विकासन्युज

कुवेतमा थप २० दिन लकडाउन घोषणा

काठमाडौं । कोरोना संक्रमण बढ्दै गएसँगै कुवेत सरकारले थप २० दिनको लकडाउन घोषणा गरेको छ । कोरोना भाइरस संक्रमणको रोक्नको लागि कुवेतमा मे १० देखि मे ३० सम्मका यो राष्ट्रव्यापी लकडाउन भएकाे सरकारले घाेषणा गरेकाे हाे । कुवेतमा कोरोना संक्रमित निरन्तर बढ्दै गएको छ, जसलाई ध्यानमा राख्दै कुवेत सरकारले यो निर्णय लिइएको छ । शुक्रवार मात्र कुवेतमा ६ सय ४१ जनामा नयाँ संक्रमण पुष्टि भएको छ भने हालसम्म ४७ जनाको मृत्यु भइसकेको छ । कुवेतमा संक्रमणको पहिलो केस फेब्रुअरी २ मा पुष्टि भयो । त्यस्तै करिब ७० हजार नेपाली श्रमिक रहेको कुवेतमा हालसम्म ८४ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको कुवेतस्थित नेपाल राजदुत दुर्गाप्रसाद भण्डारीले बताएका छन् ।

कोरोना संक्रमणः यस्तो छ आज विहानसम्मको ताजा तथ्यांक

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ४० लाख १० हजार २ सय ७३ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख ७५ हजार ९ सय ३६ जनाको मृत्यु भइसकेको छ भने १३ लाख ७८ हजार जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ७८ हजार ५ सय ७७ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १३ लाख २१ हजार ३ सय ७४ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ५९ हजार ६ सय ९३ पुगेको छ भने अहिलेसम्म १ हजार ९ सय ८५ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म १ सय २ जना संक्रमित भएका छन् भने ३१ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार :  वल्डोमिटर)

भुङ्ग्राेमा हर्कमान

विम्मात्मक तस्वीर पिठ्युमा पुरानो च्यातिएको झोला । झोला भित्र केहि पुराना कपडा । अनि मन भरिका पिढासँग मनोवाद गरेर एक्लै बरबराउदै हिडेका हर्कमान ।लाग्छ कोहि मानसिक सन्तुलन गुमाएको मान्छे सडकमा हिडिरहेछ। चैत बैशाखको चर्को घामको मध्यदिन अनि घरि घरि  बेतोडका साथ दौडने फाट्टफुट्ट सवारी सादनको बीच आफ्नो भारि  पैताला अनि छियाछिया भएको मनलिएर हर्कमान आज घर फर्कदैछ। आज भन्दा १५-१६ वर्ष अगाडि यसरी नै ऊ गाउँबाट सहर छिरेको थियो । उसबेला र आज समयमात्रै फरक छ । परिस्थिति झन्नै-झन्नै उस्तै छ।उसबेला एक घर एक जन भन्ने क्रान्तिकारिको आतंक उर्दीबाट ज्यान जोगाउन सहर छिरेको ऊ आज विश्वमा फैलियेको भाइरस आतंकबाट बच्न गाउ जादैछ। हुनत गाउँमा नि उसकाे स्थायी ठेगान छैन । सरकारको तर्फबाट मुठभेटमा,अनि क्रान्तिकारीको तर्फबाट ज्ञात अज्ञात सहिद भैसकेको छ उसकाे परिवार । विचारा उ गाउँ नगएर नि गरोस के ? कन्ट्रक्सन लाइनको मजदूरी काम। काम हुँदा हाजिरा न हुदा त्यसै बित्थ्याे उसकाे दिन । लकडाउनसँगै काम नभको नि ८-१० दिन भैसकेको थियो। रासनको नाममा कुनामा १-२ मुठी चामल सहितको खाली बोरा अनि बोराकै छेउमा २-३ दाना आलु । सरकारले गरिब तथा विपन्न वर्गलाई राहात बाड्दैछ रे भनेको सुनेर राहात पाउने आशामा चौक चौक अनि टोल टोलमा नपुगेको नि लेखक होइन । तर, उसलाई परिचयपत्रको नाममा विभिन्न कागजपत्र मागियो । विचारा वालिक नहुदै गाउछाडेको उसँग कसरी हुनु नागरिकता  ?  कसरी हुनु अन्य कागजपत्र ? उसकै अगाडि उसकाे घरवेटी र ठेकेदारहरुले राहात लेको अनि उसले नपाएको  विभेद देखेर ऊ रनभूल्ल पर्दै आफ्नो कोठामा फर्कन्छ। टिनको छाना अनि टिनकै टाटीबार । मधेशको चर्को घाम, मानौ कोठा होइन आगोको भुङ्ग्राे हो । तरपनि ढोका खोलि जसो तसो भित्र छिर्छ । अनि कोठाको चारैतिर हेर्छ । लाग्छ भित्तामा झुन्डाको बुबा आमाको फोटो अनि छाना भित्ता सबैले उसैलाई गिज्याइरहेछ। भनिरहेको छ कि हर्कमान ति हजारौ तिम्रा बुबाआमा जस्ता ज्ञात अज्ञात सहिदको रगत तिमी जस्ताको लागि बगेको होइन । ती त केहि सीमित वर्गको स्वर्थको लागि बगेको हो। तिमीहरुलाई  प्रयोग गरि उनीहरुको दूनो सोझ्याउनु थियो । तिमीहरुलाई भनिएका अनि गरिएका वाँचा सबै झूटा थिए तर तिमीहरुले पत्यायौ अनि उनीहरुको पछि लाग्यौ । आज देख्याै परिणाम। हर्कमानलाई कोठालाई चिथोरिदिउ जास्तो लाग्छ । अनि छानो उदारदिउ जस्ताे लाग्छ। अनि सोच्छ हो क्रन्तिले परिवर्तन ल्यायो तर परिवर्तन सीमित वर्गको लागि मात्रै आएछ । हामी जस्ता गरिब अनि उत्पीडित वर्गको लागि होइनरछ। अब उसँग एउटै विकल्प थियो अस्थायी ठेगान अनि गन्तव्यहिन यात्राको । हर्कमान आफू मात्रै गाउँ आइपुग्यो । धरान -१३ [email protected]  

