आजदेखि बजेट अधिवेशन सुरू हुँदै, सासंद एकान्तवास बस्नु पर्ने
काठमाडौं । आजदेखि संसदको वर्षे अधिवेशन (बजेट अधिवेशन) सुरु हुँदैछ । बैठक अपराह्न ४ बजेका लागि बोलाइएको छ । संयुक्त रुपमा बस्ने प्रतिनिधसभा र प्रदेशसभाको बैठकका लागि सामाजिक दुरी कायम गरी आसनको व्यवस्था गरिएको छ । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी सचिवालयले सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । बिहीबार नै सांसदहरुको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । सांसदहरुले कोरोना नभएको रिपोर्ट देखाएर मात्रै संसदमा प्रवेश पाउनेछन् । तर, परीक्षणको रिपोर्ट भने आइसकेको छैन । कोरोनाकै जोखिमका कारण जनप्रतिनिधिहरु, कर्मचारी र पत्रकारहरुलाई कोरोना संक्रमण भए(नभएको यकिन गरेर मात्र संसद भवनमा प्रवेश गर्न पाउने बताइएको छ । काेभिड—१९ को संक्रमण जोखिमका बीच शुक्रबार सुरु हुने संसद्को बजेट (वर्षे) अधिवेशन अघिल्ला बजेट अधिवेशनजस्तो सामान्य अवस्थामा छैन । संक्रमण रोकथाम र नियन्त्रणका लागि अपनाइएको लकडाउनले अर्थतन्त्र प्रभावित छ । काेराेना संक्रमण रोकथाम र नियन्त्रणका लागि अपनाइएको लकडाउनले अर्थतन्त्र प्रभावित छ । बजेटको क्षेत्र, निर्धारण गर्नुपर्ने लक्ष्य र प्राथमिकतामा धेरै बदलाव ल्याएको छ । यस्तै, आगामी जेठ ४ गते प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । आगामी जेठ १३ गते आर्थिक वर्ष २०७६/७७ को आर्थिक सर्वेक्षण पेश गर्ने सम्भावित कार्यतालिका छ । यसैगरी जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डा.युवराज खतिवडाले राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ । राष्ट्रपतिले यही वैशाख २१ गते प्रधानमन्त्रीको सिफारिसमा सङ्घीय संसद्को छैटौँ अधिवेशन शुक्रबारका लागि आह्वान गरेका थिए । यस्तो छ सांसदहरुलाई आचारसंहिता कोरोनाको सक्रमण हुने त्रासलाई मध्यनजर गरेर सङ्घीय संसद् सचिवालयले सोही अनुसारको व्यवस्था गरेको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिले स्वास्थ्य सुरक्षाका लागि विभिन्न मापदण्ड तयार पारेको छ । विश्व स्वास्थ्य सङ्गठनले तोकेका सबै मापदण्डलाई पालना गर्दै एक मिटरको दूरी कायम गरेर दुई सिट छाडेर बस्ने व्यवस्था मिलाउने निर्णय गरिएको छ । राष्ट्रियसभा बैठक कक्षमा अधिवेशन अवधिभर सांसद एउटै सिटमा बस्ने, प्रधानमन्त्री, मन्त्री तथा राष्ट्रियसभा दलको नेताबाहेक अन्य सदस्यले आम रुपमा रोष्टम प्रयोग नगर्ने र आफू बसेको सिटमा रहेको माइकको प्रयोग गर्नुपर्ने छ । संसद् भवनमा प्रवेश गर्दा र फर्कदा फरक ढोकाको प्रयोग गर्ने, क्यान्टिन र सभाहल बाहिर पनि अनावश्यक भीड नगर्ने तथा दूरी कायम गर्ने, संसद् भवनलाई बैठक अगाडि स्यानिटाइज तथा अन्य सरसफाइमा विशेष ध्यान दिने, दर्शक दिर्घामा कसैलाई पनि प्रवेश गर्न नदिइने, सञ्चारकर्मीलाई आम रुपमा सचिवालयले फोटो उपलब्ध गराउने तथा फोटो खिच्न भीड नहुने गरी व्यवस्थापन गर्ने निर्णय गरेको छ । स्वास्थ्य सेवा विभागको विज्ञ टोलीले रोग सङ्क्रमणको सम्भावित जोखिम रोकथाम गर्नेगरी संसद् भवनको स्थलगत अनुगमनपश्चात तयार पारेको सुझाव प्रतिवेदनका आधारमा उक्त आचारसंहिता तयार पारेको हो । अनुगमन टोलीमा स्वास्थ्य सेवा विभागका वरिष्ठ मेडिकल सुपरिटेण्डेन्ट डा.