नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला, काठमाडाैंकाे प्रयाेगशालामा गरिएकाे परीक्षण अनुसार १० जनामा काेराेना पुष्टि भएकाे हाे । संक्रमितहरू कपिलबस्तु, यशाेधरा गाँउपालिका- ५ र बुद्धभुमि नगरपालिका ७, १० निवासी १८, १९, २०, २४, ३०, ३१, ३४, ३४, बर्षीष पुरुष र एक जना उमेर नखुलेको पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १ सय २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गाउँ फर्किएका युवा विकास निर्माणमा
काठमाडौं । कोभिड –१९ संक्रमण नियन्त्रण तथा रोकथामका लागि लकडाउनका कारण अध्ययन तथा रोजगारीका बन्द भएपछि गाउँ फर्किएका प्युठानका युवा स्थानीयस्तरमा विकासनिर्माणका काममा जुटेका छन् । गाउँमा आएर बेरोजगार जस्तै बनेका युवालाई परिचालन गरी स्थानीयस्तरको विकास निर्माणमा सहभागी बनाइएको छ । प्युठान नगरपालिका वडा नं ५ जुम्रीकाँढा ढुंगेठाटीका युवा लकडाउनको सदुपयोग गर्दै सवारीसाधन नचलेका समयमा सडक स्तरोन्नतिका काममा लागेका छन् । जुम्रीकांँढा ठूलो गाउँका ४० युवाले नमूना बस्ती विकासको काम गरिरहेका छन् भने ढुंगेठाँटी क्षेत्रका १८ युवाले अर्थोपार्जनसँंगै सडक स्तरोन्नतिको काम थालेका छन् । प्रदेश नं ५ सरकारको करीब १ करोड बजेटमा नमूना बस्ती विकाससंँगै सडक स्तरोन्नतिको कार्य भइरहेको वडाध्यक्ष लछुमन भण्डारीले बताए । युवाले काम गर्दा आफूलाई सुरक्षित राख्दै सामाजिक दूरी कायम गरेको उनको भनाइ छ । दैनिक ज्यालादारीमा एक युवकले ६ सयदेखि ८ सय रुपैयाँसम्म कमाउने गरेका छन् । प्युठान ८ का युवाको सक्रियतामा सडक स्तरोन्नतिको काम थालिएको छ । दुई वर्षअघि सडक खनिए पनि बीचबीचमा खाल्डा र नाली व्यवस्थित नभएपछि यस क्षेत्रका युवा मिलेर स्तरोन्नतिको गरेको स्थानीयवासी युवा दिलबहादुर दसौँदीले बताए । स्थानीय सात युवाले आफूहरुले साधन र स्रोत जुटाई सडक स्तरोन्नति गरेका हुन् । स्थानीय राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सदस्य मुकेश थापा, अनेरास्ववियु पूर्व कोषाध्यक्ष दिलबहादुर दसौंदी, व्यवसायी महेश पाण्डे, शिक्षक शेरबहादुर पाण्डे, माधव केसीलगायतको सक्रियतामा सडक स्तरोन्नतिको काम भएको हो । “पटक–पटक सडक स्तरोन्नतिका लागि सडक डिभिजन कार्यालय, प्युठान नगरपालिका र वडा कार्यालयमा भन्दा सुनुवाइ नभएपछि हामी युवाहरु मिलेर सडक सुधार्नेतर्फ अग्रसर भएका हौं”, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य थापाले बताए । रासस
अमेरिकन आइडलको उत्कृष्ट ७ मा नेपालका दिवेश
काठमाडौं । विश्व प्रसिद्ध रियालिटी शो ‘अमेरिकन आइडल’को उपाधि यात्रामा नेपालका दिवेश पोखरेल उत्कृष्ठ ७ मा पुगेका छन् । आइडलको १८ औं संस्करणको उपाधि यात्रा अगाडी बढ्ने क्रममा दिवेश उत्कृष्ट ७ भित्र पर्न सफल भएका छन् । आइतबार सर्वाधिक मत ल्याउने उत्कृष्ट ११ प्रतिस्पर्धीबीचमा मतका आधारमा उत्कृष्ट ७ को छनोट गरिएको हो । २२ वर्षीय दिवेशले अमेरिकन आइडलमा आर्थन गनको नामले आफूलाई प्रतिस्पर्धा गरेका छन् । दिवेशले उत्कृष्ट सातमा पर्ने क्रममा एनिमेटेड चलचित्र द लिटल मर्मेडको एलान मेनकनको शब्द र होवार्ड एस म्यानको सङ्गीत तथा एस्ले टिसडालेको गायन रहेको किस द गर्ल बोलको गीत गाएका थिए । अमेरिकन आइडलमा दिवेशको सहभागितासँगै नेपाली समुदायमा पनि आइडलप्रति चासो बढेको छ । अमेरिकाको एबिसी टेलिभिजनबाट अमेरिकन आइडल कार्यक्रम प्रसारण हुँदै आएको छ । अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा आफ्नो परिवारसँग बस्दै आइरहेका छन् । उनकाे प्रस्तुती हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
निजगढ विमानस्थलको पहुँच सडकका लागि चार हजार रुख काटिने
काठमाडौं । बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण क्षेत्रको चारकिल्ला परिसरमा पहुँच सडक निर्माणका लागि त्यस क्षेत्रमा ४ हजार २ सय ३२ रुख काट्नुपर्ने भएको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको निजगढ विमानस्थल निर्माणमा अन्तरनिकाय समन्वयसम्बन्धी उच्चस्तरीय सहजीकरण समितिको आइतबार बसेको पाँचौं बैठकले विमानस्थल परिसर सडकका लागि तोकिएको क्षेत्रमा रुख कटान गर्नुपर्ने आँकडा निकालेको हो । समितिले रुख कटानको प्रक्रिया अगाडि बढाउनेसमेत निर्णय भएको बैठकपछि जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । रुख कटान प्रक्रियाअन्तर्गत रुख कटानको स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयले यथाशीघ्र नेपाल