मानव अंग प्रत्यारोपण केन्द्रको निर्देशकमा डा. प्रेम ज्ञवाली नियुक्त

काठमाडौं । सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा प्राडा. प्रेम ज्ञवालीलाई नियुक्त गरेको छ। त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा ज्ञवालीलाई मन्त्रिपरिषदले ४ वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । केन्द्रमा यसअघि डा पुकार चन्द्र श्रेष्ठ निर्देशकका रुपमा कार्यरत थिए। केन्द्रमा रहँदा डा श्रेष्ठ सँधै विवादमा मात्र आएका थिए ।

लिपुलेक हुँदै चीन जोड्ने सडक उद्घाटन

काठमाडौंँ । भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेको छ । भारतका रक्षामन्त्री राजनाथ सिंहले चीनको भूमिसँग जोड्ने गरी निर्माण गरेको गर्वाधार लिपुलेक सडकको आज उद्घाटन गरेको उनको ट्विटरबाट थाहा भएको छ । कैलाश मानसरोवर जोड्ने गरी निर्माण गरिएको बहुप्रतिष्ठित सडकको आज भिडियो कन्फ्रेन्समार्फत रक्षामन्त्री सिंहले उद्घाटन गरेको जनाइएको छ । मानसरोवर यात्राको लिंकरोडको उद्घाटन गर्न पाउँदा खुशी छु’, उनले ट्विट गरेका छन् , ‘बिआरओ (बोर्डर रोड अर्गनाइजेशन) ले धार्चुलादेखि लिपुलेक चीन सीमासम्म कैलाश मानसरोवर यात्रा मार्गको रूपमा चिनिने सडक जोडेको छ ।’ रक्षामन्त्री सिंहले सीमासम्म सडक जोड्नु भारतको ठूलो उपलब्धि भएको उल्लेख गर्नुभएको छ । यो सडकले स्थानीय र व्यापारीलाई सुविधा पुग्ने उनको विश्वास छ । भारत चीनबीच व्यापारका लागि यो सडक मार्ग महत्वपूर्ण रहेको भारतीय अनलाइन संस्करण अमर उजालाले उल्लेख गरेको छ । नेपाल भारत लिपुलेकका विषयमा विवाद टुङ्गिन नपाउँदै भारतले लिपुलेकसम्मको सडकको उद्घाटन गरेको हो । कुटी, कालापानी, नाभीढाङ हुँदै लिपुलेक क्षेत्र नेपाली भूमि हो । सीमा अतिक्रमणको विषय टुङ्गिन नपाउँदै भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेपछि विरोधसमेत भइरहेको छ । चीनको सीमा क्षेत्रसम्म निर्माण गरिएको यो सडक व्यापारिक दृष्टिकोणले समेत प्रभावकारी भएको बताइएको छ । यसअघि भारतको तावाघाटदेखि व्यापारी र स्थानीयवासीले खच्चर र भरियामार्फत सामान ढुवानी हुँदै आएको थियो । अब सडक निर्माणसँगै व्यापारीले पैदल हिँड्नुपर्ने अवस्थाको अन्त्य भएको उल्लेख गरिएको छ । भारतीय व्यापारीले चीनको सामान आयातनिर्यातका लागि तावाघाटबाट गुञ्जीसम्म पैदल हिँड्नुपर्ने बाध्यता हटेको छ । यसअघि धार्चुलादेखि गर्वाधारसम्म ४५ किलोमिटर दूरीमा मात्र सवारीसाधन चल्ने गरेको थियो । त्यसभन्दा माथिल्लो क्षेत्रमा व्यापारी र सर्वसाधारणको पैदलयात्रा तय गर्नुपर्ने बाध्यता थियो । भारत पिथौरागढको धार्चुला गर्वाधारदेखि माल्पा १० किलोमिटर, माल्पाबाट बुँदी नौ किलोमिटर, बुदीबाट गुंँजी १८ किलोमिटर, गुंजीबाट कालापानी आठ किलोमिटर र कालापानीबाट नाभीढांग आठ किलोमिटरसम्म स्थानीयवासीको पैदलयात्रा हुने गरेको थियो भने नाभीढांगबाट चीनको ताक्लाकोट पुग्न २५ किलोमिटर दूरी छ । भारतले कूल ७८ किलोमिटर सडकको ट्र्याक खुलाएको हो । भारतले चीनको सीमासँग जोड्ने गरी सडक निर्माण गरेको यो पहिलो सडक हो । तावाघाटदेखि लिपुलेकसम्मको सडकको ट्र्याक खुलेसँगै अब भारतीयको पैदलयात्राको अन्त्य भएको भारतीय अनलाइन संस्करणले जनाएका छन् । उता चीनले लिपुलेकसम्म सन् २००८ मा सडक पु¥याएको छ ट्र्याक खुलेसँगै व्यापारमा सहजता आउने धार्चुलाका वरिष्ठ व्यापारी खिमानन्द भट्टले बताए । उनले भने, ‘सडकको ट्र्याक खुलेसँगै चीनसँगको कारोवार बढ्ने विश्वास छ । ’ धार्चुलाका एसडिएम अनिलकुमार शुक्लाले यस वर्ष सडक खुले पनि कोरोना भाइरसका कारण चीनसँगको व्यापार हुने सम्भावना नरहेको बताउनु । भारतबाट चीनसम्म गुड़, मिश्री, दन, कालीन, सलाइ, आल्मोनियमका भाँडाकुँडा, बाँसका डन्डा, पिठोलगायत निर्यात हुने गरेको छ । यो सडक खुलेसँगै भारतीयलाई मात्र नभई नेपाली नागरिकलाई समेत व्यासको छांगरु तिंकर पुग्न सहज हुनेछ । दार्चुला, व्यास गाउँपालिका–१ का बासिन्दा नेपालतिर बाटो नहुँदा विसं २०६० यता भारतीय भूमिको प्रयोग गर्दै आवतजावत गर्ने गर्छन् । दार्चुला –तिंकर सडक निर्माण एक दशकदेखि ढिलाइ हुँदा नेपाली भूमि भएर जाने बाटो निर्माण अवरुद्ध छ । विसं २०६५–०६६ देखि निर्माण शुरु गरिएको दार्चुला –तिंकर सडक हालसम्म ४० किमी मात्रै ट्रयाक खुलेको छ । हालै मात्र नेपाल सरकारले दार्चुला –तिंकर सडकको ७८ किमी सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको छ । व्यासवासी योगेश बोहरा चीनले यसअघि नै सडक पु¥याइसकेका अवस्थामा भारतले अहिले आएर सडक निर्माण गरेको बताउँछन् । ‘चीनले सीमासम्म सडक पु¥याइसकेको छ’, उनले भने, ‘अहिले हाम्रो विवादित भूमि हुँदै भारतले पनि लिपुलेक नजीकै सडक पु¥याएको हो ।’ हाम्रोतिर सडक निर्माण हुन नसकेका बेला भारतले एकतर्फी सडक निर्माणको भने दार्चुलावासीले समेत असन्तुष्टि जनाएका छन् । रासस

