अदालतले लकडाउनको अवधिमा सेवा प्रवाहलाई विस्तार गर्ने
काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले गरेको लकडाउनको अवधिमा सेवा प्रवाहलाई केही विस्तार गर्ने निर्णय गरेको छ । प्रधानन्यायाधीशसहित न्यायाधीशहरुको आज बसेको पूर्ण बैठकले सोमबारदेखि नेपाल सरकार निवेदक भएको मुद्दा दोहो¥याई पाऊँ भन्ने निवेदन, पुनरावेदनको अनुमतिको निवेदन र विपक्षी झिकाउने आदेश भइनसकेका नेपाल सरकारका तर्फबाट परेको पुनरावेदन तथा साधक जाँचका लागि आएका मुद्दाको सुनुवाइ शुरु गर्ने निर्णय गरेको हो । बैठकपछि सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जारी गरेको प्रेस विज्ञप्तिमा अदालतमा न्याय सम्पादनसम्बन्धी थप काम शुरु गर्न सकिने कि नसकिने भन्ने विषयमा सर्वोच्चले उच्च अदालतसँग राय पनि मागेको उल्लेख छ । साथै, उच्च अदालतलाई आफू मातहतका अदालतका न्यायाधीश, कर्मचारी, सरकारी वकिल कार्यालय र बार एकाइसँग परामर्श गरी राय दिन विज्ञप्तिमा भनिएको छ ।
कालापानी नजीकै सशस्त्र प्रहरी बल नेपालको बिओपी स्थापना हुने
दार्चुला । दार्चुलाको व्यास गाउँपालिकाको कालापानी क्षेत्र नजीकै सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) तत्काल स्थापना हुने भएको छ । गत मङ्सिरमै नेपाल सरकारले बिओपी राख्ने निर्णय गरेको भए पनि लकडाउनका कारण ढिलाइ भएको थियो । भारतले यही शुक्रबार नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनसँग सीमा जोड्ने गरी सडक निर्माण गरेपछि सरकारले अहिले तत्काल व्यासको छाङ्गरुमा सशस्त्र प्रहरीको बिओपी राख्ने भएको हो । बुधबार व्यासको छाङ्गरुमा बिओपी स्थापना गर्ने तयारी अन्तिम चरणमा पुगेको सशस्त्र प्रहरी बल नेपाल नं ५० का सशस्त्र प्रहरी नायब उपरीक्षक डम्मरबहादुर विष्टले जानकारी दिए । “गागामा सशस्त्र प्रहरी पठाएर बिओपी राख्ने तयारी अन्तिम चरणमा पुगेको छ,” उनले भने । बुधबारसम्म हेलिकप्टरमार्फत बन्दोबस्तीको सामग्रीसहित सशस्त्र प्रहरी पठाउने तयारी छ । अहिलेलाई छाङ्गरुमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २५ जना सशस्त्र प्रहरी खटाउने तयारी भएको विष्टको भनाइ छ । सशस्त्र प्रहरी पठाउनुपर्छ भन्दै पटकपटक जिल्लाबाट रिपोर्टिङ हुँदै आएको थियो । व्यासको छाङ्गरु गागामा सशस्त्र प्रहरीको बिओपी राख्न स्थानीयवासीले जमीनसमेत उपलब्ध गराएका छन् । स्थानीयवासीले गागामा कित्ता नं ३५ को ११५ रोपनी तीन आना जग्गामध्ये १५ रोपनी जमीन सशस्त्र प्रहरीलाई दिइसकेको छ । बिओपी स्थापना हुने भन्दै सशस्त्र प्रहरी बल नेपाल ५० नं गुल्म दार्चुलाबाट गत चैत पहिलो साता निरीक्षणसमेत गरिएको थियो । सशस्त्र प्रहरीको हेडक्वार्टरमार्फत गृहमा व्यासमा सशस्त्र प्रहरी पठाउने स्वीकृतका लागि पत्र गइसकेको सुरक्षा अधिकारीले जनाएका छन् । भारतले नेपाली भूमि भएर सडक निर्माणपछि सीमामा राज्यको उपस्थिति गराउनुपर्ने दबाब परेको थियो । अहिले नै भवन निर्माण गर्न सकिने अवस्था नभए पनि घर भाडामा लिएर सशस्त्र प्रहरी राख्ने तयारी