काठमाडौंका एकमात्र कोरोना संक्रमितकाे कस्ताे छ स्वास्थ्य अवस्था ?
काठमाडौं । काठमाडौंका एक मात्र कोरोना संक्रमितको हाल पाटन अस्पतालमा उपचार भईरहेको छ । पाटन अस्पतालको आईसोलेसनमा राखिएको उनी एक मात्र बिरामी हुन् । उनी हिजो साँझ अस्पतालमा पुर्ण भर्ना भएका उनमा हाल कोरोनाको कुनै पनि प्रकारको लक्षण नदेखिएको पाटन अस्पतालका निर्देशक डा. विष्णु प्रसाद शर्माले बताए । शर्मा भन्छन्, ‘हालसम्म उहाँमा कुनै पनि प्रकारको लक्ष्ण देखिएको छैन । उहाँको स्वास्थ्य अवस्था पनि सामान्य रहेको छ ।’ फलोअपमा आएर पिसिआर विद्यिबाट चेक गर्दा मंगलबार उनीमा पुन कोरोना संक्रमण देखिएको हो । उनको परिवारको अन्य दुई सदस्यको भने रिपोर्ट नेगेटिभ आएको शर्माले बताए । उनको केही दिनमा फेरी परीक्षण गरिने उनले जानकारी दिए । उनी र उनको आमामा पहिलोपल्ट वैशाख २ गते कोरोना पुष्टि भएको थियो । उनीहरु दुवैजना निको भएर वैशाख ११ गते घर फर्किएका थिए । लक्षण नदेखाएका बिरामीहरुले दोस्रो व्यक्तिलाई रोग सार्ने सम्भावना कम भएको विज्ञहरु बताउँछन् ।
बाघको आक्रमणबाट बर्दियाका एक जनप्रतिनिधि घाइते
गुलरिया । बाघको आक्रमणबाट गेरुवा गाउँपालिका –४ का वडा सदस्य ६५ वर्षीय मायाराम खनाल गम्भीर घाइते भएका छन् । आज दिउँसो करीब ३ बजे बर्दिया राष्ट्रिय निकुञ्जको छेउमा भैँसी चराउँदै गर्दा खरमा लुकेर बसेको पाटेबाघले एक्कासि आक्रमण गरी उनलाई घाइते बनाएको हो । आक्रमणबाट उहाँको घाँटी, ढाड र छातीमा चोट लागेको स्थानीयवासी दिलबहादुर बिसीले बताए । खनाललाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा पु¥याइएको छ । रासस
क्वारेन्टिनमा रहेकालाई मेरो माइक्रोफाइनान्सको ६ लाख ५९ हजार रुपैयाँ बराबरकाे सहयोग
काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले विभिन्न स्थानमा क्वारेन्टिनमा रहेका ६ लाख ५९ हजार रुपैयाँ बराबरको राहत दिने भएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामहरी दाहलले विभिन्न १८ स्थानका क्वारेनटाइनमा रहेकाहरुको लागि खाद्य प्रबन्धको लागि उक्त रकम बराबरको सहयोग गर्ने स्वीकृत गरेका हुन् । संस्थाको चैत २ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार कोरोना कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको थियो । यसका लागि अतिरिक्त संस्थाको कार्यालय रहेका स्थानमा यसको प्रभावलाई अध्ययन गरी १० लाख रुपैयाँ बराबरको खाद्यन्नको लागि राहत स्वरुप दिने भन्ने निर्णय भएको थियो । सोही अनुसारको उक्त रकमबाट प्रथम चरणमा संस्थाको विभिन्न शाखा कार्यालयहरुबाट कार्यालय अन्तर्गत रहेको क्वारेन्टाइनमा खाना व्यवस्थापनको लागि स्थानीय स्तरमा योगदान गर्नको लागि रकम सहयोग गर्ने निर्णय भएको थियो । उक्त स्वीकृत अनुसारको रकम क्वारेन्टाइनमा रहेको स्थानिय निकायमा चेक मार्फत खाद्य सहयोगमा खाद्य