थप एक जनामा देखियो कारोना संक्रमण
काठमाडौं । नेपालमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । विपि काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएकाे परीक्षणमा सप्तरी डाक्नेश्वरी नगरपालिकाकाे वडा नं ३ मा बस्ने १८ वर्षिय युवकमा काेराेना संक्रमण पुष्टि भएको हाे । यससँगै, नेपालमा कोरोना संक्रमितको संख्या एक सय २१ पुगेको छ । साेमबार मात्रै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
भारतीय पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंह अस्पताल भर्ना
भारत । भारतका पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंह अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा असहजता महसुस भएपछि उनलाई आइतबार राति नै भारतको राजधानी नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस् ऐम्समा भर्ना गरिएको बताइएको छ । छाती दुखेर असहज महसुश भएपछि उनलाई भर्ना गरिएको अस्पतालले प्रकाशन गरेको विज्ञप्तिमा जानकारी दिइएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार पूर्वप्रधानमन्त्री सिंहलाई ऐम्स अस्पतालको मुटुरोगसम्बन्धी समस्या देखिएकोले उक्त अस्पतालको मुटु रोग विभागमा राखेर उपचार सुरु गरिएको छ । पूर्वप्रधानमन्त्री सिंहको प्रारम्भिक जाँचका क्रममा स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । उनी ८७ वर्षको छन् । पूर्वप्रधानमन्त्री सिंहको शारीरिक अवस्था सामान्य रहेको अस्पताल स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । यसअघि पनि डा.सिंहको मुटुको वाइपास सर्जरी गरिएको थियो । सन् २००९ मा उहाँको मुटुको वाइपास सर्जरी भएको सो अस्पतालले जानकारी दिएको छ । यसपटक छाती दुखेपछि उनलाई आइतबार राति अस्पताल ल्याइएको र अहिले स्वास्थ्य अवस्था सामान्य नै रहेको सो अस्पतालले सोमबार बिहान प्रकाशन गरेको विज्ञप्तिमा जानकारी दिइएको छ । भारतका एकजना प्रख्यात अर्थशास्त्री मानिनुहुने डा.सिंह हाल राजस्थानबाट भारतीय संसदको माथिल्लो सदनका लागि सांसद हुन् । उनले सन् २००४ देखि सन् २०१४ सम्म लगातार दुई पटकसम्म भारतको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । यसैबीच उनको स्वास्थ्यसम्बन्धमा दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले चासो व्यक्त गरेका छन् । उनले पूर्वप्रधानमन्त्री डा.सिंहको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । मुख्यमन्त्री केजरीवालले पूर्वप्रधानमन्त्री डा.सिंहको उपचारमा कुनै कमी हुन नदिन उक्त अस्पताललाई निर्देशन पनि दिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । (रासस/एएनआइ)
चामल खरीदका लागि तेस्रो बोलपत्र आह्वान गरिँदै
काठमाडौं । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मौज्दात सकिनै लाग्दा एक लाख क्विन्टल चामल खरीदका लागि तेस्रो पटक बोलपत्र आह्वान गर्दैछ । यसअघि दुई चोटि बोलपत्र आह्वान गरिँदा पनि पर्याप्त आवेदन परेन । पछिल्लो बोलपत्र आह्वान गरेको १९ दिन हुँदा पनि खरीद प्रक्रिया शुरु हुन सकेको छैन । कम्पनीले भण्डारण खाली भएको जनाउँदै पहिलो पटक गत चैत ५ गते ३० दिनको समयसीमा राखेर बोलपत्र आह्वान गरेको थियो । उक्त समयमा कुनै आवेदन नपरेपछि पुनः यही वैशाख १० गते १५ दिनको अवधि राखेर दोस्रो बोलपत्र आह्वान गर्याे । उक्त अवधिमा दुई जनाको आवेदन परे पनि अन्तिम दिन