनजी विद्रोह’ लाई नागरिक असन्तुष्टिको क्रमिक अभिव्यक्ति मानेको छ । स्वतन्त्र उम्मेदवारहरूको उदय र नयाँ दलको प्रवेशलाई परम्परागत दलप्रति बढ्दो अविश्वासको संकेतका रूपमा विश्लेषण गरिएको छ । सभापति गगन थापाले नैतिक जिम्मेवारीस्वरूप दिएको राजीनामालाई ‘अवधि छोटो भएको’ र ‘परिस्थिति सम्हाल्ने दायित्व प्राथमिक भएको’ भन्दै केन्द्रीय समितिले अस्वीकृत गरेको छ । प्रतिवेदनमा नेतृत्व परिवर्तनभन्दा अहिले संगठन सुदृढीकरण र परिस्थितिको व्यवस्थापन महत्त्वपूर्ण रहेको उल्लेख गरिएको छ । कांग्रेसले प्रतिनिधिसभामा दोस्रो दल भए पनि जिम्मेवार प्रतिपक्षीको भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ । ‘राम्रा काममा साथ र खराबीमा खरो विमति’ गर्ने नीति लिने उल्लेख गर्दै लोकतान्त्रिक प्रणाली सुदृढीकरणमा योगदान दिने बताइएको छ । प्रतिवेदनले पराजयलाई ‘विगत’ भन्दै अब नयाँ रणनीति, नयाँ सन्देश र संगठनात्मक सुधारमार्फत आगामी दिनमा विश्वास पुनःस्थापित गर्ने संकल्पसमेत व्यक्त गरेको छ ।
नागढुंगा सुरुङमार्ग सञ्चालनको जिम्मा चिनियाँ कम्पनीलाई, जेठ अन्तिम सातादेखि गाडी गुड्ने
काठमाडौं । मुलुककै पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुंगा सुरुङमार्ग सञ्चालन र व्यवस्थापनको अन्यौल हटेको छ । प्राविधिक र आर्थिक मूल्यांकनमा बाजी मार्दै चिनियाँ सरकारी कम्पनी चोङक्विङ युसिन रोड एण्ड ब्रिज्ड डेभलपमेन्ट र नेपाली कम्पनी एआरटी कन्स्ट्रक्सन (युसिन-एआरटी जेभी) ले यसको जिम्मेवारी पाउने भएको हो । सुरुङमार्ग सञ्चालनका लागि आह्वान गरिएको टेन्डरमा सहभागी १० कम्पनीमध्ये ७ वटा प्राविधिक रूपमा योग्य ठहरिएका थिए । तीमध्ये सबैभन्दा कम १ अर्ब १० करोड रुपैयाँ प्रस्ताव गरेपछि युसिन-एआरटी जेभीले आगामी ५ वर्षका लागि सञ्चालनको ठेक्का पाउने भएको हो । आयोजनाले आगामी एक साताभित्रै यसको औपचारिक घोषणा गर्ने तयारी गरेको छ । ५ वर्षसम्म २४ सै घण्टा सेवा, १५० जनशक्ति परिचालन हुने सुरुङमार्ग सञ्चालनको जिम्मा पाउने कम्पनीले साधारण मर्मतसम्भार मात्र नभई उच्च स्तरको व्यवस्थापन गर्नुपर्नेछ । सम्झौताअनुसार कम्पनीले सुरुङमार्ग प्रयोग गर्ने सवारीबाट शुल्क उठाउने, सुरुङभित्र सवारीको चाप र गति नियन्त्रण गर्ने, आगलागी, दुर्घटना वा प्राविधिक गडबडी हुँदा तत्काल उद्धारका लागि ‘रेस्क्यु टोली’ तयारी अवस्थामा राख्ने, सुरुङभित्रको प्रकाश, भेन्टिलेसन र सिभिल संरचनाको रेखदेख गर्नेलगायतका काम गर्नेछ । सुरुङमार्गलाई सुरक्षित र व्यवस्थित बनाउन १५० जना दक्ष जनशक्ति परिचालन गरिने आयोजनाले जनाएको छ । जसमा सुरक्षा व्यवस्थापनमा ६४ जना, टोल उठाउन ५४ जना र बाँकी प्राविधिक तथा प्रशासनिक कर्मचारी रहनेछन् । निर्माण कार्य ९८ प्रतिशत सकिइसके पनि सुरुङमार्ग सञ्चालनमा आउन अझै केही समय लाग्ने देखिएको छ । ठेक्का सम्झौता भएपछि कम्पनीले जनशक्ति छनोट गर्ने, उनीहरूलाई तालिम दिने र केही समय परीक्षण गर्नेछ । आयोजना स्रोतका अनुसार आगामी जेठको अन्तिम सातासम्म सुरुङमार्ग औपचारिक रूपमा सर्वसाधारणका लागि खुला हुने लक्ष्य राखिएको छ । अहिले धादिङतर्फको टोल प्लाजा निर्माण र पहिरो नियन्त्रणको केही बाँकी काम धमाधम भइरहेको छ । सुरुङमार्ग सञ्चालनका लागि