राष्ट्रियसभामा तीन अध्यादेश पेश
काठमाडौं । राष्ट्रियसभामा बैठक प्रारम्भ भएकै दिन आज तीन अध्यादेश पेश गरिएको छ । प्रधानमन्त्रीका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश र २०७७”, “राजनीतिक दलसम्बन्धी (दोस्रो) अध्यादेश, २०७७” गरेका हुन् । त्यस्तै कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्वाहाङ्फेले बैठकमा “केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउने अध्यादेश, २०७७” पेश गरे।
‘सरकार दुई तिहाइको, काम दुई कौडीको’
काठमाडौं । राजपा नेपालका सांसद राजेन्द्र महतोले दुई तिहाईको सरकारले दुई कौडीको काम नगरेको टिप्पणी गरेका छन् । शुक्रबार भएकाे बजेट अधिवेशनको पहिलो बैठकमा महतोले दुई तिहाईको सरकारले जनतालाई कोरोनाबाट जोगाउन दुई कौडीको काम समेत नगरेको टिप्पणी हुन् । बैठकलाई सम्बोधन गर्दै उनले उनले सरकार कोरोनाको विषयमा ध्यान नदिएर पार्टी फूटाउने धन्दामा लागेको बताए।
अलपत्र नेपालीलाई तत्काल स्वदेश फर्काउने व्यवस्था मिलाउन निर्देशन
काठमाडाैं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विभिन्न मुलुकमा अलपत्र परेका र विदेशबाट फर्कन चाहेका नेपालीलाई तत्कालै स्वदेश फर्काउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । समितिको आज यहाँ बसेको बैठकले नेपाल फर्काएपछि उनीहरुलाई नेपालमा कहाँ कसरी राख्ने सोसम्बन्धी कार्य अविलम्ब गर्न पनि निर्देशन दिएको छ । विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई सुरक्षित तबरबाट तत्काल नेपाल फर्काउन सर्वोच्च अदालतले दिएको परमादेशको परिपालना गर्न पनि सरकारलाई निर्देशन दिएको समितिका सभापति विमल श्रीवास्तवले जानकारी दिए । यसैगरी बैठकले लकडाउनको समयमा स्वदेशभित्र रहेका मजदूरले भोग्नुपरेको समाधान गर्न र ती मजदूरलाई आवश्यक सहयोग उनीहरुको खाना तथा बस्ने प्रबन्ध मिलाउ पनि निर्देशन दिएको छ । रासस
बाबुरामले मागे प्रधानमन्त्री ओलीको राजीनामा
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । शुक्रबार भएकाे बजेट अधिवेशनको पहिलो बैठकमा भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका हुन् । बैठकलाई सम्बोधन गर्दै उनले जीर्ण शरीरलाई आराम दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका हुन् ।
कोभिड–१९ रोकथामका लागि धादिङ जिल्ला प्रवेशमा प्रतिबन्ध
धादिङ । सङ्कट व्यवस्थापन केन्द्रको आजको बैठकले सङ्घीय सरकारले गरेको निर्णयलाई कडाइका साथ लागू गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी असमान तामाङको अध्यक्षतामा आज धादिङबेँशीमा बसेको सङ्कट व्यवस्थापन केन्द्रको बैठकले काठमाडौँबाट धादिङ प्रवेश गर्ने पिपलमोड र चितवनबाट धादिङ प्रवेश गर्ने मौवाखोलाबाट मानिस आवागमनलाई पूर्णरुपमा निषेध गर्ने निर्णय गरेको छ । यसैगरी जिल्ला प्रवेश गर्ने मानिसको आवागमनमा कडाइ गर्दै सवारी सञ्चालनमा पास नभएका सवारीसाधन सञ्चालनमा ल्याइए प्रहरीले नियन्त्रणमा लिइ सङ्क्रमक रोग रोक एन २०२० दफा ३ बमोजिम कारवाही गरिने निर्णय गरिएको छ । सङ्कट