विकासन्युज

लिपुलेकमा भारतले गरेकाे कार्यप्रति सरकारले गर्याे खेदप्रकट

काठमाडौं । सरकारले भारतीय गतिविधिबारे आधिकारी धारणा प्रस्तुत गरेको छ । शनिवार परराष्ट्र मन्त्रालयले एक प्रेस विज्ञप्ति मार्फत नेपाली भूमि लिपुलेक हुँदै भारतले सडक खनेर चीनको सीमासम्म पुर्‍याएको विषयमा सरकारले आधिकारिक धारणा सार्वजनिक गरेको हो । विज्ञप्तिमा भनिएको छ,सन् १८१६ को सुगौली सन्धि अनुसार काली पूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालमै पर्ने दाबी गर्दै सरकारले यो विषयमा नेपालले कूटनीतिक नोट पठाउँदा पठाउँदै पनि भारतले सडक बनाउनु दुःखद भएको उल्लेख गरेको छ । कोरोना महामारी सङ्कटको अवस्थामा भारतको उक्त कार्य प्रति खेद प्रकट गरेको छ । सन २०१५ मा भारत र चीनले नेपालको भूमि हुँदै सडक पुर्‍याउन गरेको सहमतिमा पनि नेपालले त्यतिखेरै असहमति जनाएको भन्दै परराष्ट्र मन्त्रालयले एकपक्षीय रूपमा सिमानामा भएका गतिविधिबारे तत्कालै कूटनीतिक छलफलको पनि माग गरेको छ । साथै दुई देशबीच छलफल हुनुपर्ने र ऐतिहासिक सन्धि, कागजात र नक्साको आधारमा सीमा विवाद समाधान गर्नुपर्ने विषयलाई भारतले एकलौटी रूपमा प्रयोग गर्न नपाउने भन्दै सरकारले भारतको पछिल्लो कदम तत्काल फिर्ता लिन माग गरेको छ । चीनको मानसरोवर जोड्न भारत सरकारले एकतर्फी रूपमा लिपुलेक हुँदै सडक उद्घाटन गरेपछि चौतर्फी विरोध भएको छ । त्यसको विरोधमा उत्रेका विदयार्थीहरु समेत पक्राउ परेका छन् ।

युएईमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । एकैदिन युएईमा थप २२ जना नेपालीमाा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शनिवार युएईको शारजहाको एक क्लिनिङ कम्पनीमा एकैदिन ६१ जना महिला श्रमिकलाई कोरोना भाइरस पुष्टि भएको हो । जसमा २२ जना नेपाली महिला श्रमिकमा पनि कोरोना भाइरस पुष्टि भएको हो । संक्रमित सबैलाई कम्पनीले क्वारेन्टाइन बनाएर राखेको जनाएको छ । युएईमा १ सय ४९ जना नेपाली कोरोना संक्रमित भएका छन् । जसमा २७ जना उपचारपछि निको भएर फर्किएका छन् त्यस्तै ६ जना नेपालीको मृत्यु भइसकेको छ । हालसम्म युएईमा १६ हजार ७ सयभन्दा बढी मानिस कोरोना संक्रमित छन् भने १ सय ७४ जनाले ज्यान गुमाएका छन् ।

उद्योग सञ्चालन गरेसँगै अर्थतन्त्र चलायमान हुने

काठमाडौं । लकडाउन जारी राख्दै यो अवधिमा प्रक्रिया पुर्याएर उद्योग, व्यवसाय तथा वित्तिय संस्था संचालन गर्दा अर्थतन्त्र चलायमान हुने नेपाल उद्योग परिसंघको विश्वास छ । सामान्य रुपमा औद्योगिक गतिविधि बढ्न गई अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने विश्वास रहेको संघको भनाई छ । यसैगरी आंशिक खुला गरिएका व्यवसाय सञ्चालनका लागि आवश्यक सवारी आवतजावत तथा हिड्डुलका लागि अनुमति पत्र अर्थात पास वितरणलाई थप व्यवस्थित बनाउन पनि परिसंघले सम्बन्धित निकायलाई आग्रह गर्दछ । संक्रमणको जोखिमको आधारमा सम्पूर्ण देश,प्रदेश र स्थानीय तहलाई तीन अलग-अलग क्षेत्र अर्थात् जोनमा बाँडेर थप कडाई र खुला गर्दै लैजाने काम अघि बढाउन पनि परिसंघले सरकारसँग आग्रह गरेको छ । रेड, अरेन्ज र ग्रीन जोनमा बाँडेर जोखिमको स्तर निर्धारण गरी संक्रमण नियन्त्रणमा थप काम गर्नसकिने र कम जोखिमका क्षेत्रमा थप खुला गर्दै लैजाँदा स्वास्थ्य र आर्थिक संकटबाट हुने क्षति कम गर्न सकिने भन्दै सरकार यसतर्फ कदम चाल्नु पर्ने संघले जनाएको छ ।