सरकार (मन्त्रिपरिषद्) समक्ष प्रस्ताव पेश गर्ने निर्णय समितिले निर्णय गरेको छ । निजगढ विमानस्थल आयोजना निर्माणका लागि अन्तरनिकाय समन्वय, सहजीकरण एवं आइपरेका समस्या समाधान गर्न निरन्तर क्रियाशील रहने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री संयोजक रहने गरी उच्चस्तरीय सहजीकरण समिति बनाइएको छ । समितिले विमानस्थल निर्माण क्षेत्रभित्रका रुख तथा पोलको लगत नम्बरिङ कार्यसमेत तत्काल अघि बढाउने निर्णय गरेको छ । समितिको चौथो बैठकले गत २०७६ माघ २ मा बस्ती स्थानान्तरण सम्बन्धमा निर्णय गर्न कार्यदल गठन गरेको थियो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिवको संयोजकत्वमा पर्यटन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणअन्तर्गत राष्ट्रिय गौरवको आयोजना हेर्ने निर्देशकसमेतको प्रतिनिधित्व हुने गरी गठन कार्यदलले आफ्नो कार्य जिम्मेवारीबमोजिमका कार्य यथाशीघ्र अगाडि बढाई त्यसको प्रगति प्रतिवेदन १० दिनभित्र समितिसमक्ष पेश गर्ने निर्णयसमेत भएको छ । विमानस्थल निर्माण गर्न लगानी बोर्डले निश्चित समयसीमा तोकी जुरिच इन्टरनेसनलसँग सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडेलको प्रस्ताव माग गर्ने र सम्झौता प्रक्रिया पूरा गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ । समितिले प्राधिकरणबाट निजगढ विमानस्थलको गुरुयोजना निर्माणको खरिद सम्झौता प्रक्रियासमेत छिटो सक्न निर्देशन दिएको छ । रासस
सहस्राब्दी पदमार्गमा बन्दाबन्दीले रोकिएका काम बढे
काठमाडौं । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन बन्दाबन्दी जारी गरिएको भए पनि विकास निर्माणका कामलाई अघि बढाउने गरी केही खुकुलो बनाएसँगै सहस्राब्दी पदमार्गमा रोकिएका कामलाई तीव्रता दिइएको छ । तनहुँको दुलेगौंडाबाट स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर लामो नेपालकै मध्यपहाडी क्षेत्रस्थित पहिलो यो पदमार्ग (मिलेनियम ट्रेक) मा विकासको काम अघि बढिरहेका समयमा एकाएक कोरोना भाइरसको सम्भावित सङ्क्रमण फैलिन नदिन गरिएको बन्दाबन्दीले सम्पूर्ण काम रोकिएको थियो । पदमार्गको विकासका लागि चालू आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारबाट विनियोजित ५० लाख रुपैयाँ बजेटअन्तर्गत विभिन्न काम अघि बढाइएको थियो । बीचमा सम्पूर्ण काम ठप्प भएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले जानकारी दिए । उनका अनुसार चालू आर्थिक वर्षकै लागि प्रदेश सरकारले सहस्राब्दी पदमार्ग, अन्नपूर्ण पदमार्ग र धवलागिरि पदमार्गका लागि १८ करोड रुपैयाँ रकम पनि विनियोजन गरेको छ । यसअघि नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० का अवसरमा न्यूनतम ५० हजार रुपैयाँ पदयात्री त्यसमार्गबाट हिँडाउने लक्ष्य समेत सार्वजनिक गर्दै प्रवद्र्धन र विकासलाई सँगसँगै बढाइरहेको अवस्थामा झण्डै दुई महिना बन्दाबन्दीले सबै काम रोक्नुपरेको उनको भनाइ छ । यस अवधिमा पदमार्गअन्तर्गत पर्ने तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित ढोर मूलकोट दरबार क्षेत्रलाई तारबारसहित व्यवस्थित गर्ने लक्ष्य राखिएको बताउँदै उनले विस्तृत आयोजना प्रतिवेदनसमेत तयार भइसकेको अवस्थामा ठेक्का सम्झौता भएर काम बढाउने तयारीमा लाग्दालाग्दै काम रोक्नुपरेको जानकारी दिए । आजभन्दा लगभग ३ सयवर्ष पुरानो ढोर मुलकोट दरबारसहित त्यहाँका गढी, त्यहाँस्थित शक्तिपीठ, देउती बज्यैको थान, टक्सार घर आदिको भग्नावशेष समेतलाई संरक्षण गर्ने समितिको लक्ष्य छ । समितिले पदमार्गअन्तर्गतकै मिलेनियम गुफाको तारबारलगायतका कामलाई व्यवस्थित गर्ने योजना पनि बन्दाबन्दीबाट प्रभावित बनेको थियो । गुफालाई व्यवस्थितरूपमा तारबार गर्दै प्रवेशद्वार, टिकट घरजस्ता संरचना निर्माण गर्ने लक्ष्य राखिएको समितिले जनाएको छ । यसबीचमा नै समितिले शुक्लागण्डकी–११ राइपुरस्थित जन्तेढुङ्गालाई व्यवस्थित गर्ने योजना राखेको थियो । पदमार्ग क्षेत्रका प्रकृतिलाई पर्यटनसँग जोडी आर्थिक समृद्धिका लागि पहल गर्दै यहाँस्थित प्राचीन महत्वको जन्तेढुङ्गालाई घरबास र पर्यटनसँग जोड्ने पहल थालिएको छ । महासचिव गुरुङका अनुसार यो स्थानलाई व्यवस्थित गर्दै पर्यटकीयरूपमा जोड्नका लागि पहल थालिएको हो । आगामी वर्ष यही स्थानमा ललितकला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा मूर्ति कार्यशाला गर्ने तयारी गरिएको छ । स्थानीय जनशक्ति एवं साधनस्रोतको अधिकतम उपयोग गर्दै