विकासन्युज

बजारमा लकडाउननै छैन !

 काठमाडाै‌ । आज लकडाउनको ४८ औं दिन । कोरोना भाइरसको कारण भएको लकडाउनले आगावमन ठप्प भइरहेको बेला आज भने बजारमा लकडाउनको महसुस हुँदैन । बजारमा हिडडुल गर्ने र सडकमा सवारी साधन गुडाउनेको संख्या आज ह्वात्तै बढेको छ । सरकारले केही सिमीत सेवाहरु खोल्न निर्देशन दिएपनि धेरै व्यापार व्यवसायका पसलहरु खुला भएका छन् । लकडाउनको सुरुवाती चरणमा लकडाउन केही कडाई भएपनि आजभोलि भने लकडाउनको कुनै महसुस बजारमा हुँदैन । काठमाडौं उपत्यकामा भने संक्रमितको संख्या कम हुनु, काठमाडौं उपत्यकामा संक्रमण फैलिएको पुष्टी नहुनु र लामो समयसम्म लकडाउनको कारण सर्वसाधारणको दैनिकीमै गम्भीर असर परेर हातमुख जोड्नै कठिन हुन थालेपछि काठमाडौं उपत्यकामा सरकारले लकडाउन खुकुलो गरेको होकि पनि बुझ्न सकिन्छ । तर, यसले अझै जोखिम निम्तिने होकि भन्ने पनि खतरा छ । सडकमा गाडी र मोटर साइकलको संख्या पहिलेको भन्दा निकै बढेको छ । विहान १० बजेभित्रमा बन्द गर्नुपर्र्ने खाद्यान्न पसल दिउँसो पनि खुल्न थालेका छन् । प्रहरी प्रशासनको आखा छलेर बाहिर निस्कने, पसल खोल्ने तथा हिडडुल गर्नेहरुको संख्या निकै बढेको हो । सरकारले जेठ ५ गतेसम्म लकडाउन जारी नै राख्ने निर्णय गरेको छ। तर काठमाडौं उपत्यकामा भने लकडाउनको महसुस हुन छोडिसकेको छ । सरकारले २६ वैशाख गतेदेखि ४४ प्रकारका उद्योग प्रतिष्ठान, विक्री वितरण र सेवा संचालन गर्न दिन नीतिगत निर्णय गरेको थियो । तर, यस्तो वस्तु तथा सेवा उत्पादन र विक्री वितरण गर्ने निकायका कामदार तथा कर्मचारीलाई आवतजावतको लागि के कस्तो व्यवस्था गर्ने भन्ने अन्योल नै छ । गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्मा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले पासको व्यवस्था गर्ने बताउँछन् । सरकारले कोरोना भाइरस (कोभिड १९) संक्रमण फैलनबाट रोक्न ११ चैतदेखि देशव्यापी लकडाउन गरेपछि विभिन्न वस्तु तथा सेवा उत्पादन र विक्री वितरण गर्ने निकायका कामदार तथा कर्मचारीलाई आवतजावतमा समस्या उत्पन्न भएको हो । ‘उद्योग प्रतिष्ठान र निर्माणजन्य व्यवसायमा कामदार तथा कर्मचारीलाई कार्यस्थलमै राखेर काममा लगाउनु भनिएको छ, त्यस्ता क्षेत्रमा काम गर्नेहरुका लागि निवासबाट एकपटक कार्यस्थलमा ल्याउनको लागि मात्रै समस्या हो, कार्यस्थलमै राखेर काम गराउन नसक्ने बस्तु तथा सेवा उत्पादक र विक्री वितरण गर्नेहरुका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयले समन्वय गरेर पासको व्यवस्था गर्छन्, पास चाहिनेहरुले जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्नुपर्छ,’ प्रवक्ता शर्माले भने । तर पास नभएका र अत्यावश्यक सेवा र कामका लागि नभएर पनि मानिसहरु आवतजावत गर्न थालेका छन् ।

संसदमा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबारे छलफल

काठमाडौं ।  संसदमा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता सम्बन्धि छलफल हुनेछ । अर्थमन्त्री डा. युवराज खतिवडाले पूर्व बजेटको सिद्धान्त र प्राथमिकता अनुसार ११ बजे बस्ने प्रतिनिधिसभाको बैठक र १ बजे बस्ने राष्ट्रिय सभाको बैंठकमा पेस गर्नेछन् । सरकारको नीति तथा कार्यक्रम जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट पेश गर्ने कार्यक्रम छ । नीति तथा कार्यक्रमपछि पूर्व बजेट छलफल गर्नु उपयुक्त हुने भए पनि बजेट जेठ १५ मा पेश गर्नैपर्ने चापका कारण वैशाख २८ गतेबाटै पूर्वबजेट छलफल गर्न लागि हाे । छलफलमा उठेका जिज्ञासाको जवाफ दिने क्रम सकिएपछि जेठ १३ गते आर्थिक सर्वेक्षण प्रस्तुत हुने छ भने १५ गते आर्थिक वर्ष २०७७/७८ को बजेट पेश हुने छ । संसदको बजेट अधिवेशन गत शुक्रवारबाट शुरु भएको  हाे ।