भारतीय दूतावास अगाडि प्रदर्शन गर्ने ३३ विद्यार्थी पक्राउ

काठमाडौं । नेपाली भूमिमा भारतले सडक बनाएको भन्दै त्यसको विरोधमा यहाँस्थित भारतीय दूतावास अगाडि प्रदर्शनमा उत्रिएका ३३ विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । लकडाउन उल्लङ्घन गरेकाले उनीहरुलाई आज पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए । विद्यार्थी राष्ट्रिय झण्डासहित प्लेकार्ड बोकेर सो दूतावास अगाडि प्रदर्शन गर्न पुगेका थिए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थीले यसरी प्रदर्शन गरेको जनाइएको छ । सोही क्रममा विद्यार्थी नेता सुदेश पराजुली, यशु लामा, महेश श्रेष्ठ, अशोक थापा, मेघनाथ चापागाईंलगायत पक्राउ परेका हुन् । नेपालको भूगोलमा रहेका लिपुलेक, कालापानीबाट चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जोड्ने सडक ट्र्याकको शुक्रबार उद्घाटन गरेको समाचार भारतका सङ्घीय रक्षामन्त्री राजनाथ सिंहले ट्वीटमार्फत सार्वजनिक गरेको छ । यसबारे राससको प्रश्नमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विभिन्न सञ्चारमाध्यमबाट सो क्षेत्रमा पछिल्लो भारतीय गतिविधिबारे जानकारी पाएको र यसबारे स्पष्ट विवरण दिन भारतीय दूतावासमार्फत भारत सरकारसमक्ष माग गरिएको बताए । रासस

अस्ट्रेलियाका प्रधानमन्त्रीले गरे कोरोना प्रतिबन्ध हटाउने तीन योजनाकाे घोषणा

सिड्नी । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले अस्ट्रेलियामा लगाइएको कोरोना भाइरस प्रतिबन्ध हटाउन तीन चरणको योजना घोषणा गरेका छन् ।  प्रधानमन्त्री र राज्य क्षेत्रका नेताहरु सम्मिलित राष्ट्रिय मन्त्रिपरिषद्को बैठकपछि मरिसनले अस्ट्रेलियामा जुलाईको अन्त्यसम्ममा आर्थिक गतिविधि पूर्ण रुपले सञ्चालनमा ल्याइने योजना सार्वजनिक गरेका हुन् । पहिलो चरणमा रेस्टुरेन्ट र क्याफेहरू पुनः खोल्न अनुमति दिइने । पारिवारिक जमघटमा पाँच जनासम्म भेला हुन दिइने भएको छ । बाह्य क्रियाकलापमा १० जनाको समूह जम्मा हन पाइने अनुमति दिइनेछ । मरिसनले प्रत्येक चरणको कार्यान्वयन हुने बेला राज्य र प्रदेश सरकारले निर्णय गर्ने बताएका छन् । कोभिड १९ बाट नष्ट भएको अर्थतन्त्र र समाज पुनः हासिल गर्न तीन चरणको योजना र राष्ट्रिय ढाँचामा राष्ट्रिय मन्त्रिपरिषद्ले सहमति जनाएको उनले जानकारी दिए । यस वर्षको जुलाईको अन्त्यसम्म सुरक्षित अर्थतन्त्र प्राप्त गर्न यी सबै चरणहरू पार गर्ने लक्ष्य भएको प्रधानमन्त्रीले बताए । सरकारले सर्वजनिक गरेको दोस्रो चरणको योजनामा अधिकतम २० जनासम्म भेला हुन दिइने केही व्यक्तिलाई अन्तर्राष्ट्रिय यात्राको लागि अनुमति दिइने र जिम, चलचित्र भवन र ब्यूटी पार्लरहरू खोल्न दिइने बताइएको छ । तेस्रो चरणमा अस्ट्रेलियाको जनपजीवन पूर्ववत रुपमा फर्काउने प्रधानमन्त्री मरिसनको योजना रहेको छ । रासस /सिन्ह्वा