सामाजिक दूरी लगायतका आधारभुत कुराको पालना गरी काम अघि बढाउन लागिएको उनको भनाइ छ । पदमार्ग क्षेत्रकै भीरकोट नगरपालिका–३ स्थित भीरकोट दरबार र वडा नं ७ स्थित देउपूजी ढुङ्गालाई पनि तारबार एवं व्यवस्थित गर्न लागिएको छ । त्यस्तै पुतली बजार नगरपालिका–२ स्थित भैँसे गौँडाको खाँणदेवीको मन्दिर जाने सिँढी बाटोमा रेलिङ निर्माण गर्न लागिएको छ । पदमार्गकै कुसुम भञ्ज्याङबाट गहते मनकामना जाने सिँढी बाटो, पुतलीबजार नगरपालिका–९ कोल्मामा चरा एवं वन्यजन्तु अवलोकनस्थल लगायतका निर्माणकार्य पनि रोकिएकोमा आगामी दिनमा तीव्रताका साथ अघि बढाइने समितिका सदस्य एवं मिलेयिम भैसेगौँडा सामूदायिक होमस्टेका अध्यक्ष बालकुमार गुरुङले बताए । “विकास निर्माणका काम अघि बढाउने गरी बन्दाबन्दी खुकुलो भएपछि रोकिएका कामलाई तीव्रता दिने हाम्रो लक्ष्य छ,” सदस्य गुरुङले भने, “सरकारले तोकेबमोजिक सामाजिक दूरीलगायतका आधाभूत कुरालाई पालना गर्दै आगामी दिनमा कामहरू अघि बढ्नेछन् ।” रासस
कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा अवस्था
काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ४१ लाख ७८ हजार १ सय ५४ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख ८३ हजार ७ सय ३४ जनाको मृत्यु भइसकेको छ भने १४ लाख ९० हजार ४ सय ४४ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ८० हजार ७ सय ८७ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १३ लाख ६७ हजार ६ सय ३८ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ६७ हजार १ सय ६१ पुगेको छ भने अहिलेसम्म २ हजार २ सय १२ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म १ सय १० जना संक्रमित भएका छन् भने ३१ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार : वल्डोमिटर)
‘सकारात्मक’सँग त्रसित मान्छे
कोरोना भाइरस वर्तमान विश्वका लागि चुनौतिका रुपमा रहेको छ । विगतमा विश्वले बेहोरेको सार्स (सिभेयर आक्युट रेस्पिरेटरी सिन्ड्रम), मार्स (मिडल इष्ट आक्युट रेस्पिरेटरी सिन्ड्रम) लगायतका अन्य श्वास प्रश्वासका समस्यामा हताहतिको प्रतिशत कोरोना भाइरसको हालसम्म कम देखिए पनि भौगोलिक विस्तार व्यापक रहेकोले खतरा बढी देखिएको छ । विश्व स्वास्थ्य संगठनले महामारीको रुपमा चित्रित गरी कोभिड–१९ नामाकरण गरुन्जेल चीनको उहानमा प्रकट भएको यस भाईरस नियन्त्रणमा लिन संयम बाहेक उपचार विधि नभएकोले संसार निरीहतामा चल्नु पर्ने स्थिति बन्यो । नेपाल, छिमेकी चीनसँग आर्थिक, सामाजिक सम्बन्ध बढ्दै गएको अवस्थामा विश्व स्वास्थ्य संगठनले ‘उच्च जोखिम’को क्षेत्र घोषणा गरिदिएपछि देशभित्र र बाहिर मानसिक खैलाबैला मच्चिएको स्थिति रह्यो । भौतिक आँखाले नदेखिने, सामान्य लसपसबाट पनि थाहै नपाई सर्ने यो भाइरसले आर्थिक रुपले पछि परेको मुलुकमात्र प्रभावित हुन्छन् भन्ने मान्यता नाघेको छ । विश्वका २ सय १० भन्दा बढी देशहरुमा फैलिएको यो भाइरसबाट यो लेख पाठक समक्ष पुगुन्जेल ३ लाखको हाराहारीमा मानवजातिको हताहति भैसकेको हुनेछ । विश्व भाइरसको वस्तुगत स्थिति र सोको प्रभावभन्दा आफ्नो विश्वासको आधार लिई के गर्ने, के नगर्ने भन्नेमा विभाजित छ । राजनीति जोडिएको छ । सामाजिकता त विगतको मान्यतालाई जीर्ण बनाउने गरी व्यवहारमा उत्रन बाध्य पारिएको छ । सुनिश्चित निदानको अभावमा यस्तो अन्यौल रहेको हो । लेखक चीनबाट उत्पन्न भएको ठानिएको कारोना भाइरस सोअघि नै इटालिमा धेरै जनताको हताहति भैसकेको दावी पनि गरिन्छ । वास्तवमा लक्षणै नदेखिई प्रभावित गर्ने, रुघा खोकी (आँठे) को छद्ममा फोक्सोलाई नष्ट गरिदिने भएकाले कोरोना भन्ने एकिन हुन नसकेको मात्र हो, युरोप नै कोरोनाको उद्गमथलो भन्ने दावी पनि गरिँदै छ । हताहतिको दृष्टिले युरोप र उत्तर अमेरिका अग्रस्थानमा देखिएका छन् । मृत्यु हुनेको संख्या ५ अंक माथि हुनेमा बेलायत, फान्स, स्पेन, इटाली र सबैभन्दा बढी अमेरिकी ८० हजारभन्दा बढी पुगेको छ । हाल पनि चीनले मृत्युको तथ्याङ्क लुकायो भन्दा पनि ४ हजार ६ सय ३३ नाघेको छैन । युरो–अमेरिकाको बढ्दो हताहतिको संख्या बढी हुनुमा स्वास्थ्य सेवाप्रति विघ्नै विश्वास र ‘स्वतन्त्रमा’प्रतिको सैद्धान्तिक आस्था प्रमुख रुपले रहेको देखिन्छ । हाल पनि बन्दाबन्दी (लकडाउन), सामाजिक दुरी (सोसियल डिष्टान्सिङ), र एकान्तबास (आइसोलेसन) जस्ता व्यवहारबाट धेरै हदसम्म संक्रमण रोकिने गरेको मान्यता राखिएका देशमा प्रभाव कम हुँदै गएको मानिएको छ । तर, लामो