विकासन्युज

सुदूरपश्चिममा दिउँसै अँध्याराे !

काठमाडाैं ।  सुदूरपश्‍चिममा चट्‍याङ र हुरीबताससहितको वर्षा सुरु हुँदा दिउँसै रात जस्ताे देखिएकाे छ । सुदूरपश्चिमकाे कैलाली र कञ्‍चनपुरमा अध्याँरो छाएको स्थानीयले बताएका छन् । कञ्‍चनपुरको सदरमुकाम महेन्द्रनगर, झलारी, बेलडाँडी, कृष्णपुरलगायतका क्षेत्रमा दिउँसै अध्याँरो भएपछि स्थानीयहरु त्रसित बनेका छन् । नेपाल पूर्वानुमान शाखाले हाल मेघ गर्जन, चट्याङ, हुरीबतास, असिनासहित वर्षा गराउने प्रणाली पश्चिमबाट नेपालको सुदुरपश्चिम प्रदेशमा प्रवेश गर्ने क्रममा रहेको हुँदा सतर्कता  अपनाउन आग्रह गरेको थियो । यसको असर सुदूरपश्‍चिम सँगै साँझ सम्ममा कर्णाली प्रदेश र प्रदेश ५ मा पनि देखिने महाशाखाले जनाएको छ । हाल मेघ गर्जन,चट्याङ, हुरीबतास, असिनासहित वर्षा गराउने प्रणाली पश्चिमबाट नेपालको सुदुर पश्चिम प्रदेशमा प्रवेश गर्ने क्रममा रहेको हुदा केहि समयपछि सुदूरपश्चिम प्रदेशमा र साँझ सम्ममा कर्णाली प्रदेश र प्रदेश ५ मा पनि यस प्रणालीको प्रभाव देखिने हुनाले सतर्कता अपनाउन अनुरोध छ ।

थप दुई जना कोरोना संक्रमित विराटनगरबाट डिस्चार्ज

काठमाडाैं । थप दुई जना कोरोना संक्रमित विराटनगरबाट डिस्चार्ज भएका छन् । विराटनगरको कोसी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचार गराइरहेका थप दुई जना निको भएर डिस्चार्ज भएका हुन् । भोजपुरका २७ वर्षीय युवक र  झापा दमकका ६३ वर्षीय वृद्ध निको भएर डिस्चार्ज भएका हुन् ।

लकडाउन खुलेपछि एसईई हुने, विद्यार्थीलाई तयारीमा रहन आग्रह

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) लकडाउन खुलेपछि लिइने जनाएको छ ।  कोरोना भाइरस (कोभिड–१९) का कारण पूर्वनिर्धारित तालिकाअनुसार चैत ६ गतेबाट हुने भनिएकाे एसईई परीक्षा राेकिएकाे छ । मन्त्रालयले अब लकडाउन खुले लगत्तै परीक्षा हुने बताएकाे हाे ।  विद्यमान ऐनअनुसार लिखित रूपमा लिइने परीक्षाबाट मात्र एसईईले कानुनी मान्यता प्राप्त गर्नेसमेत अधिकारीले स्पष्ट पारेका छन् । ‘एसईई परीक्षा नगरी आन्तरिक मूल्यांकनबाटै गर्ने भन्ने विषयले विद्यार्थी र अभिभावकलाई अन्योलमा पारेको बुझिएको छ,’ मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले भने, ‘विद्यमान शिक्षा ऐन कानुनअनुसार लिखित परीक्षाबाट मात्र एसईईले मान्यता पाउनेछ । आन्तरिक मूल्यांकनबाट एसईईलाई मान्यता दिने हो भने त्यसअघि ऐन संशोधन भएमात्र सम्भव छ । हामी (मन्त्रालय) त्यो बिन्दुमा पुगेका छैनौं ।’ शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आइतबार आयोजना गरेको वेबिनारमा उनले उक्त विचार व्यक्त गरेका हुन् । बोर्डको रेकर्डअनुसार यो वर्ष ४ लाख ८२ हजार ७ सय ७ जनाले एसईई दिने तयारीमा छन् । देशभरिमा १ हजार ९ सय ९७ परीक्षा केन्द्र विस्तार गरिएका छन् । प्रश्नपत्र सबै केन्द्र नजिकको प्रहरी चौकीमा सुरक्षित गरी राखिएका छन् । परीक्षा नियन्त्रक रामराज खकुरेलले कुनै पनि परीक्षार्थीलाई डेरा बस्नु नपर्ने गरी ७ सय २७ केन्द्र थप्ने योजना बनेको बताए ।