वार्षिक करिब ३० करोड रुपैयाँ खर्च हुने अनुमान छ, जुन नेपाल सरकारले नै बेहोर्नेछ । सुरुङमार्ग प्रयोग गरेबापत संकलन हुने टोल भने सडक बोर्ड नेपालको खातामा जम्मा हुनेछ । चिनियाँ सरकारी स्वामित्वको यो कम्पनी सन् १९९८ मा स्थापना भएको पूर्वाधार विज्ञ कम्पनी हो । नेपाली साझेदार कम्पनीसँगको सहकार्यमा यसले नेपालमा अन्तर्राष्ट्रिय स्तरको सुरुङमार्ग व्यवस्थापनको अनुभव भित्र्याउने अपेक्षा गरिएको छ । सञ्चालनका लागि चिटिक्क बन्यो देशकै पहिलो सुरुङमार्ग {भिडियो स्टोरी} नागढुंगा सुरुङमार्ग सञ्चालनका लागि ७ निर्माण कम्पनी योग्य ठहरिए, वैशाखमा ट्रायल
पर्सामा २० लाख रुपैयाँ बरामद
वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल पर्साले २० लाख रुपैयाँ हुण्डी रकमसहित एक जनालाई वीरगञ्जबाट पक्राउ गरेको छ । सशस्त्र प्रहरीले शुक्रबार वीरगञ्ज महानगर–१६ स्थित भन्सार प्रवेशद्वारमा जाँचका क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ बिके ८६०३ नम्बरको मोटरसाइकलमा सवार विनय शङ्कर साह तुरहालाई सो परिमाणको रकमसहित पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल नेपाल पर्साका सूचना अधिकारी मोहन निरौलाका अनुसार मोटरसाइकलमा सवार तुरहाले मोटरसाइकलको सिटकभरमा सो रकम लुकाएर राखेका थिए । बरामद भएको रकमसहित तुरहालाई थप अनुसन्धानका लागि वीरगञ्ज भन्सार कार्यालयलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । ती व्यक्तिबाट वीरगञ्ज भन्सार एजेन्ट सङ्घ पर्सा लेखिएको परिचयपत्र समेत बरामद भएको छ ।
जेनजी आन्दोलनका क्रममा सुनधारा कारागारबाट फरार रहेका मकवानपुरका रुम्बा पक्राउ
काठमाडौं । जेनजी आन्दोलनमा क्रममा सुनधारा कारागारबाट फरार रहेका कैदीबन्दी पक्राउ परेका छन् । शुक्रबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौंको बालाजुबाट विकाश रुम्बालाई पक्राउ गरेकाे हो । पक्राउपश्चात हाल उनलाई केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारामा पठाइएको सीआईबीले जनाएको छ । २०८१ चैत २० गतेदेखि केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारामा लागू औषध मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका मकवानपुर, इन्द्रसरोवर १ का रुम्बा गत भदौ २४ जेनजी आन्दोलनमा कारागारबाट फरार भएका थिए ।
काठमाडौं उपत्यकासहित देशभर मुसलधारे वर्षा
काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर मुसलधारे वर्षा भएको छ । नेपालमा पश्चिमी न्युन चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । जसअनुसार हावाहुरी चट्याङसहित देशभर असिना पानी परेको हो । काठमाडौं उपत्यकासहित बुटवल, अर्घाखाँची, ओखलढुंगासहित देशका विभिन्न भूभाग दिउँसै अन्धकारमय बनेको थियो । जसकारण जनजीवन अस्तव्यस्त बनेको थियो । त्यसो त, मौसम विभागले पनि आज शुक्रबार कोशी, मधेस, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशको धेरै स्थानहरू, वागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग /असिना/हावाहुरी सहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको बताएको थियो । कोशी र मधेस प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको अनुमान गरेअनुसार नै देशभर वर्षा भएको हो । वर्षाका करण लामोसमयको वायु प्रदुषण कम भएको छ भने खेतीबालीलाई भने राहत मिलेको छ ।