व्यवस्थापन केन्द्रको निर्णयअनुसार किसानलाई सिजनअनुसार बाली लगाउन दिने, सरकारले खुला गरेको सबै उद्योगमा काम गर्ने मजदूरको ज्वरो तथा स्वास्थ्य परीक्षण गर्ने र श्रमिक कार्यस्थलमै रहने व्यवस्था मिलउनुपर्ने भएको छ । खाद्यान्न औषधि पसललगायतका दैनिक अत्यावश्यक पसल बिहान ७ः०० बजेदेखि १०ः०० बजेसम्म सञ्चालन गर्ने र ग्यासलगायतका सामग्रीको सहज आपूर्ति गर्न उद्योगी व्यवसायीलाई निर्देशनसमेत बैठकले दिएको सङ्कट व्यवस्थापन केन्द्रका सदस्यसचिव डा भुवन पैडेलले बताए । रासस
सेयर बजार वैशाख ३० गतेदेखि मात्र खुल्ने, यस्ताे छ व्यवस्था
काठमाडौं । सेयर बजार आगामी वैशाख ३० गतेदेखि मात्र खुल्ने भएको छ । शुक्रबार नेपाल धितोपत्र बोर्डमा बसेकाे बैंठकले हाल बन्द रहेको सेयर काराेबार आगामी मंगलबारदेखि सञ्चालन गर्ने निर्णय गरेको हो । बोर्डका अध्यक्ष भीष्मराज ढुुंगानाले आगामी आइतबार र सोमबार लकडाउनअघि कारोबार भएका सेयर सेटलमेन्टका तथा कारोबार सुचारु गर्ने आन्तरिक तयारी गर्नुपर्ने भएकाले मंगलबारदेखि मात्र कारोबार शुरु गर्ने बताएका छन् । तर, धितोपत्र बजार सम्बन्धित संघसंस्थाहरु भने आगामी आइतबारदेखि नै खुल्ला हुने उनले जानकारी दिए । उनका अनुसार मंगलबारदेखि बजारमा दैनिक २ घण्टा मात्र कारोबार हुने भएको छ । यससँगै, लकडाउनको अवधिभर सेयर बजार बिहान ११ बजेदेखि १ बजेसम्म खुल्ला हुने छ । ‘मंगलबारदेखिको कारोबारमा नेप्से परिसूचक २ प्रतिशत भन्दा तलमाथि भएमा सो दिन कारोबार बन्द हुनेछ । त्यस्तै, सेयर मूल्यमा पनि ३ प्रतिशत घटबढ नहुने व्यवस्था गरिएको छ । ’- अध्यक्ष ढुङ्गानाले विकान्युजसँग भने । यसअघि दिनमा सेयर मूल्य १० प्रतिशतले घटबढ भए काराेबार बन्द हुने गरेकाे थियाे । जारी रहेको लकडाउनको बीचमा खुल्न लागको बजारमा बोर्डले धितोपत्रसँग सम्बन्धित संघ संस्थाहरूका कर्मचारीहरूलाई पास उपलब्ध गराउने भएको । तर, लगानीकर्ताहरुलाई भने पास उपलब्ध गराउन सम्भव नभएको अध्यक्ष ढुङ्गानाले बताए । काेराेना भाइरस प्रकाेपले लकडाउन शुरु भएसँगै सेयर बजार पनि गत चैत १० गतेदेखि हालसम्म निरन्तर बन्द रहेकाे छ । [pdf id=212830]
रिलायन्स लाइफ इन्स्योरेन्सकाे नाफा १२८.८१ प्रतिशतले वृद्धि
काठमाडाैं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीकाे खुद नाफा १२८.८१ प्रतिशतले वृद्धि भएकाे छ । कम्पनीले सार्वजनिक गरेकाे चालु आवको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार सो अवधिमा कम्पनीले ६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ । जुन गत आर्थिक वर्षकाे साे अवधिकाे तुलनामा ३ करोड ४८ लाख रुपैयाँ बढी हो । कम्पनीले गत आवको साे अवधिमा २ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे । समीक्षा अवधिमा कम्पनीले ७९ करोड ७१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । जुन गत वर्षको सोही अवधिको भन्दा ३९ करोड ४ लाख रुपैयाँ बढी हो । गत आवको चैत मसान्तसम्म कम्पनीले ३७ करोड ६७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । त्यस्तै, कम्पनीले १ करोड ६७ लाख रुपैयाँ बराबरकाे कुल दाबी वापत भुक्तानी गरेको छ भने १० लाख रुपैयाँ बराबरको दाबी भुक्तानी हुन बाँकी रहेको छ । हाल कम्पनीकाे चुक्ता पुँजी १ अर्ब ४७ लाख रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा १४ करोड ९६ लाख रुपैयाँ, जीवन बीमा कोषमा ८६ करोड ९८ लाख र महाविपत्ति कोषमा एक करोड ६६ लाख रुपैयाँ रहेको छ ।