समयसम्मको बन्दाबन्दीले आर्थिक स्थिति डामाडोल हुँदा राजनीतिक प्रतिकुलतालाई ख्याल गरी उक्त पद्धतिहरु रुढीबादी हुन् भन्न थालिएको छ । जनताको जीवन र क्षणिक आर्थिक गतिविधि कुन महत्वको भन्ने विषयमा विश्व विभाजित हुँदै गएको छ । अमेरिकी राष्ट्रपतिका समर्थक हतियारसहित विपक्षी–प्रजातन्त्रवादीको पकड भएको राज्यहरुमा चलनमा ल्याईएका भाइसर प्रतिरोधी अभियानको विरोध गरिरहेका छन् । दैनिक हताहतिको संख्यामा बढ्दै जाँदा र अन्य मुलुकमा प्रभावकारी भएका उक्त संयमयुक्त तीन विधि अव्यवहारिक हुन भनि प्रमाणित गर्न स्वयम् राष्ट्रपति उद्धत छन् । ब्राजिलमा राष्ट्रपति स्वयम् उक्त तीन विधिको विरोधीहरुको नेतृत्वमा सडकमा उत्रेका छन् । चुरो कुरो बन्दाबन्दी लगायतका प्रकृयाबाट रोजगारी, आपूर्ति लगायतका मानवीय दैनिक व्यवहारमा संकुचन आउने भएकाले मानवहक विरोधी धारणाका आधारमा अर्को अभियान मच्चिँदै छ । राजनीतिको मूल विषयमा केन्द्रित उक्त व्यवहारको अर्को उदाहरण भाइरस उत्पन्न गराईएको आरोपको दोहोरीबाट प्रष्ट हुन्छ । अमेरिकी राष्ट्रपतिले ‘कोभिड–१९’लाई ‘चिनियाँ भाइरस’ भनेपछि वैज्ञानिकहरुले पनि काम पाए । वास्तवमा चीनउपर भाइसर उत्पादन गरी गलत मनसायबाट अमेरिकी अर्थतन्त्रलाई तहसनहस पार्ने नियत थियो भन्ने आरोप अमेरिकी पक्षको थियो । यसै क्षेत्रमा कार्यरत वैज्ञानिकहरुले प्रयोगशालामा उत्पादन गरिएको वा गर्न सकिने ‘भाइरस’ नभएको विचार व्यक्त गरेका छन् । त्यस्तै, चीनले भने सैनिक अभ्यासमा हुने प्रान्तको उहानमा आएका अमेरिकी सैनिकहरुले छाडेर गएको ‘भाइरस’ भन्ने जवाफ दिएका छन् । यो राजतीतिक खेलको जुहारी मात्र हो भन्ने ठान्न त्यसपछिका घटना क्रमले दिँदैन । चिनियाँ नेताहरु विश्व समुदायको संयुक्त प्रयासले मात्र यो मानवजातिकै शत्रुको रुपमा रहेको महामारीमाथि विजय प्राप्त गर्न सकिन्छ भन्छन् । व्यवहारमा आफ्ना स्वास्थ्यकर्मीहरु, स्वास्थ्य सेवा सम्बन्धि औषधी उपकरणहरु भाइरसबाट प्रभावित युरोपलगायत उत्तर अमेरिकामा पठाएका पनि छन् । आफूले आंशिक रुपले प्राप्त गरेको सफलताको सिकाई आदान–प्रदान गर्न हातेमालो गरेका समाचार प्रकाशित भएका छन् । तर, अमेरिकी अहम् भने विश्व स्वास्थ्य संगठनले समयमा उचित काम गर्न नसकेकोले अमेरिकाले ठूलो क्षति व्यहोर्नु पर्यो भन्दै आफ्नो आर्थिक सहयोग बन्द गर्ने घोषणा गर्दैछ । बालकोष, जलवायु परिवर्तन सम्बन्धि सहयोग आदिबाट पहिल्यै हात झिकिसकेको अमेरिकाका लागि कोभिड–१९ महामारी राजनीति गर्ने विषय त बन्यो तर, त्यसको भयावह परिणामले पुर्याउने क्ष्यति हाल आकलन गर्न मुस्किल छ । अर्कोतर्फ, राजनीतिकै सेरोफेरोमा सरकारले असीमित अधिकार प्रयोग गर्ने गतिविधि पनि विश्वमा देखिएका छन् । अफ्रिकी मुलुकको राष्ट्रपति निर्वाचन रद्द गरी म्याद गुज्रिएको सत्ताभोग राष्ट्रपति गर्दैछन् । दक्षिण कोरियामा भने निर्वाचन विधिसम्मत सम्पन्न भएको खबर छ । कोरोनाको महामारीमा आर्थिक मनोमानीका अतिरिक्त विपक्षी राजनीतिज्ञहरु उपर विभेद चर्काउने काम पनि विभिन्न राष्ट्रहरुमा देखिएका छन् । कोरोनाको संक्रमण बढी रहेका बेला, असंगठित क्षेत्रमा काम गर्ने श्रमिकको अनिश्चिता रहेको अवस्था बन्दाबन्दीलाई न्युनाकलन गरी महामारीको परिणाम आफ्नै जहान परिवारसँग भोग्ने उदेश्यले १२÷१५ दिनसम्मको पैदल यात्रामा निस्केका नाङ्गाखुट्टा, भोका र गलित नेपालीको अवस्थाप्रति सरकार संवेदनशील हुन नसकेको आरोप सरकार माथि लागिरहेको छ । विदेशमा काम गर्न गएका नेपालीले घर फर्कन गरेका हरेक प्रयत्न ‘काम हुँदैछ’ भन्ने उधारो आश्वासनमा सीमित छ । यहि मौक छोपी राजनीतिक दलहरु भताभुंग पारि ‘शुन्य विरोध’को अवस्था सिर्जना गर्न अति छोटो बाटोबाट अध्यादेश जारी गरियो । संवैधानिक समितिको परम्परागत मान्यता समेत न्युनिकरण गरी ६ पदाधिकारी मध्ये प्रधानमन्त्री सहित अन्य दुई जनाको मतमा पदाधिकारी चयन गर्न सक्ने गरी विधि साघुर्याईयो । भलै चौतर्फि विरोधपछि यी दुबै प्रावधान फिर्ता लिइयो । जेठ १५ मा बजेट पेश गर्नु छ । संसदीय समितिहरुमा ‘पूर्व बजेट’ छलपल गर्ने परम्परा छ । अनि जटिल अवस्था त संक्रमितको संख्या बढ्दै गएको र सुदुर पश्चिम ‘इपिसेन्टर’ हुने प्रधानमन्त्रीकै भनाईलाई ख्याल गर्ने हो भने रोग पत्ता लगाउन, नियन्त्रण गर्न र निदान गर्न कुन परिमाणको श्रोत साधन आवश्यक पर्ने हो, एकिन गर्न सकिने अवस्था छैन । अर्थतन्त्र बन्दाबन्दीमा छ, निजी क्षेत्र प्रोत्साहन र राहतको अपेक्षामा छ । राजनीतिक स्थिरताको तालमा