भएको हो । अहिले हिमपात पनि कम हुँदै गएका कारण सशस्त्र प्रहरी बस्न सक्ने अवस्था रहेको विष्टको भनाइ छ । यसअघि व्यासको तिङ्करको छायालेक र छागङ्रुको सीतापुलमा रहँदै आएका नेपाल प्रहरीका दुवै युनिट अहिले व्यास गाउँपालिका–२ को दुम्लिङ झरेको छ । प्रहरी पनि सशस्त्रसँगसँगै व्यास पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले बताए । उनका अनुसार टोली तयारी अवस्थामा छ, हेलिकप्टर वा कुञ्चासँगै पठाउने भन्ने विषयमा छलफल भइरहेको छ । प्रजिअ यदुनाथ पौडेलले दुवै सुरक्षा निकायका एकसाथै पठाउँदा ठूलो टोली हुने हुँदा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिए । रासस
संसदीय समितिको ठहर: भारतको अतिक्रमणकारी नीति देखियो
काठमाडौं । सङ्घीय संसद्को महत्वपूर्ण समिति राज्य व्यवस्था तथा सुशासन समितिले भारतको पिथौरागढबाट नेपालको कालापानीस्थित गुञ्जी हुँदै चीनको मानसरोवर जाने लिपुभञ्याङसम्मको सडक निर्माण गरी उद्घाटन गर्नुले भारतको नीति अतिक्रमणकारी भएको ठहर गरेको छ । सिंहदरबारमा आज बसेको समितिको बैठकले मुलुकको सार्वभौमिकतामाथि हस्तक्षप र थिचोमिचो गरी तेस्रो मुलुक पुग्ने सडक निर्माण गर्नु अतिक्रमणकारी नीति भएको ठहर गर्दै भारत सरकारको यस कदमप्रति भत्सर्ना र खेद प्रकट गरेको छ । समितिले गत कात्तिक २५ गते विवादित क्षेत्रका विषयमा मुलुकको सीमा रक्षाका लागि नेपाल सरकारलाई दिएको सातबुँदे निर्देशन दृढतापूर्वक पालना गर्न र वैशाख ७ गते दिएको १५ बुँदे सुझावसमेत कार्यान्वयन गर्नसमेत भनेको छ । भारतले ८ मार्च २०२० मा पिथौरागढबाट नेपालको कालापानीको गुञ्जी हुँदै चीनको मानसरोवर जाने लिपुभञ्याङसम्मको सडक निर्माण गरी उद्घाटन गरेको थियो । भारत सरकार स्वयंले उक्त स्थान नेपाल–भारतबीच विवादित भूभाग भनी दुई पक्षीय समझदारीद्वारा हल गर्नुपर्ने स्वीकार गरिसकेको अवस्थामा अहिले एकलौटी सडक निर्माण गर्नु नेपाली सार्र्वभौमिकतामाथिकै प्रहार भएको समितिका सभापति शशी श्रेष्ठले बताए । सन् १८१६ को सुगौली सन्धिअनुसार भौगोलिक, सामाजिक, सांस्कृतिक र ऐतिहासिक प्रमाण, लिखत, नक्सा, तथ्य र महाकाली पूर्वको भूभाग नेपालको अखण्ड सार्वभौमिकताभित्र रहेको प्रमाणित छ । त्यसमा काली नदीको मुहान लिम्पियाधुरा रहेको र उक्त स्थान नेपाल, भारत र चीनबीचको त्रिदेशीय विन्दु रहेको सत्य हो । समितिले लिम्पियाधुरादेखि पूर्व कालापानी, लिपुलेक लगायतका सम्पूर्ण भागबाट भारतीय सैनिक फिर्ता गरी नेपालको सार्वभौमिकता र राष्ट्रिय अखण्डताको सम्मान गर्न, अतिक्रमणकारी कदम त्याग्न, छिमेकीसँगको मैत्रीपूर्ण सम्बन्धको सम्मान गर्न, पञ्चशीलको सिद्धान्तका आधारमा अन्तर्राष्ट्रिय सम्बन्धको कार्यान्वयन गर्न भारत सरकारलाई आग्रहसमेत गरेको छ । “यस सम्बन्धमा आफ्नो सार्वभौम क्षेत्रको रक्षाका लागि संवादद्वारा पहल गर्न सरकारलाई निर्देशन गर्दछ, अन्यथा भएमा उक्त विषय अन्तर्राष्ट्रियकरण गर्न सुझाव प्रदान गर्दछ”, समितिको निष्कर्ष सुनाउँदै सभापति श्रेष्ठले भने । बैठकको