सामाग्री खरिद गर्न सहयोग वितरण गर्न संस्थाले आग्रह गरेको छ । संस्थाले रामगढवा, कटरीया, रामपुर्वा, सिम्रौनगढ, मेहलकुना, भवानीपुर, मैनापोखर, राजापुर, मकरागढी, भुरिगाँऊ, बौनीया, बौनीया, बालग्राम, बट्टार, कल्याणीदेवी/रातमाटे र छोप्राक शाखा कार्यालयहरुका क्वारेन्टाइन स्थानमा सो मात्राको सहयोग गर्ने भएको हो । संस्थाले सम्बन्धित स्थानिय निकायहरुलाई सहयोग प्रदान गर्न आग्रह गरेको छ ।
कीटनाशक झोलको प्रयोग गर्दा असावधानीले निम्त्याउला जोखिम
काठमाडौं । विश्वव्यापि महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणको जोखिमका बेला त्यसको रोकथाम गर्ने उद्देश्य राखेर मुलुकका विभिन्न क्षेत्रमा किटनाशक झोल छर्कने गरिएको छ । चिकित्सकले यस्तो झोलले मानव स्वास्थ्यमा असर गर्न सक्नेतर्फ सचेत गराइए पनि स्प्रे गर्ने क्रम रोकिएको छैन । त्यसमा होसियारीसमेत अपनाउनु सकिएको देखिँदैन । मानिसको शरीरमै स्प्रे गरिएका दृष्य विभिन्न सामाजिक सञ्जालमा देखिएको छ । धेरैजसो क्षेत्रमा सेनिटाइजेशन टनेल नै बनाएर स्प्रे गरिएको छ । कतिपय ठाउँमा मानव शरीरमा नै खुलमखुला स्प्रे गरिएको छ । चिकित्सकले भने यस्तो स्प्रे मानव स्वास्थ्यका लागि नै हानिकारक हुन सक्नेतर्फ ध्यानाकर्षण गराएको छ । नेपाल चिकित्सक सङ्का उपाध्यक्ष अनिलविक्रम कार्की भन्छन्, “यस्ता किटनाषक झोल मानिसको आँखा, मुख, छालामा पर्यो भने चिलाउने, फोका आउने बिबिरा आउने हुनसक्छ, आँखामा पर्दा ज्योतिमा नै समस्या आउन सक्छ, किटनाशक झोल मावन शरीरमा छ्याप्नु हुन्न ।” सामाजिक सञ्जाल र मिडियामा यसको नकारात्मक असरबारे प्रचारप्रसार हुन थालेपछि कतिपय स्थानमा स्प्रे गर्न बन्द पनि भयो । तर यो क्रम पूर्णतः रोकिएको छैन । काठमाडौँ छिर्ने नाका नागढुङ्गामा ठुलो टनेल बनाएर गाडीलाई नै स्प्रे गरिन्छ । तर यसले मानिसलाई नभई सवारीसाधनलाई मात्रै स्प्रे गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुलुकका विभिन्न क्षेत्रमा डिस–इन्फेक्सन गर्ने नाममा किटनाशक झोल मानिस र सवारी साधनमा छरेको पाइएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । मानिसको शरीरमा भाइरस हुने भएकाले बाहिरी आवरणमा स्प्रे गर्दैमा भाइरस मर्ने भन्ने हुँदैन । यस्ता झोल सङ्क्रमण भएको क्षेत्रमा मात्रै प्रयोग गर्ने हो । हाल प्रयोगमा ल्याइएको सोडिएम हाईड्रोक्लोराईड लगायतका केमिकलले भाइरस मार्ने नभई राम्ररी प्रयोग गर्न नजान्दा मानिसको स्वास्थ्यमा नै असर पर्न सक्ने मन्त्रालयका प्रवक्ता डा विकास देवकोटा बताउँछन् । उनले सही तरिकाले प्रयोग नगर्दा स्वास–प्रश्वासमा पनि समस्या आउन सक्ने उल्लेख गरे । शरीरमा भाइरस प्रवेश गरिसकेपछि बाहिर छरेर केही नहुने चिकित्सकले बताएका छन् । कोभिड–१९ को विश्वव्यापि महामारीसँगै नेपालमा पनि दैनिक रुपमा देखा परिरहेको छ । हालसम्म ९९ जनामा रोगको