रहेको पानीमा ‘अध्यादेश’ले जवरजस्त आँधी ल्याई दियो । राजनीतिक वृत्त, पर्यवेक्षकका लागि नकारात्मक र कुबेला जचेको यो सरकारी रवैयाले आफ्नो पट्का भने बलियो बन्ने आँकलन सहित प्रस्तावकहरु विश्वस्त देखिए । अध्यादेश फिर्ता नभएको भए कोरोनाको प्रताडनाको भयले गाँजेको नेपाली समाजमा राजनीतिक आस्थिरताको पुनः विजारोपण हुने र अकाल्पनीय दिशामा मुलुक धकालिने थियो । अध्यादेश फिर्ता नभएको भए जिम्मेवार राजनीतिक दलहरुले सुझबुझका साथ उत्तरदायित्वपूर्ण तरिकाले संसदमा प्रस्तुत हुन आवश्यक थियो । अन्यथा आर्थिक जर्जरतामा गुज्रिरहेको मुलुकमा बेरोजगारी, वैदेशिक श्रोतबाट प्राप्त हुने आम्दानी घट्दै जाने स्थिति र आन्तरिक उत्पादनको ठिट लाग्दो अवस्थाले सार्वभौमिकता नै धर्मराउने अवस्था निम्त्याउने थियो । बन्दाबन्दी, एकान्तवास, सामाजिक दुरी कायम राख्ने विषय प्रतिरोधात्मक उपचार विधि प्राप्त नहुन्जेल जतिसुकै स्वतन्त्रताको विगुल फुके पनि पण्डितले ‘कितावको माछा पो खान नहुने, खनेलाको त भैहाल्छ’ भने जस्तै हो । त्यसका अतिरिक्त राज्यले सबै जनताको परीक्षण गराउने व्यवस्था, स्वास्थ्यकर्मीहरको रक्षकवचको सुनिश्चित व्यवस्था गरिनु पर्दछ । सुरक्षा लगायत राहतका काममा संलग्न भएकाहरुको लागि जोखिम बीमाको व्यवस्था हुनुपर्छ । कोरोनाको प्रकृति हेर्दा निश्चित तापक्रमभन्दा बढीमा कम संक्रमण हुने, उमेर समूहमा पाका र वालवालिका बढी प्रभावित हुने, जमघट, भिडभाड र सामान्य सम्पर्कबाट पनि संक्रमण बढ्ने अनुभवका आधारमा बच्ने उपायहरु निर्क्यौल गर्न सकिन्छ । शीघ्र भएको उपचार विधिको अभाव र सो खोप (भ्याक्सीन) प्राप्त गर्न समय लाग्ने मान्यताका आधारमा आचार व्यवहारमा निश्चित समयसम्म संयममा रहनु नै असल उपाय हो भनी पूर्व र पश्चिममा सबै विज्ञहरुले सुझाएका छन् । माथि उल्लेख गरिएका बन्दाबन्दी, एकान्तवास, सामाजिक दुरी कायम राख्ने विषय प्रतिरोधात्मक उपचार विधि प्राप्त नहुन्जेल जतिसुकै स्वतन्त्रताको विगुल फुके पनि पण्डितले ‘कितावको माछा पो खान नहुने, खनेलाको त भैहाल्छ’ भने जस्तै हो । त्यसका अतिरिक्त राज्यले सबै जनताको परीक्षण गराउने व्यवस्था, स्वास्थ्यकर्मीहरको रक्षकवचको सुनिश्चित व्यवस्था गरिनु पर्दछ । सुरक्षा लगायत राहतका काममा संलग्न भएकाहरुको लागि जोखिम बीमाको व्यवस्था हुनुपर्छ । सुरक्षात्मक अवस्थामा रहन प्रचार, प्रसारमा निरन्तरता दिनु पर्छ । विषय वस्तु प्रस्तुत गर्ने पात्रहरुमा विषय विज्ञ, उपचारबाट निको भएका व्यक्तिहरुको अभिव्यक्ति प्रभावकारी हुन्छ । विविध क्षेत्रमा सामाजिक प्रतिष्ठा कमाएका व्यक्तिहरुको प्रवचनले सर्वसाधारलाई आश्वस्त पार्न सघाउँछ । सबैभन्दा बढी त तथ्य सत्य सूचनाको प्रवाह निरन्तर रहनु र मानवीय धर्म सम्झेर सरकारबाट चालिएका कदमहरु निष्पक्ष र समावेशी गर्न गराउन सक्नु पर्दछ । मनोवैज्ञानिक रुपले कमजोर बन्न पुगेको नेपालीको मानसिकता, खास गरी औद्योगिक राष्ट्रहरुमा घटित घटनाको परिणामबाट हतोत्साहित हुनबाट सरकारले रोक्न सक्नु पर्दछ । सुदृढ मनोवल भएको व्यक्तिले नै सकृय जीवनबाट कृयाशील जिम्मेवारी निर्वाह गर्न सक्छन् । कोरोनाको बढी असर शरीरमा प्रतिरोध क्षमताको अभावले पनि हुने गर्छ भन्ने मान्यता छ । पूर्वीय चिकित्सा पद्दतिले स्थापित गरेका जडीबुडी, कन्दमूल आदिको सेवन र शरीर खास गरी श्वास, प्रश्वाससँग सम्बन्धित अङ्गलाई न्यायो राख्नु जरुरी ठानिन्छ । दन्केर्तो (एक प्रकारको उनियो जात), अजिर्णका निम्ति अचुक औषधि गुर्जो विभिन्न शारीरिक विकार विरुद्ध उपचारयोग्य वस्तु र कालो हलेदो, यार्सागुम्बा प्रतिरोध क्षमता बढाउने वस्तुमा पर्दछन् । परम्परागत यस्ता जडीबुटी संकलन, प्रशोधन र प्रयोगमा ल्याउन सके अन्य चिकित्सकीय औषधीभन्दा अनपेक्षित र नकारात्मक असर शुन्य हुने र रोगीलाई फाइदा पुग्ने हुन्छ । प्रविधिको प्रयोग अर्को उपाय हो संक्रमण न्यूनीकरण गर्ने । चीनले नै संक्रमणको हुरिकाबीच परीक्षण गर्ने, संक्रमितको उपचारमा सेवा पुर्याउने जस्ता कार्यमा ‘कृतिम बौध्दिकता’को प्रयोग गरेको जानकारी सार्वजनिक भएको छ । त्यसैगरी, दक्षिण कोरियामा कोरोनाको महामारी चीनपछि लगत्तै शुरु भएपछि संक्रमित र हताहतिको संस्था कम हुनुमा ‘कृतिम बौध्दिकता’ सम्बन्धि उपकरण प्रयोगमा ल्याएको परिणाम दावी गरिएको छ । तर, सुनिश्चित परिणामका लागि संक्रमितको ‘रगतको प्लाज्मा’बाट खोप तयार गर्नुको विकल्प छैन । नेपालमा कोरोनाको आर्थिक प्रभावको आँकलन गर्नु समय नभएको ठानिँदै छ । तै पनि एशियाली विकास बैंकले कूल गार्हस्थ उत्पादनको एक तिहाई अंश घट्ने जनाएको छ । त्यस्तै, चालु आर्थिक वर्ष बढीमा २.८ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान विश्व बैंकको छ । पर्यटन र यातायात क्षेत्रमा बन्दाबन्दीका कारण २० लाखभन्दा बढीले रोजगारी गुमाउने अवस्था छ । चालु आर्थिक वर्षको ८ महिनासम्म ८ खर्ब ४९ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा छ । गत वर्षको यसै अवधिको तुलनामा विप्रेषण १.८ प्रतिशतले बढेर ५ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको छ । चालु खाता (वस्तु व्यापार, सेवा र रकम ट्रान्सफरको योग) उक्त अवधिमा १ अर्ब २५ अर्ब रुपैयाँ बराबर घाटामा छ । विदेशी मुद्राको संचिति पौने ९ महिनाका लागि पर्याप्त हुने वस्तु र सेवा आयात गर्न सक्ने रकम छ । यी सबै अवस्था मौजुदा रहँदा अन्तर्राष्ट्रिय मुद्राकोषले अल्पविकासित देश (नेपालसहित) हरुको ऋण मिनाहा वा पछि तिर्ने व्यवस्था गरिरहेकै बेला नेपाल सरकारले सहयोगका शर्त खुकुलो बनाउन, रकम बढाउन अनुरोध गरेको छ । बहुउद्देश्यीय वित्तीय संस्थाहरु (विश्व बैंक, अन्तराष्ट्रिय मुद्रा कोष, एसियाली विकास बैंक) बाटै सहायता मिलेपनि द्धिपक्षीय (मुलुकहरुबाट) थप सहायताको सम्भावना कोभिड–१९ ले कम गरिदिएको छ । विश्व अर्थतन्त्रमा ३ प्रतिशतको संकुचन आउने आकलन अन्तराष्ट्रिय मुद्रा कोषले गरेको छ । साथै, संसारका सरकारको कुल राजश्व २.५ ग्रार्हस्थ उत्पादनको २.५ प्रतिशत मात्र उठ्ने आँकलन गरिरहँदा खर्च भने प्रत्यक्ष बजेटबाट ३३ खर्ब डलर, जमानतबाट २.७ अर्ब डलर, स्वपुँजी र सार्वजनिक क्षेत्र ऋणबाट १ खर्ब ८० अर्ब र शर्तसहितको दायित्व २ खर्ब ७० अर्ब डलर खर्च गर्ने अनुमान गरेको छ । विश्वकै प्रख्यात ठानिएको वाल स्ट्रिट स्टक बजार सन् २००८ को आर्थिक मन्दीभन्दा पनि तल झरेको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य सन् १६९१ को खाडीयुद्धका बेलाको भन्दा पनि खस्किएको छ । उपभोक्तालाई सहुलियत हुने देखिए पनि दीर्घकालिन अवधिसम्म आपूर्ति निरन्तर हुने कुरामा लागत बढी, आम्दानी कम हुने कारणले शंका उत्पन्न भएको छ । रोजगारीमा प्रतिकूलता, व्यापार प्रवाहमा संकुचन जस्ता कारणहरुले अर्थतन्त्रलाई धान्न चुनौतिपूर्ण छ । कोरोनाको सामना गर्न अख्तियार गरिने रणनीतिमा राष्ट्रहरुबीच मतैक्य नभएका कारण सो भाईरसको अंक कुनै कुनामा रहेको महामारीको रुपमा संक्रमण हुने प्रवृत्तिलाई ध्यानमा राख्दा स्वास्थ्य क्षेत्र ज्यादै जोखिममा देखिन्छ । फेरि व्यक्ति र मुलुकहरु स्वकेन्द्रित हुने प्रवृतिले अन्ततः मानवजातिकै प्रलयको संकेत देखिन्छ । सुक्ष्म जीवाणुको औषधीको आविष्कार भए पनि अर्काथरी जीवाणुसँगको मिलनले नयाँ समस्या सिर्जना हुने सम्भावना रहन्छ । विश्वले यो चुनौती समस्त मानव जातिको (अझ–पशुमा पनि संक्रमण देखिँदा) र चराचर जगतको हितका लागि जलवायु परिवर्तन, प्राकृतिक प्रकोप आदिबाट पर्ने नकारात्मक प्रभावको समाधान खोज्न संयुक्त प्रयासमा लाग्न आवश्यक छ । सम्पन्न राष्ट्रहरु अन्तरिक्षयानको होडवाजीमा लागिरहेका बेला हिजोसम्म संयुक्त रुपमा संचालन गरिएका अन्तरिक्ष कार्यक्रम छुट्याई आ–आफ्नै पद्धतिबाट अघि बढे्ने प्रयासहरु बढिरहेका छन् । त्यसैले विश्वले यो चुनौती समस्त मानव जातिको (अझ–पशुमा पनि संक्रमण देखिँदा) र चराचर जगतको हितका लागि जलवायु परिवर्तन, प्राकृतिक प्रकोप आदिबाट पर्ने नकारात्मक प्रभावको समाधान खोज्न संयुक्त प्रयासमा लाग्न आवश्यक छ । सम्पन्न राष्ट्रहरु अन्तरिक्षयानको होडवाजीमा लागिरहेका बेला हिजोसम्म संयुक्त रुपमा संचालन गरिएका अन्तरिक्ष कार्यक्रम छुट्याई आ–आफ्नै पद्धतिबाट अघि बढे्ने प्रयासहरु बढिरहेका छन् । कतै शारीरिक दृष्टिले सुसंगठित केही दर्जन जोडीहरुलाई कोभिड–१९ बाट जोगाउन भनी अन्तरिक्षमा लामो अवधिका लागि पठाउँदै त छैनन् ? यदि त्यसो हो भने जसरी वैज्ञानिक उपलब्धिको उच्च तहमा पुगेको भनिएको देशहरु पनि कोरोनाको प्रतिकारमा असफल भएका छन् । त्यस्तै, नतिजा उक्त अभ्यासको पनि हुन सक्नेछ । समस्त मानव एवम् प्राणी जगतका लागि घातक ठहरिएको कोरोनाको प्रतिकारद्धारा दिगो समाधान खोज्ने उपाय अन्तर्राष्ट्रिय सहकार्य र सहयोग बढाउनु नै हुनेछ । कोरोना भाइरसका असरहरुको मूल्याङ्कन गर्दा केही सकारात्मक प्रभावहरु पनि देखिएका छन् । वातावरण प्रदुषणमा प्रत्यक्ष असर परेको दावी गरिएको छ । हुन पनि पेट्रोलियम पदार्थबाट चल्ने (गुड्ने, उड्ने) सबै प्रकारका