बत्तीस सय तिरेर महाकाली तरे, बीच बाटामै अलपत्र

काठमाडौं । दुई हजार भारतीय रुपैयाँ प्रतिव्यक्ति ( ३ हजार २ सय) तिरेर महाकाली तरेर भारतबाट फर्किएका दैलेख र मुगुका तीन जना बैतडीमा अलपत्र परेका छन् । अलपत्र पर्नेमा दैलेखको जामुण्डा बिन्द्रसैनी नगरपालिकाका जनक देवकोटा र सोही ठाउँका रत्न रिजाल र मुगुको छायाँनाथ रारा नगरपालिकाका सागर रोकाया रहेका छन् । भारतको पिथौरागढमा मजदुरी गर्दै आएका उनीहरु शुक्रबार राति महाकाली नदीमा ट्युबमार्फत बैतडी पुगेका हुन् । महाकालीमा ट्युब तरेपछि सदरमुकाम गोठलापानी पुगेपछि लकडाउनका कारण अलपत्र परेको मुगुका सागर रोकायाले बताए । “गोठलापानीमा अहिले सडकपेटीमा बसिररहेका छौँ, लकडाउनले यहाँ खानबस्नसमेत समस्या भएको छ”, उनले भने, “खानबस्नका साथै पानी परिरहेकाले बस्नसमेत निकै गाह्रो भएको छ ।” पिथौरागढबाट हिँडेर सीमानाका पुगेका उनीहरु आजससम्म पनि भोकै रहेका छन् । कमाएको पैसा सबै सकिएपछि भोकै रातदिन काट्नुपरेको सागरको भनाइ छ । उद्धारका लागि प्रशासन र सम्बन्धित पालिकालाई गुहार्दासमेत केही पहल नभएको उनीहरुको गुनासो छ । स्थानीय प्रशासनसँग घरसम्म पुर्याउन भनेको भए पनि आफ्नै पैसाले जाने भएपछि मात्रै पु¥याउन सकिने नत्र जहाँ हुनु त्यही बस्न भनेको दैलेखका जनक देवकोटाले बताए । तीन महिनाअघि रोजगारीका लागि पिथौरागढ पुगेका उनीहरु डेढ महिनादेखि लकडाउन हुँदा समस्या भएपछि नेपाल फर्किएका हुन् । “कमाएको सबै पैसा सकिएको छ, आफ्नै पैसाले जान सकिने अवस्था छैन”, दैलेखका रत्न रिजालले दुःखेसो पोखे, “कमाएको ४ हजार रहेकामा २ हजार भारु ट्युब तर्दा सकियो, अब ८ सय मात्रै बाँकी छ कसरी घर पुग्नु ।” यता प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले भने अलपत्र मजदुरको कसरी उद्धार गर्ने विषयमा छलफल जारी रहेको बताए । उनले भने, “अलपत्रको उद्धारका लागि सम्बन्धित पालिकाले पहल गर्नुपर्छ ।” यसअघि बिहीबार र शुक्रबार गरी सुदूरपश्चिमका विभिन्न जिल्लाका २२ जनाको बैतडीबाट उद्धार गरिएको थियो ।  रासस

