विकासन्युज

मङ्गलबारदेखि शेयर बजार खुल्दै

काठमाडौं । लकडाउनका कारण बन्द भएको धितोपत्र बजार मङ्गलबारदेखि नियमित सञ्चालनमा आउने भएको छ । सरकारले गत चैत ११ गतेदेखि कोरोनाको सङ्क्रमण बढ्न नदिन ‘लकडाउन’ घोषणा गरेसँगै दोस्रो बजार बन्द भएको थियो । नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरि पराजुलीले मङ्गलबारदेखि शेयर बजार सञ्चालनमा ल्याउने तयारी गरिएको जानकारी दिए । नियामक निकाय नेपाल धितोपत्र बोर्डले मङ्गलबारदेखि शेयर बजार पुनः सञ्चालनमा ल्याउन नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको थियो । बोर्डको उक्त निर्णयसँगै धितोपत्र बजार ५० औँ दिनमा खुल्न लागेको हो । बोर्डमा शुक्रबार भएको सरोकारवालासँगको छलफलले दोस्रो बजार कारोवारलाई दैनिक दुई घण्टा (बिहान ११ः०० देखि १ः०० बजेसम्म) सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । बोर्डका अनुसार प्रारम्भिक कारोवार सत्रमा मूल्य प्रविष्ट गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको एक प्रतिशतसम्म परिवर्तन हुनसक्ने र कारोवार आदेश प्रविष्ट गर्दा दुई प्रतिशतसम्म परिवर्तन हुनेसक्ने व्यवस्था गरी समग्रमा दिनको तीन प्रतिशतभन्दा बढी पविर्तन हुन नदिने व्यवस्था गरिएको छ । धितोपत्र बिक्रीको भुक्तानी अनिवार्यरुपमा आइपिएस वा विद्युतीय माध्यमबाट गर्नुपर्ने र आगामी साउनदेखि पूर्णरुपमा विद्युतीय माध्यम नै अवलम्बन गरिने भएको छ । नेप्से परिसूचक दुई प्रतिशतले घटी वा बढी भएमा सो दिनको कारोवार बन्द गरिनेछ । धितोपत्र बजारमा लगानीकर्तालाई कुनै विशेष अवस्थामा कारोबारको सन्दर्भमा सवारी पासको आवश्यकता परेमा ब्रोकरको सिफारिसमा बोर्ड सम्पर्क राख्ने प्रबन्धसमेत मिलाइएको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए । नेप्से, सिडिएससी, मर्चेन्ट बैंकरलगायतको कार्यालय आइतबारदेखि सञ्चालनमा आइसकेका छन् । रासस

सिद्धार्थ इन्स्योरेन्सकाे खुद बीमा शुल्क ६१ करोड बढी

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा सिद्धार्थ इन्स्योरेन्सले ६१ करोड १६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । जुन गत आवको तुलनामा करिब ८० लाख रुपैयाँले घटी हो । इन्स्योरेन्सले प्रकाशित गरेको वित्तीय विवरण अनुसार कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ६१ करोड ९६ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो । समीक्षा अवधिमा कम्पनीले १६ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा २ करोड ६ लाख रुपैयाँ घटी हो । सो अवधिमा कम्पनीले १८ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । इन्स्योरेन्सले यस अवधिमा लगानी, कर्जा तथा अन्य आयबाट ६ करोड ६५ लाख रुपैयाँ आम्दानी गरेको छ । एक अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा २३ करोड ८४ लाख रुपैयाँ सञ्चित छ । त्यस्तै, बीमा कोषमा ७५ करोड ७६ लाख रुपैयाँ र महाविपत्ती कोषमा ८ करोड ७८ लाख रुपैयाँ रहेको छ । यस अवधिमा इन्स्योरेन्सले कुल एक लाख ३ हजार ९ सय ३३ वटा बीमालेख जारी गरी एक अर्ब ४९ करोड ८१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