तेस्राे त्रैमासमा बीमा शुल्क साढे २ अर्बले बढ्यो
काठमाडौं । तेस्राे त्रैमासमा निर्जीवन बीमा कम्पनीहरुको आम्दानी बढेको छ । गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा यो वर्षको सोही अवधिमा बीमा शुल्क बढेको हो । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले दिएको जानकारी अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बीमा शुल्क २ अर्ब ३६ करोड रुपैयाँले बढेको छ । यद्यपि सरकारले देशभर लागू गरेको लकडाउनका कारण सर्वसाधारणको आवतजावत पूर्णरुपमा बन्द गरिएपछि चैत महिनामा तिर्नुपर्ने बीमा शुल्क तिर्ने अवधी थप गरी व्याज नलाग्ने व्यवस्था गरिएको थियो । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले १९ अर्ब ६८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा निर्जीवन बीमा शुल्क १७ अर्ब ३२ करोड रुपैयाँ संकलन भएको थियो । बीमा समितिले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षकोे चैत समान्तसम्ममा १८ लाख १२ हजार ९ सय २५ जना बीमाको दायरामा आएका छन् । निर्जीवन बीमा कम्पनीहरुमा कार्यरत कर्मचारी संख्या ४ हजार ९ सय ६७ छन् भने कार्यालय संख्या ८ सय ९० छ । कुन कम्पनीले कति संकलन गर्यो बीमा शुल्क ? नेपाल इन्स्योरेन्स कम्पनीले गत चैत मसान्तसम्ममा ८६ करोड रुपैयाँ संकलन गरेको छ । यस्तै, ओरेन्टल इन्स्योरेन्सले ७९ करोड, नेशनल इन्स्योरेन्सले ६१ करोड र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले ८६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । समितिले दिएको जानकारी अनुसार युनाईटेडले ५६ करोड रुपैयाँ, प्रिमियर इन्स्योरन्सले १ अर्ब ३० करोड रुपैयाँ, एभरेष्ट इन्स्योरेन्सले ७४ करोड रुपैयाँ, नेको इन्स्योरेन्सले १ अर्ब ६२ करोड र सगरमाथा इन्स्योरेन्स कम्पनीले १ अर्ब ७० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यस्तै, प्रभु इन्स्योरेन्स कम्पनीले १ अर्ब ८ करोड रुपैयाँ, आईएमई जनरलले ९९ करोड रुपैयाँ, प्रुडेन्सियलले ८३ करोड रुपैयाँ, शिखर इन्स्योरेन्सले २ अर्ब ३२ करोड रुपैयाँ, लुम्बिनी जनरलले ८७ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १ अर्ब ३१ करोड रुपैयाँ र सिद्धार्थ इन्स्योरेन्सले १ अर्ब ५० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । समितिका अनुसार जनरल इन्स्योरेन्स कम्पनीले ८७ करोड रुपैयाँ, अजोड इन्स्योरेन्स कम्पनीले ६१ करोड रुपैयाँ र सानिमा जनरलले २६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । सरकारी स्वामित्व पनि रहेको राष्ट्रिय बीमा कम्पनीले भने बीमा शुल्क संकलनको विवरण समितिमा बुझाएको छैन ।