कोरोना भाईरस विरूद्ध डटेर लडौं

विश्वमा कोरोना भाईरस संक्रमणबाट ठूला ठूला देशहरुलाई टाउको दुखाईको विषय बनेको छ । यसले ठूला र शक्तिशाली देशहरु मात्र हैन हाम्रो जस्तो साना र विकासोन्मुख देशहरुले पनि ठूलै आर्थिक दायित्व बहन गर्नुपर्ने स्पष्ट देखिन्छ । यसबाट स्पष्ट हुन्छ की हामीले र हाम्रा नीति निर्माण गर्ने तहमा बसेका विद्धान व्यक्तित्वहरु र राजनैतिक नेतृत्वले आफ्नो देशमा परम्परागत कृषिको अवस्था कस्तो छ? यसलाई आधुनिकीकरण गर्न के गर्नुपर्छ? भन्ने बारेमा सोच नराख्नु नै हो । उब्जाउ योग्य भएका जमिनहरु शहरीकरणको नाममा खण्डिकरण गरी टुक्रा टुक्रापारी त्यही टुक्रा जमिनमा अव्यवस्थीत रुपमा ठुला ठुला घर बनाई त्यही घरको भाडा खाने र छोरा छारीलाई पढाएर दक्ष बनाई दक्ष र शिक्षित जनशक्ति (रेडिमेड रिसाेर्स) विदेश पठाउन र त्यहाँबाट आएको रेमिट्यान्सले ठुला र महंगा गाडी चढ्ने, अरु भाडा खाने घरहरु बनाउने अनि देश विदेशको शयर गर्ने प्रवृति हामी कहाँ मौलाएको छ । शिक्षित र दक्ष जनशक्ति ठूला विकसित देशहरुमा पलाएन भएका छन् भने अर्धदक्ष जनशक्ति खाडी मुलूकहरुलाई रोजगारीको गन्तव्यको रुपमा लिई गैरहेका छन् । सरकार वा नीति निमार्ण तहमा बसेकाहरुले आफ्ना नागरिकहरुलाई स्वदेशमा नै बसेर जो जे जस्तो पेशामा छौ, जसले जस्तो ज्ञान सीप हासील गरेका छौ त्यो ज्ञान र सीप स्वदेशको उन्नति र प्रगतिको लागि खर्च गर तिमीले उत्पादन गरेको हरेक बस्तुहरुमा राज्यले सहुलियत दिन्छ । निर्यात सहजीकरण तथा बजारीकरणका लागि हामी सहयोग अर्थात राज्यले सहयोग गर्छ वा गर्छौ भन्न नसक्नु नै हो । हाम्रा नीति निर्माण तहमा बस्ने व्यक्तित्वहरुले आफ्नो देशका लागि कति जना कृषि विशेषज्ञ चाहिन्छ? कस्तो जमिनहरु आवासको लागि छुट्याउनु पर्ने हो? कस्तो खाले शिक्षा नीति देशका लागि आवश्यक छ? डाक्टर कति चाहिन्छ? अर्थात हरेक क्षेत्रमा के कति र कस्तो विषयको विशेषज्ञ जनशक्ति हामीलाई अवश्यक छ र तिनलाई कसरी परिचालन गर्ने भन्ने बारेमा कहिल्यै सोचेनन् बस सोचेत केवल कसरी बढि भन्दा बढि मानिसलाई वैदेशिक रोजगारीका लागि पठाउने र त्यसबाट आर्जन भएको रेमिट्यान्सबाट देश चलाउने। देशमा वेथित, विशंगती अनि भ्रष्टाचारले निकै गहिरोसंग जरा गाडी सकेको छ जो रक्षक उही नै भक्षक भएको हाम्रो देशमा अझै पनि नीति निर्माण तहमा बस्ने ब्याक्तित्वहरु हुन् वा राजनीतिको माध्यमबाट देश र जनताको सेवा गर्छु भन्ने राजनैतिक व्यक्तित्वहरु हुन् यस्तो विषम परिस्थिीतिमा पनि भ्रष्टाचार र कमिशन मै लिप्त छन् जसले देशलाई नै खोक्रो पारी सकेको छ । जनता विदेशमा बसी रोईरहेको छन् । आफ्नो मातृभूमिमा आउन पाउँ भनेर तर ती जनतालाई स्वदेश फिर्ता गरी तिनलाई उचित प्रबन्ध गर्ने योजना हाम्रा नेतृत्वमा छैन । हरेक नागरिक समाज होस् वा प्राध्यापक, डाक्टर हो वा इन्जिनियर, नागरिक होस् वा पुलिस, विद्ध्वान होस् वा मुर्ख सवैलाई राजनीतिले गिजलेको छ । जस्तो सुकै अपराध कर्म गरेता पनि त्यसलाई राजनीतिले चोखाई दिने हाम्रो नियति नै भैसकेको छ । हरेक ठाउँमा राजनैतिक नियुक्ती भएको छ । अनि जसले आफुलाई नियुक्ती दिलाएको हो उसको भजन गाउनु र उसले गरेका अपराध कर्मलाई ढाकछोप गर्ने । आफ्नो राजनैतिक दुनो सोज्याउन यहाँ जातको, धर्मको अनि लिंगको सहारा लिईन्छ । हामी जनता पनि वा हाम्रो नेता क्या कुरा गर्नुभयो । उहाँले त साच्चै हाम्रै लागि बोलेको हो भनि तुरुन्तै पत्याई हाल्छौ र लुरुक्क भोट हाल्छौ अनि सत्तामा पुर्याउछौ । यो हाम्रो नियती नै बनेको छ । लेखक अब हामी जनता यस्ता नेताको फुस्रो आश्वासनमा नबसौ आखिर देश त हाम्रै हो हामीले नगरे कसले आएर गर्ला र? जसले जे जस्तो सीप ज्ञान हासिल गरेका छौ त्यही सीप गरौ । हामीसंग अझै पनि उत्पादन योग्य जमिन छ, जल छ अनि जंगल छ । आज हामीले केही दुख पाएता पनि हाम्रा लागि भोलिको दिन सूनौलो छ । आन्तरिक उत्पादनमा जोड दिउँ डाक्टरले विशुद्ध डाक्टरी पेशा गरौ, पुलिसले जनताको शान्ती सुरक्षामा ध्यान दियौ । हरेकले आफुले जानेको सीप, ज्ञानलाई पुर्णरुपमा ईमान्दारिक पूर्वक पालना गरी देश र जनताको सेवा गर्ने हो भने यो देश बन्नलाई धेरै समय लाग्दैन किनकी हामी हरेक तरहले धनी छौ जडिबुटीमा, खानीमा होस् वा पानीमा, प्राकृतिक सौदर्यतामा होस् वा वीरतामा हाम्रो शान्ति भूमि, बुद्ध भूमि सगरमाथाको देश नेपाललाई आज साच्चै अप्ठेरो परेको छ । यो सवै हाम्रै अदुरदर्शिताको कारणले हो भन्ने मनन गरी कूनै पद, धर्म, जात, राजनैतिक दर्शन, धनी, गरीव नभनी जसले जसरी जस्तो तरिकाले नेपाल आमाको सेवा गर्न सक्छौ सोही अनुसार सभ्य र शालिन नागरिक भै नेपाल आमाको सेवा गरौ । हामी नेपालीहरुसंग पैसा नभएको पनि होईन तर हाम्रा नेतृत्व तहले कसरी स्वदेशी पूँजीलाई परिचालन गर्न सकिन्छ भन्ने सोच नै राख्नसक्नु भएन । जो देशका लागि र जनताका लागि भनेर नीति निर्माण तहमा बस्नुभएका छन् अधिकांश उहाँहरु कमिशनको चक्करमा फस्नु भएको छ । राम्राृे प्रतिफल दिनसक्ने कुनै एक कम्पनीकोे प्राथमिक निष्काशनमा कम्पनीले माग गरेको भन्दा १०० गुणसम्म अधिक आवेदन पर्दछ लगानी गर्न चाहनेहरुका लागि शेयर बाँडफाँड गर्न सकिएको छैन पैसा फिर्ता गर्नुपरेको छ । के हामीले त्यस्तो पैसालाई ठुला ठुला जलविद्युत कम्पनीहरुमा, ठुला ठुला पूर्वाधार विकास कम्पनीहरु लगाएत उत्पादनमुलक क्षेत्रहरुमा सरकारको प्रत्येक्ष निगरानीमा नियामक निकाय गठन गरी परिचालन गर्न सकिन्न र ? जसबाट देशलाई ठुलै फाईदा हुने देशमा रोजगारीको अवसरहरु सृजना हुने र लगानीकर्ताहरुले पनि उच्चतम प्रतिफल पाउने निश्चित छ । यसका लागि नेपाल सरकारले दिएको लाईसेन्स वाला मर्चेन्ट बैंकिंग तथा ईन्भेष्टमेन्ट बैंकिग कम्पनीहरु धेरै छन् । यस तर्फ देश चलाउछु भन्नेहरुको ध्यान जाओस् । अर्कोतर्फ हाम्रा वीर सपुतहरु जो विश्वाका विभिन्न शक्तिशाली देशहरुमा शक्तिशाली ओहोदामा नै हुनु हुन्छ जसलाई आफ्नो मातृभूमिको औधि माया छ । नेपाल आमा रोईरहेको हेरेर उहाँहरु पनि निकै चिन्तित हुनुहुन्छ । देख्न सकिन्छ चाहे भारतले नेपालमा नाकाबन्दी गर्दा नेपालीहरुले देखाएको एैक्यवद्धता होस् वा हाल कोरोनाले आफुलाई सताउदा पनि कतिपय नेपालीहरु आफ्नो देश फर्कन नचाहनेहरु हुन् कारण आफ्नो कारणले आफ्नो देशमा आफ्नो मातृभूमिमा संक्रमण नफैलियोस् । यस्तो देश भक्ति संसारका नागरिकहरुमा विरलै पाईन्छ । हाम्रा वीरहरुले बहादुरीका साथ चाहे भारत होस् वा बेलायत वा शान्ती सेनाको रुपमा अन्य देशहरुको सुरक्ष्यामा ठुलो योगदान पुर्याइ रहेका छन् । आज देश रहेको छ त केवल ती सपूत सन्तानहरुका कारणले जसले जस्तोसूकै परिस्थितीमा पनि नेपाल र नेपालीलाई अर्थात आफ्नो जन्मभूमिका लागि आफ्नो कर्म गरी रहेका छन् के तिनीहरुलाई आफुले सिकेको ज्ञान, आर्जन गरेको धन आफ्नै मातृभूमिमा लगानी गर्नुहोस् देशले तपाईहरुलाई प्रतिफल दिन्छ । नेपाल आमाले तपाई जस्तो सपूत पाउँदा गौरव गर्नेछिन् भनि आव्हान गर्न सकिन्न र ? अझ भन्नु पर्दा विश्वका सवै प्राणी मात्रको रक्षा हुनु पर्छ भन्ने हाम्रो देशमा जन्मिएका शान्तीका दुत भगवात बुद्धको उपदेशको पालना गरी जय बुद्ध भूमि, जय शान्त भूति जय वीर भूमि नेपाल हो भन्ने पहिचान दिऔ । कृषि जन्य बस्तुहरुमा आयात मुखि हैन बढि से बढि आन्तरिक उत्पादनमा जोड दिई निर्यात मुखी बनौं । जसले रोजगारीको सृजना लगाएत परनिर्भरताबाट हामीलाई बचाउने छ । सरकारले पनि अब यसरी हैन आफ्ना नागरिकहरु जुनसूकै राजनैतिक दर्शन जुनसूकै धर्म, लिंगका