महालक्ष्मी लाइफ इन्स्योरेन्सकाे बीमा शुल्कमा वृद्धि

काठमाडाैं । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा महालक्ष्मी लाइफ इन्स्योरेन्सले ३९ करोड ३१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेकाे छ । जुन गत आवकाे तुलनामा करिब ११ प्रतिशत अर्थात ३५ करोड ९३ लाख रुपैयाँले बढी हाे । इन्स्याेरेन्सले प्रकाशित गरेकाे वित्तीय विवरण अनुसार कम्पनीले गत आर्थिक वर्षको यहि अवधिमा ३ करोड ३७ लाख ८१ हजार रुपैयाँ मात्रै खुद बीमा शुल्क संकलन गरेको थियाे । समीक्षा अवधिमा कम्पनीले ६ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । इन्स्योरेन्सले यस अवधिमा लगानी, कर्जा तथा अन्य आयबाट ३ करोड १५ लाख ४७ हजार रुपैयाँ र बीमालेख धितोमा १२ करोड ५४ लाख रुपैयाँ कर्जा लगानी गरी ६० लाख ८७ हजार रुपैयाँ आम्दानी गरेको छ । एक अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ७ करोड २ लाख रुपैयाँ सञ्चित छ । त्यस्तै, जीवन बीमा कोषमा ४९ करोड १९ लाख रुपैयाँ र महाविपत्ती कोषमा ७८ लाख रुपैयाँ रहेको छ । यस अवधिमा इन्स्योरेन्सले कुल ८ हजार ८७२ बीमालेख जारी गरी ६४ करोड ९६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

४० मुरीभन्दा बढी धान फलाए १ लाख रूपैयाँ पुरस्कार

पाँचथर । जिल्लाको मिक्लाजुङ गाउँपालिकाले ४० मुरीभन्दा बढी धान उत्पादन गर्ने परिवारलाई रु. एक लाख पुरस्कार दिने भएको छ । कोभिड–१९ को महामारी तथा लकडाउनका कारण गाउँपालिकाभित्र उत्पन्न हुन सक्ने खाद्यान्न सङ्कट न्यूनीकरणका लागि किसानलाई कृषि उत्पादनमा उत्प्रेरणा ल्याउने उद्देश्यले गाउँपालिकाले सो पुरस्कारको व्यवस्था गरेको हो । चार फुट उचाइ र २० फुट लम्बाइको मकैको थाङ्ग्रो राख्ने कृषकलाई समेत सोही राशिको पुरस्कार दिइने भएको छ । यस्तै ३५ मन (प्रतिमनमा ४० किलो) भन्दा बढी आलु उत्पादन गर्ने कृषकलाई प्रतिकिलो रु २० पुरस्कार दिइने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरुण राईले जानकारी दिए । शुक्रबार सम्पन्न गाउँ कार्यपालिकाको बैठकले ‘कोरोना संक्रमणबाट उत्पन्न परिस्थितिमा कृषिजन्यउपज उत्पादन वृद्धिमा उत्प्रेरणा ल्याउन कृषकलाई सम्मान तथा पुरस्कार वितरणसम्बन्धी कार्यविधि–२०७६’ पारित गरेको थियो । सोही कार्यविधिका आधारमा कृषकलाई उक्त पुरस्कार दिने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत राईले जानकारी दिए । यो पुरस्कार आगामी आर्थिक वर्षमा मात्रै लागू हुनेछ । चालू आर्थिक वर्षभित्रै उत्पादन हुने खाद्यान्नको खेती भइसकेकाले आगामी आवबाट लागू हुने गरी पुरस्कार स्थापना गरिएको उनले जानकारी दिए । कार्यविधिमा एकै परिवारले उक्त परिमाणमा खाद्यान्न उत्पादन गर्नुपर्ने उल्लेख छ । उत्पादनको विश्वसनीयताका लागि छुट्टै अनुगमन समितिसमेत गठन गरिएको प्रमुख प्रशासकीय अधिकृत राईले बताए । अधिकांश क्षेत्र खेतीयोग्य जमिन रहेको मिक्लाजुङमा अन्य स्थानीय तहको तुलनामा सिँचाइकोसमेत राम्रो व्यवस्था छ । तर खेतीयोग्य जमिन बाँझिदै गएकाले गाउँपालिकाले प्रोत्साहनको ब्यवस्था गरेको हो । ‘धेरै खेतीयोग्य जमिन बाँझिएका छन् । गाउँपालिकालाई जोड्न मुख्य सडक निर्माणाधीन अवस्थामा रहेकाले अभाव भएका बेला खाद्यान्न आपूर्ति गर्न पनि कठिन हुन्छ,’ प्रमुख प्रशासकीय अधिृकत राईले भने, ‘यसैले कृषिउपज उत्पादनमा विशेष जोड दिएका हौं ।’ यही गाउँपालिकाले कोभिड–१९ को महामारी र लकडाउनका कारण खाद्य सङ्कट हुने भन्दै खाद्यान्न प्रयोग गरी मदिराजन्य पदार्थ उत्पादन गर्न रोक लगाएको छ । गाउँपालिकाले मदिराजन्य पदार्थ उत्पादनका लागि खाद्यवस्तु बिक्री नगर्न स्थानीयवासी तथा व्यवसायीमा अपिलसमेत गर्दै आएको छ । रासस