आउँदैन महामारी कहिल्यै पनि, बाजा बजाएर

चीनको वुहान शहरमा विशालु, जीवाणु उत्पत्ति भयो । सर्प सामुन्द्रिक परिकार खानु, कारण पर्न गयो ।। आयो राक्षस सरी महामारी, संसार भजाएर । आउँदैन महामारी कहिल्यै पनि, बाजा बजाएर ।। सिंगो विश्व अर्थतन्त्रको रेखा, लाग्दैछ अधाेगति । दोहोरी खेल्दैछन् शक्ति राष्ट्रहरु, कहिले सुधार्लान मति ।। शीत युद्ध चलेकै छ उनीहरुको, आआफ्नै समस्या बोकी । सुनिन्छ बजारमा शक्ति राष्ट्रको ताजै, फेरिने पो हो कि ।। युद्ध-युद्धकाे कुरा गर्थ्यौ मनुष्य, युद्ध रुपी विष पिलायो ।। हतियार किन चाहियो र अब, युद्धकै झझल्को दिलायो ।। आँधी हुरी जस्तै रहेछ कोरोना, रुवायो सारा संसार । भनेन सानो-ठूलो, धनी गरिब, त्यागौं अब अहंकार ।। भर्खरै विदेशबाट आएकाहरु, स्वास्थ्य जाँच गराऊ । उपहार रुपी सुन्दर यो जीवन, आफू बाँच अरु बचाऊ ।। तितो सत्य स्वीकार आजको, वियोगका तृष्णा मेटौंला । फोन म्यासेन्जर मै कुरा गर, बाँचे भोलि भेटौला ।। यस्तै छ हालत नेपालको, चुनौती थपिए अरु । धैर्य गरि घरमै बसौँ आज,पछि घुमौला बरु ।। लेखक रोकिएका छन्, थुनिएका छन् नागरिक, खै के गर्यो गर्यो । आफ्नै नागरिक रोक्नु पर्ने सीमानामा कस्तो बाध्यता पर्यो ।। नबोलाऔँ आफन्त नातागोता ,साथी सङ्गती मित्र । मान्छे देख्दा मान्छे भाग्नु पर्ने, के भयो यो विचित्र ।। बनौँ आशावादी गरौ नित्य कर्म,राखौँ सोच नविन । साँच्चै उज्जवल छ भविष्य हाम्रो, बचाउ पहिला जीवन ।। लापरबाही हेलच्याक्राई गरे सिधै, मृत्युको पाशामा । आतंकीत होइन सावधानी अपनाउ, भोलि आउने आशामा ।। बन्दाबन्दी छ गाउँ शहर देश, परदेश संसार सारा । पाल्नुपर्छ नागरिक राज्यले, राज्यकै हो अभिभारा ।। बन्दाबन्दी भएको धेरै भयो, भोकले कोहि नमरोस् । झुपडीमा चुलो बाल्नेलाई पनि, मेरो सरकार भन्ने परोस् ।। ठप्प छन् सवारी साधन, उद्याेव व्यापार पनि । धनीले गरिबलाई सहयोग गर, पुण्य कमाउँछु भनि ।। सिंगो विश्व अर्थतन्त्रको रेखा, लाग्दैछ अधाेगति । दोहोरी खेल्दैछन् शक्ति राष्ट्रहरु, कहिले सुधार्लान मति ।। शीत युद्ध चलेकै छ उनीहरुको, आआफ्नै समस्या बोकी । सुनिन्छ बजारमा शक्ति राष्ट्रको ताजै, फेरिने पो हो कि ।। चलाएमान विश्व अर्थतन्त्र ठप्प छ, ठप्प छन् कारोबार । भन्छन् महाशक्तिहरुले मैदानमा, मानेका हुन् कि हार ।। कैदी जस्तै बनेको छ जीवन, निर्णय गर बुद्धिले । बाठो तीन बल्ढ्याङ लढे झै लढे,आफ्नै घमण्ड जिद्दिले ।। मान्छे थाक्दैन यहाँ लडिरहन्छ, कोरोना विरुद्ध भनि । जित्नेछ मनुष्य एक दिन अवस्य, खोप बनाएर पनि ।। अछुतो छैन नेपाल पनि, सरकारले भनेको मान । अस्तित्व धरापमा पर्यो सभ्यताको, ओखती खोज्दैछ विज्ञान ।। पक्ष-प्रतिपक्ष पछि जुधौला, एकजुट भएर आऊ । संकटको घडीमा मूल्याङ्कन हुन्छ तिम्रो, साझा मुद्धा बनाऊ ।। स्वास्थ्यकर्मी शुरक्षाकर्मी तिम्रो, योगदानको सानो बयान । यद्ध लड्दैछौ अवस्य जित्नेछौ, गौरवगाथा कति महान ।। कोभिड-१९ उद्दण्ड, उग्र-चण्ड, नरसंहारी तेरो रुप । हार्छ नरसंहारीले जित्नेछ मानवले, बाल्नेछ विजयको दीप ।।   जुधौं खटेर लडौ डटेर आज,उत्सवमा भोलि हासौंला । जितौं महामारी आज जसरीनी, खुशीले भोलि नाचौंला ।। हिजो अन्न बेच्ने हामीलाई, भोकले मरिने डर । कृषि प्रधान देशमा आलु किन्न विदेशीकै भर ।। पाखो जमिन भनियो, छाडियो कौडिको भाउमा । फल्छ साना-साना मोतिका दाना, आफ्नै घर गाउँमा ।। खेतबारी बाँझो राखियो-लागियो विदेश, खासै भएन चासो । स्थायी सम्पत्ति हो बुझिराख, पुर्खाले छाडेको नाशो ।। गन्छौ नगद-बन्छौ स्वावलम्बी, कर्म गर निरन्तर । आफ्नै भूमिमा पसिना बगाउँ, बन्नेछौ आत्मनिर्भर ।। सर्भेक्षक नापी विभाग, काठमाण्डौँ