भएपनि आफ्ना नागरिकहरु हुन् यिनलाई हामीले नगरे कस्ले गर्छ? आखिर यी नागरिक र देश रहेन हामीले राजनीति गर्ने हो मन्त्री, प्रधानमन्त्री अनि राष्ट्रपती हुने हो नरहे के गर्ने भन्ने मनन गरी देशमा थुनिएर रहेका जनतालाई बाहिरी संसर्गबाट अगल गरी तिनीहरुको स्वास्थ्य पूर्ण रुपमा जाँच गरी आ आफ्नो थाकथलोमा पठाई बेलैमा परम्परागत पाकेको बाली भित्र्याउने र नयाँ रोप्ने व्यवस्था मिलाउनु पर्ने देखिन्छ । संक्रमणको सिकार नभएका व्यक्तिहरुबाट निश्चित दुरी कायम हुने गरी सावधानी पूर्वक देशमा रहेको उद्योग धन्दा तथा कल कारखाना पनि संचालन गर्ने व्यवस्था यथाशक्य चाँडो गर्नुपर्ने देखिन्छ । यसरी लकडाउनको नाममा महिनौसम्म नागरिकलाई थुनेर राख्ने हो भने देशमा बचेको उद्योग धन्दा, कृषि लगाएत सम्पूर्ण क्षेत्र तहस नहस हुने पक्का पक्की छ र देशले अझ धेरै ठूलो चूनौतिको सामना गर्नुपर्ने निश्चित छ । सम्बन्धित निकायको बेलैमा ध्यान जाओस् । हामीले अब पनि आफनो देशका बारेमा, आफनो मौलिक, परम्परागत उत्पादनको रक्षा गर्दै त्यसलाई कसरी आधुनिकीकरण तर्फ लैजाने भन्ने वारेमा सोच्न सकेनौ, आफूलाई चाहिने उद्योगहरु आफैले स्थापना गर्न सकेनौ, आफ्नै देशमा उत्पादित बस्तुहरुको गुणस्तर जाँच गरी स्वदेशी उत्पादन नै प्रयोगमा ल्याउने वातावरण बनाउन सकेनौ भने भोलिका दिन हामीलाई अझ बढी ठुलो चूनौतिको सामना गर्नुपर्ने निश्चित छ । सरकारले वा सम्बन्धित निकायले अव पनि आफ्नो देशका लागि के कस्तो जनशक्तिको खाँचो छ त्यस्तो जनशक्ति आफ्नो देशमा तयार भएको छ की छैन? भन्ने सोच राख्नुपर्ने हुन्छ र त्यस्तो जनशक्तिलाई स्वदेश मै रोजगारी वा परिचालनको व्यवस्था गर्नुपर्ने हुन्छ । अर्कोतर्फ दक्ष जनशक्तिको नाममा निजीक्षेत्रले विदेशी कामदारहरु भित्र्याइरहेकोले विदेशी कामदारहरुको परिचालनमा कडाई गर्नुपर्ने हुन्छ । भने विदेशबाट आयात हुने हरेक खाद्यान्न लगाएतका मालबस्तुहरुको चेकजाँचमा कडाई गर्नुपर्ने देखिन्छ । कतिपय आयातित मालबस्तुहरु प्रयोग मिति गुज्रीएको, कतिपयमा अत्याधिक मिसावट पाईएको वा कतिपय बस्तु प्रयोगबाट मानव स्वास्थ्यमा अम्भिर असर गर्ने सम्मको बस्तुहरु निर्वाद भित्रिरहेको छ । कोरोना भाईरसबाट त्रसिदभई घरमा बसिरहनु भएका व्यक्तिहरुले आफ्नो फुर्सदको समय आफुले गर्नसक्ने कुनै न कुन काम गर्ने गर्नुहोस् । सरकारले पक्कै केही न केही सोचेकै होला यसबाट त्रसित हुनु भन्दा पनि घर मै बसेर पनि केही राम्रो काम गर्न सकिन्छ आफ्नो परिवारको सदस्यहरुको काममा नै सघाउन सकिन्छ खुशी रहनुस, स्वस्थ रहनुस् । त्रैसिद नहुनु होस् । अन्त्यमा मैले आफ्नो देशमा भएको विकृति र विसंगतीलाई मात्र उर्जागर गर्न खोजेको हुँ आखिर जो जहाँ जसरी रहेता पनि भएता पनि हामी सवै नेपाली नै हौ । यो देश हाम्रो नै हो यसलाई हामीले नै बनाउने हो अरु कसैले बनाउने हैनन् । देश राम्रो हुनको लागि हामी जनता राम्रो हुनु पर्छ त्यसैले यसलाई अन्यथा नमानी सदैव देशको नियम कानूनको अधिनमा रही स्वाभिमानी नेपाली भई नेपाल राष्ट्रको उन्नती र प्रगतिका लागि सधैं सबैं एकजुट भएर लाग्यौ भने यो देश अवश्य बन्नेछ हामीलाई विश्वले भन्ने गरेको गरिब नेपालीको पगरीलाई फ्याक्न सफल हुनेछौं । एक दिन हामी विश्वलाई आवश्यक पर्ने जडिबुटी निर्यात गर्ने देश, विश्वलाई आवश्यक पर्ने विद्युत निर्यात गर्ने देश र यो ब्रम्हाण्डको सृष्टि गर्दा भगवानले यो नेपाल भूमिचाँही आफुलाई भनि छुट्याएको सुन्दर शान्त र सम्बृद्धशाली नेपाल र धनी नेपालीको उपमाबाट चिनिने छौ । एक दिन सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको नारा अवश्य पुरा हुनेछ । विश्वले हामीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउने छ।  