साधनबाट उत्र्सजन हुने कार्बोन शुन्य हुँदा आकास सफा देखिने, नदीनाला प्रदुषणरहित भएका दृष्टान्तहरु प्रकाशमा आएका छन् । त्यस्तै, जंगली जनावर र मानव सम्बन्धमा पनि अन्तर आएको छ । अफ्रिकी मुलुकमा सिंहहरु दिन दहाडै सडकको बीचमा विचरण गर्न थालेका छन् । नेपालमै पनि पाटे बाघ जंगलबाट बस्तीतिर निर्भिकताका साथ ओहोर–दोहोर गरेका घटना प्रकाशमा आएका छन् । मानव र खास गरी सवारीका साधनको चहलपहलमा शुन्यता आएपछि त्रासको वातावरण न्यून हुन जाँदा जंगली जनावरमा आँट बढेको अनुमान गरिन्छ । कोरोनाका कारण मानवीय व्यवहारमा ठूलो परिवर्तन देखिएको छ । आत्मकेन्द्रित र आत्म सुरक्षाको प्रभूत्वले गर्दा अपनत्वमा ह्रास आई संवेदनहिनतामा व्यवहार परिणत हुँदै गएको छ । नेपालमा पहिलो संक्रमित भनी घोषित भएकी युवतीले विदेशबाट फर्केर आफैं परीक्षण, एकान्तवासमा प्रवन्ध मिलाईए पनि समुदायले अवाञ्छित तत्वका रुपमा व्यवहार गर्ने दुष्कार्यको शिकार भएको अनुभव पोखिन् । संक्रमित व्यक्तिलाई प्रविधिको माध्यमबाट खाद्य सामाग्री उपलब्ध गराउने, उपचार गराउने कार्यले सेवा पाउनेले गर्ने अनुभूति मानवीय सम्वेदनाभन्दा विल्कुलै फरक र निरस भएको हुनु पर्दछ । स्वास्थ्य परीक्षणको इतर क्षेत्रमा सोच सकारात्मक हुनुपर्ने, स्वभाव र व्यवहार सकारात्मक हुनुपर्छ भनी आत्मरुपमा उपदेश दिईएको हुन्छ । तर, कोरोनाको दुष्प्रभावले ‘नकारात्मक’ शब्दावलीलाई ‘प्रिय’को तहमा ल्याइदिएको छ । परीक्षणमा कसैको नतिजा ‘सकारात्मक’ निस्कियो भने सो व्यक्तिबाट सबै भागाभाग, सम्बन्ध छुटाउने कुरा आम भएको छ । भाइरसको उपचारका संलग्न स्वास्थ्यकर्मीले डेरा, वासस्थान नपाउनु, त्यति महान कार्यमा सरिक भएका व्यक्तिको पनि त्यो हाल हुन्छ भने मानवीय संवेदनशीलताको पतनको कसरी आँकलन गर्ने ? अतः कोरोनाको व्यापकताको आलोकमा स्वास्थ्य परीक्षणको नतिजा ‘नकारात्मक’ जस्तै आनन्ददायक हुन्छ, सदा स्वीकार्य ‘सकारात्मक’ त्यतिकै घातक मानिने भाष्य स्थापित हुन पुगेको छ । चर्चाचल्ने गर्छ–मानव विकासको यो शिखरमा पुर्याउन योगदान दिने सबै बुज्रुकलाई अदृश्य रुपमा सकृय रहेको जिवाणुले लल्कारिरहेको छ । मानव सभ्यता नै जोखिममा पारिदिने आभास प्राप्त हुँदैछ । दरबार र घरानीयालाई कम, झुपडी र घनावस्तीमा बस्नेलाई बढी प्रभावित गर्ने देखिए पनि आम रुपमा वर्ग, लिङ्ग, ओहोदाको विभेद नराख्ने कोरोनालाई ठेगान लगाउन सामूहिक प्रयासको संस्कृति आवश्यकताको बोध भएको छ । यस्तो मानवजातिको संकटमा परेको अनुभूति हुँदाहुँदै पनि नितान्त निहित स्वार्थका निम्ति विभिन्न उपलब्धिको अहंकार गर्नु मानव जातिको हितमा पिठ्यु फर्काउनु हो । विकसित मुलुकमा पनि दैनिक प्रयोग गर्ने औषधी पाउन घण्टौं पंक्तिमा उभिनु परेका चित्रहरु छापिने गरेका छन् । अल्प विकासीत देशमा बन्दाबन्दीको कारणमा अनिश्चित रोजगारीले थप संवेदनशीलता विद्यमान भए पनि अन्तिम नतिजा ‘इहलिला’ त्याग गर्नु नै हो । संख्या नियाल्ने हो भने स्वतन्त्रताको दुहाई दिने देशहरु तुलनात्मक रुपले ‘संयम’ धारण गर्ने देशको भन्दा हताहतिको दर धेरै बढी देखिएको छ । विगतका संक्रमणभन्दा नौलो पाइएको कोरोना प्रमाणित उपचारको अभावमा मानवजातिकै विनासको कारक बनेकोमा विश्वका सबै महादेशका २ सय १० भन्दा बढी देश प्रभावित भएका छन् । तीन हप्ता जति सकृय रहने सो भाइरस चुनौतिका रुपमा उपस्थित छ । सहभागिता, सहकार्यमा सकृयता राखिने प्रकृयामा एकान्तवास, सामाजिक दूरी कायम राख्ने, बन्दाबन्दी जस्ता कार्यबाट कोरोनाको प्रभाव न्यूनिकरण गर्न प्रभावकारी ठहरेपछि विश्वव्यापी प्रयोगमा रहेको पद्धति केही राष्ट्रमा विरोध भएको पाइएको छ । मानवजाति माथि चुनौतिपूर्ण रुपमा खडा भएको कोरोना आर्थिक विकास, रोजगारी जस्ता कारकमा प्रतिकुल सावित भएको छ । राजनीतिसँग पनि साइनो जोड्न साँघुको रुपमा रहेको कोरोनाको चित्त बुझ्दो समाधान प्राप्त भैनसकेको अवस्थामा परम्परागत जडीबुटीको प्रयोगले प्रतिरोध क्षमता बढाउन सक्ने देखिए पनि अन्य जीवाणुसँगको मिश्रणबाट थप चुनौतीका रुपमा देखिन सक्ने संभाव्यता भएकाले सम्पूर्ण मानवजाति संयुक्त रुपले उभिनु आवश्यक छ । (लेखक राष्ट्रिय याेजना आयोगको पूर्व उपाध्यक्ष तथा नेपाल राष्ट बैंकको पूर्व गभर्नर हुनुहुन्छ । विकासन्युजको विशेष अनुरोधमा प्राप्त यो लेख अप्रतिस्प्रधीको रुपमा प्रकाशन गरिएको छ ।)- सम्पादक
जीवन बीमा कम्पनीको रोजाइमा विकास बैंक, कोरोना बीमामा १०० प्रतिशत दावी
