प्रधानमन्त्री ओलीको पनि कोरोना परीक्षण
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षणको लागि स्वाब संकलन गरिएको छ। शुक्रबार मध्यान्ह १२ बजेतिर चिकित्सकको टोली गएर उनको थ्रोट स्वाब संकलन गरेका हुन्। बिहिबार संघीय संसदका सांसद र कर्मचारीको कोरोना परीक्षण गरिएको थियाे र उनीहरूको रिपोर्ट नेगेटिभ आएको छ भने आज परीक्षण गरिएकाको कोरोना रिपोर्ट आउन बाँकी छ। वैशाख २६ गते सुरु हुने संसद अधिवेशनमा सहभागी हुने सांसदले आफूलाई कोरोना संक्रमण नभएको रिपोर्ट देखाएपछि मात्र बैठकभित्र प्रवेश गर्न पाउने भएका हुन् । सभामुख अग्नि सापकोटाको अध्यक्षतामा बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले यस्ताे निर्णय गरेकाे हाे ।
राष्ट्रपति भण्डारी र सभामुख सापकोटाबीच भेट
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख अग्निप्रसाद सापकोटाबीच शुक्रबार भेट भएको छ । आजै अपरान्ह् ४ बजेदेखि सुरु हुन लागेको संघीय संसदको छैंठौं अधिवेशन, सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा राष्ट्रपति र सभामुखबीच छलफल भएको थियो । राष्ट्रपति कार्यालय शीतलनिवासमा छलफल भएको थियो । सभामुख सापकोटाले राष्ट्रपति भण्डारीलाई नोभल कोरोना भाइरस (कोभिड ९) का कारण उत्पन्न विषम परिस्थितिमा विश्व स्वास्थ्य संगठनले गरेको दिशानिर्देश अनुसार संसदका बैठक सञ्चालनको तयारी गरिएको जानकारी गराएका थिए ।
२ सय १२ जना सांसदकाे कोरोना रिपोर्ट नेगेटिभ
काठमाडौं । सङ्घीय संसद प्रतिनिधिसभा÷राष्ट्रियसभा)का सांसद तथा कर्मचारीको कोभिड–१९ को स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले बिहीबार परीक्षण गराएका सबै ४३४ को रिपोर्ट नेगेटिभ आएको जानकारी दिनुभयो । ती मध्ये २१२ सांसद र बाँकी संसद् सचिवालयका कर्मचारी थिए । उनीहरु सबैको संसद् भवन नयाँ बानेश्वरमा स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गरिएको थियो । आजदेखि सङ्घीय संसद्को बजेट अधिवेशन शुरु हुँदैछ । कोरोनोको जोखिम हुन नदिन सांसद र कर्मचारीको अनिवार्य पिसिआर परीक्षण गरिएको थियो । महाशाखा निर्देशक डा पाण्डेका अनुसार बिहीबार परीक्षण नभएका सांसदको आज पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । रासस
एक हप्तामा ५ जनामा डेङ्गु सङ्क्रण
गलेश्वर । हिमाली जिल्ला म्याग्दीमा डेङ्गु रोग नियन्त्रण गर्न ‘खोजी र नष्ट अभियान’ सञ्चालन गरिएको छ । बेनी नगरपालिकामा एक हप्ताको अवधिमा पाँच जनामा डेङ्गु पोजेटिभ भेटिएसँगै डेङ्गुरोग सार्ने लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियानलाई तीव्रता दिइएको हो । एडिस एजिप्टाइ जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रामक सरुवा रोग खोज्ने र नष्ट गर्ने कामसहित डेङ्गु नियन्त्रणको योजना बनाउन वडास्तरमा अभिमुखीकरणसहित टोलटोलमा जनचेतनामूलक कार्यक्रमसमेत शुुरू गरिएको छ । एक हप्तामै नगरपालिकाभित्र पाँच डेङ्गुका सङ्क्रमित भेटिएपछि बेनीबजारमा सवारी साधन मर्मत गर्ने ग्यारेजबाट टायर नष्ट गर्ने, वडास्तरीय कार्ययोजना बनाउन जनप्रतिपनिधिको अगुवाइमा टोल सुधार समितिसहितको भेला गरिएको बेनपा–७ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । लामखुट्टेको बासस्थान पहिचान र नष्ट गर्ने रणनीति बनाएर टोलटोलमा अभियान शुरू गरेको छ भने वडा नं ८ ले कार्ययोजना बनाएर सचेतनामूलक अभियानलाई तीव्रता दिएको वडाध्यक्ष रामकृष्ण बराइलीले बताए । सरोकारवालाका लागि अखिमुखीकरणका साथै डेङ्गु नियन्त्रणका लागि रणनीति तयार पारिएको उनकोे भनाइ छ । नगरभित्रका १० वटै वडामा