काठमाडौँ उपत्यकामा बढ्यो चहलपहल

काठमाडाैं । सरकारी कार्यालय, बैंक, कृषि, उद्योग तथा कलकारखाना खुल्न थालेसँगै काठमाडौँ उपत्यकामा चहलपहल बढेको छ । उपत्यकाका मुख्य र भित्री सडकमा मानिसको भीड बढेको छ भने अत्यावश्यकबाहेकका सामग्री पसलसमेत खुलेका छन् । सरकारले विभिन्न कार्यालय र उद्योग खोल्ने निर्णयका कारण चहलपहल बढ्नु स्वाभाविक भए पनि कतिपयले उपत्यकामा ‘लकडाउन’ खुकुलो भएको भन्ने बुझाइका कारण काम नपरी पनि घर बाहिर निस्कन थालेको पाइन्छ । पहिले बिहान, साँझ मात्रै खुल्ने खाद्यान्नको पसल जुनसुकै समय खोल्ने प्रशासनको निर्णयका कारण पनि उपत्यकाका विभिन्न भागमा दिनभरजसो मानिसको आवतजावत देखिएको छ । कतिपयले सवारी साधन बाक्लो हुँदा सडकमा जाँच हुँदैन भनेर पनि निस्केको पाइएको छ । कतिपय व्यक्ति अब त लकडाउन खुकुलो छ भन्दै घुम्न निस्केको पनि भेटियो । सीमित क्षेत्रमा मात्रै खुकुलो बनाइए पनि धेरैमा पहिले जस्तै पालना गर्नुपर्छ भन्ने थाहा नभएको वा थाहा भए पनि प्रहरी कम परिचालन हुन्छन् भन्ने सोचेर बाहिर निस्केको पाइएको छ । उपत्यकामा निर्माणका लागि आवश्यक हार्डवेयर पसल खुल्ने भनिए पनि कतिपय स्थानमा चिया पसल, क्याफे, कस्मेटिक्सलगायत पसलसमेत खुलेको देखिन्थ्यो । नेपाल प्रहरी र ट्राफिक प्रहरीले भने कार्यालय र उद्योग खुलेपछि आवतजावत बढ्नु स्वाभाविक भएको बताएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता (प्रहरी उपरीक्षक) जीवन श्रेष्ठले चहलपहल बढ्दा सवारी पासको दुरुप्रयोग बढ्न सक्ने भएकाले जाँच बढाइएको बताए । लकडाउनको शुरुको साताभन्दा पछिल्लो समय पासको दुरुप्रयोग बढिरहेको उनले बताए । ट्राफिक प्रहरीले विभिन्न स्थानमा जाँच पनि बढाएको उहाँको भनाइ छ । उनले भने, “हामीले पहिलेभन्दा जाँच अझ कडाइ गरिरहेका छौँ ।” आइतबार दिउँसोसम्म सवारी पासको दुरुपयोग गर्ने चार पाङ्ग्रे १०२ र दुई पाङ्ग्रे ४५८ गरी ५६० सवारी साधनलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । दैनिक ७०० देखि ८०० सम्म सवारी साधन कारवाहीमा परिरहेको उनले बताए । अहिले खुलेका कार्यालयमा जनशक्ति र सवारी साधनको प्रयोग सहीरुपमा भइरहेको छ/छैन भनी नियमनको जिम्मेवारी सम्बन्धित मन्त्रालयको सचिवलाई दिइएको छ । त्यससँगै ट्राफिक प्रहरीले पनि जाँच गरिरहेको छ । उहाँले भन्नुभयो, “गल्ती भेटिँदा कारवाही पनि भइरहेको छ ।” उपत्यकामा भीडभाड हुन नदिन कस्ता सवारी साधन कुन समयमा चल्न दिने भनी समय निर्धारण गरिएको छ । विकास निर्माणसम्बन्धी सामग्री बोकेका हेभी सवारी राति ८ः०० देखि बिहान ६ः०० बजेसम्म चल्न पाउने छन् । बैंक तथा वित्तीय संस्थाका गाडी बिहान ९ः०० देखि १९ः३० सम्म तथा बेलुका ३ः३० देखि ५ः०० बजेसम्म चल्न पाउने महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जानकारी दिएको छ । उपत्यकाका चक्रपथ बाहिरका क्षेत्रमा भने पहिलेदेखि नै लकडाउनको समयमा समेत अत्यावश्यकबाहेकका पसल खुल्ने गरेकामा अहिले त्यो अझै बढेको छ । अत्यावश्यकबाहेकका पसल खुल्दा ती स्थानमा जुनसुकै समयमा मानिसको आवतजावत देखिन्छ । काँठ क्षेत्रमा प्रहरीको उपस्थिति कम हुँदा मानिस छोटो दूरीमा सवारी साधनको प्रयोग गरिरहेका छन् । यस क्षेत्रमा बिहान र साँझको समयमा घुम्न निस्कनेको भीड देख्न सकिन्छ । धेरै ठाउँमा चाडपर्वको समयमा जस्तै समूहमा बसेर खेल खेल्ने गरेको देखिन्छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख श्यामलाल ज्ञवालीले अहिले खुल्ला भएका विभिन्न कार्यालय र निर्माण क्षेत्रका कारण चहलपहल बढ्नु स्वाभाविक भएको बताए । उनका अनुसार खाद्यान्न र औषधिका पसल पहिले निश्चित समयमात्रै खुल्ने भए पनि अहिले दिनभर खुल्दा पनि मानिसहरु सडकमा बढी देखिएका छन् । लकडाउन उल्लङ्घन गर्नेलाई भने कारवाही भइरहेको उनले बताए । उनले भने, “अहिले यसलाई अझै कडाइ गरिएको छ ।”