अर्थतन्त्रलाई चलायमान गर्न रोजगारीको सिर्जना गरौं

मुलुक अहिले संकटमा छ । भविष्यमा आर्थिक र सामाजिक दृष्टिले अझ कठिन चुनौतीहरुको सामना गर्नु पर्नेछ । कोभिड–१९ को महामारीलाई संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडिपीले दोस्रो विश्व युद्धपछिको सबैभन्दा दर्दनाक मानवीय विपत्ति भनी उल्लेख गरेको छ । यो संकटमा राष्ट्रिय दृष्टिकोण अत्यन्तै आवश्यक थियो, त्यो बन्न सकेको छैन । यसलाई परास्त गर्न सक्रियता, महामारी विरुद्ध लड्ने दृढता र जिम्मेवारपूर्ण कार्यप्रणालीको खाँचो छ । देश र जनताप्रतिको इमान्दारपूर्ण व्यवहारले मात्र नागरिकको जीवन सुरक्षित बनाउन हामी सक्दछौँ । यस अभियानमा नागरिकहरुको सुझबुझ र सहयोग प्रशंसनीय छ । यो महामारीबाट नागरिकहरुको जीवन रक्षा गर्न विशेषतः सरकारको सम्पूर्ण ध्यान, शक्ति र साधनस्रोत उत्तरदायीपूर्ण रुपमा देश र जनतामै समर्पित हुन आवश्यक छ । सरकारको जवाफदेहीता र विश्वसनीयता अपरिहार्य छ । समस्याहरुसंग जुद्धै लकडाउनमा रहनु परेको वर्तमान समय सबैका लागि कष्टपूर्ण छ । जनता उत्पीडनमा छन् । आज आम नागरिकको जीवन रक्षा पहिलो अनिवार्य शर्त हो भने संगसंगै भोकमरी र त्यसबाट उत्पन्न हुन सक्ने सामाजिक–आर्थिक विक्षिप्तताबाट मुलुकलाई जोगाउनु सरकारको गहन दायित्व हो । दैनिक ज्यालामा काम गरेर परिवार पाल्नु पर्ने सामान बोक्ने भरिया, बस, ट्याक्सी, ट्याम्पो आदि सार्वजनिक सवारीका कामदार र व्यवसायीहरु, निर्माण कार्यमा संलग्न कामदारहरु, विभिन्न कलकारखाना एवं व्यवसायहरुमा काम गर्ने मजदुरहरु, साना साना पसले र खुद्रा व्यवसायीहरु, घरेलु तथा साना उद्योगका कामदार तथा सञ्चालकहरु लगायतका सयौँ थरिका व्यवसाय गरेर जीविका चलाई रहेकाहरु र तिनका परिवार एवं असहाय व्यक्तिहरुले निकै पीडा भोगी रहेका छन् । निश्चित रुपमा आगामी दिनमा देशले आर्थिक मन्दी व्यहोर्नु पर्नेछ । संविधानले तीन तहका सरकारले प्रभावकारी रुपमा कार्य गर्ने प्रावधान पनि स्पष्ट गरेको छ । संविधानले दिएका आआफ्ना अधिकारभित्र रही तीनवटै तहका सरकारहरु सक्रिय हुन र तीन तहकै सरकारका बीचको समन्वय पनि त्यत्तिकै आवश्यक छ । यसमा सरकार चुकेको छ । राष्ट्रमा आइपर्ने चुनौतीहरुलाई सहज रुपमा सामना गर्न जनताबाट निर्वाचित संविधान सभाले नागरिक अधिकार, नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, मानव अधिकार, बाँच्न पाउने अधिकार जस्ता अधिकारहरु प्रत्याभूत गरेको छ । यसका साथै सम्पन्न नागरिक र समुन्नत राष्ट्र निर्माणको लक्ष्यप्राप्तिका लागि