अफगानिस्तानको खाद्य सहायता बाँड्नेक्रममा झडप, सातको मृत्यु
काबुल । अफगानिस्तानको पश्चिमी घोर प्रान्तमा शनिबार कोरोनाभाइरस प्रभावितलाई खाद्य सामग्री वितरण गर्नेक्रममा झडप हुँदा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । राजनीतिक पहुँचका आधारमा खाद्य सामग्री भएको विरोधमा भएको प्रदर्शनका क्रममा अरु १४ जना घाइते भएको घोर प्रान्तका सांसद गुल्जामान नायिबले बताए। प्रान्तीय गभर्नरका प्रवक्ता मोहम्मद आरिफ अबरले करिब ३ सयजना प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेपछि प्रहरीले गोली चलाउनु परेको जानकारी दिए । तर उनले सुरक्षाकर्मीको गोली लागेर २ जनाको ज्यान गएको र पाँच जना घाइते भएको बताएका छन् । प्रदर्शनकारीलाई तितरबितर गर्नेक्रममा केही प्रहरी पनि घाइते भएका थिए । प्रवक्ता अबरले सहायता सामग्री मनोमानी किसिमबाट वितरण भएको अस्वीकार गरे । मृत्यु भएकामध्ये एक जना स्थानीय रेडियो स्वयंसेवक अहमद नवीद खान पनि रहेको अफगानिस्तान पत्रकार केन्द्रका कार्यकारी निर्देशक अहमद कुरैसीले बताए । रासस–एएफपी
उद्योग खुलेपछि पूरै खपत हुन थाल्यो विद्युत
काठमाडौं । सरकारले ४४ प्रकारका उद्योग प्रतिष्ठान खुल्ने निर्णय गरेसँगै विद्युत खपत बढेको छ । लकडाउनमा उद्योग प्रतिष्ठान र व्यापारिक केन्द्रहरु बन्द भएसँगै विद्युतको खपद कम भएर उत्पादित विजुली खेर जान थालेको थियो । सरकारले २६ वैशाखदेखि ४४ प्रकारका उद्योग प्रतिष्ठान र सेवा व्यवसाय खुल्ने निर्णय गरेको थियो । सरकारले उद्योग खोल्न दिने निर्णय गरेसँगै विद्युतको खपत बढेको नेपाल विद्युत प्राधिकरणको भार प्रेषण केन्द्रका प्रमुख सुरेश भट्टराईले जानकारी दिए । केही दिनअघिसम्म रातीको समयमा विद्युत सबै खपत हुदैनथ्यो तर ३ दिनयता विद्युतको खपत बढेको छ, अहिले खेर जाने अवस्था छैन,’ भट्टराईले भने । प्राधिकरणले दिएको जानकारी अनुसार रातको १२ बजेदेखि ५ बजेसम्मको समयमा विद्युत खेर जाने गरेको थियो । सो समयमा प्रतिघण्टा ५० मेगावाटदेखि १ सय ५० मेगावाटसम्म विद्युत खेर जाने गरेको थियो । नेपालमा अहिले दैनिक औषतमा हजार मेगावाट विद्युत उत्पादन भइरहेको र केही दिनयता सोही परिमाणको विद्युत खपत भइरहेको भट्टराईले जानकारी दिए । नेपालमा उद्योग तथा व्यापारिक प्रतिष्ठानहरुले दैनिक ३ सय मेगावाटसम्म विद्युत खपत गर्ने गरेका छन् ।
भारतमा कोरोना सङ्क्रमितको संख्या ६३ हजार, ३० प्रतिशत निको
काठमाडौं । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या ६३ हजार पुगेको छ । सङ्क्रमितहरुको संख्या बढ्दै गएसँगै सङ्क्रमणबाट निको हुनेहरुको दर पनि बढ्दै गएको अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार झण्डै ३० प्रतिशत सङ्क्रमितलाई निको भएको छ । शनिबारमात्रै झण्डै ३ हजार ३ सय २० जना कोरोना भाइरस सङ्क्रमितहरु थपिएको जनाइएको छ । यो सँगै भारतमा कुल सङ्क्रमितको संख्या ५९ हजार ६ सय ६२ पुगेको छ । आइतबार दिउँसो एक बजेसम्म थप १ सय ७० जनामा कोरोना देखिको छ । हालसम्म २ हजार १ सय ९ जनाको मृत्यु भएको छ । बिहानदेखि १ बजेसम्म मात्रै २० जनाको ज्यान गएको छ । त्यसैगरी सङ्क्रमणमुक्त हुनेहरुको संख्या १९ हजार ४ सय ६० जना रहेको अधिकारीहरुले जनाएका छन् । सङ्क्रमित र मृत्यु हुनेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएपनि कतिपय विकसित देशहरुमा जस्तो अनियन्त्रित र भयावह अवस्था सिर्जना हुन सक्ने भन्ने विषय विश्लेषण भइरहेको छ । काेराेना भाइरसले विश्वमा ४१ लाख ३ हजार ५ सयभन्दा बढी मानिस कोरोना संक्रमित भएका छन् । त्यस्तै २ लाख ८० हजार ४ सय ७० जनाले ज्यान गुमाएका छन् भने १४ लाख ४३ हजार ४ सयभन्दा बढी उपचार पछि घर फर्किएका छन् ।