काठमाडौं । जीवन बीमक संघले बीमा समिति समक्ष १३ बुँदे माग तथा सुझाव पेस गरेको छ । बीमा समिति र जीवन बीमक संघ नेपालबीच बैशाख १७ गते बसेको संयुक्त बैठकमा नेपालमा कोरोना भाईरसले नेपालको जीवन बीमा क्षेत्रमा पारेको समग्र प्रभाव सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्ने निर्णय भएको थियो । संघले सुझाव प्रतिवेदन आज बीमा समितिमा पेश गरेको कार्यकारी निर्देशन राजुरमण पौडेलले बताए । जीवन बीमक संघले विकास बैंकको मुद्दति खातामा लगानी गर्न पाउनु पर्ने माग गरेको छ । वाणिज्य बैंकहरुले मुद्दति व्याजमा सिण्डिकेट लागू गर्दै व्याज घटाएपछि अर्बौ रुपैयाँ मुद्दतिमा लगानी गर्दै आएको जीवन बीमा कम्पनीहरुले विकास बैंकमा लगानीको ढोको खोलिदिन बीमा समितिलाई अनुरोध गरेका हुन् । ‘हालको लगानी निर्देशिकालाई केही संसोधन गरि बढी प्रतिफल प्राप्त हुने क्षेत्र जस्तै विकास बैंकमा लगानी गर्न सहज हुने व्यवस्था गर्न अनुरोध गर्दछौं’ संघले बीमा समितिलाई बुझाएको प्रतिवेदमा उल्लेख गरिएको छ । जीवन बीमक संघले कोरोना बीमा लगायत मावन जीवन सम्बन्धि सबै बीमा गर्ने अधिकार जीवन बीमा कम्पनीमा मात्र हुनुपर्ने माग गरेको छ । ‘जीवन बीमा अन्तरगत सबै मानव जीवन र सोको सँग सम्बन्धित बीमा योजनाहरु समावेश हुनु पर्ने सामान्य मान्यता रहेको हुनाले जीवन बीमक संघ यस सम्बन्धमा बीमा समितिले पहल गरी कोरोना बीमा लगायत सबै मानव जीवन सम्बन्धी सबै बीमा जीवन बीमा कम्पनीहरुले मार्फत मात्र गर्ने व्यवस्था गरिदिनुहुन अनुरोध गर्दछौं’ संघले समितिमा बुझाएको प्रतिवेदनमा उल्लेख गरिएको छ । संघले बीमा समितिलाई तिर्ने १ प्रतिशत सेवा शुल्कमा छुट गरिदिन माग गरेको छ । जीवन बीमा कम्पनीहरुको नयाँ बीमा शुल्क तथा नविकरण बीमा शुल्कमा ठूलो मात्रामा कमी आएको, तरलता, नगद प्रवाह र लगानी र सोको व्याज आयमा नकारात्मक असर परेकोले भन्दै संघले उक्त माग राखेको हो । संघले सरकरसँग आवश्यक समन्वय गरी ग्राहक, अभिकर्ता, कर्मचारी र कम्पनीको करको दरमा केही छुट गराउन बीमा समितिले पहल गर्नु पर्ने सुझाव दिएको छ । संघले लकडाउन अवधिको व्याज रकममा २०७७ अषाढ मसान्त भित्र बीमालेख धितो कर्जा तथा व्याज भुक्तानी गर्न आएमा सो लकडाउन अवधीको व्याज रकममा १५ प्रतिशत छुट दिन उपयुक्त हुने सुझाव दिएको छ । कम्पनीले प्रदान गरेको अभिकर्ता कर्जाको असुली र सो को लागि गरिने व्यवस्था सम्बन्धी नियममा छुट प्रदान गर्न अनुरोध गरेको छ । हालको अवस्थामा कम्पनीको आम्दानी र खर्चमा देखिएको ठूलो अन्तरले कम्पनीको वित्तिय अवस्थामा पार्ने प्रभावलाई ध्यानमा राखी सल्भेन्सि मार्जिनको हालको व्यवस्थामा कम गर्न अनुरोध गरेको छ । त्यस्तै, अभिकर्ताको नयाँ लाइसेन्स जारी गर्ने हालको प्रक्रियालाई सरल र सहज बनाउन माग गरेको छ । विश्वव्यापी रुपमा डिजिटल तथा अनलाइन माध्यमबाट बीमा लेख जारी गर्ने लगायतका सबै सेवाहरु दिने गरेकोले विभिन्न देशहरुमा लकडाउनको अवस्थामा समेत बीमा व्यवसायमा प्रभाव नपरेको अवस्था छ । हालको लकडाउन परिस्थिमा सोसियल डिस्टेन्समामा बस्नु पर्ने लगायतको अवस्थामा डिजिटल माध्यमबाट सेवा प्रवाह गर्न पर्ने यस समयको आवश्यकता हो । नेपालमा बैंकहरुले समेत अनलाईनबाट मार्फत घरमै रहेर बैंक खाता खोल्न र बैंकिङ सेवा लिन सकिने व्यवस्था सहित दैनिक विज्ञापन गरिरहेका छन । तसर्थ बीमा क्षेत्रमा पनि नयां पोलिसी, नविकरण लगायतका सबै सेवाहरु डिजिटल माध्यमबाट दिन सकिने गरी आवश्यक व्यवस्था मिलाई दिन अनुरोध गरेको छ । त्यस्तै, बीमा कम्पनीहरुले नोक्सानमा रहेका शाखा कार्यालय मर्ज वा बन्द गर्न पाउने व्यवस्था पनि माग गरेको छ । ‘कम्पनीको आम्दानीमा संकूचन भएको अवस्थामा खर्चहरु धेरै जसो नियमित प्रकृतिको हुनाले संस्थाको दीगोपनको लागि शाखा कार्यालयहरु मर्ज तथा बन्द गर्न कम्पनीलाई सजिलो प्रकृयाको व्यवस्था गरिदिन अनुरोध गर्दर्छौ । जीवन बीमा कम्पनीहरुको व्यवसायको प्रकृति अनुसार दीर्घकालिन लगानीका क्षेत्रहरुमा लगानी गर्नुपर्ने भएकोले दीर्घकालीन अवधीको बीमा वण्ड ÷ विकास वण्ड जारी गर्न सरकारसंग आवश्यक पहल गरिदिन बीमा समितिसँग माग गरेको छ । हालको विषम परिस्थितिमा कम्पनीहरुको खर्च रकम आम्दानी अनुपातमा बढीने हुनाले हाल तोकिएको खर्चको ३० प्रतिशतको सीमा भन्दा बढी भएको खर्च सम्वन्धि हालको व्यवस्थालाई पुनरावलोकन को लागि अनुरोध गरेको छ । हाल नाफाको १० प्रतिशतले व्यवस्था गरिएको महाविपत्ती कोषलाई महामारीको हालको अवस्थामा उपयोग गर्न मिल्ने व्यवस्था गर्न माग गरेको छ ।