लोकतान्त्रिक मूल्य र मान्यताको कानूनी शासनमा आधारित निजी क्षेत्रको भूमिका, उदार खुल्ला अर्थ राजनीति, सरकारको जिम्मेवारी जस्ता विषयमा स्पष्ट संवैधानिक व्यवस्था गरेको छ । संविधानले दिएका नागरिक अधिकारहरुको उच्चसम्मान गर्दै राहत प्याकेज र आर्थिक प्रबद्र्धनको प्याकेजबाट देशलाई उतार्नु पर्ने सबैभन्दा महत्वपूर्ण विषय हो । राष्ट्रिय रुपमा नै यसमाथि सरकार, राजनीतिक दलहरु र नागरिक समाजको ध्यान केन्द्रित हुन आवश्यक छ । यस सम्वेदनशील परिस्थितिमा भ्रष्टाचारका सम्बन्धमा बाहिर आएका चर्चाले नेपाली जनतालाई पीडा थपेको छ । नेतृत्व स्वच्छ र पारदर्शी हुनै पर्दछ । सुशासन अहिलेको चुनौती हो । नेतृत्वले जनताको रगत पसिनाबाट आर्जित लोकतन्त्र र लोकतान्त्रिक संविधानको रक्षा गर्दै आइपरेका संकटलाई समाधान गर्न सक्नु पर्दछ । नागरिकले सरकारप्रति विश्वास गर्ने कार्य हुन आवश्यक छ । अहिले संवैधानिक, राजनीतिक या आर्थिक गल्ती ग¥यौँ वा बाटो बिरायौँ भने ठूलो विपत्ति आइपर्न सक्दछ भन्ने कुरा गम्भीरतापूर्वक लिनु पर्दछ । संसारका अन्य देशहरुले आर्थिक सहयोगका अनेक प्याकेजहरु जनतालाई उपलब्ध गराएका छन् । घरमै तलब पठाउने, ऋण उपलब्ध गराउने, व्याज माफी गर्ने, उद्योग–व्यवसायलाई आर्थिक सहयोग गर्ने र अर्थतन्त्रलाई चलायमान गराउने कार्य गरेका छन् । हामीले नेपालमा व्यावहारिकरुपमा कुन क्षेत्रमा कुन परिमाणमा कस्तो व्यवस्था गर्न सकिन्छ भनेर लेखाजोखा पनि गरेका छैनौँ । शिक्षा र स्वास्थ्य जस्तो नागरिकको आधारभूत अधिकारका सन्दर्भमा समेत कुनै ठोस योजना निर्माण हुन सकेको छैन । यसमा कत्ति पनि ढिलाई गर्नै हुँदैन । नागरिकको दीगो जीवन निर्वाहका लागि अर्थतन्त्र र रोजगारीका नयाँ आयामहरुको तत्काल खोजी र सिर्जना आजको आवश्यकता हो । राष्ट्र निर्माणमा निरन्तर आम नागरिक नै निर्णायक भएका छन् र हुन्छन् पनि । यसै परिप्रेक्ष्यमा हाम्रो यो प्रयास राष्ट्रलाई सही मार्ग पहिल्याउन सहज होस् भनी गरिएको प्रयास हो । कोभिड–१९ बाट मारमा परेको अर्थतन्त्रलाई सहज र उपयुक्त मार्गमा हिँडाउनका लागि खोजी गरिएका बलिया आधारहरु अर्थात् आर्थिक पुनरुत्थानका बारेको विचार हो । आम नागरिकलाई आर्थिक मन्दीको मारमा पर्न नदिने हाम्रो अनुभवबाट सिर्जित प्रयत्न पनि हो । अहिले देखिएका चुनौतीहरु सामना गर्न प्रभावकारी कदमहरु बारेको हाम्रो ठहर हो । मूलतः गरिबी र भोकमरीबाट सबै नेपालीलाई बँचाउनु हामी सबैको ध्येय हो । त्यही जिम्मेवारी वहनप्रतिको यो एक प्रयास हो । हामीले महसुस गरेको जिम्मवोरी