विकासन्युज

एकैदिन उदयपुरका ८ जना कोरोना संक्रमित निकाे भए

काठमाडाैं । विराटनगरको कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचार गराइरहेका थप ८ जना कोरोना संक्रमित निको भएका छन् । विराटनगरको कोसी अस्पतालमा उपचाररत उनीहरू निको भएपछि भोलि बिहान डिस्चार्ज गरिने अस्पताल प्रशासनले जानकारी दिएकाे छ । योसँगै कोरोनाबाट निको हुनेको संख्या ३० पुगेको छ जसमा तीन जना व्यक्तिमा पुनः संक्रमण देखिएको छ।

विश्व शान्तिको कामना गर्दै प्रधानमन्त्रीद्वारा दीप प्रज्ज्वलन

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले २५६४औँ बुद्धजयन्तीका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा विश्व शान्तिको कामना गर्दै दीप प्रज्वलन गरेका छन् । प्रधानमन्त्री ओलीले २५६४औँ बुद्धजयन्तीका अवसरमा आज साँझ ७ः०० बजे दीप प्रज्ज्वलन गरेका हुन् । प्रधानमन्त्री ओलीले बिहीबार विश्व शान्तिको कामना गर्दै देशभर सबै नेपालीलाई दीप प्रज्वलन गर्न आग्रह गरेका थिए । प्रधानमन्त्री ओलीले कोरोना महामारीविरुद्धको लडाइँका अग्र भागमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयमसेवकप्रति उच्च सम्मानस्वरुप तथा सङ्क्रमितको शीघ्रस्वास्थ्य लाभ र मृत्युवरण गर्नुभएकाको शान्तिका लागि दीप प्रज्ज्वलन गरेका छन् । देशभर आज साँझ ७ः०० बजे नै विश्व शान्तिको कामना गर्दै दीप प्रज्ज्वलन गरिएको छ ।