मलेसियामा थप २५ नेपालीमा कोरोना संक्रमण पुष्टि

पेतालिङजया । शुक्रबार मलेसियामा थप २५ नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार त्यहाँको स्वास्थ्य मन्त्रालयले थप २५ नेपालीमा कोरोना संक्रमण भएको पुष्टि गरेको हो। मलेसियाको स्वास्थ्य मन्त्रालयकाअनुसार रेम्बाउस्थित एउटै कम्पनीमा कार्यरत २५ नेपालीमा कोरोना संक्रमण भएको हाे। मलेसियामा शुक्रबारमात्रै ५३ आप्रवासीमा कोरोना भेटिएको त्यहाँको स्थानीय सञ्चारमाध्यम द स्टार डिजिटल पत्रिकाले उल्लेख गरेको छ। जसमध्ये २५ नेपालीसँगै १८ बंगलादेशी, ८ इन्डोनेसियन र २ म्यानमारका नागरिक रहेका छन्। शुक्रबार २५ नेपालीमा कोरोना भेटिएसँगै मलेसियामा कोरोना संक्रमित नेपालीको संख्या ३७ पुगेको छ। बिहीबारमात्रै ९ जना नेपालीमा कोरोना पुष्टि भएको थियो भने अगाडी ३ जना नेपालीमा कोरोना पोजेटिभ देखिएको थियो ।

दाङमा सबै रिपोर्ट नेगेटिभ

दाङ । दाङका आइसोलेशनमा रहेका सबै जनाको कोरोना भाइरस रिपोर्ट नेगेटिभ आएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, कोरोना विशेष अस्पताल बेलझुण्डी र लमही अस्पतालमा राखिएका ३८ जनाको रिपोर्ट नेगेटिभ आएको हो । घोराहीस्थित प्रतिष्ठानमा रहेको कोरोना जाँच प्रयोगशालामा गरिएको परीक्षण रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड –१९ फोकल पर्सन कमल चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार आइसोलेशनमा रहेका सबैको स्वास्थ्यावस्था सामान्य छ । हालसम्म दाङका आइसोलेशनमा पिसिआर जाँच गराएका १८९ जनाको रिपोर्ट नेगेटिभ आएको छ । विभिन्न चरणमा उनीहरु जिल्लामा रहेका आइसोलेशनमा उपचारका लागि आएका थिए । पालिकाले बनाएका क्वारेन्टाइनमा शुक्रबारसम्म ७९ जना रहेको पनि फोकल पर्सन चन्दले जानकारी दिए । उनले तुलसीपुर उपमहानगरपालिकामा २४, बबई गाउँपालिकामा नौ, लमही नगरपालिकामा ३५, गढवा गाउँपालिकामा ६ र घोराही उपमहानगरपालिकामा पाँच क्वारेन्टाइनमा रहेको बताए । यसअघि क्वारेन्टाइनमा बसेका १९७ जनाको आरडिटी गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएका हुँदा उनीहरुलाई डिस्चार्ज गरिएको जानकारी दिए । रासस