निजगढको निर्माण कार्य निरन्तर अघि बढाइने, ४ हजार २ सय रुख काट्ने निर्णय

काठमाडौं । अब निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अगाडि बढ्ने भएको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणका लागि अन्तर निकाय समन्वय, सहजीकरण एवं आइपरेका समस्या समाधान गर्न निरन्तर क्रियाशिल रहने गरी गठित उच्चस्तरीय सहजीकरण समितिको पाँचौं बैठकले निर्माण कार्य निरन्तर अगाडि बढाउने निर्णय गरेको हो । बैठकले मुख्य पाँच वटा निर्णय गरेको छ । जसमा वन तथा वातावरण मन्त्रालय अन्तर्गतको सेक्टर वन कार्यालय, निजगढद्वारा पेरिफेरी सडक निर्माणका निम्ति गणना गरिएका ४ हजार २ सय ३२ वटा रुखहरुको काट्ने निर्णय गरेको हो । यसको स्वीकृतीका लागि वन तथा वातावरण मन्त्रालयले यथाशीघ्र नेपाल सरकार (मन्त्रिपरिषद्) समक्ष प्रस्ताव पेश गर्ने र विमानस्थल निर्माण क्षेत्रभित्रका रुख तथा पोलहरुको लगत नम्वरीङ कार्य तत्काल अघि बढाउने निर्णय भएको हो । यस्ता छन् अन्य निर्णय: १. यस समितिको मिति २०७६ माघ २ गतेको निर्णयानुसार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सह(सचिवको संयोजकत्वमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरण अन्तर्गत राष्ट्रिय गौरवको आयोजना हेर्ने निर्देशकसमेतको प्रतिनिधित्व हुने गरी गठन गरिएको कार्यदलले आफ्नो कार्य जिम्मेवारी बमोजिमका कार्यहरु यथाशिघ्र अगाडि बढाइ सोको प्रगति प्रतिवेदन १० दिन भित्र यस समितिसमक्ष पेश गर्ने । २. मिति २०७४ भाद्र १९ गते निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रको चार किल्ला वरिपरि सडक निर्माण, पहुँच मार्ग निर्माण गर्न र सो क्षेत्रमा पर्ने वन क्षेत्रको रुख कटानी गर्ने सम्बन्धमा नेपाली सेना र नेपाल नागरिक उड्डयन प्राधिकरणबिच भएको समझदारी पत्रमा उल्लेखित म्याद थप गरी सम्झौतामा उल्लेखित कार्यहरु अगाडि बढाउने । ३. वन तथा वातावरण मन्त्रालय अन्तर्गतको सेक्टर वन कार्यालय, निजगढद्वारा एभचष्उजभचथ(च्यबम निर्माणका निम्ति गणना गरिएका ४,२३२ वटा रुखहरुको कटान–स्वीकृतीका लागि वन तथा वातावरण मन्त्रालयले यथाशीघ्र नेपाल सरकार (मन्त्रिपरिषद्) समक्ष प्रस्ताव पेश गर्ने । साथै, विमानस्थल निर्माण क्षेत्रभित्रका रुख तथा पोलहरुको लगत नम्वरीङ कार्य तत्काल अघि बढाउने । ४. विमानस्थल निर्माणको लागि लगानी बोर्डले निश्चित सयम सीमा तोकी जुरिच इन्टरनेशनलसँग सार्वजनिक–निजी साझेदारी (पिपिपि) मोडेलको प्रस्ताव माग गर्ने र सम्झौता प्रकृया पूरा गर्ने । ५ नेपाल नागरिक उड्डयन प्राधिकरणले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना निर्माणको खरिद सम्झौता प्रकृया शीघ्र सम्पन्न गर्ने ।