ऊर्जामा खराब लगानी निषेध गर्ने तयारीमा सरकार

काठमाडाैं ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जलविद्युत् क्षेत्रमा लगानीका लागि खराब मानसिकता र प्रवृत्तिलाई पूर्ण रुपमा निषेध गरिने दृढता व्यक्त गरेका छन् । विद्युत् नियमन आयोग स्थापनाको एक वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा मन्त्री पुनले विगतमा जसरी सामान्य प्रक्रिया पूरा गर्दैमा सजिलै उत्पादन अनुमतिपत्र नदिइने स्पष्ट पारेका हुन् । आगामी दिनमा काम गर्नेलाई मात्र अनुमतिपत्र दिइने मन्त्री पुनको प्रष्टोक्ति छ । जलविद्युत्मा लगानी जोखिमपूर्ण रहेकाले काम गर्न सक्नेले मात्र लगानी गर्न आग्रह गर्दै उनले नसक्नेले अरु क्षेत्रमा लगानी गर्नुपर्ने बताए । “अब अनुमतिपत्र लिएपछि भोलिपल्टदेखि नै काम गर्नेलाई मात्र सरकारले विश्वास गर्छ”, मन्त्री पुनले भने, “नसक्नेले आफ्नो लगानीले भ्याउने गरी अर्कै उद्यम गर्नुस्, लगानीका अरु धेरै क्षेत्र छन्, जलविद्युत्मै लगानी गर्नुपर्छ भन्ने बाध्यकारी अवस्था छैन ।” मन्त्री पुनले प्रतिस्पर्धात्मक र गुणस्तरीय काम गर्ने इमान्दार लगानीकर्तालाई भने सरकारले स्वागत गर्ने स्पष्ट पारे । इमान्दार लगानीकर्ता र स्वच्छ लगानीका लागि पारदर्शी तबरले सहजीकरण गर्न तयार रहेको मन्त्री पुनको भनाइ थियो । विगतमा बैंक, बीमा कम्पनी र सहकारीमा जनताको लगानी डुब्ने समस्या देखिएपछि सरकारले नियमन गरेको प्रसंग कोट्याउँदै उहाँले जलविद्युत् क्षेत्रमा पनि त्यस्तै मापदण्ड बनाएर खराब लगानी रोक्ने योजनामा मन्त्रालय रहेको जानकारी दिए । नेपालमा उत्पादित बिजुलीको अन्तरराष्ट्रिय बजार प्रवद्र्धनमा सरकार लागेको भन्दै उहाँले विद्युत् प्राधिकरणलाई मात्र बिजुली बेच्ने मानसिकता त्यागेर बाह्य बजार खोज्ने दिशामा अग्रसर हुन निजी क्षेत्रलाई आग्रह गरे । विद्युत् क्षेत्रलाई प्रतिस्पर्धी बनाउनुपर्ने निजी क्षेत्रको माग सम्बोधन गरेर सरकारले ल्याएको विद्युत् ऐन संसद्मा विचाराधीन अवस्थामा रहेको भन्दै उहाँले आफ्नै मागअनुसार ल्याइएको ऐनको स्वामित्व लिन आग्रह गर्नुभएको मन्त्री पुनको सचिवालयले जनाएको छ । निजी क्षेत्रलाई हतोत्साहित गर्ने पक्षमा सरकार नरहेको स्पष्ट पार्दै उहाँले ऐनमा निजी क्षेत्रलाई काम गर्न असहज हुने प्रावधान भए पुनःविचार गर्न सरकार तयार रहेको बताए । फरक प्रसंगमा मन्त्री पुनले औद्योगिक क्षेत्रमा डेडिकेटेड लाइन हटाउन सरकारको नेतृत्व र मन्त्रालय रहेको अवस्थामा नियमन आयोगले निर्णय गर्न ढिला गरेकामा आश्चर्य प्रकट गरेका छन् । अझैसम्म उक्त लाइन नहटाउँदा उद्योगी व्यवसायीलाई मर्का मात्र नभई अन्याय नै परेको भन्दै त्यसबारे सोच्न आयोग पदाधिकारीलाई आग्रह गरेका छन् । सरकारको कार्यक्षेत्रमा पर्ने भए पहिल्यै हटिसकेको हुने भन्दै उहाँले आयोगको क्षेत्राधिकार भएकाले केही गर्न नसकिएको बताए । उद्योगी व्यवसायी पनि उपभोक्ता भएकाले उपभोक्ताको अधिकार हनन् हुन नहुने प्रष्ट गर्नुभयो । उनले कोरोना भाइरसका कारण आर्थिक गतिविधि ठप्पै हुने अवस्था आएकाले मन्त्रिपरिषद्को बिहीबारको बैठकले उद्योगधन्दा र विकास आयोजनाका काम सुचारु गर्ने निर्णय लिएको बताए । लकडाउनको समयमा उद्योगी व्यवसायीसँग अतिरिक्त शुल्क वा जरिवाना नलिइने भन्दै उनले हाल विद्यमान ऐन कानून त्यसका लागि पर्याप्त नभएकाले संसद्बाटै ऐन ल्याएर समस्या समाधान गर्ने तयारीमा सरकार लागिसकेको उल्लेख गरे । “कोरोना महामारीविरुद्ध लड्न संसारभर अपनाइएको लकडाउन भन्दा अर्को विधि हामीसँग पनि छैन”, उनले भने, “निजी क्षेत्र पनि महामारीको मारमा परेको छ, सरकारले अभिभावका हैसियतमा निजी क्षेत्रको पनि जोखिम सेयर गर्छ, यसमा निश्चिन्त भए हुन्छ ।” कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओली, ऊर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंह र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् सेवालाई थप प्रभावकारी, विश्वसनीय र प्रतिस्पर्धी बनाउन भूमिका खेल्न नियमन आयोगलाई आग्रह गर्नुभयो । कार्यक्रममा आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले एक वर्षको अवधिमा भए गरेका कामको बारेमा जानकारी गराएका थिए । रासस

स्वीटजरल्याण्डद्धारा नेपाललाई ३० हजार पीसीआर किट सहयाेग

काठमाडाैं । स्वीटजरल्याण्डले नेपाललाई ३० हजार पीसीआर किट सहयाेग स्वरुप प्रदान गरेकाे छ । कोरोना परीक्षणका लागि स्वीटजरल्याण्डले सहयोग गरेको उक्त पीसीआर टेस्ट किट नेपाल आइपुगेको छ । पीसीआर टेस्ट किटसहित स्वीटजरल्याण्ड सरकार विकास सहयोग एसडीसीले गरेको अन्य स्वास्थ्य सामग्री नेपाल वायु सेवा निगमको वाइडबडी विमानमार्फत बिहिबार नेपाल आइपुगेको हो । नेपालका लागि स्वीटजरल्याण्डकी राजदूत एलिजाबेथ भोन क्यापलरले उक्त स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई बिहीबार हस्तान्तरण गरेकी हुन् ।