कार्ययोजना, टोलटोलमा अभियानसँगै लामखुट्टेका बासस्थान हुने पानी जम्ने टायर, खाल्डाखुल्डी, झाडी पहिचान गरेर हटाउने जनाइएको छ । बजार क्षेत्रमा टोललाई सक्रिय बनाएर डेङ्गुको जोखिमस्थलको पहिचान गरी नष्ट गरिने र ग्रामीण क्षेत्रमा समेत सचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिने नगरप्रमुख हरिकुमार श्रेष्ठको भनाइ छ । बजार क्षेत्रमा नेपाल प्रहरी र नेपाली सेनाको सहयोगसमेत लिने जनाइएको छ । नगरपालिकाभित्रका वडामा स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्साल र नगरपालिका स्वास्थ्य शाखा संयोजक लीला गौतमले सहजीकरण गरेका छन् । डेङ्गु एक बिरामीबाट अर्को बिरामीमा समेत सजिलै सङ्क्रमण फैलिने भएकाले सतर्कता अपनाउनुपर्छ । डेङ्गुबाट जोगिन वनजङ्गलमा घाँस दाउरामा ल्याउन जाने, पशुचौपाया राख्ने गोठ आसपासका क्षेत्र, घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडीमा जाँदा शरीर ढाक्ने कपडा लगाउनेलगायतका सतर्कता आवश्यक रहेको बेनी अस्पतालका चिकित्सकको भनाइ छ । कोभिड–१९ विरुद्ध जारी लकडाउनको समयमा ग्रामीण भेगमा डेङ्गु भेटिएपछि जिल्लामा डेङ्गुको जोखिम बढेको स्वास्थ्यकर्मी बताउँछन् । लामखुट्टेको टोकाइबाट यो रोग सर्ने भएकाले आफ्नो घर वरिपरि पानी जम्न नदिइ सफा राख्न पनि नगरपालिकाले सबैसँग आग्रह गरेको छ । कोरोना भाइरसको जोखिम हुन नदिन जारी लकडाउनको अवस्थामा सामाजिक दूरी कायम राख्दै विशेषगरी बजार क्षेत्रमा रहेका ग्यारेज, पानी जमेका सडकका खाल्टाखुल्टीमा किटनाशक औषधि छर्कनाका साथै डेङ्गु रोगबारेमा जानकारी दिने उद्देश्यले बजारको सरसफाइसमेत गरिएको छ । डेङ्गु भाइरसद्वारा सङ्क्रमित ‘एडिज एजिप्टी’ र ‘एडिज एल्बोपिक्टस’ जातका पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्छ । रासस
कैलाश विकास बैंक प्राप्ती पश्चात प्राइम बैंककाे २ अर्ब बढी नाफा
काठमाडौं । कैलाश विकास बैंकलाई प्राप्ती (एक्विजिसन) गरेको प्राइम कर्मशियल बैंकले २ अर्ब ३ करोड रुपैयाँ बढी नाफा कमाएको छ । बैंकले प्रकाशित गरेको तेश्रो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीले चालु आवको चैत मसान्तसम्ममा सो मात्राको नाफा कमाएको हो । जुन गत आर्थिक वर्ष(आव) को तुलनामा ४८ करोड २७ लाख रुपैयाँ बढी हो । बैंकले गत आवको सो अवधिमा एक अर्ब ५४ करोड रुपैयाँ कमाएको थियो । बैंकले एक खर्ब १४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ११ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ । बैंकको निष्क्रिय कर्जा ०.९७ प्रतिशत, कष्ट अफ फण्ड ८.०३ प्रतिशत, सीडी रेसियो ७६.५५ प्रतिशत, आधार दर ९.८५ र स्प्रेडदर ४.६४ प्रतिशत रहेको छ । समिक्षा अवधिमा बैंकको खुद व्याज आम्दानी र सञ्चालन मुनाफा दुबैमा वृद्धि भएको छ । चालु आवको चैत मसान्तसम्ममा बैंकको खुद व्याज आम्दानी ३ अर्ब ३४ करोड रुपैयाँ रहेको छ । त्यस्तै, सञ्चालन मुनाफा २ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको वितरण योग्य नाफा ६४ करोड १२ लाख रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १९.३६ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १४४.६२ रुपैयाँ रहेको छ । हाल बैंकको चुक्ता पुँजी १३ अर्ब ९८ करोड रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा ५ अर्ब ४५ करोड र सेयरधनी कोषमा ७८ करोड ८४ लाख रुपैयाँ रहेको छ । प्राइम बैंकले कैलास विकास बैंकलाई प्राप्ती (एक्विजिशन) गरी आगामी फागुन २९ गतेदेखि एकीकृत कारोबार शुरु गरेकाे थियाे ।
यी हुन् लकडाउनमा पनि आजदेखि खुलेका क्षेत्र, बाँकी कहिले खुल्ला ?
