विकासन्युज

बढी मूल्यमा सामाग्री बिक्री गरिरहेका काठमाडौंका ४ पसललाई ५ लाख जरिवाना

काठमाडौं । दोहोरो बिल जारी गरेवापत दुई बिक्रेतालाई कारवाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नियमित बजार अनुगमनका क्रममा खाद्य पदार्थलाई बढी मूल्यमा बिक्रीवितरण गरेको र दोहोरो बिल जारी गरेको भेटिएपछि उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम जरिवाना गरिएको विभागले जनाएको छ । कुलेश्वरस्थित समर किराना पसलले बिल जारी नगरी दोहोरो मूल्य कायम गरेको र साधारण बिलको प्रयोग गर्ने गरेको भेटिएपछि रु तीन लाख जरिवाना गरिएको विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए । उनका अनुसार कालीमाटीस्थित श्रेष्ठ किराना सेन्टरले थोक व्यापारमा दोहोरो मूल्य कायम गरेर नक्कली बिल जारी गरी उपभोक्ता ठगेकाले उक्त सेन्टरलाई रु दुई लाख जरिवाना गरिएको छ । आज नै कोटेश्वरस्थित उदयपुर फ्रेस हाउसलाई खरीद बिल नदेखाएको र कालीमाटीस्थित बिएस ब्रदर्श स्टोरलाई अनुगमनमा असहयोग गरेको भन्दै रु २०- २० हजार जरिवाना गरिएको छ । ती चार पसललाई आज कारवाही गर्दा रु पाँच लाख ४० हजार राजश्व संकलन भएको बताइएको छ ।

ज्योति लाईफ इन्स्योरेन्सले आफ्ना बीमितहरुलाई कोराेनाको बीमा निशुल्क गरिदिने

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले बैशाख २७, २०७७ देखि जेष्ठ मसान्त, २०७७ भित्र सावधिक जीवन बीमाको नवीकरण बीमा शुल्क तिर्ने बीमितहरुको कोभिड–१९ को बीमा निशुल्क गरिदिने भएकाे छ । बीमा समितिले निर्जीवन बीमा कम्पनीहरु मार्फत हालै बजारमा ल्याएको कोभिड–१९  विरुद्धकाे रु.५० हजार बराबरको जोखिम बहन हुने गरि ज्योति लाईफ कम्पनिले  १ वर्षको लागि निशुल्क बीमा सुविधा दिने भएको हाे । “बीमितहरुको सुरक्षा, हाम्रो दायित्व” भन्ने नाराका साथ बीमितहरुको लागि यो सुविधा थप गरेको र सो वापत लाग्ने बीमा शुल्क कम्पनीले नै तिरिदिने भएकोले यसबाट बीमितहरुलाई कुनै आर्थिक भार नपर्ने कम्पनिले जनाएकाे छ । यस योजनाबाट ज्येष्ठ मसान्त २०७७ भित्र नवीकरण बीमा शुल्क तिर्ने सम्पुर्ण बीमितिहरुले कोभिड–१९ को बीमालेखमा उल्लेखित शर्त बमोजिम बीमितको एऋच् पद्धतीबाट कोरोना भाइरस परिक्षण गर्दा पोजेटिभ रिपोर्ट देखिएमा सम्बन्धीत बीमा कम्पनीले बीमितलाइ एकमुष्ट रु.५० हजार उपलब्ध गराउने कम्पनिले जनाएकाे छ । यस योजनाबाट कम्पनीका १० हजार भन्दा बढी बीमितहरु लाभान्वित हुन सक्ने विश्वास कम्पनीले लिएको छ । सम्पूर्ण नवीकरण योग्य बीमितहरुलाइ विभिन्न अनलाइन सेवा, कम्पनीको बैक खातामा रकम जम्मा गर्ने वा नजिकको शाखा/उपशाखा कार्यालयमा सम्पर्क गरि नवीकरण बीमा शुल्क तिरी कम्पनीले दिएको सुविधाबाट लाभ लिन सक्नेछन् ।