१ लाख घुस सहित डिभिजन बन कार्यलय नुवाकोटका प्रमुख पक्राउ
काठमाडौं । डिभिजन वन कार्यालयका प्रमुख डिभिजन वन अधिकृत जय मंगल प्रसाद १ लाख घुस रकम सहित पक्राउ परेका छन् । उनले खानी सम्बन्धि कामको लागि बिभिन्न बहाना गरी काममा अवरोध सृजना गर्दै सेवाग्राहीसँग घुस रकम माग गरिरहेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो । बिदुर नगरपालिको वडा नम्बर २ नुवाकोट स्थित डिभिजन वन कार्यालयको कम्पाउण्ड भित्रबाट रकम लिदालिदै पक्राउ प्रसाद पक्राउ परेका हुन । डिभिजन बन कार्यलय नुवाकोटका प्रमुख जय मंगल प्रसादलाई काठमाडौ लाने तयारी भैरहेको छ ।
स्थानीय तहमा १ सय २० औद्योगिक ग्राम थप्ने सरकारको तयारी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा लागि स्थानीय हतमा १ सय २० वटा औद्योगिक ग्राम निर्माण गर्ने भएको छ । औद्यागिक ग्राममार्फत रोजगारी सिर्जना गरी स्थानीय तहमा अर्थतन्त्र मजबुत गराउने योजनामा सरकार लागेको हो । सरकारले स्थानीय तहसँगको समन्वयमा स्थानीय तहको अर्थतन्त्र माथि उठाउने लक्ष्यसहित आगामी वर्षको नीति तथा कार्यक्रममा औद्योगिक ग्रामलाई प्राथमिकता दिने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १ सय २० वटा औद्योगिक ग्राम स्थापना गर्ने लक्ष्यसहितको प्रतिवेदन सिफारिस गरेको छ । स्थानीय तहमा स्थापना हुने नयाँ औद्योगिक ग्राममा स्थानीय तहको स्रोत साधनको प्रयोग हुनेछ । औद्योगिक ग्राममा कृषि उत्पादनको प्रशोधनमा युवाहरूलाई जोडेर रोजगारी दिइने छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकाे योजना, अनुगमन तथा मुल्यांकन महाशाखाका सहसचिव ध्रुव घिमिरेले स्थानीय तहको अर्थतन्त्र बलियो बनाउन र रोजगारी दिने गरी योजना ल्याउन लागिएको बताए । मन्त्रालयको योजनामा स्थानीय तहमा भएको कच्चा पदार्थलाई प्रयोग गरेर युवालाई रोजागारी प्रदान गर्ने प्रमुख लक्ष्य लक्ष्य राखिएको उनकाे भनाइ छ । सरकारले यस आर्थिक वर्षमा ७० वटा औद्योधिक ग्राम स्थापना गर्ने लक्ष्य लिएको थियो । अहिलेसम्म ३७ वटा औद्योगिक ग्रामको काम अघि बढेको छ । केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तहको संयुक्त सहकार्यमा स्थापना गरिने नयाँ औद्योगिक ग्राममा बिजुली, पानी, बाटो केन्द्रीय सरकारले बनाइदिने छ । औद्योगिक ग्रामका लागि आवश्यक पर्ने जग्गाको व्यवस्थापन भने स्थानीय तहले गर्नेछ । निजी क्षेत्रले पनि स्थानीय तहसँग समन्वय गरी जग्गा खोजेर औद्योगिक ग्रामको स्थापना, विकास तथा सञ्चालन गर्न पाउने छ । ग्राममा साना तथा मझौला उद्योगलाई प्रोत्साहन गर्ने गरी योजना तयार भएको सहसचिव घिमिरेले बताए । देशका विभिन्न स्थानमा खानी उद्योग सञ्चालन गर्ने, स्वदेशमै रासायनिक मल कारखाना स्थापना, पेट्रोलियम उत्खनन्, फलाम तथा खानी उद्योग सञ्चालन गर्ने योजनासमेत मन्त्रालयले बनाएको छ । औद्योगिक ग्राम सञ्चालनका लागि २०७५ सालमा औद्योगिक ग्राम घोषणा तथा सञ्चालन सम्बन्धी कार्यविधि बनेको थियो । आगामी आर्थिक वर्षमा औद्योगिक पूवार्धार निर्माणमा जोड दिने मन्त्रालयको तयारी छ । उद्योग मन्त्रालयको प्रस्तावित योजनामा विषेश आर्थिक क्षेत्र जस्ता औद्योगिक क्षेत्रहरुको विकास तथा प्रबद्र्धनलाई पनि समेटिएको छ ।