छलफलमा भाग लिँदै नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडू, देवेन्द्रराज पाण्डे, अमरेशकुमार सिंह, डिला सङ्ग्रौलाले सुगौली सन्धिका आधारमा छलफल अघि बढाउनुपर्नेमा जोड दिए । सांसद बडूले भने, “यस विषयमा सरकारले विगतमा पनि गम्भीर ढङ्गले पहल गर्न सकेन, अहिले पनि सडक उद्घाटन गर्दासमेत सरकार बेखबर जस्तो बन्नु दुःखद हो, हामी साथ दिन तयार छौँ, के परिस्थिति आयो, के समस्या भयो, प्रधानमन्त्रीले जवाफ दिनुप¥यो ।” नेकपाका सांसद जनार्दन शर्मा, लालबाबु पण्डित, झपडबहादुर रावल, रेखा शर्मा, नवराज सिलवाल, यशोदा सुवेदी, वृजेशकुमार गुप्ता, महेश्वरजङ्ग गहतराजले सडक निर्माण भएर उद्घाटन गर्दासमेत कुनै पहल नथालिनु दुःखद भएको बताए । कोरोना महामारीको अवस्थामा मौका छोपेर भारतले सडक उद्घाटन गर्नु खेदजनक भएको समितिका सदस्य तथा नेकपाका सांसद शर्माले बताए । उनले सीमा रक्षाका लागि सबै उपाए अपनाउन सरकारसँग अनुरोध गरे । “यस बारेमा भारतीय जनतालाई पनि नेपाली भूमि मिचिएको हो भनेर सूसुचित गराउनुपर्छ, सरकारले नोट जारी गरेर मात्रै पुग्दैन, सबै खाले उपाय अपनाउनुपर्छ”, शर्माले भने । कतिपय सांसदले समस्यालाई अन्तर्राष्ट्रिय अदालतमा लैजानुपर्नेमा जोड दिएका थिए । बैठकमा समितिका अन्य सदस्यहरु प्रेम सुवाल, रामशाहप्रसाद यादव, लक्ष्मीकुमारी चौधरीले नेपालको भूमि जोगाउन जस्तोसुकै परिस्थिति आए पनि सामनाका लागि सरकारको साथ रहने भन्दै ठोस कदम उठाउन आग्रह गरे । गत कात्तिक १८ मा लिम्पियाधुरा, लिपुलेकलाई समाहित गरेर भारतले एकतर्फी रुपमा राजनीतिक नक्सा जारी गरेको थियो । त्यसको २३ गते बसेको बैठकमा सीमाको विषयमा संयुक्त राजनीतिक सहमति जुटेको थियो । त्यसपछि सचिवस्तरीय बैठक बसेर पहल गर्ने भनिए पनि हुन सकेको थिएन । अहिले फेरि सडक निर्माण गरेर सीमा समस्या थप पेचिलो बन्न पुगेको छ । भारतसँग जोडिएका २६ मध्ये २३ जिल्लामा सीमा अतिक्रमण भएको जनाइएको छ । सन् १८१६ मार्च ५ को सुगौली सन्धिको धारा ५ मा लिम्पियाधुराभन्दा पूर्वको भूभाग नेपालको हो भनेर लेखिएको सबैभन्दा ठूलो प्रमाण छ । नेपालको ४७२ वर्गकिलोमिटर भूभाग हडप्ने खालको स्थिति सह्य हुन नसक्ने नेकपाका सांसद नवराज सिलवाल बताउँछन् । सन् २०१४ को अगस्त ४ मा भारतका प्रधानमन्त्री नेपाल भ्रमणमा आउँदा भएको ३५ बुँदे सहमतिको १२औँ बुँदामा कालापानी र सुस्ताको विषय विवादित भएको भनेर भारतले स्वीकार गरिसकेको अवस्थामा २०१५ को मे १५ मा भारत र चीनबीच उक्त सडक निर्माणको सम्झौता भएको थियो । त्यसको विरुद्धमा नेपालले आफ्नो कूटनीतिक नोट पठाएर आपत्ति जनाइसकेको थियो । तर पनि भारतले सीमा अतिक्रमण रोकेको थिएन भने नेपालबाट थप कूटनीतिक प्रयास कमजोर भएको देखिन्छ । रासस
एयरलिफ्टिङ गरेर डोल्पा र हुम्लामा चिकित्सक पठाउँदै कर्णाली सरकार