आन्दोलनको तयारीमा उखु किसान

काठमाडौं । लकडाउनको मारमा सर्लाहीका उखु किसान थप पीडित बनेका छन् । धनकौल गाउँपालिका–६ मा रहेको अन्नपूर्ण चिनी उद्योगले किसानको उखुको रकम भुक्तानी गर्न पटकपटक सम्झौता गरे पनि हालसम्म एक पैसा भुक्तानी नगरेको भन्दै किसानले गुनासो गरेका छन् । उद्योगले वि.सं २०७० देखि हालसम्म १२ हजार किसानको करिब ४० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी राखेको भन्दै किसानले उद्योगलाई चिनी बिक्री वितरणमा रोकसमेत लगाएको उखु उत्पादक किसान मुकेश ठाकुरले बताए । उनका अनुसार केही दिन पहिला उद्योगले किसानलाई थाहै नदिई गोप्यरूपमा गोदामबाट चिनी बाहिर लैजान खोज्दा स्थानीय किसानले चिनी लोड भएका चार ट्रक नियन्त्रणमा लिएका थिए । त्यसपश्चात उद्योगले एक–दुई किसानलाई केही रकम मात्र दिए पनि पूरै रकम नदिएको साथै सबैको रकम नदिएको भन्दै किसानले उद्योग विरुद्ध आन्दोलन गर्नेसमेत चेतावनी दिएका छन् । लकडाउनको समयमा किसानको आवतजावत कम भएको मौका छोपी उद्योग प्रशासनले गोप्यरूपमा चिनी लैजान खोज्दा सबै गाउँले किसान मिलेर ट्रकलाई नियन्त्रणमा लिएको स्थानीयवासीले बताएका छन् । गोडैता नगरपालिकास्थित महालक्ष्मी चिनी उद्योगले पनि गत वर्षको केही रकम भुक्तानी गर्न बाँकी रहेको स्थानीय किसान ठाकुरले बताए । गत फागुन १८ गतेसम्म सञ्चालनमा गरेको महालक्ष्मी चिनी उद्योगले माघ ७ गतेसम्मको रकम मात्र भुक्तानी गरेको ठाकुरले जानकारी दिए । सरकारले धोका दिएर किसानले पाउनुपर्ने उखुको अनुदानसमेत अहिलेसम्म नपठाएको किसानले बताएका छन् । जारी लकडाउनका कारण बाहिर काम गर्न जान नपाएको र आफ्नो खेतबारीमा उत्पादन भएको कृषिजन्य पदार्थको भुक्तानी पनि नपाउँदा किसान मारमा परेका हुन् । उद्योगले भुक्तानी समयमा नदिएपछि आफ्नो खेत बेचेर साहुको ऋण चुक्ता गर्न बाध्य भएको अर्का किसान रामशरण यादवले बताए । भुक्तानीका लागि जिल्लामा पटकपटक आन्दोलन गरेका उखु किसानहरू न्याय नपाएपछि पुसको कठ्याङ्ग्रिँदो जाडोमा नाङ्गा खुट्टा आन्दोलन गर्न काठमाडौं पुगेका थिए । समयमै उखुको भुक्तानी माग राख्दै जिल्लाका उखु किसान माइतीघर मण्डलामा प्रदर्शन तथा धर्नामा समेत बसेका थिए । सरकारले उखु किसान तथा उद्योगीबीच सहमति गराउँदै किसानलाई आन्दोलन स्थगन गरी पठाएको भए पनि अन्नपूर्ण चिनी उद्योगले सम्झौताविपरीत किसानको भुक्तानी समयमा नगर्दा उनीहरु थप मर्कामा परेका हुन् । किसानले उद्योगको गोदाममा रहेको चिनी बिक्री वितरण गर्न नदिएका कारण किसानको रकम भुक्तानीमा ढिला भएको अन्नपूर्ण चिनी उद्योगका सञ्चालक राकेश अग्रवालले बताए । “आफ्नो गोदाममा चिनी छ, किसानले बेच्न दिदैनन् । अनि कसरी उनीहरुको भुक्तानी गर्न सकिन्छ”, अग्रवालले भने । किसानले थोरै भए पनि सबै किसानलाई तत्कालै भुक्तानी दिन माग गरेका छन् । यदि उद्योगले यथाशीघ्र थोरै भए पनि उखुको भुक्तानी नदिए आन्दोलन गर्ने तयारीमा रहेको उखु किसानले बताएका छन् । रासस

