अमेरिकामाथि आक्रमण गर्न इरानले अमेरिकी एआई नै प्रयोग गरेको रिपोर्ट

काठमाडौं । अमेरिकाविरुद्धको युद्धमा इरानसँग सम्बन्धित एउटा समूहले अमेरिकी नौसेनालाई निशाना बनाउने प्रयासमा कृत्रिम बौद्धिकता (एआई) प्रयोग गरेको पाइएको छ ।

बीबीसी न्युजको अमेरिकी साझेदार सीबीएस न्युजले प्रकाशित गरेको विशेष रिपोर्टले यस्तो जानकारी दिएको हो ।

रिपोर्टअनुसार उक्त समूहले यसका लागि अमेरिकामै विकास गरिएको एआई प्रविधिको प्रयोग गरेको थियो ।

यो विवरण एआई कम्पनी एन्थ्रोपिकले गत साता सार्वजनिक गरेको रिपोर्टमा आधारित छ । 

एन्थ्रोपिकले उक्त समूहको पहिचान खुलाएको छैन । कम्पनीले भने त्यसलाई ‘खतरा उत्पन्न गर्ने संगठन’का रूपमा उल्लेख गरेको छ ।

एन्थ्रोपिकका अनुसार उक्त समूहले इन्टरनेटमा सार्वजनिक रूपमा उपलब्ध जानकारी संकलन गर्न, अमेरिकी नौसेनाको अवस्थिति पत्ता लगाउन तथा सम्भावित लक्ष्य पहिचान गर्न सुझाव लिन क्लाउडमा आधारित एआईको प्रयोग गरेको थियो।

कम्पनीले यस गतिविधिमा संलग्न एआई खाता बन्द गरिसकेको जनाएको छ । साथै सम्भावित खतरा रोक्न अमेरिकी सरकारलाई यससम्बन्धी जानकारी उपलब्ध गराइएको पनि एन्थ्रोपिकले बताएको छ ।

विशेषज्ञहरूले भने यस्ता घटना आगामी दिनमा अझ सामान्य हुन सक्ने बताएका छन् । उनीहरूका अनुसार अमेरिकाका विरोधीहरूले सैन्य अभियानलाई सहयोग पुर्याउन एआई प्रविधिको प्रयोगतर्फ ध्यान बढाइरहेका छन् ।

विशेषज्ञहरूका अनुसार एन्थ्रोपिकको निष्कर्षले इरानले आफ्नो रणनीतिक उद्देश्य पूरा गर्न प्रविधिको प्रयोग गर्दै आएको प्रवृत्तिसँग मेल खान्छ । यसमा अमेरिका र इजरायलसँगको इरानको संघर्ष पनि समावेश छ ।

Share News