प्रतिको भूमिका हो । यो अध्ययन विशुद्ध भावले राष्ट्र र आम नागरिकमा समर्पित अध्ययन हो । गणेशमान सिंह अध्ययन प्रतिष्ठानद्वारा संक्रमणले अस्तव्यस्त बनेको नेपालको आर्थिक सामाजिक क्षेत्रको पुनरुत्थानका लागि के कस्ता कदमहरु समसामयिक र आर्थिक दृष्टिले प्रभावकारी हुन सक्दछन् भनी छोटो समयमा गरिएको यो अध्ययनले नेपालको अर्थतन्त्रमा अहिले देखिएका समस्यालाई विश्लेषण मात्र गरेको छैन, समस्याको उपयुक्त निकासको सुझाव पनि दिएको छ । व्यावहारिक उपायहरु प्रस्तुत गरेका छौँ, तत्कालीन, मध्यमकालीन र दीर्घकालीन समाधानका उपायहरुको बारेमा विचार राखेका छौँ । हामीले देखेका नेपाल सरकार र संसदले तत्काल लिनु पर्ने निर्णयहरु प्रस्तुत गरेको छौँ । यो अध्ययन प्रतिवेदन देशका लागि सहयोगी सिद्ध हुने अपेक्षासहित सरकार, प्रमुख प्रतिपक्षी दल र अन्य राजनीतिक दलहरु समक्ष प्रस्तुत गरेका छौँ । मुलुकलाई आर्थिक उत्थानको मार्गमा अग्रसर गराउन सबैको सक्रियताको अपेक्षा गरेका छौँ । अन्त्यमा, यो अध्ययन प्रतिवेदन तयार गर्न राहत तथा आर्थिक प्रवद्र्धन प्याकेज अध्ययन समितिमा रही अहोरात्र खटिएर महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएका सबै सदस्यहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु । अध्ययनका क्रममा प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा सुझाव सल्लाह प्रदान गर्नु हुने चिकित्सक, प्राध्यापक, इञ्जीनियर, वकिल, एन्आरएन्, राजनीतिक दल र राजनीतिज्ञहरु, महिला, उद्योगी–व्यवसायी तथा मजदुरहरु लगायतका सहभागी सबैमा धन्यवाद ज्ञापन गर्दछु । (लेखक राहत तथा आर्थिक प्रवद्र्धन प्याकेज अध्ययन समितिका संयोजक र गणेशमान सिंह अध्ययन प्रतिष्ठानका  एवं अध्यक्ष हुन् । )

अमेरिकी उपराष्ट्रपति माइक पेन्सकी एक मुख्य सहयोगीका कोरोना संक्रमण

  काठमाडाैं । संयुक्त राज्य अमेरिकाका उपराष्ट्रपति माइक पेन्सकी एक उच्च सहयोगीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । राष्ट्रपति कार्यालय ह्वाइट हाउसका एक कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको भोलिपल्ट पछिल्लो घटना देखिएको हो । उपराष्ट्रपति पेन्सकी प्रेस सेक्रेटरी केटी मिलरमा शुक्रवार कोरोना भाइरस पोजिटिभ देखिएको जनाइएको छ। पछिल्लो समय ह्वाइट हाउसले राष्ट्रपति डोनल्ड ट्रम्प र उपराष्ट्रपति पेन्सको दैनिक परीक्षण गर्न थालेको छ र राष्ट्रपतिलाई सङ्क्रमणबाट जोगाउन हरेक सुरक्षात्मक उपाय अवलम्बन गरिरहेको कार्यालयले जानकारी दिएको छ । (बीबीसीकाे सहयाेगमा)