गगन थापाको राजीनामा अस्वीकृत गर्नुपर्ने कांग्रेस केन्द्रीय सदस्यहरूको जोड
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नैतिकताका आधारमा दिएको राजीनामालाई पार्टीका अधिकांश केन्द्रीय सदस्यहरूले अस्वीकार गर्नुपर्ने धारणा राखेका छन् । शुक्रबार आज सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको केन्द्रीय समितिको बैठकमा बोल्ने सदस्यहरूले पार्टीको वर्तमान परिस्थितिलाई सम्हाल्दै अघि बढ्न थापाकै नेतृत्व आवश्यक रहेको बताएका हुन् । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी प्रवक्ता देवराज चालिसेले सभापति थापाको राजीनामा विधिवत रूपमा बैठकमा पेस भएको र त्यसमाथि छलफल जारी रहेको जानकारी दिए । ‘सभापतिज्यूले नैतिकताको कुरा उठाएर राजीनामा दिनुभएको हो, तर बैठकमा धारणा राख्ने बहुसंख्यक साथीहरूले अहिलेको परिस्थितिमा राजीनामा स्वीकृत गर्न नहुने बताइरहनुभएको छ,’ उनले भने । ‘पार्टीलाई पुनर्निर्माण गर्ने र थप जिम्मेवारी लिएर अघि बढ्ने समय भएकाले उहाँको निरन्तरता आवश्यक रहेको साथीहरूको तर्क छ,’ उनले थपे । प्रवक्ता चालिसेले हालै सम्पन्न निर्वाचनको परिणामलाई सभापति थापाको व्यक्तिगत कमजोरीसँग जोड्न नहुने दाबी गरे । निर्वाचनको नतिजा लामो समयदेखिका विभिन्न परिस्थितिको उपज भएको उनको तर्क छ । ‘निर्वाचनको परिणाम कुनै एक व्यक्तिसँग मात्र जोडिएको विषय होइन,’ चालिसेले भने । ‘सभापतिले नेतृत्व सम्हालेको मात्र ५० दिन भएको थियो । ५० दिनको छोटो समयमा गरिएको मेहनत मात्र पर्याप्त नभएकाले यस्तो नतिजा आएको हो,’ उनले थपे । जारी केन्द्रीय समिति बैठकमा बाँकी सदस्यहरूले धारणा राख्ने क्रम अझै बाँकी रहेको र बैठक केही दिनसम्म चल्ने कांग्रेसले जनाएको छ ।
वन क्षेत्रलाई अर्थतन्त्रको मुख्य खम्बा बनाउनुपर्छ : अर्थमन्त्री खनाल
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले नेपालको अर्थतन्त्रमा वन क्षेत्रको भुमिका महत्वपूर्ण रहेको बताउँदै यसलाई मुलुकको समृद्धिको आधार बनाउनुपर्नेमा जोड दिएका छन् । शुक्रबार संघीय संसद भवनको प्राङ्गणमा वृक्षारोपण कार्यक्रममा सहभागी हुँदै उनले वन क्षेत्रलाई मुलुकको समृद्धिको आधार बनाउनुपर्नेमा जोड दिएका हुन् । मन्त्री खनालले मन्त्रालयमा हुँदा वन क्षेत्रले नेपालको अर्थतन्त्रमा पुर्याउन सक्ने योगदानबारे नजिकबाट बुझ्ने अवसर पाएको बताए । वन क्षेत्रको योगदानलाई अगाडि बढाउन सरकारले आधा दर्जनभन्दा बढी महत्वपूर्ण कदमहरू चालिसकेको जानकारी दिए । नेपालको पर्यटन क्षेत्रबाट हुने आम्दानीको ठूलो हिस्सा वन क्षेत्रकै कारण प्राप्त हुने मन्त्री खनालको भनाइ छ । नेपालका ट्रेकिङ रुटहरूमा विदेशी पर्यटकहरू जानुको मुख्य कारण पनि यहाँको वन र प्राकृतिक सौन्दर्य नै रहेको उनले उल्लेख गरे । उनले नेपाललाई विश्वमा चिनाउन ‘बायोस्फेयर रिजर्भ’ घोषणा गर्न सकिने थुप्रै क्षेत्रहरू रहेको र यस विषयमा वन मन्त्रालयका अधिकारीहरूसँग छलफल भइरहेको समेत बताए । उनले भने, ‘वन मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच सहकार्य गरेर नेपाली काठ उद्योगमा आधारित उद्योगहरूलाई बढावा दिने साझा सहमति भइसकेको छ । यसलाई कार्यान्वयनको पक्षमा पनि केही गृहकार्य हुँदैछ ।’ मन्त्री खनालले वनको क्षेत्रफल बढेकोमा मात्र खुशी नभई, त्यस अनुरुप मुलुकको अर्थतन्त्रमा वनलाई क्षति नपुग्ने गरी कसरी योगदान पुर्याउन सकिन्छ भन्ने विषयमा आगामी कार्यक्रम र नीतिहरू निर्देशित हुनुपर्नेमा जोड दिए ।