यातायात सहजीकरण: निर्माण सामग्री बोक्ने सवारीलाई पास नचाहिने

काठमाडौं । सरकारले लकडाउनलाई व्यवस्थित गर्दै विकास निर्माणका गतिविधि बढाउने निर्णय गरेसँगै प्रहरी र स्थानीय प्रशासनले यातायात आवागमनलाई सहजीकरण गर्न थालेको हो । उद्योग, कलकारखाना तथा कृषि कार्य खुलाउने सरकारको निर्णयसँगै त्यससँग सम्बन्धित सवारीलाई निर्वाध आवागमनका लागि आवश्यक तयारी गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए । उनका अनुसार आज उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखसहितको बैठकले उपत्यकामा चल्ने सवारीका विषयमा आवश्यक कार्ययोजनासहित सहजीकरण गर्ने निष्कर्ष निकालिएको छ । “लकडाउनलाई कायम राख्दै विकास निर्माण, उद्योग तथा कलकारखानाका लागि चाहिने सामग्री बोक्ने सवारीलाई सहज आवतजावत गर्न मिल्ने गरी व्यवस्थापन गर्ने निष्कर्ष निकालेका छौँ, इँटा, ढुङ्गा, रड, सिमेन्टलगायत बोकेका सवारीलाई पास नचाहिने भन्ने बैठकको निष्कर्ष रहयो, यो निर्णय गृहमन्त्रालयमा पठाउँछौँ”, प्रजिअ दाहालले भने । उनले उपत्यकामा चल्ने गाडीको हकमा सम्बन्धित मन्त्रालयका सचिव तथा सङ्घसंस्थाको हकमा सम्बन्धित संस्थाका नियामक निकायले पास जारी गर्ने जिल्लाको हकमा सम्बन्धित कार्यालयको सिmारिसमा प्रमुख जिल्ला अधिकारीमार्फत पास जारी गर्ने निष्कर्षसमेत उक्त बैठकले गरेको छ । मान्छेको भिडभाड हुन नदिने र सरकारले तोकेका गतिविधि गर्न नदिने विषयमा भने थप कडाइ गर्ने निष्कर्षसमेत निकालिएको छ । विकास निर्माणसम्बन्धीका सामग्री बोकेका हेभी सवारी राति ८ः०० देखि बिहान ६ः०० बजेसम्म चल्न पाउने छन् । बैंक तथा वित्तीय संस्थाका गाडी बिहान ९ः०० देखि १९ः३० सम्म तथा बेलुका ३ः३० देखि ५ः०० बजेसम्म चल्न पाउने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमखु, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए । उनका अनुसार सरकारले गरेको निर्णय र निर्देशन अनुसार विकास निर्माणका कामलाई सहजीकरण गर्दै अन्य गतिविधिलाई भने पूर्ण रोक्ने गरी प्रहरी परिचालन गरिएको छ । केही दिन अघिदेखि नेपाल प्रहरीले उपत्यकामा दैनिक उपभोग्य र स्वास्थ्य उपचारसम्बन्धीका सवारीबाहेकका सवारी पास भए पनि प्रवेश निशेष गरेको थियो । अब भने विकास निर्माणसँग सम्बन्धित गाडी भने स्वास्थ्य मापदण्ड पूरा गरेर आउन पाउने छन् । त्यस्ता सवारीमा अन्य यात्रु बोक्न भने पाइने छैन । सरकारको निर्णयसँग आजदेखि भने उपत्यकामा गाडीको चाप थप बढेको छ । साना गाडी बढी गुडिरहेका छन् । यात्रुबाहक गाडी भने चलेका छैनन् । उपत्यकाका सबै नाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ । आजदेखि बैंक तथा वित्तीय संस्थासमेत खुलेकाले त्यस्ता संस्थामा मानिसको अत्यधिक भीड देखिएको छ । लामो लाइन बसेर सेवा लिइरहेको पाइएको छ । सरकारले कृषि, रासायनिक मल, प्राङ्गारिक मल बोकेका ढुवानीका साधन, जनक शिक्षा सामग्री केन्द्रको सिफारिसमा शैक्षिक सामग्री बोकेका सवारी, विकास आयोजना सम्बन्धी, स्वास्थ्यसम्बन्धीका गाडी, भन्सारबाट जाँच पास भएर आएका मालबाहक सवारीलाई चल्न दिने निर्णय गरेको छ । यस्ता सबै सवारी चल्नका लागि आवश्यक स्वास्थ्य मापदण्ड भने अपनाउनुपर्ने हुन्छ । यस्तै सार्वजनिकस्थल, धार्मिकस्थलमा जमघट गर्न, खेलसम्बन्धी, होटल रेष्टुराँ, यात्रुबाहक बस सञ्चालन गर्न भने सरकारले रोकेको छ । यस्तै बालबालिका, वृद्धवृद्धा, असक्त मानिसको आवतजावतमा समेत रोक लगाएको छ ।