करको दायरा बढाउने, बैंकको ऋण उत्पादनशील क्षेत्रमा लगाउने (पूर्णपाठसहित)

काठमाडाैं । अर्थमन्त्री डा। युवराज खतिवडाले करको  दायरा विस्तार गरिने बताएका छन्। संसदमा आगामी बजेटको प्राथमिकतामा करकाे दायर विस्तार गर्ने, स्वदेशी कच्चा पदार्थमा आधारित, उच्च मूल्य अभिवृद्धि गर्ने र निर्यातमूलक उद्योग स्थापनाको लागि प्रोत्साहन गर्ने बताएका हुन् । काेराेना भाइरसकाे कारण अर्थतन्त्रमा देखिएकाे असरलाई कम गर्न आर्थिक गतिविधिलाई थप प्रभावकारी बनाउने उनले बताए । ‘अब स्वास्थ्य पूर्वाधारमा लगानी बढाइनेछ, स्वास्थ्य बीमालाई बिस्तार गरी आम नागरिक सबैलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याइनेछ,’ उनले भने । यस्तै, होटल र एयरलाइन्सको पुनउत्थानलाई प्राथमिकता दिनको लागि सरकारले सहुलितय घोषणा गर्ने, भूकम्पपछिको पुननिर्माण आगामी आर्थिक वर्षमा सक्ने लक्ष्य राख्ने उनले बताए । नयाँ बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको बताउँदै उनले कोरोना नियन्त्रणका लागि स्वास्थ्य सेवाको गुणस्तर तथा त्यसको पहुँच विस्तार गर्ने पनि बताए । ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर आबद्धताको कारण नेपालमा अर्थतन्त्रका क्षेत्रहरु श्रम र पर्यटनमा धेरै ठूलो प्रभाव परेको छ’, उनले भने, ‘अन्य क्षेत्रहरु पनि प्रभावित रहेकाले त्यसलाई ध्यान दिई उक्त क्षेत्रलाई पुनरुत्थान गर्न बजेटमा कार्यक्रमहरु समावेश गरिनेछ ।’ सार्वजनिक खर्चको प्राथमिकरण गर्ने र अति आवश्यक भएमा मात्र बजेट र प्रदेश र स्थानीय तहमा हस्तान्तरण भएका आयोजनालाई बजेट अभाव हुन नदिने प्रतिबद्धता अर्थमन्त्री खतिवडाले गरेका छन् । भूमिहीन किसानलाई भूमिका सहित पहुँच दिने, कोरोनाले रोजगारी गुमाएकालाई तथा विदेशबाट फर्केकालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने लगायतका कार्यक्रम आगामी आर्थिक वर्षमा सञ्चालन गरिने उनले बताए । यस्तै विद्युतीय प्रणालीबाट राजस्व तिर्ने नीतिलाई प्राथमिकता दिने र राजस्वको दायरा बढाउने घोषणा समेत अर्थमन्त्रीले गरेका छन् । यस्तो छ आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता [pdf id=213181]