सम्पर्कमा नआउँदा चामल खरीद अन्योलमा परेको कम्पनीले जनाएको छ । दोस्रो पटकको बोलपत्रमा समेत चामल खरीदको प्रक्रिया शुरु हुन नसकेपछि कम्पनीले बजारको अवस्थालाई अध्ययन गरेर पुनः बोलपत्र आह्वानको तयारी गरेको छ । तेस्रो पटक बोलपत्र आह्वानको तयारी गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिए । उनका अनुसार लकडाउनका कारण बजारमा खाद्यान्न मूल्य वृद्धि भएको र पुरानो दरमा कुनै पनि संस्था तथा व्यक्तिले आवेदन दर्ता नगराएपछि बजारको अवस्था अध्ययन गरेर पुनः बोलपत्र आह्वान गरिने तयारी भएको हो । सम्भवतः एक दुई दिनमा नै मूल्यसम्बन्धी अध्ययन सकेर बोलपत्र आह्वान गरिने कम्पनीले जनाएको छ । कम्पनीले सात कार्यालय विराटनगर, लहान, काठमाडौंँ, नेपालगञ्ज, धनगढी तथा शाखा कार्यालय वीरगञ्ज र सुर्खेतका लागि बोलपत्र आह्वान गरेको हो । काठमाडौँसहित १४ जिल्लामा कम्पनीसँग चामल र धान (चामल बन्ने अनुमान) दुवै गरी हाल १८ हजार १ सय ३८ मेट्रिक टन चामल मौज्दात छ । रासस
दीपक मल्होत्राले सुरु गरे व्यवसायिक कृषि खेती, आधुनिक कृषि विस्तार गर्ने योजना
काठमाडौं । कोरोना भाइरसको कारण भएको लकडाउनले विभिन्न व्यापार व्यवसाय ठप्प छन् । विभिन्न क्षेत्रका उद्योग व्यवसायहरुले ठूलो नोक्सान व्यहोरिरहेका छन् । यही समयमा धेरै व्यवसायीको ध्यान कृृषितर्फ मोडिएको छ । कोरोनाले नेपालको मात्र होइन विश्वको अर्थतन्त्रलाई नै निकै असर पारेको छ । यही समयमा कृषिलाई आधुनिकीकरण र थप उत्पादनमुखी बनाउनका लागि व्यवसायीहरुले कृषिमा जोड दिन थालेका हुन् । ती मध्येका एक व्यवसायी हुन् दिपक मल्होत्रा । नेपाली व्यापार व्यवसायको बजारमा दिपक मल्होत्राको नाम परिचित छ । नेपालमा पहिलोपटक मोबाइल सेट ल्याएर बिक्रीवितरण गर्ने व्यक्ति थिए दिपक मल्होत्रा । नयाँ नयाँ प्रविधि र व्यवसायमा आधुनिकीकरण गर्नमा इच्छा देखाउने मल्होत्राले मोवाइलप्रतिको इच्छा र त्यसको व्यवसाय गर्ने चाहनाले नै उनलाई यहाँसम्म पुर्यायो । नेपालमा मोबाइल सुरु नहुँदै सन् १९९६ तिरै मोवाइलको व्यापारमा लागेका उनी नेपाली बजारमा पहिलो सामसुङ मोबाइल बिक्रेता भनेर पनि चिनिन्छन् । उनी जुन क्षेत्रमा हात हाल्छन् त्यो क्षेत्र सफल हुन्छ भन्ने कुरामा दुई मत छैन । किनकी उनको कामप्रतिको जागरुता र निरन्तरताले उनलाई एक सफल व्यवसायीको संज्ञा पनि दिएको छ । आइएमएस ग्रुपका अध्यक्ष रहेका उनी नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष समेत हुन् । सामसुङ मोवाइल मात्र होइन मल्होत्राले दर्जनौं व्यापार व्यवसाय गर्दै आएका छन् । सामसुङ मोवाइलको सर्भिस राम्रो र वारेन्टीमा विश्वसनीयता हुँदा बजार कायम राख्न उनलाई सजिलो पनि भएको छ । नयाँ नयाँ प्रविधि र व्यापारमा हात हाल्न रुचाउने उनको ध्यान अहिले आधुनिक कृषि गर्नेतर्फ मोडिएको छ । उनले सुनसरीमा आफ्नै २५ बिघा जग्गामा कृषि सुरु गर्ने भएका छन् । विश्वको अर्थतन्त्रलाई कोरोनाको महामारीले तहसनहस पारिरहेका बेला उनले एउटा नयाँ आइडिया कृषिमा लगानी गर्न उचित ठाने । उनले सुनसरीको अन्धुवामा आफ्नै २५ बिघा जमीनमा आधुनिक किसिमले कृषि गर्ने योजना बनाएको बताए । आधुनिक कृषि गर्ने योजना एक वर्ष अगाडिदेखि नै बनाउादै आएको भएपनि अहिले कोरोना महामारीले झन काम गर्न उत्प्रेरित बनाएको बताउँछन् । उनले २५ बिगाको प्लट जमीनमा कागती,धान, गहुँ मकै र विभिन्न फलफूल खेती लगाउने