काठमाडौं । सरकारले लकडाउनको समय जेठ ५ गतेसम्म थपे पनि लकडाउन खुकुलो बनाउने भएको छ । लकडाउनको समयमा नै विभिन्न किसिमका उद्योगहरु सञ्चालन गर्न दिन सरकारले निर्णय गरेसगँै उद्योगहरु खुल्न थालेका छन् । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लगभग सबै प्रकारका उद्योग खोल्ने, विकास निर्माणका आयोजनाको काम थाल्ने, निर्माण सामग्रीको ढुवानी गर्न दिने लगायत निर्णय भएको थियो । कडाउनमा शुक्रबारदेखि के सञ्चालन गर्न मिल्छ र के मिल्दैन भन्ने निर्णयको सूची सार्वजनिक भएको छ । आजदेखि ४४ प्रकारका उद्योग सञ्चालनमा ल्याउने सरकारको निर्णय १) खाद्यान्न उत्पादन वा प्रशोधनगर्ने उद्योगहरु २) दुध तथा दुग्धप दार्थ उत्पादन उद्योग ३) औषधि, सर्जिकल उत्पादन, स्वास्थ्य उपकरण तथा सामग्री उत्पादन गर्ने उद्योगहरु ४) खाने पानी उत्पादन गर्ने उद्योगहरु ५) इँटा उद्योग ६) पशुपंक्षी तथा माछाको दाना र आहारा उत्पादन गर्ने उद्योग ७) खाने तेल तथा घ्यू उद्योग ८) चिनी उद्योग ९) चिया प्रशोधन उद्योग १०) एलपीजी ग्याँस उद्योग ११) प्याकेजिङ्ग सामग्री उत्पादन गर्ने उद्योग १२) कफि उद्योग १३) पाउरोटी, बिस्कुट र कन्फेक्सनरी उद्योग १४) नूडल्स तथा तयारी चाउचाउ उद्योग १५) मसला उद्योग १६) अलैंची र अदुवा प्रशोधन उद्योग १७) कुखुरापालन, बाख्रापालन, बंगुरपालन, गाईवस्तु पालन उद्योग १८) धान चामल र चिउरा उद्योग १९) दाल उद्योग २०) पशु औषधी र किटनासक औषधी सम्बन्धी उद्योग २१) खानी तथा खनिजजन्य उद्योग २२) बालुवा प्रशोधन तथा क्रसर उद्योग २३) सिमेण्ट उद्योग २४) आइरन तथा स्टिलउद्योग २५) पेन्टिङ्गस (रंगरोगन) उद्योग २६) जीआइ र प्लास्टिकपाईप र फिटिंग्स उद्योग २७) बिजुलीका केबल तथा विद्युत्त सामग्रीहरु उत्पादन गर्ने उद्योग २८) जुुस तथा हल्का पेयपदार्थ उद्योग २९) प्लाइउड र भेनिर उद्योग ३०) विद्युत उत्पादन, विद्युत्त सामग्री, ट्रान्सफरमर तथा प्रशारणसँग सम्बन्धीत उद्योगहरु ३१) जस्ता पाता उद्योग ३२) हेभी मेशीनरी औजार मर्मत संभार ३३) खनिजजन्य उद्योग र खानीहरु (लाइमस्टोन, खरि, डोलोमाइट, रेडक्ले, फलाम लगायत) ३४) समिल र काष्ठ उद्योग ३५) आल्मुनियम उद्योग ३६) ग्रील उद्योग ३७) फोहोर मैला संकलन तथा प्रशोधन उद्योग ३८) ढुवानी तथा कार्गो सेवा उद्योग ३९) मेसिन पार्टपूर्जा वर्कसप उद्योग ४०) मोटर ग्यारेज वर्कसप उद्योग ४१) छापाखाना