दुई करोडको पुल ६ महिना नि टिकेन

काठमाडाैं । निर्माण सम्पन्न भएको छ महिना पनि नपुग्दै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख–स्वाँत जोड्ने आर्क मोटरेबल पुल जीर्ण बनेको छ । पूर्वाधार विकास योजना कार्यालयले २ करोड १० लाख रूपैयाँको लागतमा कालिका शर्मा रसुवा जेभीमार्फत गत मङ्सिरमा सो पुल निर्माण गरेको थियो । ५ सय ३१ मिटर लम्बाइको सो पुलको बीच भागमा दुईवटा भ्वाङ परेको स्थानीयवासी सेते तिलिजाले जानकारी दिए । पुल दायाँबायाँ भागको जमीन भासिएको छ भने पर्खालसमेत भत्किन थालेकाले कुनै पनि बेला दुर्घटना हुनसक्ने स्थानीयवासीको भनाइ छ । पुलको अवस्था र त्यसबाट उत्पन्न सम्भावित जोखिमका बारेमा स्थानीय जनप्रतिनिधिलाई समेत जानकारी गराइएको छ । ठेकेदार कम्पनीले पुल निर्माण गर्दा गुणस्तरहीन सामग्री प्रयोग गरेको जनप्रतिनिधिलाई थाहा हुँदाहुँदै पनि चासो नराखेकाले यस्तो अवस्था आएको स्थानीयवासी सुबोध बरुवाल क्षेत्रीले बताए । ठेकेदारले एकसरो ढलान गरेको र स्थानीय जनप्रतिनिधिले पनि चासो नराखेको हुँदा छ महिना पनि नबित्दै पुल भत्किने अवस्थामा पुगेको स्थानीयवासी डिल गर्वुजाले जानकारी दिए ।  रासस