सङ्क्रमण देखिसकेको छ । सतहलाई डिस–इन्फेक्ट गर्न सकिने यस्तो किटनाशक झोल तोकेको मात्रा पु¥याएर भूँई, सतह तथा सवारीसाधन, कुनै चिजवस्तु तथा प्याकिङ गरिएका सामग्रीमा स्प्रे गर्दा भने निसङ्क्रमण गर्न सकिन्छ । तर भाइरस रोक्ने भन्ने नहुने डा देवकोटाले बताउनुभयो । मन्त्रालयलका अनुसार कोभिड–१९ बाट जोगिन सबैभन्दा सरल र महत्वपूर्ण उपाए भनेको २० सेकेण्ड मिचिमिचि हात धुने हो । त्यस्तै सामाजिक दूरी कायम गर्ने र लकडाउनलाई पालना गर्दा रोगसँग बच्न सकिन्छ । नयाँ कोरोना भाइरसको सङ्क्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य सङ्गठनले ‘कोभिड १९’ नाम दिएको छ । यसलाई विश्वव्यापी महामारीका रुपमा घोषणा गरिसकिएको छ । कोरोना भाइरस श्वासप्रश्वासका माध्यमबाट सर्ने रोग हो । यो सङ्क्रमित व्यक्तिले खोक्दा वा हाछ्यूँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट सर्दछ । नयाँ प्रजातिको भाइरस पहिले मानव जातिमा पहिचान भएको थिएन । यस भाइरसले मानिस र पशुमा सङ्क्रमण गर्छ । भाइरसले सामान्य रुघाखोकीदेखि गम्भीर प्रकारको तीव्र श्वासप्रश्वास गराउन सक्छ । रुघाखोकी ज्वरो देखिएका बिरामीले भने सावधानी अपनाउनुपर्ने चिकित्सकले बताएका छन् । अहिलेसम्म विश्वमा रोगको उपचार विधि पत्ता लागिनसकेको अवस्थामा झोल छर्केर सङ्क्रमण निको हुन्छ भन्नु चाहि गलत हुने चिकित्सकले बताएका छन् । रासस
मन्त्रिपरिषद्ले गरेकाे सबै निर्णय सार्वजनिक
काठमाडाैं । बैंशाख २४ गते बसेकाे मन्त्रिपरिषद्को पूर्ण निर्णय विहीबार सार्वजनिक गरिएकाे छ । निर्णयमा नेपालको अन्तर्राष्ट्रिय सीमानामा रहेका नेपाल प्रवेश गर्ने सवै प्रवेश विन्दु र खुल्ला सीमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुहरूको आवागमन जेठ १८ गतेसम्म बन्द गर्ने, मालसामानको ढुवानीलाई यथावत कायम राख्ने, सबै किसिमका आन्तरिक र बाह्य व्यावसायिक यात्रुबाहक हवाई उडानहरू उक्त अवधिसम्म स्थगन गर्ने लगायत निर्णय भएकाे छ । उक्त अवधिमा औषधी, स्वास्थ्य सामग्रीजस्ता अत्यावश्यक वस्तुको उत्पादन तथा विक्री वितरण, खाद्यवस्तुलगायतका कृषि तथा पशुपन्छीजन्य उत्पादन तथा विक्री वितरण, औषधी, स्वास्थ्य सामग्रीजस्ता अत्यावश्यक वस्तुको उत्पादन तथा विक्री वितरण, खाद्यवस्तुलगायतका कृषि तथा पशुपन्छीजन्य उत्पादन तथा विक्री वितरण, औद्योगिक वस्तुको उत्पादन तथा विक्री वितरण, विकास आयोजनाहरूको सञ्चालनको लागि आवश्यक पर्ने ढुङ्गा-गिट्टी, बालुवालगायतका निर्माण सामग्रीको ढुवानी र न्यूनतम बैंकिङ तथा वित्तीय सेवालाई सुचारु गर्न केन्द्रीय कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर र प्रदेशस्तरीय कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरसँग आवश्यक समन्वय गरी सम्बन्धित जिल्लाको कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरले संक्रमणको