अमृत पोख्रेल, नर्सिङ अधिकृत यसोदा बराल र वरिष्ठ जनस्वास्थ्य अधिकृत हरिहर शर्मा रहेका थिए । अनुगमन टोलीले बैठक कक्ष प्रवेश गर्दा अनिवार्य रुपमा साबुन पानीले हात धुनुपर्ने, मेडिकल मास्कको प्रयोग बैठक अवधिभर सबैले अनिवार्य रुपमा गर्नुपर्नेछ, बैठक समयमा भौतिक दूरीको पालना गरी तोकिएको कुर्सीमा मात्र बस्नुपर्ने, सकेसम्म समूहगत छलफलन नगर्ने, यदि गर्नै परेको अवस्थामा भौतिक दूरीको अनिवार्य पालना गर्नुपनेलगायतको सुझाव दिएको छ । यस्तै बैठक अवधिभर घरमा गई स्वयम् एकान्तवासको नियम सांसदहरुले अनिवार्य पालना गर्नुपर्ने व्यवस्था गरिएको छ ।
तातोपानीबाट आवतजावत हुने सवारीको निर्मलीकरण शुरु
काठमाडौं । कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई न्यूनीकरण गर्न नेपाल रेडक्रस सोसाइटीले तातोपानी नाका हुँदै नेपालमा आवतजावत हुने सवारी साधनको निर्मलीकरण शुरु गरेको छ । कोरोना भाइरस विश्वभर फैलिएपछि तातोपानी नाका केही समययता खुलेपछि स्थानीयवासी त्रासमा थिए । जिल्ला सङ्कट व्यस्थापन समिति सिन्धुपाल्चोकको निर्णय र स्थानीय निकायसँगको समन्वयमा रेडक्रसले यो कार्यक्रमको शुरुवात गरेको हो । भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठले सवारी साधनको निर्मलीकरणको शुरुआत गर्दै रेडक्रसका गतिविधिमा स्थानीय निकाय सधैं समन्वय गर्न तयार भएको र मानवरक्षाका लागि रेडक्रसले सबै निकायसँग समन्वय गरी प्रभावकारी भूमिका निर्वाह गर्नपर्ने बताए । नाकामा आवतजावत हुने सवारी साधनको निर्मलीकरणलगायत सङ्क्रमणको रोकथामका गतिविधि सञ्चालन गर्नेसम्बन्धी तातोपानीमा बिहीबार भएको बैठकमा नाका संवेदनशील हुने र स्थानीय निकायले सङ्क्रमण सुरक्षा नीतिलाई व्यवहारमा कार्यान्वय गर्न समन्वयकारी भूमिका निर्वाह गरिने भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बताए । कोरोना भाइरसको प्रकृतिअनुसार सवारी साधनमार्फत समुदायसम्म सङ्क्रमण फैलन नदिन सबै निकाय सजग हुनपर्ने हुँदा सवारी साधन तथा चालक र सहचालकले अपनाउनुपर्ने सुरक्षा नीति पूर्णपालना गर्न÷गराउन उक्त बैठकले सरोकारवाला निकायमा अनुरोध गरेको छ । सुरक्षा नीति पूर्णपालना गर्न गराउन भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष श्रेष्ठको संयोजकत्वमा सुरक्षा निकाय, रेडक्रसकर्मी, स्थानीय क्लब र समाजसेवी रहेको समन्वय समिति निर्माण गरिएको छ । मानवरक्षाका लागि समुदायमा सञ्चालन गरिने हरेक गतिविधिमा नेपाल सरकारसँगको समन्वयमा नेपाल रेडक्रसले सहयोगी भूमिका निर्वाह गर्दै आएको जिल्ला शाखाका सभापति राजेन्द्रमान ताल्चाभडेलले बताउनुभयो । सोसाइटीका मन्त्री कमलचरण कक्षपतिले सहजीकरण गरिएको छलफलमा पालिका प्रमुखलगायत स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय, स्थानीय क्लब तथा रेडक्रस स्वयंसेवीको भूमिका निर्वाह गर्नुपर्ने बताए । रासस
हावाहुरीले रेडियो तथा टेलिभिजन टावरमा क्षति
काठमाडौं । वर्षातसँगै आएको हावाहुरीले सुर्खेतको हर्रेस्थित रेडियो नेपाल र नेपाल टेलिभिजनको टावरमा क्षति पुगेको छ । हुरीले रेडियो नेपालको एफएफ रिलेस्टेशन र टेलिभिजन दुवैको टावर भाँचेको हर्रेस्थित एफएम रिलेस्टेशनमा कार्यरत प्राविधिक मोहन केसीले राससलाई जानकारी दिए । “जोडले चलेको हुरीबतासले रेडियो र टेलिभिजन दुवैको टावर ढलेर एन्टेना भाँचिएको छ”, प्राविधिक केसीले भने, “कार्यालय भवनकै छतमा टावर ढल्दा भवनमा समेत क्षति पुगेको छ ।” त्यसबाट कुनै मानवीय क्षति भने नभएको उनले जनाए । रेडियो एन्टेना भाँच्चिएपछि