बताए । ‘हामीसँग कृषिसँग सम्बन्धित विज्ञहरु हुनुहुन्छ, हामीले पुरानोभन्दा पनि नयाँ प्रविधिको साहयताले आधुनिकीकरणतर्फ जोड दिन्छौं,’ उनले भने । अहिले विभिन्न कृषि औजारहरु आयात गर्ने काम भइरहेको उनले बताए । त्यसपछि विभिन्न प्रकारका बिउ बिजनहरु आयात गरेर कृषिलाई बढी जोड दिने उनले बताए । ‘अहिले वाहिरबाट धेरै खाद्यान्न आयात हुन्छ, यसले देशको अर्थतन्त्रलाई पनि नोक्सान गर्छ, स्वदेशमै उत्पादन गरेको वस्तुलाई बजारीकरण गरी बढी भएमा विदेशमा आयात गरे देशले धेरै आर्थिक भार व्यहोर्नु पर्दैन,’ उनले भने । लकडाउनको समयमा पनि काम भइरहेको उनको भनाइ छ । यो समयलाई अवसरका रुपमा लिएर काम गर्ने उत्प्रेणा पनि बढेको उनले बताए । देशको आर्थिक वृद्धिका लागि कृषिले धेरै नै योगदान गर्न सक्ने भएकोले अब कृषिमा बढी जोड दिनु पर्ने उनको धारणा छ । ‘कोरोनाले सबै देशको अर्थतन्त्रलाई धेरै असर गरेको छ, विदेशमा गएका युवाहरु पनि काम नपाएर स्वदेश फर्किरहेका छन्, उनीहरुलाई स्वरोजगार बनाउन पनि आवश्यक छ, त्यसको लागि कृषि उत्तम विकल्प हुन सक्छ,’ उनले भने । नेपालको विदेशी मुद्रामा आधारित अर्थतन्त्र भएकोले युवाहरु विदेशमा हुँदासम्म धेरै रेमिट्यान्स आउने तर अब उनीहरु स्वदेशमा आइसकेपछि रेमिट्यान्स घट्ने भएकोले त्यसको विकल्पमा अब स्वदेशी उत्पादनमा वृद्धि गर्नुपर्ने उनले बताए । कृषि खेतीलाई आधुनिकीकरण गरेर स्वदेशमा उत्पादित वस्तुलाई विदेशमा निर्यात गर्नसकेमा घटेको सोधान्तरको फाइदा यताबाट उठाउनु पर्ने उनले बताए । उत्पादित वस्तुलाई निर्यात गर्नका लागि विभिन्न विदेशी राजदुतावाससँग कुरा भइरहेको उनले बताए । ‘हामी परम्परागत कृषिमै रमाइरहेका छौं, अब आधुनिक कृषिमा जोड दिनुपर्छ, स्वदेशी उत्पादनलाई जोड दिएर निर्यातमा ध्यान दिनु पर्छ,’ उनले भने । जोखिम तथा विपतको समयमा पनि कम जोखिम हुने किसिमले काम गर्नको लागि हामी प्रविधिगत रुपले अगाडि बढाएर आफु कृषिमा आधारित व्यापारमा अघि बढेको उनले बताए । अब विस्तारै कृषि बजारीकरण र विस्तार गर्दै जाने उनको योजना छ । उनले यो लगत्तै झापामा पनि सुरु गर्ने बताए ।
१० प्रतिशतभन्दा बढी बजेट स्वास्थ्य क्षेत्रमा हुनुपर्छ : सांसद
काठमाडौं । राष्ट्रियसभाका सदस्यहरुले आगामी बजेट कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रमा केन्द्रित हुनुपर्ने माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) को छलफलमा भाग लिँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले आगामी बजेटले कोभिड–१९ रोकथाम, विपत् न्यूनीकरणलगायतका विषयलाई प्राथमिकता दिनुपर्ने बताए । उनले भने, “आम किसानको रक्षा गर्दै कृषि क्रान्तिमा आधारित बजेट हुनुपर्छ, किसानलाई राहतको व्यवस्था गर्दै उत्पादन गर्नुपर्ने छ, उत्पादन र रोजगारीलाई मुख्य प्राथमिकता दिनुपर्छ, सार्वजनिक स्वास्थ्य र शिक्षमा ध्यान दिँदै त्यसबारे विशेष योजना बजेटमा आउनुपर्छ ।” उनले भारतले नेपालको लिपुलेकसम्म बाटो बनाएर नेपालको सीमा अतिक्रमण भएकोप्रति विरोध जनाउँदै आफ्नो देशको राष्ट्रियता जोगाउन सबै नेपाली लाग्नुपर्नेमा जोड दिए । उनले भने, “नेपालका सीमामा भएको अतिक्रमणबारे राष्ट्रियसभामा पनि छफफल हुनुपर्ने थियो तर हुन सकेको छैन, राष्ट्रिय संवेदनशील विषय राष्ट्रियसभाको विषय बन्नुपर्छ ।” बजेटलाई अनावश्यक महत्वकांक्षी नबनाउनेभन्दा पनि आजको आवश्यकताका