आइएमएस ग्रुपका अध्यक्ष मलहोत्राद्वारा नेपाल चिकित्सक संघलाई ५ हजार मास्क हस्तान्तरण

काठमाडौं । आइएमएस ग्रुपका अध्यक्ष तथा नेपाल चेम्बर्स अफ कमर्शका उपाध्यक्ष दिपक मलहोत्राले नेपाल चिकित्सक संघलाई पाँच हजार मास्क हस्तान्तरण गरेका छन । मलहोत्राले आफ्नै कम्पनीबाट उत्पादित उक्त मास्क नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीलाई सहयोगस्वरुप हस्तान्तरण गरिएको हो । मलहोत्राले आफ्नो कम्पनीबाट उत्पादित मास्क बिभिन्न अस्पताल, सुरक्षा निकाय, सामाजिक कार्यकर्ता र पत्रकारहरुलाई निशुल्क वितरण गर्दै आईरहेका छन । कोरोना भाईरसको महामारीमा पनि आफ्नो ज्यान जोखिममा राखेर चिकित्सकहरु बिरामीको उपचार गरिरहेका चिकित्सक साथीहरुलाई संघमै आएर मास्क वितरण गर्न पाएकोमा मलहोत्राले खुशी व्यक्त गरे । उनले भोलिका दिनमा पनि चिकित्सक संघसँग सहकार्य गरेर अगाडी बढने जनाउदै अहिलेको महामारीमा संघलाई अन्य थप सहयोग पनि गर्ने प्रतिबद्दता व्यक्त गरे । कोरोना भाइरस कोभिड–१९ फैलिनसक्ने त्रासका बीच मास्क अभाव भईरहेका बेला मलहोत्राले ठूलो मात्रामा मास्क उत्पादन सुरु गरेर देशको लागी धेरै राम्रो काम र ठुलो सहयोग गरेकाे उक्त मास्क हस्तान्तरण कार्यक्रममा चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले बताए । मनका धनी मलहोत्राले अहिले ब्याबसाय गर्न भन्दा पनि सामाजिक कामका लागी मास्क कम्पनि सन्चालनमा ल्याएको बताए । उनले आफ्नो कम्पनीले दिनमा करिब ७० हजार मास्क उत्पादन गर्ने र शुरुका दिनमा उत्पादित मास्क सबै हस्पिटल लगाएतका क्षेत्रमा वितरण गरिदै आएको बताए । उनले अबको केहि दिनबाट मास्कको सर्टेज नहुने समेत दाबि गरे । आफूहरुले उत्पादन गरेको सर्जिकल मास्क बजारमा समेत उपलब्ध रहेको उनले बताए । आफूहरुले मास्क उत्पादन सुरु गरेपछि बजारमा मास्कमा भैरहेको कालोबजारी पनि अन्त्य भएको उनले बताए । बजारमा छ्यापछ्याप्ती मास्क उपलब्ध हुदैछ अब मास्क नपाएर आत्तिनुपर्दैन मकहोत्राले भने । उक्त मास्क न्युन मूल्यमा पाइने समेत मलहोत्राले बताए । यस्तो बेला जनता र सरकारलाई सहयोग गर्न पनि नाफा नखाने उनले बताए । चेम्बरले केही समयअघि कोरोना भाइरस नियन्त्रणसम्बन्धी बनाएको सहजीकरण समितिको संयोजकसमेत रहेका मलहोत्रा अहिलेको लकडाउनको समयमा पनि दैनिक मास्क वितरण गर्नमै व्यस्त रहेका छन । मलहोत्राले अहिलेको महामारीमा घरमै बसी सरकारले लागु गरेको लकडाउन पालना गरिदिन समेत सबैलाई आग्रह गर्दै आफु सुरक्षित हुदैँ समाजलाई समेत कोरोनाबाट सुरक्षित राख्न अनुरोध समेत गरे ।