काेराेना भाइरसबाट विश्वभर ७८ नेपालीको मृत्यु, ६ हजार संक्रमित

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिरहेको (कोभिड–१९) संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ७८ पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार सबैभन्दा बढी बेलायतमा ५१ जनाको मृत्यु भएको छ । यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । समितिका अनुसार न्युयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एक जनाको मृत्यु भएको हो । यस्तै संयुक्त अरब इमिरेट्स (युएइ) मा ६ तथा आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्डस, बहराइन र स्वीडेनमा एकएक जनाको कोरोना भाइरसका कारण ज्यान गएको समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिए । कोरोना भाइरसका कारणले निधन हुनेमा यो हप्ता थप पाँच जनाले ज्यान गुमाएका हुन् । ज्यान गुमाउनेमा बेलायतका दुई तथा स्वीडेन, बहराइन र युएईका एकएक थपिएका छन् । संयोजक डा सापकोटाका अनुसार नेपालबाहेक विश्वभर ५ हजार ४ सय ७२ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित छन् । संक्रमितमध्ये दुई हजारभन्दा बढी नेपाली कोरोना भाइरसबाट मुक्त भएको अनुमान सो समितिले गरेको छ । सापकोटाका अनुसार विदेशमा रहेका नेपाली समुदायमा कोरोना भाइरस संक्रमणको गति गत साताभन्दा कम हुँदै गएको छ । विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सकको समूहले तयार पारेको सो आँकडानुसार नौ देशमा गैरआवासीय नेपालीको ज्यान गएको छ भने बाँकी २० देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित छन् । स्वास्थ्य समितिका अनुसार कतारमा दुई हजार तीन सय, अमेरिकामा १ हजार ५ सय, बेलायतमा एक हजार, बहराइनमा २ सय ४५, युएइमा १ सय ४९, नेपालमा १ सय १०, कुवेतमा ७८, मलेसियामा ४९, साउदी अरबमा ३०, पोर्चुगलमा २६, आयरल्याण्डमा २२, स्पेन र अष्ट्रेलियामा १२–१२, जापान र क्यानडामा १०–१०, बेल्जियममा ६, स्विट्जरयाण्डमा ५, जर्मनी र फिनल्याण्डमा ४-४, साइप्रस र न्युजिल्याण्डमा ३-३,  माल्दिभ्स, माल्टा र हङ्गकङ्गमा २-२, तथा म्यानमा र फ्रान्समा १-१ गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको छ । यो साता फिनल्याण्ड र स्वीडेन (एक मृत्यु) मा नेपालीमा नयाँ संक्रमण देखिएको एनआरएन, कोडिभ –१९, उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए  । ३५ हजारलाई राहत एनआरएनले कोभिड –१९ बाट प्रभावित देशमा राहत वितरण भइरहेको जनाएको छ । संस्थाका महासचिव डा हेमराज शर्माका अनुसार ४६ देशका २ सय ७० भन्दा बढी क्षेत्र (शहर) मा १ हजार ६ सयभन्दा बढी स्वयंसेवक राहत वितरणमा सक्रिय छन् । ३५ हजारभन्दा बढी गैरआवासीय नेपालीले प्रत्यक्षरुपमा राहत सामग्री ९खाना, मास्क, स्यानिटाइजर, औषधि आदि० प्राप्त गरेको संस्थाले जनाएको छ । एनआरएनएले विभिन्न देशमा सञ्चालन गरेको २४ सै घण्टा हटलाइन सेवामार्फत ३६ हजारभन्दा बढी नेपालीलाई वन टु वन परामर्श (राहत, भाषा अनुवाद, स्थानीय कानून, रोजगारी, नेपाल फर्किने आदि) दिएको जनाएको छ । संस्थाले चीनबाट कोरोना भाइरसको संक्रमण शुरु भएलगत्तै एनआरएनका अध्यक्ष कुमार पन्तका अध्यक्षतामा कोभिड –१९ उच्चस्तरीय समिति गठन गरेर आफ्ना गतिविधि तीव्र बनाएको थियो । स्वास्थ्य समितिले विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत करीब ३५ नेपाली चिकित्सक, नेपाली कूटनीतिक नियोग, एनआरएनका शाखा तथा स्थानीय संघसंस्थाद्धारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर हरेक आइतबार विदेशमा रहेका नेपालीको कोरोना संक्रमणको अनुमानित तथ्यांक सार्वजनिक गर्दै आएको छ । रासस

मन्त्री भट्टलाई एनबिआईले गर्याे स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । उद्योग, वाणिज्य तथा आपर्ति मन्त्री लेखराज भट्टलाई एनबिआईले १ हजार थान व्यक्तिगत सुरक्षा उपकरण (पीपीइ) हस्तान्तरण गरेको छ । करिब ४० लाख बराबरको पीपीई एनबिआईले चीनबाट खरिद गरेको हो । सो सामग्री स्वास्थ्य मन्त्रालयले आवश्यकता अनुसार सबै प्रदेशमा प्रदान गर्नेछ । एनबिआईले कोरोना संकटको चूनौतीपूर्ण घडीमा प्रारम्भ देखिनै आर्थिक् एवं राहत संकलन तथा वितरण तथा स्वास्थ्य सामग्रीको खरिदको कुरा स्मरण गर्दै मन्त्री भट्टले बन्द उद्योगहरु कसरीपूर्ववत अवस्थामा चलाउन सकिन्छ भनेर जिज्ञासा राखे । त्यस्तै एनबिआईका अध्यक्ष कुशकुमार जोशीले कोरोना भाइरसको संक्रमणले पारेको संकटपूर्ण अवस्थाले निजी क्षेत्रका सम्पूर्ण गतिविधि अवरुद्ध हुँदा आर्थिक, सामाजिक विकासको गति ठप्प भएको बताए । उनले अविलम्व एकिकृत राहतका कार्यक्रम ल्याई अर्थतन्त्र चलायमान बनाउने तर्फ पहल गर्न सरकारको ध्यानाकर्षण गराए । एबिआईका संस्थापक अध्यक्ष पदम ज्योतिले बन्द भएको उद्योग पूर्ण संचालन गर्न सरकार, उद्योगी तथा कर्मचारीसँग सल्लाह गरी ठोस योजना ल्याउनु पर्ने जानकारी दिए । सो सामग्री हस्तान्तरण कार्यक्रममा उद्योग सचिव चन्द्र घिमिरे, वाणिजय सचिव बैकुण्ठ अर्याल, एनबिआईका तर्फबाट महासचिव सुरेन्द्रवीर मालाकार, कोषाध्यक्ष दीपक मल्होत्रा, सचिव गोपीकृष्ण न्यौपाने र जोन्ता क्लबको तर्फबाट मिरा ज्योतिको पनि उपस्थिति रहेकाे थियो ।