जोखिमको अवस्था मूल्याङ्कन गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने निर्णय गरिएकाे छ । ढुवानी सेवाका साधनहरूलाई निसंक्रमित गरी निसंक्रमण गर्ने निकायले जारी गरेको निस्सा साथमा राखी चालक तथा परिचालकको स्वास्थ्य जाँच सम्बन्धित भन्सार विन्दु र उद्योग प्रतिष्ठानहरूमा गर्ने व्यवस्था मिलाइ ढुवानीका साधनहरू गन्तव्य स्थलसम्म आवतजावत गर्न दिने निर्णय भएकाे छ । यस्ताे छ पूर्णपाठ [pdf id=212588]
यूनाईटेड फाइनान्सको नाफा ४० प्रतिशतले वृद्धि
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा यूनाइटेड फाइनान्सको नाफा करिब ४० प्रतिशतले बढेको छ । जुन गत आर्थिक वर्षको सो अवधिको तुलनामा २ करोड ४ लाख रुपैयाँ बढी हो । चालु आवको तेश्रो त्रैमासिक विवरण अनुसार संस्थाले ७ करोड १६ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । जुन गत आवको सो अवधिमा ५ करोड १२ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा बढेर १० करोड २३ लाख रुपैयाँ पुगेको छ । चैत मसान्तसम्मा कम्पनीले कूल ६ अर्ब ५९ करोड रुपैयाँ निक्षेप संकलन र ५ अर्ब ८९ करोड कर्जा परिचालन गरेको छ । जसबाट कम्पनीले २३ करोड ६२ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थाको वित्तीय विवरणमा उल्लेख छ । हाल संस्थाको चुक्ता पुँजी एक अर्ब ४ करोड रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा २४ करोड १६ लाख र सेयरधनी कोषमा ७ करोड ७३ लाख रुपैयाँ रहेको छ ।
कोभिड-१९ उपचारकाे लागि श्री वीरेन्द्र अस्पतालमा सम्पूर्ण तयारी पूरा
काठमाडौं । कोभिड–१९ का सम्भावित सङ्क्रमितको उपचारका लागि नेपाली सेनाले छाउनीस्थित श्री वीरेन्द्र अस्पतालमा सम्पूर्ण तयारी पूरा गरेको छ । सम्भावित बिरामीको पहिचान, परीक्षण, आइसोलेसनसहित चिकित्सकको प्रत्यक्ष निगरानीमा राख्नुपर्ने सङ्क्रमितको उपचारमा गर्नुपर्ने तयारी पूरा गरेको हो । छाउनीस्थित अस्पताल प्रवेशदेखि नै उच्च सतर्कताका साथ उपचार गर्ने व्यवस्था मिलाइएको छ । अस्पताल प्रवेश गर्नुअघि प्रवेशद्वारमा दुईवटा स्वचालित धारा जडान गरिएको छ । जहाँ पानी खोल्न र बन्द गर्न हातले छुनुपर्ने छैन । यसअघिदेखि नै अनिवार्यरूपमा साबुनपानीले हात धोएर मात्र अस्पतालमा प्रवेश गर्ने व्यवस्था मिलाइएको छ । हात धोएर अस्पताल प्रवेश गर्नेको प्रवेशद्वारमा नै ‘थर्मलगन’द्वारा तापक्रम नाप्ने प्रबन्ध मिलाइएको छ । “बिरामी तथा सेनाका कर्मचारी प्रवेश गर्ने भएकाले प्रवेशद्वारमा उच्च सावधानी अपनाइएको छ”, अस्पतालका महासेनानी डा सुनिता पन्तले भने, “ज्वरो आएका बिरामीलाई प्रवेशद्वारसँगैको ‘फिवर क्लिनिक’मा पठाइन्छ, अन्य व्यक्तिले हरक्षण मास्क लगाउनुपर्ने छ ।” सरकारको निर्देशनअनुसार नै फिवर क्लिनिक सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । फिवर क्लिनिकमा मेडिकल अफिसर बस्ने