कोरोना बिरामीमुक्त बन्यो सुदूरपश्चिम

काठमाडौं । आजदेखि सुदूरपश्चिम प्रदेश कोरोना बिरामी मुक्त बनेको छ । ३५ दिनदेखि कोरोनाको उपचार गराइरहेकी महिला आज डिस्चार्ज भएपछि उनी सुदूरपश्चिम कोरोना बिरामी मुक्त भएको हो । सेती प्रादेशीक अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर शेरबहादुर कमरले अब सुदूरपश्चिममा कोरोनाका बिरामी नरहेको बताए । ‘आज देखि सुदूरपश्चिममा कोरोना संक्रिमतको संख्या शुन्य पुगेको छ, आइसोलेसनमा पनि कोही छैन, तर अझै पनि कोरोनाको जोखिममा भने रहेको छ,’ उनले भने । हालसम्म सुदूरपश्चिममा ५ जना कोरोनाका बिरामी देखिएका छन् । ती सबै निको भएर घर फर्किसकेका छन् । आज डिस्चार्ज भएकी महिलामा लगातार दुई पटकसम्म रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो । ३५ दिनदेखि सेती अस्पतालमा उपचाररत धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिलाको छ पटक सम्म गरीएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएकोमा पछिल्लो दुई पटक गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको हो । उनीसंगै भर्ना भएका दुई जना, अगाडि भर्ना भएका एक जना र उनीभन्दा पछाडि भर्ना भएकी एक जना गरी चार जना कोरोना संक्रमित भने सेती अस्पतालबाट यसअघि डिस्चार्ज भईसकेका छन्। योसंगै सुदूरपश्चिम प्रदेशमा पाँच जनामा कोरोना देखिएकोमा सबै ठिक भएर घर फर्किसकेका छन् । लम्कीचुहा नगरपालिकाका २१ बर्षीय युवक, धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय युवक, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४० बर्षीय पुरुष र लम्कीचुहा नगरपालिका वडा नम्वर १ कि महिला यसअघि नै सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भईसकेका थिए।

आइतबारदेखि बैंक तथा वित्तीय संस्थाका सबै शाखा खुल्ने

काठमाडौं । मन्त्रिपरिषद्को यही वैशाख २४ गतेको निर्णयअनुसार आगामी आइतबारदेखि बैंक तथा वित्तीय संस्थाका देशभरका शाखा खुल्ने भएका छन् । सरकारले बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सरकारी संस्थामार्फत अतिआवश्यक पर्ने कर्मचारीमध्ये एकतिहाइ कर्मचारीबाट आलोपालो गरी सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा आइतबारदेखि सबै बैंक तथा वित्तीय संस्थाका शाखा स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सञ्चालनमा ल्याउने तयारी गरिएको हो । एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीका अनुसार सरकारको निर्णयअनुसार आवश्यकताका आधारमा एकतिहाइ कर्मचारी राखेर शाखा सञ्चालनमा ल्याउन लागिएको हो । नेपाल बैंकर्स सङ्घले सबै बैंकका सम्पूर्ण शाखा खोल्न आग्रह गरेको छ । एक पटकमा शाखा कार्यालयमा पाँच जनाभन्दा बढी सेवाग्राहीलाई प्रवेश नदिने, मास्क, स्यानिटाइजरलगायतका स्वास्थ्य सुरक्षाका सामग्री बैंकका कर्मचारी र सेवाग्राहीका लागिसमेत अनिवार्य गरिएको छ । ‘लकडाउन’को अवधिमा बैंकले आलोपालो सेवा दिँदै आएका थिए । शाखा कार्यालय नजिक रहेका एटिएम काउन्टर बन्द गरिएका थिए भने अन्य स्थानमा एटिएम सञ्चालनमा ल्याइएको थियो । सरकारले गत चैत ११ गतेदेखि कोरोनाको सङ्क्रमण बढ्न नदिन ‘लकडाउन’ घोषणा गरेसँगै बैंक तथा वित्तीय संस्था आंशिकरुपमा खुलेका थिए । उनीहरुले ग्राहकलाई बढीभन्दा बढी विद्युतीय माध्यममार्फत कारोबार गर्न आग्रह गरेका थिए । सरकारको पछिल्लो निर्णयलगत्तै बैंकका शाखा खुल्ने निर्णयले ग्राहकलाई थप राहत पुग्ने विश्वास लिएको छ ।