फ्रिक्वेन्सी मोडुलेसन १०० मेगाहर्जको प्रसारण अवरुद्ध भएको रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्रका प्रमुख जानकीशरण साहले जानकारी दिए । उनका अनुसार यो रिलेस्टेशन प्रसारण सेवाबाट बाँके, बर्दिया, सल्यान, जाजरकोट र सुर्खेत प्रभावित भएका छन् । “बन्दाबन्दीका कारण क्षतिग्रस्त ठाउँमा पुग्न सकिएको छैन”, केन्द्र प्रमुख साहले भने, “जिल्ला प्रशासन कार्यालय सुर्खेतबाट सवारी अनुमति लिएर आज इलाका प्रहरी कार्यालय छिन्चुको सुर्खेतको सहयोगमा क्षति यकिन गरिने छ ।” हुरीबतासले क्षतिग्रस्त टावर बनाउन केही समय लाग्ने भए पनि सेवाग्रहीका लागि हाललाई मिडिएम वेभ ५७६ किलो हर्ज सुर्खेतबाट प्रसारण सेवा नियमित भइरहेको बताए । रासस
कोभिड–१९ : लकडाउनले गोदाममै थन्कियो अदुवा
डोटी । कोरोना भाइरस रोकथाम तथा निण्न्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण जिल्लाका विभिन्न ठाउँमा सङ्कलन गरिएको अदुवा जिल्ला बाहिर निकासी हुनसकेको छैन । लामो समयदेखि लकडाउन भएका कारण सङ्कलित अदुवा गोदाममै थन्किएको अदुवा व्यापारीले गुनासो गरेका छन् । कोरोना भाइरसको कहरका कारण अदुवा भारत निकासी गर्न समस्या भएपछि करोडौं मूल्यको अदुवा जिल्लाको बडिकेदार गाउँपालिका बिपीनगरको गोदाममा राखिएको व्यापारीको भनाइ छ । व्यापारीका अनुसार गाउँघरका किसानबाट सङ्कलन गरिएको अदुवा निकासी, पैठारीमा बन्द भएपछि गोदाममै थन्किएको हो । व्यापारीले किसानबाट फागुनसम्म अदुवा सङ्कलन गरी चैत महिनादेखि भारतका विभिन्न ठाउँमा निकासी गर्दै आए पनि लकडाउनका कारण निकासी गर्न नसक्दा गोदाममै थन्किएको बडिकेदार गाउँपालिका–१ का अदुवा व्यापारी खड्कबहादुर खत्रीले बताए । उनले भने, “सङ्कलित अदुवा हामीले चैतदेखि जेठसम्म जिल्ला बाहिर निकासी गर्दै आएका थियौँ । लकडाउनले निकासी गर्न नसक्दा गोदाममै थन्कियो । धेरै दिन थन्किए कुहिने डर छ ।” व्यापारीले त्यहाँका गाउँ–गाउँबाट सङ्कलित अदुवा महिनौँदेखि गोदाममै छन् । अदुवा निकासी ठप्प भएपछि जिल्लाबाट अदुवा लैजान नपाएको अदुवा सङ्कलन गर्ने भारतीय व्यापारी राम गुप्ताले बताए । उनले भने, “लाखौँ रकम हालेर अदुवा सङ्कलन गरियो । निकासी गर्नेबेला लकडाउन भएपछि गोदाममै थन्क्याउनु प¥यो । निकै घाटा भएको छ ।” धेरै दिन त्यत्तिकै अदुवा गोदाममा थन्क्याए बिग्रने भएकाले अदुवा व्यापारीलाई चिन्ताले सताउनुका साथै लगानी डुब्ने डरले पिरोलिएको छ । बारीबाट खनेर अदुवा निकालेपछि धेरै दिन गोदाममा राख्दा तौल पनि घट्ने र कुहिएर जाने भएकाले व्यापारीलाई चिन्ता थपिएको बिपीनगरका स्थानीय रोजबहादुर कलेलले बताए । उनले भने, “अदुवा धेरै समय खुला ठाउँ तथा गोदाममा भण्डारण गरेर राख्दा करिब १० प्रतिशत तौल कम हुने गर्छ, समयमै व्यवस्थापन गर्न नसकिए यो वर्ष अदुवा व्यापारीलाई निकै घाटा हुने छ ।” यतिमात्र नभइ भण्डारणका लागि उपयुक्त स्थान नहुँदा किसानबाट किनेको अदुवा व्यापारीले खुल्ला सडकपेटीमा थुपारेका कारण दैनिक अदुवाको तौल घटिरहेको व्यापारीको गुनासो छ । त्यस्तै बजार क्षेत्रमा खुलारूपमा अदुवा राख्नु पर्दा चोरी हुने गरेको उनीहरुको भनाइ छ । बिपीनगरमा थुपारिएको करोडौंको अदुवाबाट दैनिक दुई–चार केजीभन्दा बढी अदुवा नास भएर गइरहेको स्थानीय लक्षमणबहादुर मगरले बताए । उनले भने, “बजारमा खुलारूपमा अदुवा राखिएको छ, कतिपय छाडा चौपायाले खाएर नोक्सानी गरेका छन् भने कतिपय चोरी हुन थालेको छ ।” जिल्ला कृषि ज्ञान केन्द्र डोटीका अनुसार गत वर्ष जिल्लामा २ सय ४० हेक्टर क्षेत्रफलमा लगाइएको अदुवा खेतीबाट दुई हजार ५ सय मेट्रिकटन अदुवा उत्पादन भएको थियो । यहाँ उत्पादित अदुवाको मुख्य बजार भारत हो । अदुवा किसानका मागलाई बिगतदेखि सरकारले उचित सम्बोधन गर्न नसकेका कारण अदुवा खेतीप्रति किसान निरास हुनुपरेको अदुवा व्यवसायीको भनाइ छ । रासस