व्यवस्था मिलाइएको छ । मेडिकल अफिसरले सम्बन्धित बिरामीको ‘डाइग्नोष्टिक’ गर्छन् । बिरामीको यात्रा विवरण, कोभिड–१९ सङ्क्रमितसँग सम्पर्क, लक्षणलगायत कुनै दीर्घरोग भए÷नभएको जानकारी लिने, बिरामीको तापक्रम र पल्स नाप्ने छन् । यदि कुनै बिरामीलाई कोभिड–१९ सङ्क्रमण भएको शङ्का लागेमा क्लिनिकसँगै रहेको ‘स्वाब बुथ’ बाट स्वाब झिक्ने र परीक्षणका लागि पठाउने व्यवस्था मिलाइएको छ । छाउनी अस्पताललाई उक्त स्वाब बुथ राष्ट्रिय आविष्कार केन्द्रले उपलब्ध गराएइको हो । शङ्कास्पद बिरामीलाई अस्पताल परिसरमा बनाइएको आइसोलेसन वार्डमा भर्ना गरिन्छ । सेनाले जिओओपिडी सञ्चालन गर्ने उद्देश्यले निर्माण गरेको भवनलाई तत्कालका लागि कोभिड–१९ का बिरामीको उपचार गर्ने गरी रुपान्तरण गरेको छ । “सैनिक अस्पताल तत्कालका लागि कोभिड–१९ डेडिकेटेड अस्पताल नभए पनि भविष्यमा आवश्यक परेको खण्डमा सञ्चालनमा ल्याउन सक्ने गरी १०० श्यया तयारी अवस्थामा राखेका छौँ”,उहाँले भन्नुभयो, “जसमध्ये ८० सामान्य श्यया र २० श्यया गम्भीर बिरामीका लागि छुट्याएका छौँ ।” उक्त भवन सेनाको कल्याणकारी कोषबाट निर्माण गरिएको हो । जहाँ १०० श्ययाका आइसोलेसन वार्ड रहेको छ । तीमध्ये २० श्यया जटिल अवस्थाका बिरामीका लागि हाइकेयर युनिटका रूपमा राखिएको छ । आइसोलेनस वार्डमा बिरामी प्रवेश गर्ने र चिकित्सक प्रवेश गर्ने अलगअलग बनाइएको छ । मेडिकल टिम आइसोलेसन वार्डमा जाँदा व्यक्तिगत सुरक्षा उपकरण लगाएर मात्र भित्र जाने व्यवस्था गरिएको छ । बिरामीसँग प्रत्यक्ष भेट गरेपछि बाहिर आउँदा अत्यन्त सुरक्षित साथ पिपिइ फुकाल्नुपर्ने भएकाले प्रवेश गर्ने र निस्कने दुई थरी मार्ग प्रयोगमा ल्याइएको महासेनानी डा पन्तले जानकारी दिए । यसैगरी बिरामीलाई औषधि, खाना, पानी तथा आवश्यक सुझाव दिने ‘कन्ट्रोल रुम’ बनाइएको छ । जहाँबाटै रोबोटको माध्यमबाट बिरामीको स्वास्थ्य अवस्थाका बारेमा चिकित्सकले जानकारी लिनेछन् । रोबोटले नै बिरामीलाई खाना र पानी पु¥याउनेछ । उक्त रोबोट पनि राष्ट्रिय आविष्कार केन्द्रले नै उपलब्ध गराएको हो । रोबोटमा क्यामेरा र माइक जोडिएको छ । कन्ट्रोल रुमबाट चिकित्सकले बिरामीसँग भिडियो संवाद गर्ने व्यवस्था मिलाइएको छ । बिरामी र चिकित्सकबीच संवाद गर्ने, थर्मोमिटर तथा पल्स मिटरमार्फत बिरामीको स्वास्थ्यवस्था परीक्षण गर्ने र बिरामीलाई खाना, खाजा तथा पानी सहज उपलब्ध गराउने प्रयोजनका लागि रोबोट प्रयोग गर्ने सेनाको भनाइ छ । २० श्ययाको आइसीयू निर्माण सरकारको निर्देशनअनुसार सेनाले छाउनी अस्पताल परिसरको एक भवनमा २० श्ययाको आइसीयूकक्ष निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ । करिब एक साताको अवधिमा उक्त आइसीयूकक्ष निर्माण गरिएको सेनाले जनाएको छ । आइसीयू सेवा सञ्चालन गर्न आवश्यक जनशक्तिलाई छाउनीमै तालिम दिइएको छ । नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानसँग समन्वय गरेर उनीहरुलाई तालिमको व्यवस्था गरिएको हो । संस्थानका डा जयन्द्र बज्राचार्यले उनीहरुलाई सहजीकरण गरिरएका छन् । फिल्डमा जाने तथा अस्पतालमा कार्यरत जनशक्तिलाई कोभिड–१९ पूर्वतयारीका बारेमा जानकारी दिइएको उहाँले जानकारी दिनुभयो । “हामीले उनीहरुलाई ‘ह्याण्ड हाइजिन’, पिपिइ लगाउन तथा फुकाल्ने तरिका, डिसइन्फेक्सन तथा कोभिड–१९ ले मृत्यु भएका व्यक्तिको शवको व्यवस्थापनका बारेमा सिकाइरहेका छौँ”, डा बज्राचार्यले भने, “कोभिड–१९ आइसीयूमा कार्यरत स्वास्थ्यकर्मीलाई के–कस्तो किसिमले बिरामीको उपचार गर्ने भन्ने सन्दर्भमा ‘बेसिक लाइफ सपोर्ट’, ‘एडभान्स कार्डियाक लाइफ सपोर्ट’का काम कसरी गर्नुपर्छ भन्ने कुरा सिकाउँदै छौँ । रासस
सिलिन्डरमा कम तौल ग्यास राखी बिक्री गर्ने कपनका श्रेष्ठ पक्राउ
काठमाडाैं । महानगरीय प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग कपनको संयुक्त टोलीले सिलिन्डरमा कम तौल ग्यास राखी बिक्री गर्ने एक व्यपारीलाई पक्राउ गरेको छ । प्रत्येक ग्यासको सिलिन्डरमा एकदेखि ६ किलोसम्म ग्यास कम राखेर नक्कली सिल गरी कालोबजारी गर्ने कपनको राइनो एडियस इन्टरप्राइजेज नामक ग्यास डिपोका सञ्चालक अमितकुमार श्रेष्ठलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । स्थानीयवासीले ग्यास खरिद गरेर घर लगेपछि निकै कम तौल भएको भन्दै कालोबजारीको आशङ्का गरी प्रहरीलाई खबर गरेका थिए । कालोबजारी भएको सूचना पाएपछि प्रहरीले सो डिपोमा छापा मारेको थियो । त्यसपश्चात् प्रहरीले गुणस्तर तथा नापतौल विभाग माछापोखरीमा खबर गरेको थियो । सो विभागका प्रतिनिधिसहितको प्रहरी टोलीले सोही डिपोमा खानतलासी गर्दा सिद्धार्थ नामको ४७ र गीता नामको २८ थान गरी जम्मा ७५ वटा ग्यासको सिलिन्डर बरामद गरेको थियो । बरामद भएका ७५ वटै ग्यासको सिलिन्डर मापदण्ड विपरीत कम तौल भएको र नक्कली सिल लगाइएको अवस्थामा फेला परेको बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए । बरामद ग्यासको सिलिन्डरसहित सञ्चालक श्रेष्ठलाई थप अनुसन्धान तथा स्ट्यान्डर्ड नाप र तौल ऐन, २०२५ अनुसार कारवाहीका लागि आज गुणस्तर तथा नापतौल विभाग माछापोखरीमा पठाइएको उनले बताए । सो विभागका महानिर्देशक विश्वबाबु पुढासैनीले सञ्चालकले ठगी गरेको पाइएको बताउँदै थप अनुसन्धानपश्चात् उक्त कसुरमा स्ट्यान्डर्ड नाप र तौल ऐन, २०२५ अनुसार तीन वर्ष कैद र रु ३० हजार मागदाबी गर्दै अदालतमा मुद्दा दायर गरिने जानकारी दिए । प्रहरीका अनुसार ‘सञ्चालक श्रेष्ठले कम तौलमा बिक्री वितरण गरेको बताउँदै यसअघि १०० थानभन्दा बढी कम तौलका ग्यासको सिलिन्डर बिक्री गरेको स्वीकार गरेका छन् ।’ प्रहरीले घटनास्थलबाट कम तौलको ग्यास सिलिन्डरसहित ग्यास निकाल्न प्रयोग हुने फलामको पाइप, नक्कली सिलहरु बरामद गरेको थियो । रासस