खोल्ने भनिएका ४४ प्रकारका उद्योग प्रतिष्ठानका कर्मचारीले यहाँ र यसरी पाउँछन् पास

काठमाडौं । सरकारले आज (२६ वैशाख) देखि ४४ प्रकारका उद्योग प्रतिष्ठान, विक्री वितरण र सेवा संचालन गर्न दिन नीतिगत निर्णय गर्यो । तर, यस्तो बस्तु तथा सेवा उत्पादन र विक्री वितरण गर्ने निकायका कामदार तथा कर्मचारीलाई आवतजावतको लागि के कस्तो व्यवस्था गर्ने भन्ने अन्योल नै छ । गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्मा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले पासको व्यवस्था गर्ने बताउँछन् । सरकारले कोरोना भाइरस (कोभिड १९) संक्रमण फैलनबाट रोक्न ११ चैतदेखि देशव्यापी लकडाउन गरेपछि विभिन्न बस्तु तथा सेवा उत्पादन र विक्री वितरण गर्ने निकायका कामदार तथा कर्मचारीलाई आवतजावतमा समस्या उत्पन्न भएको हो । ‘उद्योग प्रतिष्ठान र निर्माणजन्य व्यवसायमा कामदार तथा कर्मचारीलाई कार्यस्थलमै राखेर काममा लगाउनु भनिएको छ, त्यस्ता क्षेत्रमा काम गर्नेहरुका लागि निवासबाट एकपटक कार्यस्थलमा ल्याउनको लागि मात्रै समस्या हो, कार्यस्थलमै राखेर काम गराउन नसक्ने बस्तु तथा सेवा उत्पादक र विक्री वितरण गर्नेहरुका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयले समन्वय गरेर पासको व्यवस्था गर्छन्, पास चाहिनेहरुले जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्नुपर्छ,’ प्रवक्ता शर्माले भने । पास दिन विषयमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुले आफै विभिन्न विकल्प अपनाउन सक्ने पनि शर्माले जानकारी दिए । ‘कस्तो बस्तु तथा सेवा उत्पादन र विक्री वितरण गर्ने उत्पादक वा सेवा प्रदायकले कामदार तथा कर्मचारी कहाँबाट कहाँसम्म लानु ल्याउनु पर्ने हो, त्यस्ता उत्पादक वा विक्री वितरकको नियामक निकाय को हो, यस्ता विषयको विश्लेषण गरेर परिचयपत्रकै आधार आवतजावत गर्न दिने कि, सम्बन्धित नियामक निकायसँग समन्वय गरेर त्यस्ता नियामकबाट नै पास उपलब्ध गराउने व्यवस्था गर्ने कि वा आफैले पास दिने भन्ने विषयमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरु आफैले व्यवस्था मिलाउँछन्, त्यसमा कुनै समस्या वा अन्योल भयो भने गृहमन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्छ,’ मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखाका प्रमुखसमेत रहेका प्रवक्ता शर्माले भने । काठमाडौंमा कसरी पाइन्छ पास ? काठमाडौं जिल्लाको हकमा भने सम्बन्धित नियामक निकायले नै पासको व्यवस्था गर्ने विकल्प अपनाउन थालिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका सुचना अधिकारी जिवनप्रसाद आचार्यले जानकारी दिए । ‘अत्यावश्यक वस्तु तथा सेवा उत्पादन र विक्री वितरण गर्ने उत्पादक र विक्री वितरकलाई परिचयपत्रकै आधार आवतजावत गर्न दिने व्यवस्था यसअघिदेखि नै गरिएको थियो, अहिले खुलाइएका उद्योग प्रतिष्ठान तथा सेवा व्यवसायका कामदार तथा कर्मचारीहरुको लागि पासको व्यवस्था सम्बन्धित नियामक निकायले गर्न सक्छन्, यसको विस्तृत मोडालिटी तयार पर्दैछौं, केही समयमा सार्वजनिक हुन्छ,’ सुचना अधिकारी आचार्यले भने । आचार्यका अनुसार बैंक वित्तीय संस्थाका कर्मचारीको पास नेपाल राष्ट्र बैंकबाट पाइनेछ । यस्तै, बीमा कम्पनीको कर्मचारीको पास बीमा समितिबाट, धितोपत्र बजारसँग सम्बन्धित कर्मचारीको लागि धितोपत्र बोर्डबाट तथा अन्य उद्योग प्रतिष्ठानहरुको पास उद्योग विभागबाट पाइनेछ । तर, यस्ता उद्योग प्रतिष्ठान, व्यापार तथा सेवा प्रदायकका कामदार कर्मचारी सबैले पास पाउँछन् भन्ने होइन । सरकारले खुल्ला गर्ने भनिएका ४२ प्रकारका उद्योग प्रतिषठन र सेवा प्रदायकका कामदार तथा कर्मचारीहरु एक तिहाईबाट मात्रै सेवा सुरु गर्न पनि सरकारले भनेको छ । ‘कुनै बैंकमा सय जना कर्मचारी छन् भने नेपाल राष्ट्र बैंकले त्यो बैंकलाई ३३ जना कर्मचारीलाई मात्रै बोलाएर कार्यालय सुचारु गर भन्न सक्छ, त्यस्तो व्यवस्था गरियो भने नेपाल राष्ट्र बैंकले पास दिनै परेन, यस्तो अवस्थामा सो बैंकले ३३ जनाभन्दा बढी कर्मचारी बोलाएर काममा लगाएको थाहा भयो भने राष्ट्र बैंकको सिफारिसमा प्रशासनले आवश्यक कारबाही गर्छ,’ आचार्यले भने । तर, अर्काे विकल्प पनि प्रयोग हुन सक्ने उनको भनाइ छ । अर्काे विकल्प भनेको सय जना कर्मचारी भएको बैंकलाई राष्ट्र बैंकले ३३ वटा पास उपलब्ध गराउने हो । अन्य नियामक निकायले पनि यही मोडालिटीमा सहजीकरण गर्न सक्ने आचार्यको भनाइ छ । नियमक स्पष्ट नभएका तथा नियामक निकायको उपस्थिति नभएका स्थानमा सेवा व्यवसायका कामदार कर्मचारीको पासको व्यवस्था कसरी गर्ने भन्ने सन्दर्भमा भने जिल्ला प्रशासन कार्यालयले आवश्यक समन्वयको गृहकार्य गरिरहेको छ ।