प्रदेश २: कोरोना नियन्त्रणका लागि २ अर्ब रूपैयाँ
धनुषा । प्रदेश नं २ सरकारले कोरोना रोकथाम नियन्त्रण तथा उपचारका लागि दुई अर्ब रुपैयाँ खर्च गर्ने भएको छ । कोरोना रोकथाम नियन्त्रण तथा उपचारका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले दुई अर्ब रुपैयाँ रकम निकासा गरेको हो । चालू आर्थिक वर्ष २०७६,७७ मा प्रदेश सरकारले ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसबाट कोरोना रोकथाम तथा नियन्त्रण प्रयोजनका लागि दुई अर्ब रुपैयाँ निकासा भएको र सो रकम खर्च भइरहेको आर्थिक मामिलामा तथा योजना मन्त्रालयका सचिव प्रेमकुमार श्रेष्ठले जानकारी दिए । सचिव श्रेष्ठका अनुसार कोरोना रोकथाम तथा नियन्त्रणमा खर्च गर्न सामाजिक विकास मन्त्रालयअन्तर्गत ८६ करोड र आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई १० करोड ४५ लाख रुपैयाँ पठाइएको छ । यस्तै लकडाउन प्रभावितलाई राहत बाँड्न उद्योग, पर्यटन तथा वन मन्त्रालयलाई ३३ करोड ७० लाख रुपैयाँ र भूमि व्यवस्था तथा कृषि मन्त्रालयलाई ३६ करोड रुपैयाँ निकासा गरिएको छ । त्यसैगरी भौतिक पूर्वाधार विकास मन्त्रालयलाई एक करोड रुपैयाँ तथा भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको चार वटा डिभिजनलाई २५–२५ लाख रुपैयाँका दरले पैसा पठाइएको सचिव श्रेष्ठले बताए । यसबाहेक प्रदेश सरकारले स्थापना गरेको कोभिड–१९ कोषमा रु २५ करोड आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । कोभिड कोषबाट धनुषाको नगराइन नगरपालिकाको गङ्गुलीस्थित क्वारेन्टाइन मर्मतसम्भारका लागि नेपाली सेनालाई ५० लाख रुपैयाँ प्रदेश सरकारले उपलब्ध गराएको छ । यसैगरी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताललाई औषधि, उपकरण र क्षमता अभिवृद्धिका लागि कोषबाट १० लाख दिइएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव श्रेष्ठले बताए । कोरोना रोकथाम, नियन्त्रण, उपचार काममा खटिने स्वास्थ्यकर्मी, कर्मचारी, सवारी चालक, पत्रकारलगायत व्यक्तिहरुका ज्यान गएमा ५० लाख क्षतिपूर्ति दिने निर्णय प्रदेश सरकारले गरिसकेको छ । सचिव श्रेष्ठले आर्थिक मामिला तथा योजना मन्त्रालयले रकम निकास गरे पनि हालसम्म खर्च भएको विवरण आइनसकेको बताए । “कोरोना महामारीका लागि रकम निकासा गरिएको हो, काम भइरहेको छ । चालू आर्थिक वर्षको बजेटबाट रकम निकासा भएकाले जेठ मसान्तसम्म खर्च भएको रकमबाहेक सबै सरकारी कोषमा फिर्ता आउँछ”, श्रेष्ठले भने । कोरोना सङ्क्रमणको जोखिमका हिसाबले प्रदेश नं २ लाई सबैभन्दा बढी संवेदनशील मानिएको छ । भारतसँगको खुला सीमा र वैदेशिक रोजगारमा जानेहरुको सङ्ख्या प्रदेश नं २ बाटै बढी भएकाले यस प्रदेशलाई उच्च जोखिमका रूपमा हेरिएको हो । रासस
कोरोना संक्रमणः यस्तो छ आज विहानसम्मको ताजा अवस्था
काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ३९ लाख १३ हजार २ सय ५६ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख ७० हजार ४ सय १३ जनाको मृत्यु भइसकेको छ भने १३ लाख ४० हजार ६ सय ५२ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ७६ हजार ९ सय १८ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १२ लाख ९२ हजार २ सय ९३ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ५६ हजार ३ सय ५१ पुगेको छ भने अहिलेसम्म १ हजार ८ सय ८९ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म १ सय १ जना संक्रमित भएका छन् भने २२ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार : वल्डोमिटर)
विपद्, प्रकृति र संस्कृतिको अकंगणित
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको माहामारिले विश्व मानव जातिकै अस्तित्व संकटमा पर्दै गहिरहेको आभाष भइरहदा हाम्रो विगत, कोरोनाको सुरुवात र त्यसको फैलाबट तथा मानवको जीवन जिउने संस्कार र अबको गन्तव्य बीचको अन्तर सम्बन्धको विवेचना गर्नु आवश्यक देखिन्छ । कोरोनाको सुरुवात र फैलावट विगतका केही दिनहरुमा कोरोनाले लिएको स्वरुपको चर्चा गर्नु भन्दा पहिले त्यसको उत्पति र विस्तारका बारेमा उव्जिएका केहि मिथकका बारेमा चर्चा गराैं । चीनको हुवाइ प्रान्तको वुहान सहरबाट सुरू भएको मानिने कोभिड–१९ को सङक्रमण संक्रमितको संर्पग तथा उसले विर्सजन गरेका निस्कासनका पर्दार्थको माध्यमबाट एकबाट अर्को व्यत्ति हुदै विश्बव्यापि संकटको रुप लिइसकेको छ । आजको दिनसम्म यसको वैज्ञानिक रोकथामको औषधि पत्ता नलागिसकेको हुदा विज्ञानले औषधिको आविश्कार नस्कुन्जेलका लागि प्राकृतिक सुरक्षाका उपाय अपनाउनुनै सबैभन्दा बढि वुद्धिमानि होला । यसका लागि बारम्बार सावुन पानीले हात धुने, हात धुन नमिल्ने अवस्थामा गुणस्तरीय स्यानिट्याइजरको प्रयोग गर्ने र अत्यावश्यक अवस्थामा भन्दा बाहेक घरबाहिर ननिस्कने र निस्कनै परेमा सामाजिक दुरि कायम गर्नुपर्नेछ। सुरक्षाका उपाय र प्रकृति आजको दिन सम्म संक्रमित व्यक्तिको सम्पर्क भन्दा टाढा रहनुनै कोभिड–१९ को संक्रमणबाट बच्ने एक मात्र र बिकल्प बिहिन उपायको रुपमा देखिन्छ । यसका लागि संक्रमितको उचित व्वस्थापन गर्ने र थप संक्रमण फैलन नदिनुनै र्निविकल्प उपाय हुन आउछ । व्यत्तिगत रुपमा सरसफाइ र विषाणुको निर्मलिकरणमा जोड दिनु आवश्यक छ, जुन कार्यमा हाल विश्वका जुनसुकै सरकार पनि आफ्नो सम्पूर्ण शक्ति लगाएर लागिरहेको देखिन्छ । अब हामी आम नागरिकले पनि सरकारको त्यो कदममा हातमा हात र काधमा काध मिलाएर सहयोग गर्नु आवश्यक छ । यसका लागि हामी सबैले “कोरोना ल्याउदैनौ र कोरोना बाडदैनौ” भन्ने संकल्प गर्नु र उक्त संकल्पको पूर्ण पालना गर्नु आवश्यक छ । संस्कृति र विचलन लेखक कोभिड १९ को संक्रमड बढेसगै हाम्रो संस्कृति र त्यसमा आएको वीचलनलाई फर्केर हेर्दा, घर अगाडि रोपिने तुलसी अब कि त रोपिदैन, रोपिहाले पनि घरका छानामा पुराना फलामका वा प्लाष्टिकका भाडामा रोपिन थालेका छन् । बाटो विस्तार र विकासका नाममा चौताराका वर पिपलहरु पहिलो सिकार भए । सर्वसाधारणको त कुरा छोडौ शिक्षित भनिएका र निर्वाचित भएको हुँ भन्नेहरुले पनि स्वस्छताका ती धरोहरहरु न त संरक्षण गर्न सके, नत मासिएका ती धरोहरको विकल्प दिन सके । खानपिनको कुरा सम्झदा त झन उदेक लाग्दो स्थिति छ । कोदो, फापर र कागुनो त काहाँ गयो गयो, यहाँ चामल समेत धानको नभइ पलास्टिकको बन्न थाल्यो, दुध दहिको महत्व कम भइरहदा रक्सी भने नयाँ ब्रान्डमा विश्वभरी आयात, निर्यात हुदैछ । त्यस्तै आधुनिकताका