क्यानडा ईयूको एसोसिएट सदस्य बने अमेरिकाले भारी शुल्क लगाउने ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली संघ (ईयू) ले क्यानडालाई आफ्नो पहिलो एसोसिएट सदस्य बनाउन अघि बढे अमेरिकाले ईयूविरुद्ध कारबाही गर्न सक्ने चेतावनी दिएका छन् ।

ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै ईयूको कदम आफूलाई कुनै पनि हिसाबले शत्रुतापूर्ण लागे युरोपमाथि निकै भारी शुल्क लगाउने वा विभिन्न क्षेत्रमा युरोपसँगको व्यापार रोक्न सक्ने बताएका छन् ।

‘यदि उनीहरूले त्यसो गर्छन् र मलाई यो कुनै पनि हिसाबले शत्रुतापूर्ण कदम हो भन्ने लाग्यो भने म युरोपमाथि निकै भारी शुल्क लगाउनेछु वा धेरै विषयमा युरोपसँगको व्यापार रोक्नेछु,’ उनले भने ।

उनले ईयूको कदमको उद्देश्य राम्रो भए आफूलाई कुनै समस्या नहुने पनि बताए । ‘यदि उद्देश्य राम्रो छ भने ठीक छ । तर उद्देश्य खराब छ भने हामी युरोपमाथि निकै भारी शुल्क लगाउनेछौं,’ ट्रम्पले भने ।

अमेरिकी राष्ट्रपतिले क्यानडा ईयूको सहयोगी सदस्य बन्न सक्ने सम्भावनालाई ‘हास्यास्पद’ भन्दै क्यानडासँगको समग्र सम्बन्धबारे पनि टिप्पणी गरेका छन् । 

‘क्यानडासँगको पूरै विषय नै त्यस्तै छ । क्यानडा खराब व्यापारिक साझेदार रहँदै आएको छ,’ उनले भने ।

पछिल्ला महिनामा क्यानडा र अमेरिकाबीचको सम्बन्ध निकै बिग्रिएको छ । यहीबीच क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले युरोपेली संघसँगको सम्बन्ध थप सुदृढ बनाउने दिशामा पहल अघि बढाइरहेका छन् ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला फन डेर लेयेनले आफ्नो स्टेट अफ द युनियन सम्बोधनमा क्यानडाका लागि ‘ढोका खोल्ने’ दिशामा काम गर्न चाहेको बताएकी थिइन् । 

यसअन्तर्गत विभिन्न महत्त्वपूर्ण क्षेत्रमा क्यानडा र ईयूबीच थप निकट सम्बन्ध स्थापना गर्न सकिने उनको भनाइ थियो ।

उनले बुधबार अमेरिकाको प्रत्यक्ष नाम नलिई भनेकी थिइन्, ‘यो कसैको विरुद्धको साझेदारी होइन, बरु हाम्रो साझा शक्तिका लागि हो ।’

Share News