सुर्खेत । कर्णाली प्रदेश सरकारले यहाँका हिमाली जिल्लामा एयरलिफ्टिङ गरेर चिकित्सक पठाउने गरेको छ । कोरोना भाइरसको प्रतिकार्य, रोकथाम तथा नियन्त्रण कार्यलाई थप प्रभाकारी बनाउन प्रदेश सरकारले आज प्रदेशअन्तर्गत १० जिल्लाका २७ ठाउँमा चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली पठाएको हो । प्रदेश सरकारले शनिबार डोल्पा र आज हुम्लामा एयरलिफ्टिङ गरेर चिकित्सक टोली पठाएको हो । उनीहरुलाई एक महिनाका लागि पठाएको बताइएको छ । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकको टोली लिएर हुम्ला गएको राससलाई बताए । “डोल्पामा शनिबार चिकित्सकको टोली पठाइसकेका छौँ”, रासससँग कुरा गर्दै मन्त्री रावलले भन्नुभयो, “मुगुमा भोलि पठाउने तयारी गरिरहेका छौँ ।” अन्य जिल्लामा भने आजै स्थलमार्गबाट चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली पठाइएको मन्त्री रावलले जनाए । सरकारले प्रतिष्ठान जुम्ला र प्रदेश अस्पतालका चिकित्सकको टोलीलाई २७ स्थानमा खटाएको हो । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सामाजिक विकासमन्त्री दल रावल, प्रमुख सचिव टेकनारायण पाण्डे, स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निर्देशक रीता भण्डारी (जोशी) सहितको टोलीले आजै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुगेर त्यहाँको जनशक्ति, सेवा प्रवाह, पिसीआर मेसिन, भेन्टिलेटर, आइसीयू र आइसोलेसनकक्षसहित सिङ्गो भौतिक संरचनाको अनुगमन गरेको गरेको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए । “मुख्यमन्त्री शाही नेतृत्वको प्रदेश सरकारको टोलीले प्रतिष्ठानका पदाधिकारी र जुम्लाका आठवटै स्थानीय तहका प्रमुखहरुसँग बसेर कोरोना प्रतिकार्य, रोकथाम, नियन्त्रण, उपचार तथा राहत कार्यक्रमका विषयमा अन्तक्र्रिया कार्यक्रम गरेको छ”, रजिष्ट्रार काफ्लेले भने, “त्यसमा मुख्यमन्त्री शाहीले कर्णालीलाई कोरोनामुक्त बनाउन स्वाब परीक्षणको दायरा बढाउन निर्देशन दिनुभएको छ ।” उनका अनुसार प्रदेश सरकारले तोकेको २७ स्थानका साथै यहाँका ७१८ वडामा चिकित्सक टोली खटाउने, प्रत्येक वडाका १० जनाको स्वाब लिएर नमूना परीक्षण गर्ने, कोरोना नदेखिएको ठाउँमा खुकुलो गरेर सबैखाले गतिविधि सञ्चालन गर्ने र देखिएको स्थानलाई सिल गर्ने जनाइएको छ । यद्यपि यो प्रदेशमा बाहिरबाट आउन नदिन बन्दाबन्दीलाई कायम राख्ने प्रदेश सरकारले बताएको छ । मुख्यमन्त्री शाही, मन्त्री रावलसहितको प्रदेश सरकारको टोली आजै सुर्खेत फर्कने जनाइएको छ । रासस
जीवन योग प्रयोगशाला मिनभवनले जेष्ठ नागरिकलाई दियो स्वास्थ्य सामाग्री
काठमाडौं । जीवन योग प्रयोगशाला मिनभवनले शान्तिनगरस्थित निःसहाय सेवा सदनका जेष्ठ नागरिकलाई ३० दिनसम्म पुग्ने दैनिक अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएको छ । प्रयोगशालाले भगवान गौतम बुद्धको २५६४ औं जन्मजयन्ती तथा गुरु एलपी भानु शर्माको प्रकाश दिवसको पावन अवसरमा उक्त सदनका आमाबुबाहरुलाई मास्क लगायत विभिन्न थरिका औषधिहरु सहयोग गरेको हो । हाल कारोना भाइरस (कोभिड १९)को महामारीले गर्दा देशभर लकडाउन भएका अवस्थामा आमाबुबाहरुको स्वास्थ्यमा केही समस्या नआओस् र आएमा अस्पतालसम्म धाउन