नाममा ठेकी, ढुङ्रा र हर्पेलाई प्लास्टिकका जग, मग र सिसाका भाडाले पूर्ण रुपमा विस्तापित गरिसके । त्यतिमात्र काहा होर सुइले बढाउने सागसब्जिले नपुगेर होकि तिर्सना नमेटिएर हो, आजको मानिष चमेरो र सर्पको मिश्रित सुप खोज्न थालेको छ । अर्कोतर्फ आधुनिकताका नाममा र सीमितताका बाहानामा हाम्रा घरहरु एक आपसमा छाना र ढोका जोडिएर बन्न थालेका छन् । खुला जमिनको त कुरै नगरौ अलिकति खालि भएका घर आगन र सडक पनि सरसफाइका नाममा जम्मै ढलान गरिएका छन् कि त टायल बिच्छाइएका छन् । फलस्वरुप आजको मानिसका लागि माटोको सुगन्ध र स्वस्छता भनेको कस्तुरीको वीणा जस्तो दुर्लभ बन्दै गैरहेको आभाष हुन्छ । कोरोना र त्यसको असर विश्वव्यापी माहामारिको रुप लिइसकेको कोरोना माहामारीले विकास र जनजीवनका हरेक जसो क्षेत्रमा नकरात्मक असर परेको देखिन्छ । उद्याेग धन्दा पूर्णरुपमा बन्द गरिएका छन् भने पर्यटन क्षेत्रले अर्थतन्त्रमा कहीलेसम्म आफ्नो उपस्थिति देखाउन नस्कने हो भन्ने कुरा अझसम्म अन्योलको विषय वनेको छ । पर्यटन क्षेत्र विश्व भरिनै पहिलो पटक एकैपटक संकटमा परेको छ । विदेशमा फैलिएको कोरोनाको व्यापकताले वैदेशिक रोजगारी खुम्चिन गइ रेमिट्यान्समा कमि आएको मात्र होइन, विदेशीएका सदस्यको पिरले स्वदेशमा रहेका परिवारका सदस्यलाई रातको निन्द्रा र दिनको भोकहराएको छ जसले गर्दा परिवारका सदस्यहरुमा मानसिक चिन्ता समेत थपिएको छ । व्यापार ठप्प हुँदा एकातिर किसानको उत्पादन कुहिदै छ भने अर्कोतिर दैनिक उपभोग्य कृषि जन्य सामाग्रीको मूल्य दिन दुई गुणा र रात चौगुना बढेको छ । त्यस्तै आयतमा निर्भर हुनुपर्ने दैनिक उपभोग्य सामाग्रीको अभाव हुन थालेको छ । अभाव र असहजताको मौका छोपी कालो बजारी र तस्करी गर्नेहरु सलबलाउन थालेका छन् । शिक्षा र सामाजिक विकासका कार्यहरु पूर्ण ठप्प भएका छन् । यसरी समग्रमा विकास र अग्रगमनको बाटो समाउन खोज्दै गर्दा विश्वव्यापी माहामारिको रुप लिइ रहेको कोरोनाका कारण आजको दिनमा विकास, विस्तार र प्रगति ठप्प हुन पुगेको छ । आजको मानवलाई अहिलेको समयमा जीवन रक्षानै एक मात्र विकल्प विहिन उद्देश्य बनेको प्रतित हुदैछ । यी तमाम नकरात्मक पाटाहरुका माझमा कोरोनाको माहामारिले केही झिना मसिना सकरात्मक बाटाहरु पनि देखाएको छ । उद्याेग धन्दा पूर्ण रुपमा वन्द हुदा वायुप्रदुषणको मात्रामा दसकौ यताकै कमी महसुस भएको छ । गाउँघरमा अल्पकालीननै भएपनि चहलपहल बढेको छ । आयातमा पूर्ण भर परि कृषिमा नलाग्दा सिर्जना हुनसक्ने जोखिमका बारेमा सर्बसाधारणदेखि नीति निर्माता सम्मलाई एकचोटी गहिरिएर सोच्न बाध्य बनाएको छ । त्यस्तै वायुमण्डलीय तुवालो हटेको छ, वातावरणले विश्रान्तिको अनुभव गर्न पाएको छ र मानिषले वातावरणीय स्वस्चताको अनुभूती गर्न पाएको छ । चरा चुरुङगी तथा पसुपक्षीहरुले केही दिनलाई भनेपनि स्वस्छ विचरण गर्न पाएका छन् र समग्रमा वातावरणीय सन्तुलन कायम हुनलाई ठूलो सहयोग पुगेको छ । नेपालको मौजुदा अवस्था र व्यवस्थामा कोरोना कोरोना कहरले पिरोलीरहेको वर्तमान समयमा नेपालले त्यसको रोकथामका लागि चालिरहेको कदमको कुरा गर्दा नेपालले गरेको लकडाउन र अन्तराष्ट्रिय उडानमा लगाएको प्रतिवन्धलाई सकरात्मक मान्नु पर्दछ । त्यस्तै, विपतको यस घडिमा स्थानीय तहहरुले विपत नियन्त्रणमा देखाएको तदारुकताले विपत नियन्त्रणमा केही हदसम्म राहत मिलेको अनुभुति गराएको छ । त्यस्तै अर्कोतर्फ विपद् व्यवस्थापनका