बन्दाबन्दीमा आशाको केन्द्र बन्यो राप्ती प्रादेशिक अस्पताल

दाङ। तुलसीपुर उपमहानगरपालिका—१७ की १८ वर्षीया सीता चौधरीलाई कोरोना भाइसर (कोभिड —१९) को जोखिम रोकथामका लागि जारी बन्दाबन्दी (लकडाउन) मा अस्पतालबाट प्रसुती सेवा कसरी प्राप्त होला भन्ने चिन्ता लागेको थियो । गत आइतबार गर्भवती सीताको पेट दुख्न थालेपछि घरमा एम्बुलेन्स बोलाइयो र उहाँलाई राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर पुर्याइयो । एम्बुलेन्सले प्रसुती कक्षमा पुर्याएपछि उनले बल्ल आफू अस्पताल पुगेको थाहा पाए । सीताले धेरै सञ्चारमाध्यममा यतिखेर अस्पतालहरुमा विरामीले उपचार नपाउने गरेको गुनासो सुनेकाे थिइन् । देशमा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण बढेपछि त्यस बाहेकका अरु विरामीको उपचार हुदैन भन्ने उनलाई लागेको थियो । अर्कातर्फ सुत्केरी हुने आफ्नो यस्तो बेला आइसकेकोले यो बन्दाबन्दीका समयमा अस्पतालसम्म कसरी पुग्ने भन्ने त्रास पनि थियो । अस्पताल पुगेपछि पनि कोरोनाको त्रास बढिरहेको अहिलेको अवस्थामा चिकित्सक तथा नर्सले आफूलाई राम्रोसँग हेरचाह गर्लान् भन्ने अझै लागेको थिएन । भन्छिन्, “दुविधा थियो, तर पछि जसरी मैले यस अस्पतालबाट सेवा पाएँ, यसले निकै खुशी भएँ ।” अस्पतालको प्रसुती विभागमा पुग्ने वित्तिकै स्वास्थ्यकर्मी र प्रसुती विशेषज्ञ चिकित्सकले गरेको व्यवहार तथा निगरानीले उनको मनको दुबिधा सबै हट्यो । मनोबल उच्च भयो, प्रसव पीडाले च्याप्दै जाँदा पनि स्वास्थ्यकर्मीले गरेको व्यवहार तथा रेखदेखले सबै डर भाग्यो । यस्तै अनुभव सुनाइन् उनीले । “झण्डै १० घण्टासम्म सुत्केरी ब्यथा लाग्यो । सामान्य रुपमा प्रसुती गराउने धेरै प्रयास गर्यौँ तर सानै उमेरमा गर्भवती भएकाले शल्यक्रिया नै गर्नुपर्ला भनेर तयारी पनि गर्यौँ । तर पछि भने सामान्य रुपमा भ्याकुम अर्थात औजारको सहायताले सुत्केरी गराउन सफल भयौँ । अहिले आमा र शिशुको स्वास्थ्य राम्रो छ” राप्ती प्रादेशिक अस्पतालको प्रसुती विभागका नर्सीङ अधिकृत रमा पराजुलले भने । सीताले दुई वर्षअघि कक्षा ८ मा पढ्दा पढ्दै गाउँमा आफ्नै समुदायका एक युवासँग प्रेम विवाह गरेकी थिइन् । उनका श्रीमान् अहिले सार्वजनिक सवारीमा मजदुरको काम गरिरहेका छन् । “घरको आर्थिक अवस्था कमजोर छ, हामीले त धेरै चाहेर पनि कहाँ पढ्न पाइने हो र ? अबत बच्चा भइहाल्यो यसको लालन पालनका लागि पनि झन् धेरै दुःख गरेर काम गर्नुपर्छ” अस्पतालको शैयाबाट उनले भने । सानै उमेरमा गर्भवती हुँदा सुत्केरी हुन निकै गाह्रो हुने अनुभव उनले सुनाइन् । “ तर पनि यस्तो बन्दाबन्दीको समयमा पनि अस्पतालसम्म आएँ, अस्पतालले सुरक्षित तवरले प्रसुती गरायो, ढुक्क भएकि छु, अब त जहिले डिस्चार्ज गरे पनि केही छैन” उनले खुशी हुँदै भनिन् । त्यसैगरी सोही अस्पतालमा गत शनिबार तुलसीपुर नगरपालिका—१४ की २३ वर्षीया आशा चौधरीले पनि शल्यक्रिया गरेर छोरी जन्माइन् । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रसुती कक्षमा आइतबार भर्ना भएकी उनलाई पनि लकडाउनको यस्तो अप्ठेरो बेलामा अस्पातल कसरी जाने होला भन्ने चिन्ता नै थियो । घरमा बस्दा मनमा अनेक सोचाइ आएको र कोरोना भाइरसको सङ्क्रमण बढेको समाचार आएसँगै आफूलाई पनि डर लाग्ने गरेको उनले सुनाइन् । सीताको जस्तै यस्तो बन्दको बेलामा अस्पताल कसरी पुग्ने र अस्पताल पुगेपछि पनि अहिले कोरोनाको त्रास छ यहाँ बच्चा जन्माउन सकिँदैन अन्यत्रै लैजानु भन्ने जवाफ अस्पतालले दियो भने के गर्ने भन्ने नै थियो आशाको डर पनि । तर अहिले भने आफ्नै ठाउँको अस्पतालमा बच्चा जन्माउन पाएकोले उनी खुशी छिन् । अस्पतालको शैयाबाटै मलिन स्वरमा उनले भने– “हुनत शरीर चिरेको घाउ छँदैछ, तर पनि मलाई त्यसको कुनै दुखाइ छैन, देशको यस्तो अवस्थामा पनि अस्पतालसम्म आएर बच्च जन्माउन पाएँ मलाई खुशी लागेको छ ।” “बुहारीले मलाई अलि विसञ्चो भयो भनेपछि वडा कार्यालयमा जानकारी गराएँ, वडाबाट एम्बुलेन्स बोलाइदिए, सजिलैसँग अस्पताल आयौँ” आशाकी सासु मैनी चौधरीले भनिन् । “अस्पातलमा नर्सहरुले औषधी खुवाउनुहुन्छ र डक्टरले पनि पटक पटक आएर स्वास्थ्य जाँज गर्ने गर्नुभएको छ, अब घर जाँदा सुत्केरी खर्च भत्ता पनि दिन्छ रे आशाले भनिन् ।” त्यस्तै तुलसीपुर उपमहानगरपालिका– १ की २० वर्षीया शान्ति विकले पनि गत आइतबार नै राप्ती प्रादेशिक अस्पतालमा शिशु जन्माएकी छिन् । “प्रसव ब्यथा लागेपछि वडाले एम्बुलेन्स पठायो र अस्पताल आयौँ, सामान्य रुपमा सुत्केरी भएँ, खुशी लागेको छ” उनको भनाई छ । उनलाई पनि गाउँघरका दिदीबहिनीले अहिले कोरोनाको त्रास छ, अस्पतालमा स्वास्थ्यकर्मीले राम्रोसँग हेर्दैनन् भन्ने सुनाएका थिए । अस्पतालमा कोरोनाको उच्च सतर्कता अपानाएर विरामी अर्थात प्रसुती सेवाका लागि आउने गर्भवती, सुत्केरी र बच्चाहरुको राम्रो सेवा दिने गरेको आफूले पाएको उनले बताइन् । यसरी अहिलेको लकडाउनको असहज परिस्थितिमा पनि सुत्केरी तथा महिलाहरुको आशाको केन्द्र बन्न सफल यस राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरबाट यस अवधिमा मात्र ३७१ जनाले प्रसुती सेवा लिएको अस्पालतका प्रसुती विभाग प्रमुख नर्सिङ अधिकृत रमा पराजुलीले जानकारी दिइन् । यसमा ७२ जनाको शल्यक्रिया गरिएको र पाँच जनाको औजारको सहायताले तथा अन्यको समान्य रुपमा नै सुत्केरी गराइएको पराजुलीले जानकारी दिइन् । अस्पतालको तथ्याङ्कअनुसार सुत्केरी हुन आउनेमध्ये केही १८ वर्षदेखि २० वर्षमुनीका छन् भने अन्य २० वर्ष माथिका रहेका छन् । यो समेत गरी यस आर्थिक वर्षको हालसम्म अस्पतालमा प्रसुती सेवा लिन आउनेको सङ्ख्या दुई हजार ७४५ रहेको छ । सेवा लिन आउनेमा दाङसहित पुर्वी रुकुम, रोल्पाको पश्चिम भेग र कर्णाली प्रदेशको सल्यान जिल्लाका रहेका छन् । त्यस्तै बन्दाबन्दी शुरु भएदेखि हालसम्म सो अस्पतालबाट २७ जनाले सुरक्षित गर्भपतन गराएको पनि पराजुलीले जानकारी दिइन् । यस अस्पतालमा प्रसुती सेवा लिन दैनिक ५ देखि ७ जना आउने गरेको अस्पतालका स्त्रीरोग विशेषज्ञ डा.विनोद सिंहले जानकारी दिए । उनले प्रसुती सेवा लिन आउने बढेपछि ठाउँ र जनशक्तिको कमी भएपनि व्यवस्थापन गरी सेवा प्रवाह गरिरहेको बताए । उनले कोरोनाको त्रास बढिरहेको अवस्था भए पनि अस्पतालमा प्रसुती सेवा लिन आउने या जो कोही विरामीलाई पनि उच्च सतर्कताका साथ सुरक्षित तवरले सेवा दिइरहेको बताए । प्रसुती सेवा लिन आउनेमध्ये केहि १८ वर्षका पनि रहेको र यसरी सानै उमेरमा आमा बन्ने महिलालाई बच्चा जन्माउँदा पनि समस्या हुने र शल्यक्रिया गर्नुपर्ने भएकोले पनि अस्पतालको ध्यान सुरक्षित सेवामा हुने गरेको उनी बताउँछन् । पाठेघर खस्नेलगायतका धेरै प्रसुतीजन्य जटिलता हुने भएकोले उमेर पुगेपछि मात्र बच्चा जन्माउन उनले सुझाए । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा विसं २०६५ मा जनस्तरबाट स्थापना गरिएको अस्पताल हो । सो अस्पताल स्थापनाका लागि यहाँका नागरिहरुले निकै लामो सङ्घर्ष गर्नुका साथै महायज्ञको आयोजना पनि गरिएको थियो । उक्त यज्ञबाट तीन करोड रुपैयाँ भन्दा बढी रकम सङ्कलन गरिएको थियो । यसबाट अस्पतालको भौतिक पूर्वाधार निर्माण गरेपछि सरकारले तत्कालीन तुलसीपुर हेल्थपोष्टलाई स्तरबृद्धि गरी राप्ती अञ्चल अस्पतालका रुपमा विकास गरेको थियो । तुलसीपुर क्षेत्रमा रहेको यो नै एक मात्र सरकारी अस्पताल हो । यसलाई गतवर्ष प्रदेश नम्बर ५ सरकारले स्तरबृद्धि गरी प्रदेशको मातहतमा ल्याएर राप्ती प्रादेशिक अस्पतालका रुपमा विकास गरेको हो । हाल यस अस्पतालमा १७ जना विशेषज्ञ चिकित्सक, ११ जना मेडिकल अधिकृत गरी कुल एक सय ४५ जनाका स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यरत छन् । सो अस्पतालबाट प्रसुतीबाहेक चैतदेखि हालसम्म एक हजार २७५ जनाले इमरजेन्सी सेवा लिएको र १५ हजार एक ७१ जनाको ल्याव टेष्ट गरिएको अस्पतालका सूचना अधिकारी डिल्ली केसीले जानकारी दिए । अस्पतालका मेसु सर्वेश शर्माले लकडाउनको अवधिमा अस्पतालले अत्यावश्क सेवा प्रवाह गरिरहेको बताए । उनले प्रसुती सेवा, सुरक्षित गर्भपतन, मृगौलाको डायलासिस लगायतका सेवा दिइरहेको बता । त्यस्तै अहिले खोप सेवा, गर्भवतीको नियमित स्वास्थ्य जाँच पनि सुरु गरिएको बताए । उनले राप्ती प्रादेशिक अस्पतालको जनशक्तिलाई बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा परिचालन गरी सेवा दिइरहेको पनि बताए । लकडाउनको अवधिमा अस्पतालले आपतकालीन सेवा पनि प्रवाह गरिरहेको छ । रासस