नपरोस् भन्ने उद्देश्यका साथ प्रयोगशालाले उक्त सहयोग गरेको हो । प्रयोगशालाका अनुसार आमा बासुदेवी भण्डारी, दयावती बिष्ट, टंक खड्का र कुशल बस्नेतको सहयोगमा उक्त औषधि प्रदान गरिएको हाे । साथै, यस प्रयोगशालाले देउराली क्लबलाई ३ बोरा चामल उपलब्ध गराएको छ । उक्त क्लबले अति विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्दै आएका मजदुर एवम् सडक बालबालिकाहरुलाई दैनिक बिहान-बेलुकाको खाना खुवाउँदै आएको छ । प्रयोगशालाको यस सहयोग क्लबको उक्त कामलाई केही राहात पुग्ने योग प्रयोगशालाको प्रमुख व्यक्ति टंक खड्काले जानकारी दिएका छन् ।
सेञ्चुरी बैंककाे नाफा ४९ प्रतिशतले बढ्याे
काठमाडाैं । सेञ्चुरी कमर्शियल बैंककाे नाफा ४९.९६ प्रतिशतले बढेकाे छ । बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ९१ करोड ५७ लाख ७९ हजार रुपैयाँ नाफा कमाएकाे छ । जुन गत आवकाे तुलनामा ३० कराेड ५१ लाख रूपैयाँ बढी हाे । बैंकले गत आवको सोही अवधिमा ६१ करोड ६ लाख ७१ हजार रुपैयाँ नाफा कमाएकाे थियाे । बैंकले प्रकाशित गरेको वित्तीय विवरणकाे अनुसार कम्पनीको वितरणयोग्य नाफा १३ करोड ४१ लाख १५ हजार रुपैयाँ रहेको छ । सञ्चालन मुनाफा बढेर १ अर्ब २६ करोड ९२ लाख २८ हजार रुपैयाँ रहेको छ । त्यस्तै, खुद ब्याज आम्दानी १ अर्ब ९७ करोड १७ लाख २१ हजार रुपैयाँबाट बढेर २ अर्ब २५ करोड १५ लाख ८५ हजार रुपैयाँ पुगेकाे छ । हाल बैंककाे चुक्ता पुँजी ८ अर्ब ४१ करोड ५४ लाख ७२ हजार रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा १ अर्ब ७९ करोड ९१ लाख १९ हजार रुपैयाँ रहेको छ । समिक्षा अवधिमा बैंकले ५८ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गरी ५८ अर्ब १० करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
उन्नति लघुवित्तद्धारा सिद्धार्थनगर नगरपालिकाकाे काेराेना काेषमा १ लाख सहयाेग
काठमाडौं । उन्नति लघुवित्त वित्तीय संस्थाले प्रदेश नं. ५ सिद्धार्थनगर नगरपालिकालाई १ लाखको चेक हस्तातरण गरेको छ । संस्थाले नगरपालिका का नगर प्रमुख हरि प्रसाद अधिकारीलाई १ लाख रुपैंयाको चेक हस्तानतरण गरेको हो । संस्थाले आफ्नो कार्यक्षेत्र अन्तर्गतका प्रदेश सरकार कार्यालय तथा स्थानीय तहहरुलाई कोरोना भाइरस कोभिड १९ राहतकोषमा रु. ६ लाख ५० हजार सहयोग गर्ने सन्दर्भमा सहयोग स्वरुप चेक हस्तानतरण गरेको हो । लघुवित्तका सञ्चालक खड्ग बहादुर राना तथा प्रमुख कार्यकारी अधिकृत प्रेम बहादुर पाठकले चेक हस्तान्तरण गरेको थिए ।
पछिल्लाे २४ घण्टामा १३ सय जनाको पीसीआर प्रविधिबाट परीक्षण
काठमाडौं । पछिल्लाे २४ घण्टामा १३ सय १६ जनाको पीसीआर प्रविधिबाट परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टामा १३ सय १६ जनाको पीसीआर प्रविधिबाट परीक्षण गरिएको जनाएकाे हाे । विदेशबाट परीक्षण किट ल्याएपछि पछिल्लो केही दिनयता सरकारले पीसीआर परीक्षण बढाएको छ । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १ सय १० रहेको छ जसमा ३१ जना निकाे भइसकेका छन् ।