अब उद्योगहरुले पनि स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने, अटेर गरे अनुमतिनै खारेज

काठमाडौं । अब उद्योगहरुले पनि न्युनतम स्वास्थ्य–सुरक्षाका मापदण्डहरु पालना गर्नुपर्ने भएको छ । विश्वभर फैलिरहेको कोरोना भाइरसको कारण मानिसहरु त्रासमा छन् । सरकारले उद्योग क्षेत्रलगायतका केही अत्यावश्यक सेवाहरु सुचारु गर्न निर्देशन दिइसकेको छ । ती उद्योगहरुमा स्वास्थ्य सुरक्षाको व्यवस्थापन गर्न सरकारले निर्देशन दिइएको हो । काभ्रे जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्रले कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएको भन्दै न्यूनतम स्वास्थ्य–सुरक्षा मापदण्ड अपनाउन निर्देशन दिएकाे हाे । नअपनाइएका उद्योगको सञ्चालन अनुमति तत्काल रद्द गरिने भएको हो । यसका लागि केन्द्रले उद्योगहरुमा स्वास्थ्य–सुरक्षा मापदण्ड लागू भए नभएको त्यसको अनुगमन गर्ने बताएकाे छ । जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाई खतिवडाको संयोजकत्वमा अनुगमन समितिसमेत गठन गरेको केन्द्रले जनाएको छ । समितिले उद्योगका कामदारको आवास व्यवस्थापन तथा उद्योगमा स्वास्थ्य–सुरक्षाबारे अनुगमन गर्ने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए । समितिलाई अगुगमनका क्रममा उद्योगमा न्यूनतम स्वास्थ्य–सुरक्षा अवलम्बन नगरेको देखिए तत्काल सञ्चालन अनुमति रद्द गरिने बताइएकाे छ ।  जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण, व्यवस्थापन कमाण्ड पोष्टले कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्ने जनाउँदै काभ्रेपलाञ्चोक प्रवेश गर्ने सबै नाकामा नागरिकको आवतजावत बन्द गरिएको एक दिनपछि अर्थात् गत शुक्रबार केन्द्रले लकडाउन खुकुलो बनाउँदै सुरक्षाको मापदण्ड र सामाजिक दूरी कायम गरी विभिन्न उद्योग तथा विकास–निर्माण सम्बन्धित आयोजना सञ्चालन गर्न दिइने निर्णय गरेको थियो । तर, केन्द्रले जिल्लाको कुनै क्षेत्रमा कोराना भाइरसको सङ्क्रमणको जोखिम देखिएमा सो क्षेत्र वा जिल्लाभरि नै निश्चित अवधिसम्मका लागि स्थानीय प्रशासनले सबैमा रोक लगाइने शर्त राखेको छ । केन्द्रका अनुसार कृषि तथा पशुपक्षीजन्य दूध, तरकारी, माछा, कुखुरा, अण्डा र दाना उत्पादन गर्न पाइने छ भने मल तथा बीउबिजका ढुवानी र बिक्री गर्न पाइनेछ । सरकारको गत हप्ताको पत्र अनुसार सबै क्षेत्रमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई सामाजिक सेवातर्फका बैंक, विद्युत्, खानेपानी, सञ्चार, फोहरमैला व्यवस्थापन तथा दमकल सुञ्चालन हुनेछन् । साथै, पानी, ग्यास, पेट्रोलियम पदार्थ बोकेका भन्सार पास भएका सबै प्रकारका सवारी साधन सञ्चालन हुन पाउनेछन् । यस्तै, उद्योगतर्फका चामल, चिउरा, पिठो, पाउरोटी, तेल, दाललगायत घरेलु साना उद्योग सञ्चालन हुनेछन् । साथै, बढीमा तीन मजदुर सञ्चालन गर्न पाउने वर्कसप, प्लम्बिङ, इलेक्ट्रोनिकल सेवा सञ्चालन हुने केन्द्रले जनाएको छ ।