आधारमा बजेट ल्याउनुपर्ने उनको भनाइ छ । नेपाली काँग्रेसका नेता जीतेन्द्रनारायण देवले आगामी बजेटमा कोरोना नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रमा कम्तीमा १० प्रतिशत बजेट विनियोजन गर्नुपर्ने बताउँदै उत्पादन र रोजगारी बढाउने क्षेत्रमा लगानी गर्दै बजेट छुट्याउनुपर्नेमा जोड दिए । सांसद शेखरकुमार सिंहले सीमा क्षेत्रको रक्षा गर्दै कृषिमा आधारित बजेट आउनुपर्छ भने । सांसद बेदुराम भुसालले भौगोलिक अखण्डतामाथि अतिक्रमण भएकोप्रति आपत्ति जनाउँदै त्यसलाई बचाउनका लागि सरकार र सबै नेपालीसमक्ष आग्रह गरे । उनले जनतालाई रोग र भोकबाट हटाउने, रोजगारी सिर्जना गर्नेलगायत विषयमा बजेटले प्राथमिकता दिनुपर्नेमा जोड दिए । सांसद जगप्रसाद शर्माले शहीद परिवार र अपाङ्ग समुदायको सवाल बजेटको सिद्धान्त र प्राथमिकतामा समावेश गर्नपर्ने बताए । रासस
एभरेष्ट बैंकको नाफामा वृद्धि, ब्याज आम्दानी ४ अर्ब बढी
काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा २ अर्ब ३५ करोड रुपैयाँ नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा १४ करोड रुपैयाँ बढी हो । बैंकले गत आवको सोही अवधिमा २ अर्ब २१ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकले प्रकाशित गरेको तेश्रो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीको खुद ब्याज आम्दानी ४ अर्ब ३४ करोड रुपैयाँ रहेको छ । त्यस्तै, सञ्चालन मुनाफा बढेर ३ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । ८ अर्ब ५१ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ८१ करोड रुपैयाँ रहेको छ ।
खुकुलो बन्दै लकडाउन, थपिदै कोरोना संक्रमित
काठमाडौंं । अहिले जारी लकडान खुकुलो बनिरहेको अवस्थामा कोरोना संक्रमितको संख्या भने बढेदै गएको छ । आज लकडाउनको ४९ औं दिन भइरहँदा बजारमा लकडाउन भने केही खुकुलो बन्दै गएको छ । आज मात्र कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस देखिएको छ । आजसम्म नेपालमा १ सय २० जनामा कोरोना भाइरस पोजेटिभ देखिसकेको छ । काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा १० जनामा कोरोना संक्रमण पुष्टि भएको सोमबार बिहान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । भारतको मुम्बईबाट लुकिछिपी आएका कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका दुई र यशोधरा गाउँपालिका– ५ का आठ जना युवामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । यसले पनि देशमा थप जोखिम बढ्दै गएको बुझ्न सकिन्छ । संक्रमितलाई कोरोना विशेष अस्पताल बुटवल पठाउने तयारी भइरहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । यसअघि मायादेवी गाउँपालिकाको क्वारेन्टाइनमा पाँच जनामा कोरोना पोजेटिभ देखिएको थियो । काठमाडौंमा कोरोनाका बिरामी छैन भनेर लकडाउनलाई खुकुलो बनाइँदै गएको छ । तर, अझै पनि चिकित्स विज्ञहरुले काठमाडौं जोखिममै रहेको बताइ रहेका छन् । सरकारले केही सिमीत सेवाहरु खोल्न निर्देशन दिएपनि धेरै व्यापार व्यवसायका पसलहरु खुला भएका छन् । लकडाउनको सुरुवाती चरणमा लकडाउन केही कडाई भएपनि आजभोलि भने लकडाउनको कुनै महसुस बजारमा हुँदैन । काठमाडौं उपत्यकामा भने संक्रमितको संख्या कम हुनु, काठमाडौं उपत्यकामा संक्रमण फैलिएको पुष्टी नहुनु र लामो समयसम्म लकडाउनको कारण सर्वसाधारणको दैनिकीमै गम्भीर असर परेर हातमुख जोड्नै कठिन हुन थालेपछि काठमाडौं उपत्यकामा सरकारले लकडाउन खुकुलो गरेको होकि पनि बुझ्न सकिन्छ ।