भारतमा कोरोनाबाट मृत्यु भएका प्रहरीका परिवारलाई १ करोड क्षतिपूर्ति

बग्दाद । भारतको नयाँ दिल्ली प्रदेशले कोरोना भाइरसविरुद्ध काम गरिरहेका समय मृत्यु भएका प्रहरीको परिवारलाई एक करोड क्षतिपुर्ति दिने घोषणा गरेको छ । केन्द्रीय राजधानी समेत रहेको प्रदेश सरकारले कोरोना विरुद्धको लडार्इँका क्रममा निधन भएका अमितको परिवारलाई एक करोड क्षतिपुर्ति दिने घोषणा गरेको हो । नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले हिन्दी भाषामा सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै अमितले आफ्नो जीवनको समेत प्रवाह नगरी निरन्तर कोरोना विरुद्धको लडाईमा सक्रिय भएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, “कामको सिलसिलामा उहाँलाई कोरोनाभाइरसको सङ्क्रमण भयो र दुर्भाग्यबस उनले हामीलाई छाडेर जानुभयो । उनको योगदानलाई म सलाम गर्दछु र आत्माको चिर शान्तिको कामना गर्दछु ।” मुख्यमन्त्री केजरीवालले उहाँको योगदान र लगावको उच्च मुल्याङ्कन गर्दै उहाँको परिवारलाई एक करोड क्षतिपुर्ति प्रदान गर्ने कुरा पनि ट्वीटरमै लेख्नुभएको छ । रासस

मलेसियामा ९ नेपालीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । मलेसियामा ९ जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । मलेसियाको पेतालिङ जायास्थित चेरस मलमा खटिएका ९ जना नेपाली गार्डमा कोरोना भाइरस पोजेटिभ पाइएको हो । उक्त मलमा १० जनामा पोजेटिभ पाइएको भन्दै मलेसियाको स्वास्थ्य मन्त्रालयले १ जना स्थानीय मलेसियन र ९ जना नेपाली नागरिक रहेकाे जनाएकाे छन । मलेसियाको स्वास्थ्य विभागका महानिर्देशक डा.नुर हिसाम अब्दुल्लाहले संक्रमित नेपाली सोही मलमा बस्ने गरेको विहीबारको दैनिक ब्रिफिङमा जानकारी दिएका छन् । मलेसियामा विहीबार ३९ नयाँ कोरोना संक्रमित भेटिएसगै हालसम्म ६ हजार ४ सय ६७ पुगेका छन । त्यस्तै मृत्यु हुनेको संख्या १ सय ७ पुगेको छ । यस अगाडी मलेसियामा ३ नेपालीमा काेराेना पाेजेटिभ पुष्टि भएकाे थियाे । २ जना उपचार पछि निकाे भएर फर्किएका थिए भने बाँकी १ जनाकाे उपचार भइरहेकाे जनाएकाे ।

लोमसको ‘ह्यान्ड–एक्स’ ह्यान्ड स्यानिटाइजर ५ सय एमएलको बोतलमा पनि

काठमाडौं । औषधि उत्पादक कम्पनी लोमस फार्मास्युटिकलले ‘ह्यान्ड–एक्स’ ह्यान्ड स्यानिटाइजर ५ सय एमएलको बोतलमा पनि उत्पादन गरी बजारमा ल्याएको छ । विगत तीन दशकदेखि औषधि उत्पादन गर्दै आएको लोमसले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण हुन नदिन प्रयोग गरिने स्यानिटाइजर स्वदेशमा नै उत्पादन गर्ने उद्देश्यले उत्पादन थालेको जनाएको छ । सुरुमा कम्पनीले १ सय एमएलको बोतलमा स्यानिटाइजर बजारमा ल्याएको थियो । उपभोक्ताको सन्तुष्टि र बजारको बढ्दो मागलाई ध्यानमा राखेर ५ सय एमएलको बोतलमा पनि उत्पादन गरेर बजारमा पठाइएको कम्पनीका प्रवन्धक प्रनबजंग पाण्डेले जानकारी दिए । उनले ह्यान्ड स्यानिटाइजर नेपाल सरकारको अनुमति तथा विश्वस्तरीय मापदण्डअनुसार उत्पादन गरिएको जानकारी दिए । ५ सय एमएलको बोतलको स्यानिटाइजरको बजार मूल्य पाँच सय पन्ध्र रुपैया पर्नेछ । बजारमा यो स्यानिटाइजर सबै औषधि पसल तथा मिपार्टमेन्टल स्टोरहरुमा पाइने जानकारी पाण्डे दिए ।