गौतमबुद्ध विमानस्थलको निर्माण अघि बढ्दै
भैरहवा । नदीजन्य निर्माण सामग्रीको अभावका कारण प्रभावित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको निर्माण अगाडि बढेको छ । बुटवल उपमहानगरपालिकाले नदीजन्य पदार्थ उपलब्ध गराएपछि निर्माण अघि बढेको विमानस्थल आयोजना शाखाले जनाएको छ । उपमहानगरपालिकाले आयोजनाका लागि तिनाउ नदीबाट नदीजन्य सामग्री बालुवा र गिट्टी उपलब्ध गराएपछि विमानस्थल निर्माण अगाडि बढेको विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए । राष्ट्रिय गौरवको आयोजना निर्माणका लागि सरकारले पुनःसञ्चालन गर्ने निर्देशन दिएसँगै विमानस्थल निर्माणका लागि स्थानीय प्रशासनसंँगको सहकार्यमा निर्माण कम्पनीले काम निरन्तरता दिएको हो । बन्दाबन्दीका कारण केही समय सुस्ताएको विमानस्थलको निर्माण नदीजन्य पदार्थ बालुवा र गिट्टीको सहजतासँगै ११ किमी पेरिमिटरको सडक निर्माण, टर्मिनल भवन र एप्रोनबीचको भाग ढलान भइरहेको विमानस्थल आयोजना प्रमुख अधिकारीले बताए । धावन मार्ग, अन्तरराष्ट्रिय टर्मिनल भवन, ट्याक्सी वे, सिसिटिभी, रेस्क्यु एण्ड फायर फाइटिङ, कन्ट्रोल टावर, प्राविधिक उपकरण जडान र प्रशासनिक भवनलगायत ९० प्रतिशत कार्य सम्पन्न गरिसकेको विमानस्थल निर्माण कम्पनीले सन् २०२० मार्च ३१ सम्म सम्पन्न गर्ने अन्तिम म्याद रहेको जनाएको छ । नेपाली र चिनियाँ कामदारले आन्तरिक आइसोलेशनमा बसेर निर्माण अगाडि बढाए पनि चीनबाट ल्याउनुपर्ने प्राविधिक उपकरण उतै रोकिएकाले निर्माण केही समय पछाडि धकलिने निर्माण कम्पनीले जनाएको छ । चिनियाँ कम्पनी नर्थ वेष्ट सिभिल एभिएशनले सन २०१४ डिसेम्बर ३१ मा ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २७ रुपैयाँमा ग्लोबल टेन्डरमार्फत विमानस्थल निर्माणको जिम्मा लिएको हो । सन् २०१७ डिसेम्बरसम्म निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता म्याद थियो । निर्माण कम्पनीले मधेश आन्दोलन, नाकाबन्दी र आन्तरिक कारण देखाउँदै यसअघि चार पटक म्याद थपिसकेको छ । एशियाली विकास बैंक ऋण सहयोगमा निर्माण भइरहेको सो विमानस्थल त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलभन्दा ठूलो हुने छ जुन ७ सय ८७ बिघा क्षेत्रफलमा निर्माण भइरहेको छ । रासस
हुरीसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध
काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभर बदली भइ वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन निकालेर केही दिनयतादेखि नेपालमा कायम रहेको पश्चिमी वायु र स्थानीय वायुको प्रभाव अझै सक्रिय अवस्थामै रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । देशको अधिकांश स्थानमा मेघगर्जन, चट्याङ, असिना र हुरीसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने भएकाले महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको हो । हाल पश्चिमी भूभागहरुमा बदली भइ हावाहुरी, मेघगर्जन, चट्याङसहित केही स्थानमा वर्षा भइरहेको छ । दिउँसो पश्चिमी भूभागलगायत मध्य र पूर्वी पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक भइ पश्चिमी भूभागका केही स्थानका साथै मध्य र पूर्व एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, असिना र हुरीसहित वर्षाको सम्भावना रहेको छ । सोमबार देशको अधिकांश भूभागमा सामान्य बदली रही देशको पहाडी भूभागका केही स्थान र तराईका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, असिना र हुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मङ्गलबार देशको अधिकांश भूभागमा सामान्य बदली रही देशको केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हुरीसहित वर्षाको सम्भावना रहेको औँल्याएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १७ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २७ दशमलव नौ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम सात दशमलव छ डिग्री र सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ३५ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।
आगामी बजेटका प्राथमिकताः आधारभूत नि:शुल्क स्वास्थ्यसेवादेखि कर छुटसम्म
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८का लागि प्रस्तुत हुने नीति तथा कार्याक्रम र बजेटमा नागरिकलाई आधारभुत स्वास्थ्य सेवा निःशुल्क गर्ने बताएका छन् । प्रतिनिधि सभा संसदमा आइतबार खतिवडाले आगामी बजेटका सिद्धान्तहरु सार्वजनिक गर्दै उनले कोरोना भाइरसले पारेको असर र देशको अर्थतन्त्र पुनरुत्थानका लागि आर्थिक गतिविधी बढाउने र नागरिकसँग जोडिएका आधारभुत पक्षहरुलाई बजेटमा बढी प्राथमिकता दिने बथताएका हुन् । उनले आगामी बजेटबाट कर सहुलियतको ब्यवस्था गरिने बताएका छन् । अर्थमन्त्री खतिवडाले दीगो र उच्च आर्थिक वृद्धि हासिल गर्ने गरी बजेट तर्जुमा गरिने बताएका छन् । ‘अब स्वास्थ्य पूर्वाधारमा लगानी बढाइनेछ, स्वास्थ्य बीमालाई बिस्तार गरी आम नागरिक सबैलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याइनेछ,’ उनले भने । यस्तै, होटल र एयरलाइन्सको पुनउत्थानलाई प्राथमिकता दिनको लागि सरकारले सहुलितय घोषणा गर्ने, भूकम्पपछिको पुननिर्माण आगामी आर्थिक वर्षमा सक्ने लक्ष्य राख्ने उनले बताए । सार्वजनिक खर्चको प्राथमिकरण गर्ने र अति आवश्यक भएमा मात्र बजेट र प्रदेश र स्थानीय तहमा हस्तान्तरण भएका आयोजनालाई बजेट अभाव हुन नदिने प्रतिबद्धता अर्थमन्त्री खतिवडाले गरेका छन् । यस्तै विद्युतीय प्रणालीबाट राजस्व तिर्ने नीतिलाई प्राथमिकता दिने र राजस्वको दायरा बढाउने घोषणा समेत अर्थमन्त्रीले गरेका छन् । नागरिकको सर्वसुलभ स्वास्थ्य शिक्षा, विपतको पूर्व तयारी, अर्थतन्त्रमा देखा परेको असर कम गर्न स्थायित्व र विकास निर्माणका पूर्वाधारहरुमा बढी जोड दिने उनको भनाइ छ । ‘वित्तीय संघियतालाई प्रभावकारी र गतिशिल बनाउन करको दायरा विस्तार र परिपालना गरी राजश्व परिचालन गरिनेछ, बैंक तथा वित्तीय संस्थाका साधनलाई पुनरुत्थान गरी थप परिचालन गरिनेछ,’ उनले भने । खतिवडाले नयाँ बजेट स्थायित्वसहितको उच्च आर्थिक वृद्धिमा केन्द्रित हुने बताएका छन्। कोभिड १९का कारण अर्थतन्त्र तहसनहस भएको बताउँदै उनले आगामी आर्थिक वर्ष भने उच्च आर्थिक वृद्धि हासिल गर्ने गरी बजेट ल्याउने बताए। भूकम्पको समयपछि पनि नेपाल छिट्टै माथि उकासिएको र कोरोनापछि पनि सोही रुपमा अघि बढ्ने मन्त्री खतिवडाले बताए।