सीमामा अलपत्र नेपालीलाई भित्र्याउन सांसदको माग
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा भारतको सीमामा अलपत्र नेपालीलाई भित्र्याउने सम्बन्धमा सरकारले गम्भीरताका साथ चासो दिनुपर्ने आवाज उठेको छ । बैठकको शून्य समयमा सांसदहरुले कोरोना भाइरसको जोखिम र मजदूरी कामसमेत प्रभावित भएका बेला स्वदेश फर्कन चाहने नेपालीलाई स्वास्थ्य परीक्षण गरी क्वारेन्टाइनमा राख्ने गरी नेपाल ल्याउन माग गरे । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसद डा.अमरेशकुमार सिंहले प्रश्न गर्दै भने, “के सीमा बसेका नेपाली नागरिक होइनन् ? तिनलाई स्वदेश ल्याउनु सरकारको दायित्व होइन ?” तर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद खेमप्रसाद लोहनीले कोरोना रोकथाममा सरकारको प्रयास प्रशंसनीय भएकाले सीमा नाकामा अझै कडाई गर्नुपर्ने र विदेशमा रहेका नागरिकको उपचारमा आवश्यक पहल गर्न आवश्यक रहेको बताए । काँग्रेसका सांसद गगन थापाले सरकारले जनताको व्यथालाई ध्यान नदिएको भन्दै व्यङ्ग्यात्मक बाल कवितामार्फत् आलोचना गरे । राष्ट्रिय जनता पार्टीका सांसद चन्दा चौधरीले भारतको विहार राज्यमा १४ दिन क्वारेन्टाइनमा बसिसकेका नेपालीलाई पनि नेपाली सीमामा आफ्ना नागरिकलाई आउन नदिन कहाँको नियम हो भनी प्रश्न गरे । काँग्रसका सांसद उमा रेग्मीले सीमामा आएका नेपालीलाई स्वास्थ्य जाँच गरेर स्वदेश फर्काउन माग गरेका हुन् । नेपाली भूमिको रक्षामा एकताबद्ध हुन आग्रह सत्तारुढ नेकपाका खगराज अधिकारीले नेपाली भूमि बारम्बर विदेशी हस्तक्षेपको सिकार भएकामा सरकारको ध्यानाकर्षण गराए । नेपाली भूमि लिपुलेकमा भारतले सडक बनाएकामा खेद व्यक्त गर्दै उनले यसका विरुद्ध सबै नेपाली एक भएर लड्नुपर्ने बताए । सोही पार्टीका गणेशकुमार पहाडीले पनि भारतले अतिक्रमण गरेको भूमिमा नेपालको राजनीतिक र प्रशासनिक भूमिका हुनुपर्ने बताएका छन् । सांसद गणेशसिंह ठगुन्नाले दार्चुलाको पौलामा सशस्त्र प्रहरीको क्याम्प तत्काल राख्न माग गरे। सांसद गङ्गा चौधरी सत्गौवाले नेपाली भूमि मिचिएकामा स्वाभिमानी नेपालीले सहन नसक्ने भन्दै भारतको यो व्यवहारविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा जानुपर्ने बताए । सांसद घनश्याम खतिवडाले जङ्गे पिलरका नामबाट पटकपटक भारतले नेपाली भूमि अतिक्रमण गरेको र अर्को छिमेकी चीनले पनि यसमा उचित व्यवहार नगरेको गुनासो गरे । सांसद जिपछिरिङ लामाले भारतले ठूलो भाइको शैलीले जहिल्यै पनि नेपाललाई हेप्दै आएको उल्लेख गर्दै सरकार र नेतालाई भारतीय मिचाहापूर्ण कार्यबारे थाहा छ कि छैन भनी प्रश्न गरे । सांसद उमाकान्त चौधरी सरकारले दुई अध्यादेश किन ल्याइयो र किन फिर्ता गरियो भन्ने थाहा हुनुपर्ने माग गरे । सांसद गजेन्द्रबहादुर महतले बन्दाबन्दीका समयमा प्रमुख जिल्ला अधिकारीले आफू्खुशी पास वितरण गरेको र सांसदहरुलाई समेत कठिनाइ सिर्जना गरेको गुनासो गरेका छन् । सांसद आशाकुमारी विकले गण्डकी प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले जातीय विभेद उत्पन्न हुने गरी अभिव्यक्ति दिएकाले थापालाई कारवाही गर्न माग गरे । बैठकमा पूर्वबजेट छलफलअन्तर्गत आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) सम्बन्धमा छलफल शुरु भएको छ । रासस