भक्तपुरमा लामिनारका दुई नयाँ शोरुम उद्घाटन, उपत्यकामा बजार विस्तार
काठमाडौं । टायल ब्रान्ड लामिनारले काठमाडौं उपत्यकामा आफ्नो बजार उपस्थितिलाई विस्तार गर्दै भक्तपुर क्षेत्रमा दुई नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । सानो ठिमीस्थित सियाराम ग्रुप र बिन्देश्वरी प्लानिङ क्षेत्रस्थित पञ्चदेवल सप्लायर्समार्फत शोरुम सञ्चालनमा आएका हुन् । कम्पनीका अनुसार लामिनारले आठ वटा कलेक्सनअन्तर्गत ५५० भन्दा बढी डिजाइनसहित नेपालकै फराकिलो टायल संग्रह बजारमा प्रस्तुत गरेको छ । नयाँ शोरुमहरूमा आवासीय घर, होटल तथा आतिथ्य क्षेत्र र व्यावसायिक परियोजनाका लागि उपयुक्त पानी नसोस्ने तथा अभेद्य टायलहरू प्रदर्शनमा राखिएका छन् । मार्बल शैलीका डिजाइन, आधुनिक ढुङ्गा बनावट तथा प्रिमियम पोलिस गरिएको सतहका टायलहरू अवलोकन तथा खरिद गर्न सकिने व्यवस्था गरिएको छ । लामिनारको पोलिस्ड मार्बल तथा ओनिक्स श्रृंखलामा १०४ भन्दा बढी ग्लस युनिट भएको उच्च चमकदार सतह प्रयोग गरिएको कम्पनीले जनाएको छ, जसले ऐनाजस्तै चम्किलो प्रभाव प्रदान गर्छ । यस्तो सतह विशेषगरी लक्जरी भिला, होटल तथा बारजस्ता स्थानका लागि उपयुक्त मानिन्छ । गहिरो पोलिस स्पष्टतासहित तयार गरिएका यी टायलहरू प्रिमियम मार्बलको गुणस्तरसँग मेल खाने बताइएको छ । केही टायलहरूमा पीईआई–५ घर्षण प्रतिरोध, मोस कडापन तथा आर–१२ नचिप्लने सतहजस्ता विशेषता समावेश गरिएका छन्, जसले बढी आवागमन हुने स्थानमा समेत प्रयोग गर्न उपयुक्त बनाउने कम्पनीको दाबी छ । उद्घाटन समारोहमा सियाराम ग्रुपका निर्देशक हरिश जाजोडिया अग्रवालले लामिनारको प्रविधि, डिजाइन र गुणस्तरको निरन्तरताले बजारमा विश्वास स्थापित गरेको बताए । उनले नयाँ शोरुममार्फत घरधनी, आर्किटेक्ट तथा डेभलपरहरूले टिकाउ र आधुनिक टायल सहज रूपमा प्राप्त गर्ने विश्वास व्यक्त गरे । पञ्चदेवल सप्लायर्सका निर्देशक उपेन्द्र शाहीले लामिनारका मार्बल शैलीका डिजाइन तथा पानी नसोस्ने प्रविधिले लक्जरी इन्टेरियरका लागि आकर्षक विकल्प प्रस्तुत गरेको बताए । उनका अनुसार ग्राहकहरू अहिले डिजाइन सौन्दर्यसँगै दीर्घकालीन टिकाउपन खोजिरहेका छन् । शोरुम उद्घाटन गर्दै लामिनारका निर्देशक अभिनव चुरीवालले नेपालमै उत्पादन हुने तर अन्तर्राष्ट्रिय स्तरसँग प्रतिस्पर्धा गर्न सक्ने उन्नत प्रविधियुक्त सतह उपलब्ध गराउने कम्पनीको लक्ष्य रहेको बताए । बर्दियास्थित उच्च क्षमतायुक्त कारखानामा इटालीको ग्लेज र स्पेनको डिजिटल इन्क प्रविधि प्रयोग गरी उत्पादन गरिने टायलले नेपालको टायल उद्योगको बढ्दो क्षमता झल्काउने उनले बताए । शोरुम सञ्जाल विस्तारसँगै लामिनारले देशभर आफ्नो बजार उपस्थिति थप मजबुत बनाउँदै लगेको जनाएको छ । नेपालमै उत्पादन गरिएका विश्वस्तरीय भिट्रिफाइड टायल विभिन्न सतह आवश्यकताका लागि बजारमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।