क्रममा राहत वितरण र संक्रमितको हुन सक्नेहरुको पहिचानमा वडा स्तरका राजनीतिक तथा प्रशासनिक संरचनाको भूमिका, व्यवस्थापनमा पालिकाहरुले देखाएको तदारुकता र नियन्त्रणका लागि प्रदेशहरुले देखाएको चासो र लगाव र समग्रमा केन्द्रको भूमिका एक दुइ प्रतिनिधि घटनालाई अपवाद मान्ने हो भने प्रसंसा गर्न लायकका छन् । ती एकाध घटना पनि नघटिदिएको भए विपद् व्यवस्थापनको कार्यमा सुनमा सुगन्ध हुने थियो । अबको बाटो र प्रकृति समय क्रममा सिर्जना हुने यी खालका विपद् व्यवस्थापनका लागि व्यक्तिगत भूमिकाको चर्चा गर्दा घर बनाउदा ठूलो कम्पाउन्ड वाल लगाउन मिल्ने, प्रत्येक कोठाका लागि छुट्टै वाथरुमको व्यवस्था , घर वरिपरि तरकारि र फलफूलका बिरुवा रोप्ने पर्याप्त स्थानको व्यवस्थापन सहित सकेसम्म हिमाल पाहाड तराईका तिनै भूगोलमा प्रत्येक परिवारको घर हुनु आवश्यक देखियो । यसो गर्न सकेमा तुलसीको मठका लागि स्थानको उपलब्धता त हुने नै भयो, त्यसको अलावा पनि केही फलफूलका बोट र करेसावारीले पनि मानव जीवनको हिस्सा बन्न पाउने थियो । ठूलो क्षेत्रफलमा कम्पाउन्ड सहितको घर भएमा वाहिरि संक्रमणका मानिसबाट बच्न सहज हुने देखिन्छ । प्रत्येक कोठाका लागि छुट्टा छुठ्टै बाथरुमको व्यवस्था गर्न सकेमा परिवारका सदस्यहरु बीच पनि क्वारेन्टाइनमा बस्नु पर्ने अवस्था सिर्जना भएमा पनि व्यवस्थापन थप सहज हुने थियो । घर वरिपरि तरकारी र फलफूल का विरुवा रोप्ने व्यवस्था गर्न सके सहज स्वस्छ खानेकुराको उपल्बधता हुनुका साथै बजारमा सिर्जना हुने अभाव र बजार जान नसकिने हालको जस्तो विषम परिस्थिति सिर्जना भएमा पनि गुजारा सहज हुने भयो । त्यस्तै हिमाल, पाहाड, तराई तिनै भूगोलमा वासस्थानको व्यवस्था गर्न सके संकटको बेलामा सहजता अनुसार जुन सुकै भूगोलमा गएर बस्न सकिने भयो । जीवन जिउने कला र सस्कृतिको कुरा गर्दा साकाहारी र सात्विक भोजन गर्ने, योग प्राडायाम, ध्यान र सरसफाइमा ध्यान दिने, शरीरिक कसरतका लागि करेसावारी तथा फूलवारीका कामहरुमा समय बिताउने, प्राकृतिक रुपमा खान भनेर तोकिएका विज्ञान र विकासले खान भनेर योग्य ठहराएका र परापूर्व देखि खाइ आएका कुराहरु स्वच्छता र सुस्वाथ्यलाई एकिन गरेर मात्र खाने, अनावश्यक र अप्राकृतिक कुरा खान लालायित नहुनुका साथसाथै उपलब्ध खाद्यन्यबीच सकेसम्म विविधता कायम राख्नु अपरिहार्य देखिदै गएको छ । जसले गर्दा मानिसहरुमा शान्ति र सहनसिलताको भावना विकास हुनुका साथै रोग प्रतिरोधी क्षमतामा पनि अभिवृद्धि हुनेछ । सम्बन्धको कुरा गर्दा समान आकाक्षा र चाहाना भएका सकेसम्म भैगोलिक विविधतामा रहेका सयुक्त परिवारमा हुर्केबढेका, सानातिना मनमुटावलाई सहज व्यवस्थापन गर्न सक्ने, व्यत्तिगत जिम्मेवारी र दाहित्वबाट कहिल्यै पन्छिन नखोज्ने , सुखमा नआतिने र दुःखमा नमातिने, एक अर्कालाई सहयोग गर्न पाउनुलाई अहोभाग्य ठान्ने र जस्तो सुकै विषम परिस्थितिमा पनि धैर्य धारण गर्न सक्ने र दृढ आत्मबल भएका मानिसहरुसँग सम्बन्ध विकास गर्न सकेमा मानव जीवन जस्तो सुकै विपत् र असहज परिस्थितिमा पनि सरल, सहज, र सुखमयी हुन सक्ने देखिन्छ । अपेक्षित भूमिका राष्ट्रिय स्तरमा नीति निमार्ण तथा योजना निर्माणमा संलग्न हुनेहरुले यस विपदबाट पाठ सिक्दै अबका दिनहरुमा अल्पकालिन र दीर्घकालिन योजनासहित अगि बढ्नु आवश्यक देखिन्छ । यसका लागि अल्पकालिन रुपमा मानविय चहलपहललाई जतिसक्दो निरुत्साहित गरिनुपर्दछ । खाद्य