अमेरिकामा रहेका नेपाली उद्धारको पर्खाइमा

टेक्सस, संयुक्त राज्य अमेरिका ।  शैलेस गिरी नियमित औषधि सेवन गर्छन् । मधुमेह र रक्तचापका बिरामी ५१ वर्षीय उनले औषधि सेवन गर्न थालेको धेरै भयो । औषधि सेवन गर्ने मात्र नभएर गिरीले नियमित इन्सुलिन (सुई) पनि लिने गर्छन् । काठमाडौँको कोटेश्वरका गिरी अहिले अमेरिका छन् । मेरिल्याण्डको बाल्टिमोरमा रहेका छोरालाई भेट्न उहाँ झण्डै पाँच महिनाअघि यहाँ आएका थिए । नेपालबाट अमेरिका आउँदा नै उहाँले नेपाल फर्किने टिकट यही मे ९ को लिएका थिए । तर कोभिड–१९ को महामारीसँगै अन्तर्राष्ट्रिय उडान बन्द भएपछि उनी फर्किन पाएका छैनन् । घुम्न आएको देश अमेरिकादेखि आफ्नो जन्मभूमि नेपालसमेत लकडाउनको अवस्थामा रहँदा उहाँलाई कसरी नेपाल फर्किने भन्ने चिन्ताले सताएको छ । उनले साथमा ल्याएको औषधि सकिन थाल्यो र हाल ‘भ्रमण भिसा’ मा छन् । उनले स्वास्थ्य बीमासमेत नलिएकाले भविष्यमा आउन सक्ने समस्यालाई लिएर आफू निकै चिन्तित भएको उनले बताए । अमेरिकामा कोरोना भाइरसको सङ्क्रमण दिन प्रतिदिन बढ्दो छ । स्वास्थ्यप्रति संवेदनशील रहँदै गिरी अहिले छोरा बसेको ठाउँबाट आफ्नो साथी भएको ठाउँ नर्थ क्यारोलिनामा बसेका छन् । नर्थ क्यारोलिना तुलनात्मकरुपमा मेरिल्याण्डभन्दा यो कोरोना सङ्क्रमणको दर केही कम देखिएको राज्य भएकाले त्यहाँ गएर एकजना साथीको घरमा बसेको गिरीले बताए । लकडाउन खुल्ने र अन्तर्राष्ट्रिय उडानसमेत चाँडै नै हुने सम्भावना नदेखिएकाले नेपाल सरकारबाट उद्धारको पर्खाइमा आफू रहेको गिरीले बताए । कोभिड–१९ को महामारीकाबीच रोजगारी गुमेपछि ४५ वर्षीया बबिना श्रेष्ठ पनि नेपाल जान चाहन्छन् । झण्डै १२ वर्षदेखि अमेरिकामा बस्दै आएकी बबिना बेरोजगार भएको लामो समय भएकाले नेपाल फर्किन चाहेको बताउँछन् । उनी पछिल्लो पटक करिब ६ महिनाअघि नेपाल गएका थिए । नियमित औषधिसमेत सेवन गर्दै आएकी  बबिना चिकित्सकले ६ महिनापछि ‘फलोअप’ स्वास्थ्य जाँचका लागि आउनु भने अनुरुप नै आफू नेपाल जानेगरी पहिला नै योजना बनाएर पछिल्लो पटक अमेरिका आएका थिए । तर उनको योजना कोभिड–१९ ले असफल बनाइदिएको छ । उनी अहिले समस्यामा परेका छन् । नियमित रोजगारी गुम्यो र अरुतिर काम खोज्दासमेत नपाएपछि आफू बस्दै आएको जर्जियाको एट्लान्टाबाट टेक्सस आफ्नो आफन्तकहाँ बस्दै आएको र नेपाल जाने पर्खाइमा रहेको उनले बताए । ‘‘यहाँ काम पनि छैन, कामबिना अमेरिकामा बस्न कति गाह्रो हुन्छ त्यसैले छिट्टै नेपाल जान पाए हुन्थ्यो’’, उनले भने । भक्तपुरकी २८ वर्षीया पेशाले चिकित्सक स्वस्तिक प्रधानाङ्ग पनि अहिले भर्जिनियामा हुनुहुन्छ । नियमित उडान भएको भए उहाँ गत अप्रिल ३ मा नेपाल फर्किसकेका हुन्थिए । तर अहिले लकडाउनमा परेका छन् । आफ्नो पेशागत क्षेत्रसँग सम्बन्धित परीक्षाका लागि उनी ६ महिनाअघि अमेरिका आएका थिए । तर उनी फर्कन नपाएपछि भिसा थपेर भर्जिनियामा मामाको घरमा बसेका छन् । उनले पनि जतिसक्दो चाँडो नेपाल जान पाए हुन्थ्यो भन्छन् । भक्तपुर मुटु तथा मधुमेह केन्द्रमा कार्यरत डा प्रधानाङ्गले भने, ‘‘तत्काल खुल्ने कुनै सम्भावना देखिँदैन, सरकारले केही गरेर भए पनि फर्कन चाहेका हामीलाई लगे हुने थियो ।’’ उता आयोवामा अध्ययनरत २१ वर्षीय आयाम श्रेष्ठ पनि जतिसक्दो चाँडो नेपाल जान चाहन्छन् । कलेजसमेत बन्द हुँदा श्रेष्ठले कुनै काम गर्न पाएका छैनन् । ‘‘काम पनि छैन, समस्या पनि बढ्दै गएको छ’’ काठमाडौँका श्रेष्ठले भने, ‘‘नेपाल जान पाए धेरै सजिलो हुने थियो फेरि सामान्य कहिले हुन्छ भन्ने यकिन नभएकाले साह्रै समस्या भयो ।’’ बुटवलका कुलबहादुर केसी पनि अमेरिकाबाट नेपाल फर्कन चाहनुहुन्छ । बयासी वर्षकी आमालाई समेत अमेरिका घुमाउन लिएर आएका ५२ वर्षीय कुलबहादुरलाई अब यहाँ घुम्न मन छैन । बरु फर्कने समस्याले चिन्तित छन् । आफ्नो छोरीकोमा आउनुभएका उहाँ अन्य कुनै समस्या नभए पनि आमासमेत आत्तिएकाले जतिसक्दो चाँडो फर्कन पाए हुने थियो भन्छन् । “यसरी नेपाल फर्कन चाहनेहरुले समूह नै बनाएर छलफल, सम्बन्धित निकायमा संवाद र सामूहिक प्रयासको थालनी गरेका छन् । हामीले नेपाल फर्किन चाहनेहरुलाई लैजान नेपाल सरकारसँग सामूहिक रुपमा आह्वान गरिरहेका छौँ” नेपाल जान चाहेनहरुको समूहका एक अभियन्ता शान्तराज बतासले भने । नेपाल सरकारलाई कुनै आर्थिक भार नदिनेगरी आफूहरु नेपाल जान तयार रहेको र नेपाल जानेबित्तिकै सेल्फ क्वारेन्टाइनमा पनि बस्ने उनीहरुको भनाइ छ । नेपाल जान चाहनेहरुले अमेरिकास्थित, नेपाली राजदूतावास, गैरआवासीय नेपाली सङ्घदेखि प्रत्यक्ष/अप्रत्यक्ष रुपमा नेपालका मन्त्रीसँग संवाद गरिरहेका छन् । अमेरिकाबाट नेपाल जान चाहनेहरुका निम्ति नेपालबाट सहयोगी भूमिका खेलेका इन्जिनीयर शैलेन्द्र गुरागाईंले नेपाल सरकारले चाँडै आवश्यक पहल गर्नुपर्ने बताए । भ्रमण भिसामा अमेरिका पुगेका र छोटो अवधिका लागि त्यहाँ विभिन्न तालिममा पुगेकाहरु बढी समस्यामा परेका छन् । गुरागाईंले भने, “उहाँहरुलाई नेपाल सरकारले जतिसक्दो छिटो लैजानुपर्छ । स्वास्थ्य संवेदनशीलतालाई हेरेर क्वारेन्टाइनमा पनि बस्न उहाँहरु तयार नै हुनुहुन्छ । नेपाल सरकारलाई आर्थिक भार नपर्ने गरी हवाई भाडा तिर्नेदेखि क्वारेन्टाइनका लागि होटलहरुको व्यवस्था गर्नेसम्मको काम गरिसकिएको गुरागाईंले छ ।” औषधि उपचारको समस्यादेखि लिएर भिसाको म्याद सकिने समस्या, भिसाको म्याद बढाएर बस्दा आर्थिक भार थपिने जटिलता, रोजगार गुमेको अवस्था, नेपालबाट पनि आर्थिक सहयोग गर्न नसकिने अवस्थालगायतले गर्दा अमेरिकाबाट नेपाल फर्किने चाहना राख्नेहरु दिनदिनै बढ्दै गएको छ । नेपाल जान चाहनेहरुको तथ्याङ्क लिएर नेपाल सरकारसमक्ष छलफल गर्ने हेतुले गैरआवासीय नेपाली सङ्घ अमेरिकाले नेपाल जान चाहनेहरुको लगत सङ्कलन गरिरहेको छ । सङ्घका वरिष्ठ उपाध्यक्ष डा अर्जुन बञ्जाडेले अप्रिल २४ देखि तथ्याङ्क सङ्कलन शुरु गरी मे २ सम्मको तथ्याङ्क नेपालको परराष्ट्र मन्त्रालय, अमेरिकास्थित नेपाली दूतावास र एनआरएनए आइसिसीसमक्ष बुझाइएको बताए । उनका अनुसार यहाँबाट नेपाल जान चाहने ६४१ जनाले नाम दर्ता गरेका थिए । सङ्घले नेपाल जान चाहनेहरुलाई आवश्यक व्यवस्था मिलाउन पहल गरिरहेको एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल साहले बताउनुभयो । साहले आवश्यक सहकार्यका लागि आफूहरु तयार रहेको बताए । अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुनकुमार कार्कीले नेपाल जान चाहनेहरुको विषयमा छलफल भइरहेको बताए । डा कार्कीले नेपाल फर्किन चाहनेहरुको स्वास्थ्यदेखि लिएर हरेक पक्षबाट छलफल भइरहेको र यसका लागि दूतावास सकारात्मक रहेको बताए । राजदूत डा कार्कीले यो विषय नेपाल सरकारको निर्णयमा भरपर्ने भएकाले सरकारको निर्णयअनुरुप अघि बढ्नुपर्ने बताए । उनले अमेरिकामा रहेका नेपालीलाई कुनै समस्या भए दूतावासमा सम्पर्क गर्न आग्रह पनि गरेका छन् । “अमेरिकामा समस्यामा परेका नेपालीप्रति हामी चिन्तित छौँ, हामीले के सक्छौँ सहयोग गर्नेछौँ”, उनले भने ।