जेठ ५ गतेसम्म कपिलवस्तु सिल गरिने

काठमाडौं । जेठ ५ गते गते राति १२ बजेसम्म सम्म कपिलवस्तु सिल गरिने भएकाे छ । एकैदिन कोरोनाका नयाँ १० जना संक्रमित थपिएपछि जिल्ला सुरक्षा समितिको बैठकले कपिलवस्तुलाई सिल गर्ने निर्णय गरेको हाे। सोमबार साँझ ५ बजेदेखि जेठ ५ गते राति १२ बजेसम्म लागू हुने गरी सिल गर्ने निर्णय गरिएको हाे । सोमबार थपिएका सबै संक्रमित भारतबाट आएकाे र अझै थप आउने क्रम नरोकिएकोले सिल गर्न लागिएकाे हाे । याे अवस्थामा अत्यावश्यक सेवाका बाहेक कुनै पनि व्यक्तिलाई जिल्लाबाट बाहिर जान र जिल्ला प्रवेश गर्न रोक लगाइने छ।

नेपाललाई चीनकाे ४० हजार पीसीआर टेस्ट कीट सहयाेग

काठमाडौं । चीनले नेपाल सरकारलाई ४० हजार पीसीआर टेस्ट कीटकाे साथै अन्य धेरै  स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । सोमबार चीनले ४० हजार पीसीआर टेस्ट कीट सहित सर्जिकल मास्क ८ लाख, एन ९५ मास्क २० हजार थान, डिस्पोजेबल कभरल १० हजार थान लगायतका स्वास्थ्य सामाग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको हाे । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले उक्त स्वास्थ्य सामाग्री स्वास्थ्य तथा जनसं ख्य मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेकाे मन्त्रालयलका प्रवक्ता विकास देवकाेटाले बताए ।  

विनाेद चाैधरीकाे प्रस्ताव: सरकारी खर्च कटौती गरी ठूलो राहत प्याकेज ल्याऔं, रोजगारी बढाऔं

काठमाडाैं । नेपाली काँग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरीले महामारीसँग जुध्नका लागि सरकारले खर्च कटौती गरी ठूलाे राहत प्याकेज ल्याउनु पर्ने बताएका छन् । विनियोजन विधेयक २०७७ का सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिंदै चौधरीले संसदको वैठकमा सरकारी अध्ययनले नै अनावश्यक भनेर किटान गरेका खर्च कटौति गर्नुपर्ने बताएका हुन्। काेराेना महामारिका कारण सिर्जना भएको आर्थिक मन्दीसँग जुध्नका लागि सरकारले आर्थिक राहत प्याकेज ल्याउनुपर्ने उनकाे भनाइ छ ।  यसका लागि सरकारले खर्च कटौति गरेरै ४ खर्ब बचाउन सक्ने बताए। कोभिड— १९ का कारण विश्व अर्थतन्त्र नै महामन्दीमा गएको र नेपालजस्ता देशको अर्थतन्त्र झनै चिन्ताजनक हुनेसक्ने खतरा रहेको उनको भनाइ छ। सबै देशहरुले आफ्नो क्षमता र हैसियतअनुसार आर्थिक प्याकेज ल्याइरहेको सन्दर्भमा सरकारले अर्थतन्त्र जोगाउन, रोजगारी सिर्जना गर्न र जोखियुक्त समुदायको संरक्षण गर्नका लागि नेपाल सरकारले पनि राहत प्याकेज ल्याउनुपर्ने उनको सुझाव छ। अर्थतन्त्रमा अहिले आएको समस्या समाधानका लागि सरकार र निजी क्षेत्र मिलेरै जानुपर्ने उनको भनाइ छ। यसमा सबैथोक सरकारले गरिदिनुपर्ने निजी क्षेत्रले सोच्न नहुने निजी क्षेत्र आफैले गर्नुपर्छ भनेर सरकारले पनि सोच्न नहुने उनको भनाइ छ। ‘जब हामी राहतको कुरा गर्छौ, जीडिपीको ५ देखि १० प्रतिशतसम्म तरलता बजारमा प्रवाह गर्ने कुरा गछौं, यसको मर्मलाई आत्मसात गर्नु जरुरी छ, विभिन्न अवरुद्ध भएर बसेका योजनाहरु, रोजगारी श्रृजना गर्ने सेक्टरहरु पर्यटन, ठूला उद्योग वा कन्स्ट्रक्सन साइटहरु तिनलाई अत्यन्तै सहज रूपमा वित्तीय पहुँच उपलब्ध गराइनु पर्छ,’ उनले भने । यो समस्या नेपालको मात्रै होइन । र, यो समस्या कहिलेसम्म लम्बिन्छ भन्ने पनि हामीलाई थाहा छैन । तर, यसका बाबजुद हामीले हाम्रो जीवनलाई सामान्य रूपमा चलाउने प्रयत्न गर्नुपर्छ । यसका लागि हामीले अर्थतन्त्रलाई सामान्य अवस्थामा फर्काउने प्रयत्न गर्नुपर्छु उनले भने।