तथा प्रेस सम्बन्धी उद्योग ४२) सबै खाले वस्तु उत्पादन गर्ने लघु तथा घरेलु उद्योग ४३) विशेष आर्थिक क्षेत्रमा सञ्चालित सबैखाले उद्योग ४४) औद्योगिक क्षेत्रभित्र रहेका सबैखाले उद्योग नखुल्ने उद्योग व्यवसाय १) शैक्षिक संस्थाः विश्वविद्यालय, क्याम्पस, विद्यालय, प्रशिक्षण केन्द्र । २) गैर–खाद्य वस्तु बिक्री गर्ने व्यवसायिक मल, स्टोर, पसल । ३) सार्वजनिक जमघटः सिनेमा हल, फनपार्क, पार्टी प्यालेस । ४) धार्मिक स्थलः मन्दिर, मस्जिद, गुम्बा । ५) खेलकुदः मैदान, फूटसल, जीमखाना । ६) होटल, बार, रेष्टुरेन्ट, शैलुन, ब्युटीपार्लर, चमेना गृह । ७) अनुमति पाएका वाहेकका यात्रुवाहक सवारी साधन । ८) बाहिर हिंडडुल गर्न नपाइनेः १२ वर्ष मुनिका, ७० वर्ष नाघेका, अशक्त व्यक्ति, गर्भवती महिला वाहेककाले । ९) आन्तरिक तथा बाह्य हवाई सेवा । १०) केबल कार ।
प्रदेश १ मा थप ८ जना कोरोनाभाइरस सङक्रमित निको भए
काठमाडाै । प्रदेश १ मा थप ८ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । कोशी अस्पताल उपचाररत उनीहरुलाई शुक्रबार बिहान डिस्चार्ज गरिएको छ । दोस्रो पटक आरटी पिसिआर गर्दा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । बुधबार मात्रै ६ जना कोरोनालाई पराजित गर्दै डिस्चार्ज भएका थिए । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा अब १७ जना कोरोना संक्रमित रहेका छन् । उनीहरु सबैको अवस्था सामान्य रहेको छ । प्रदेश १ मा जम्मा कोरोना संक्रमितको संख्या ३१ थियो । हालसम्म नेपालमा १ सय १ जनामा काेराेनाका बिरामी छन् ।
कोरोना परीक्षणका लागि २ सय ७५ सांसदको स्वाब संकलन
काठमाडाै । संघीय संसदका २ सय ७५ सांसदहरुको कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको छ। बिहीबार र शुक्रबार गरी दुई दिनमा त्यति सांसदहरुकाे पिसिआर परीक्षणका थ्रोट स्वाब संकलन गरिएको बताइएकाे छ । बिहीबार २ सय १२ सांसदहरुको स्वाब संकलन गरिएको थियो भने शुक्रवार थप ६३ सांसदहरुकोे स्वाब संकलन गरिएको थियाे। प्रतिनिधि सभातर्फ २३२ र राष्ट्रिय सभातर्फ ४३ जनाको स्वाब संकलन गरिएको हाे। संघीय संसदका सांसदसहित कर्मचारी, मर्यादापालक र सुरक्षाकर्मी गरी बिहीबार ४ सय ४१ र शक्रबार २ सय ५१ जना गरी जम्मा ६ सय ९२ जनाको स्वाब संकलन गरिएको छ। कोरोना परीक्षणका लागि स्वाब संकलन गर्न ५४ सांसद बाँकी रहेको संसद सचिवालयले जनाएको छ ।