कोरोनालाई जितेर ३५ दिनपछि घर फर्किइन् धनगढीकी संक्रमित महिला

काठमाडाै‌ ।  धनगढीकी कोरोना संक्रमित महिला पनि सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएकी छन्। लगातार दुई पटकसम्म रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको सेती अस्पतालले जानकारी दिएकाे छ । ३५ दिनदेखि सेती अस्पतालमा उपचाररत धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिलाको छ पटक सम्म गरीएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएकोमा पछिल्लो दुई पटक गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको हो। उनीसंगै भर्ना भएका दुई जना, अगाडि भर्ना भएका एक जना र उनीभन्दा पछाडि भर्ना भएकी एक जना गरी चार जना कोरोना संक्रमित भने सेती अस्पतालबाट यसअघि डिस्चार्ज भईसकेका छन्। योसंगै सुदूरपश्चिम प्रदेशमा पाँच जनामा कोरोना देखिएकोमा सबै ठिक भएर घर फर्किसकेका छन्। लम्कीचुहा नगरपालिकाका २१ बर्षीय युवक, धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय युवक, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४० बर्षीय पुरुष र लम्कीचुहा नगरपालिका वडा नम्वर १ कि महिला यसअघि नै सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भईसकेका थिए।

भारतकै भरमा निर्माण सामग्री, यो बेला काम नभए ३५ अर्ब नोक्सान हुन सक्ने

काठमाडौं । देशमा लकडाउन जारी छ । लकडाउनका कारण सर्वसाधारणहरु घरभित्रै छन् । मानिसहरु घरभित्रै भएको कारण मानिसका दैनिक गतिविधीहरु ठप्प छन् । मानिसहरुको चहलपहल कमिका त्यसको प्रत्यक्ष असर देशको अर्थतन्त्रमा परेको छ । लकडाउनकै कारण धेरै निर्माणाधीन आयोजनाहरु पनि प्रभावित भएका छन् । सरकारले राष्ट्रिय गौरवका आयोजनासहित विकास निर्माणका काम सुरु गर्ने भने पनि निर्माण व्यवसायीले तत्काल काम थाल्न नसक्ने बताएका छन् । सरकारले भने अनुसार निर्माणका काम गर्न सामग्रीको अभाव र मजदुर व्यवस्थापनसँगै लागत खर्चसमेत बढ्ने भएकाले तत्काल काम सुरु गर्न नसक्ने निर्माण व्यवसायीले बताएका हुन् । निर्माण व्यवसायीहरुलाई समयमै काम सक्नु पर्ने दवाव पनि उतिकै छ । सरकारले काम सुरु गर्न अनुमति दिँदा दिदै पनि ती ठूला आयोजनाहरु भने अझै पनि काम सुरु गर्ने अवस्थामा छैनन् । ती आयोजनाहरुलाई अहिले काम पुनः शुरु गर्न चौतर्फि समस्या परेको छ । हिजो लकडाउनको कारण घर फर्किसकेका कामदारहरु अहिले निर्माणाधीन आयोजना स्थलमा आउन सक्ने अवस्था छैन । नत ती आयोजनाहरुलाई निरन्तरता दिनको लागि निर्माण सामग्री नै छ । ती धेरै राष्ट्रिय गौरवका आयोजना र ठूला आयोजनाहरु मध्ये केही आयोजनाको निर्माण कार्य मात्र आंशिक रुपमा सुरु भएको छ । जलविद्युतमा कार्यरत मजदुरमध्ये केही घर गइसकेको अवस्थामै आयोजनाले निर्माण सुरु गरेका छन् । विमानस्थलहरुको काम निरन्तर रुपमा अगाडि बढाउनका लागि सामग्रीको अभाव छ । धेरै परियोजनाका त कामदार