जोखिममा रहेका श्रमिक, मजदूर लगाएत तमाम दिन दुखीहरुमा खाद्य सुरक्षाको प्रत्याभूति गराउन सक्नुपर्दछ । राष्ट्रिय स्तरमा नीति निमार्ण तथा योजना निर्माणमा संलग्न हुनेहरुले यस विपदबाट पाठ सिक्दै अबका दिनहरुमा अल्पकालिन र दीर्घकालिन योजनासहित अगि बढ्नु आवश्यक देखिन्छ । यसका लागि अल्पकालिन रुपमा मानविय चहलपहललाई जतिसक्दो निरुत्साहित गरिनुपर्दछ । खाद्य जोखिममा रहेका श्रमिक, मजदूर लगाएत तमाम दिन दुखीहरुमा खाद्य सुरक्षाको प्रत्याभूति गराउन सक्नुपर्दछ । खुला सीमानाको उचित व्यवस्थापन गरिनु पर्दछ । जसले गर्दा खुला सीमानाबाट हुने जोखिम कम गर्न सकियोस् ,यसका अलावा खाद्य सुरक्षाको सुनिस्चितता र अनिवार्य आधारभूत आवश्यक्ताका वस्तुको उपलब्धता भइरहदा पनि यस विपद्को जोखिमलाई सामान्य रुपमा लिइ लकडाउनको उलङ्घन गरि अवान्चित गतिविधिमा भाग लिनेलाई नियन्त्रणमा लिन र विपद्को मौका छोपि कालोवजारी गर्ने र कृतिम अभाव सिर्जना र आफ्नो सामाजिक , पेसागत र व्यवसायगत दायित्व निर्वाह गर्नबाट पन्छिने माथि राज्यको नियन्त्रडात्मक शक्तिको प्रयोग गरि कडा भन्दा कडा दण्ड सजाय गरी पुन सामान्य अवस्थामा ल्याउनबाट राज्य चुक्नु हुदैन । त्यस्तै यस जोखिमको घडिमा जोखिम व्यवस्थापनका लागि अग्रपङ्तिमा बसेर खटिरहेका स्वाथ्यकर्मी र सुरक्षा कर्मीको सुरक्षा र जीवन रक्षामा राज्य आफ्नो सम्पूर्ण सामर्थ्यका साथ लाग्नुपर्दछ । प्राविधिक सामाग्री र सुरक्षाका सामाग्रीको यथोचित र पर्याप्त व्यवस्थापन गरिनुपर्छ र तपाई हामी सबै सर्वसाधारणले पनि स्वाथ्य कर्मी र सुरक्षाकर्मीको मनोवल गिर्ने कार्य कही कतैबाट गर्न तथा हुन दिनु हुदैन । विश्वव्यापी माहामारीले दीर्घकालिन योजना र नीतिहरुलाई आफ्ना योजना र नीति बनाउदा एक पटक गहिरिएर सोचि सम्झी वातावरण मैत्री र विपद् व्यवस्थापनमा सहयोग पुग्ने खालका वनाउनु पर्ने आवश्यकता देखिएको छ । अब वन्ने नीति र योजनाले हालको विपद्ले थलिएका क्षेत्रको उत्थानमा त सहयोग पुयाउनु पर्ने नै भयो । पुनः यस्ता विपद् आइलागेमा मौजुदा विकासका संरचना र कायम स्राेत कसरी बढी भन्दा बढी प्रयोग गर्न सकिन्छ भन्ने सोच्नु आवश्यक छ । यसका साथसाथै विश्वव्यापी वीपद्का यस्ता घडीहरुमा मानव जीवन रक्षाका उपाय र त्यसको जोखिम न्यूनीकरणतर्फ पनि राज्य शक्तिलाई कसरी परिचालन गर्न सकिन्छ भन्नेतर्फ पनि सोच्नु आवश्यक छ । यसरी सम्रगमा प्राकृतिक अनुसाशनको भंगगरि कृतिमतामा रमाउन खोज्दा सिर्जित संकटको समाधानका लागि विज्ञानको आविस्कार र चम्तकार नहुन्जेलसम्म प्राकृतिक वातावरण र मानवीय अनुसासन कायम गर्न सकेमा एवम् मानवीय इच्छाशक्तिमा विपद् विरुद्ध दृढ अठोट र सङ्कल्प कायम गर्न सक्षम भएमा विपद् व्यवस्थापन सहज र सरल हुने देखिन्छ । साथै आजका दिनमा प्राकृतिवादको मान्यताको अनुसरण गरि पृथ्वीको वहन क्षमतालाई ख्याल गर्दै मानविय गतिविधिलाई वातावरण मैत्रि बनाउन सके भोलि फेरि सिर्जना हुन सक्ने यी र यस्ता यावत विपत्को जोखिम अवश्य कम गर्न सकिन्छ ।
कपिलवस्तुमा भेटिए २ जना कोरोना संक्रमित
काठमाडौं । कपिलवस्तु जिल्लामा दुई जना कोरोना संक्रमित भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षण अनुसार दुई जनामा थप कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले जानकारी दिए । संक्रमित १६ र २२ वर्षका पुरुष रहेकाे उनले बताए । हालसम्म देशभर कोरोना संक्रमितको संख्या १०१ पुगेको छ ।