पनि घर फर्किसकेका छन् । सरकारले सरकारी तथा निजी क्षेत्रबाट सञ्चालन भएका जलविद्युत, सिँचाइ, खानेपानी, सडक, पुल, भवन निर्माण तथा सबलीकरण गर्न अनुमति दिएको छ । तर, एक स्थानमा अधिकतम १० जनाभन्दा नबढ्ने गरी काम गराउनुपर्ने, अनिवार्य स्वास्थ्य परीक्षण गर्नुपर्ने, एकै ठाउँमा बस्ने व्यवस्था मिलाउने, कार्यस्थलमै खाना र खाजाको व्यवस्था मिलाउनुपर्ने निर्णय गरेको छ । सरकारको यो निर्णयलाई कार्यान्वयन गर्दा खर्च व्यवस्थापन गर्न गाह्रो हुने निर्माण व्यवसायीको भनाइ छ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले भने अनुसारका मापदण्डको पालना गर्न नसकिने र मौसम अनुकूल नरहेको तथा निर्माण सामग्रीको उपलब्धता कम रहेको र ढुवानी खर्च बढेको बताए । देशभर झण्डै आठ खर्ब रुपैयाँ लागतका पाँच हजार निर्माण आयोजना सञ्चालनमा रहेको अवस्थामा लकडाउन भएको उनको भनाइ छ । यो बेला काम गर्न नपाएर झण्डै ३५ अर्ब रुपैयाँ नोक्सानी हुने उनले बताए । सामग्री अभावको कारण काम अगाडि बढाउन नसकिएको उनले बताए । ‘कामदार र निर्माण सामग्रीमा भारतकै भर पर्नुपर्ने अवस्था छ, अहिले लकडाउन छ, नाका बन्द छन’ यो समयमा कामलाई निरन्रता दिन सक्ने अवस्था छैन, उनले भने । ‘हामीले अझै पनि भारत र चीनीयाँ बजारको भरमा पर्नु पर्ने अवस्थामा छौं, नेपाली सामान धेरै महँगो पनि पर्छ र बनेको पनि छैन, भारतबाट सामग्री नआउँदा सम्म हामी आयोजना निमौण कार्य अगाडि बढाउन सकिँदैन,’ उनले भने । सरकारले निर्वाद रुपमा निर्माण सामग्री ढुवानीका लागि व्यवस्था गर्नु पर्ने उनको भनाइ छ ।

अनाथ तथा असहाय बालबालिकालाई नेशनल माइक्रोफाइनान्सको खाद्यान्न सहयोग

काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लि. केन्द्रीय कार्यालय धादिङबेसीले अनाथ तथा असहाय बालबालिकाहरुलाई खाद्यान्न वितरण गरेको छ । संस्थाले धादिङ जिल्लाको निलकण्ठ नगरपालिका वडा नं ४ बैकुण्ठपुरी स्थित आमाको माया छात्राबासमा रहेको २३ जना अनाथ तथा असहाय बालबालिकाहरुलाई खाद्यान्न समाग्री वितरण गरेको हो । लकडाउनको कारण बाहय सहयोग नभई खाद्यान्न समाग्रीको अभाव रहेको बालबालिकाहरुलाई संस्थाको संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत राहत स्वरुप खाद्यान्न वितरण गरेको जानकारी गराएको छ । छात्रावासको संचालक समितिका अध्यक्ष डा. नविनबन्धु पहडीलाई संस्थाको केन्द्रीय कार्यालयको वरिष्ठ प्रबन्धक बिजय कुमारले संस्थाको तर्फबाट चामल ५ बोरा, भुजा ३ बोरा, चना १० किलो र दाल १० किलो बितरण गरिएको कुरा संस्थाको विभागीय प्रमुख सिताराम पंडितले जानकारी गराएका छन् । आमाको माया छात्राबासमा रहेको अनाथ तथा असहाय बालबालिकाहरुलाई संस्थाको खाद्यान्न समाग्री सहयोगले बालबालिकाहरुलाई १५ दिनसम्म खान पुग्ने तथा यस किसिमको सहयोगको लागि अध्यक्ष डा. नविनबन्धु पहाडीले नेशनल माइक्रोफाइनान्स संस्थालाई धन्यवाद दिएका छन् ।